विकासन्युज

छ महिनामा ३२ प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबर विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च ५३ अर्ब ४५ करोड ५२ लाख बराबर खर्च भएको हो । चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ बराबर विनियोजन भएकामा ३८ दशमलव ४६ प्रतिशत अर्थात् चार खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको पनि महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकामा २९ दशमलव ४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । तर छ महिना अवधिमा वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत अर्थात् चार खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख बराबर खर्च भएको छ । जसमध्ये कर राजस्वतर्फ चार खर्ब पाँच अर्ब २६ करोड ९३ लाख र गैरकर राजस्वतर्फ ५३ अर्ब ७१ करोड ७५ लाख बराबर सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । हालसम्म वार्षिक लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् रु चार अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान सरकारले लिएको छ । रासस

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

काठमाडौं । पोखरामा आज विहान भएको यती एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पु¥याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । जारी विज्ञप्तिमा आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् ।

मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

काठमाडौं । बालुवाटारमा मन्त्रीपरिष्दको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो ।

जहाजमा लागेको आगो निभाइयो, ३२ जनाको शव गण्डकी अस्पतालमा

काठमाडौं । दुर्घटनामा परेको यती एयरको जहाजबाट ३२ जनाको शव निकालिएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजबाट ३२ जनाको शव निकालिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आगो लागेको स्थानबाट निकालिएको उक्त शव गण्डकी अस्पतालमा लगिएको बताए । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना निसवार थिए । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

‘प्रसाद २’ को प्रदर्शन मिति तय

काठमाडौँ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ। एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ। कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ। फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए। ‘प्रारम्भिक सम्पादन र ध्वनिको काम छायाङ्कनमै भएको छ। हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौँ’, निर्माता थापाले भने। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतसमेत निर्माता हुन्। सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ। ‘मेरो लागि यो फरक किसिमको फिल्म रह्यो। मैले कथालाई न्याय गरेको छु’, निर्देशक थापाले भने। यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो। यसमा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन रहेको छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन्।

रोटरी क्लबद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । क्लबले शनिवार मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेकाे थियो । शिविरमा जेनेरल चेकअप प्रेसर, सुगर, नाक, कान, घाँटी, छाला रोग, दन्त परीक्षण, पोषण परामर्श, आँखा जाँच तथा मोतीबिन्दु, स्त्री तथा पाठेघरको क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिएकाे थियो । क्लबका अनुसार विभिन्न रोगका ४ सय ६६ जनाले उक्त शिविरमा पुगि स्वास्थ्य परीक्षण गरेका थिए । जसमध्ये एक सय ३७ जनाको आँखा परीक्षण गर्दा १२ जनामा मोतीबिन्दु देखिएको र उनीहरूलाई कीर्तिपुर आँखा अस्पतालमा निःशुल्क अपरेसन गर्नै व्यवस्था क्लबले मिलाएको छ । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको पनि क्लबले जानकारी दिएको छ । यस कार्यक्रममा रोटरी, रोटरायाक्ट र प्राइम हेल्थ हबका ४० जना स्वयम्सेविका परिचालन गरिएको थियाे ।

को हुन् क्याप्टेन कमल केसी ?

काठमाडौं । दुर्घटनामा परेको यती एयरको ९ एन एएनसी जहाजलाई क्याप्टेन कमल केसीले उडाएको बुझिएको हो । पाइलट केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । उनी यती एयरलाइन्सको ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन् । लामाे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा टिनवअनर जहाज चलाएका केसी निगम छोडेर यती एयरलाइन्स गएका थिए । उनीसँग ३२ वर्ष लामो समय जहाज उडाएकाे अनुभव थियाे । निगमकै एक क्यापटेनका अनुसार उनी निकै राम्रा र अनुभवी क्यापटेन हुन् । केसीले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको हुने सक्ने प्रत्यक्षर्शीको अनुमान छ । दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ । त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको धेरैको अनुमान छ ।