गण्डकीमा आज सभामुखको निर्वाचन हुँदै
पोखरा । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ । त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए। सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार तय गरिसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।
पुरनसिंह धामीको अपाङ्गताले रोकेन उद्योगी बन्ने सपना
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याएका छन्। उनले सुरुआतमा २० लाख लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याए । ‘भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, दुर्घटनामा परेर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो’, धामीले दुखेसो गरे, ‘तैपनि हरेस नखाएर परिवारको खर्च टार्न उद्योग सञ्चालनमा ल्याएको छु ।’ उनले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेका हुन् । स्वदेशमै उद्योग सञ्चालनमा ल्याए पनि भारतीय मसलाहरुका कारण बजारमा प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको बताइएको छ । ‘भारतबाट मिसावटका मसलाहरूले यहाँको बजार प्रभावित गरेको छ’, धामी थप्छन्, ‘व्यापारी तथा उपभोक्ताले गुणस्तरको स्वदेशी मसला उपभोग गर्नुभन्दा सस्तो हेर्ने गरेका छन ।’ सुरुआती अवस्थामा निकै सङ्घर्ष गर्नुपरेको अनुभव उनीसँग छ । शारीरिकरूपमा अशक्त भए पनि उनी बजारमा तीन पाङ्ग्रे स्कुटर लिएर आफैँ निस्किन्छन् । ‘अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले उद्योग चलाएको हुँ’, धामीले भने, ‘यहाँ स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न धेरै चुनौती छ ।’ आफू अशक्त हुँदा शारीरिकरूपले उद्योगमा काम गर्न असहज हुँदा पनि नियमित काम गरिरहेको उनले बताए । भारतमा मसला उद्योगमा काम गरेकोे अनुभवले काम गरिरहेको धामीले सुनाए। सुदूरपश्चिम मसला उद्योगबाट बेसार, खुर्सानी, जिरा धनियाँ, मिटा, सब्जी, गरम, चिकन मसला, काली मिर्च, चिया, राइता एन्ड लस्सी र मिक्स मसला उत्पादन भइरहेका छन । ‘भारतीय मसला सस्तो मूल्यमा पाइन्छन् भन्ने भ्रम उपभोक्तामा छ’, उनले भने, ‘स्थानीय उत्पादन गुणस्तरका हिसाबले निकै उपयुक्त छ, स्वाथ्यका लागि पनि फाइदाजनक छ हाम्रो उत्पादनमा मिसावट छैन ।’ त्यहाँ मसला उत्पादनको लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुराबाट कच्चा पदार्थ ल्याइन्छ । उद्योगमा चार जनाले रोजगारी पाएका छन् । “यसैबाट घरखर्च चलेको छ’, उनले भने, ‘सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भनेपनि हालसम्म सहयोग पाएको छैन ।’ दुईवटा छोराछोरीको पढाइ र घरपरिवारको खर्च उद्योगकै कामबाट चलेको छ । ‘आफूसँग लगानी नभएका कारण उद्योगलाई थप विस्तार गर्न सकेको छैन’, उनले भने, ‘अहिले सुरुआतको ऋण तिर्न सकिएको छैन पछि लगानी भयो भने थप विस्तार गर्छु ।’ उद्योग सञ्चालनका लागि सरकारी निकायबाट कुनै सहयोग नपाएको धामीको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहन स्वरूप विभिन्न सीपमूलक तालिम÷प्रशिक्षण र सुरुआती अवस्थामा सर्तसहित लगानीको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनले सुनाए ।
सिद्धार्थ बैंकको नयाँ शाखा थानकोटमा
काठमाडौं । सिद्धार्थ बैंकले पुस २८ गते बिहीबार काठमाडौंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।
सोलार फार्मले २० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाडाैं । सोलार फार्मले २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे छ । फार्मले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुलाई १०० रुपैयाँ अंकित २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे हाे । कम्पनीले कुमारी क्यापिटललाई यसकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सोलार फार्मका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्मको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ । नेपालको पहिलो सोलरबाट विद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।
मञ्जुश्री फाईनान्सको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । मञ्जुश्री फाईनान्सको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । पुस २९ गते शुक्रबार बानेश्वरमा कम्पनीकाे वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेकाे छ । केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको छ । राष्ट्रिय स्तरको यस फाईनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरी ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।
नियमित विद्युत नहुँदा उद्योग संचालनमा समस्या
विराटनगर । विद्युत आपूर्तिमा केहि समययता भएको निरन्तरको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ संघले यस्तो बताएको हो । उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रुपमा ७ देखि ८ घण्टासम्म विद्युत आपूर्तिमा भएको कटौतीले मरणासन्न अवस्थामा पुगेको उनीहरुले बताएका छन् । ुबैंक तथा वित्तिय क्षेत्रमा विद्यमान समस्या समाधानका लागी आन्दोलनरत नीजि क्षेत्र नयाँ सरकारको गठन भएसँगै समस्या समाधानमा सकारात्मक पहलहुने कुरामा आशावादी रहदै पर्ख र हेरको अवस्थामा पुनः विद्युत आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायी माथि बज्रपात थपिएको छ,ु विज्ञप्तिमा भनिएको छ । उनीहरुले विज्ञप्तिमार्फत उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरेका छन् ।
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : अध्यक्ष नेपाल
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताएका हुन् । ‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ, यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ,’ उनले भने । एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उनको भनाइ थियो । नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्षको जरुरी रहेको बताए । ‘जरो गाडेर रहेको यो विकृतिको अन्त्य गर्न धेरै समय लाग्छ, अहिले हाम्रो सबैभन्दा ठूलो दुस्मन नै यही हो, राजनीतिक, सांस्कृतिक र विकास निर्माणका क्षेत्रमा यसले गहिरो असर गरिरहेको छ,’ उनले भने । नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले समृद्धिको मुल बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै चाहेर नचाहेर पनि समाजमा यो जबरजस्त रहेको बताए । ‘यसका कारण नेपाल समृद्धिको यात्रामा अघि बढ्न सकेको छैन, राजनीतिक परिवर्तन भए, तर बदलिँदो व्यवस्थाअनुसार राज्यसंयन्त्र नबदलिँदा भ्रष्टाचार बढेर गएको छ,’ उनले भने । यसको नियन्त्रण गर्न राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेकामा चिन्ता व्यक्त गरे । ‘प्रणालीले काम गर्ने व्यवस्था नहुँदासम्म यसको न्यूनीकरण हुन सक्दैन, राज्य संयन्त्रले नै यसलाई मलजल गरिरहेको छ, अब पारदर्शीता अपनाउनुपर्छ,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले राजनीतिक नेतृत्वले नै मुलुकमा भएका विभिन्न समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताए । भ्रष्टाचारको बहुआयामिक असरबाट सिङ्गो समाज नै प्रभावित बन्दै गएको जनाउँदै उनले यसविरुद्धको आवाज उठाउन सबै एकताबद्ध हुनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विधिको शासन स्थापित भए मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्भव भएको बताए । ‘यसको महामारीबाट हामी गुज्रिरहेका छौँ, अनियमितता क्षेत्रका समस्या पहिचान भइसकेको छ, अब सामाधानको दिशामा अगाडि जानुपर्छ, अब ‘एक्सन’मा उत्रनुपर्छ,’ उनले भने । कुल ८ परिच्छेदको सो पुस्तकमा भ्रष्टाचारको परिचय, मात्रा, यसको सैद्धान्तिक र व्यवहारिक कारण, दुष्प्रभाव, नियन्त्रणका प्रयास, सकारात्मक अभ्यास र समस्याको समाधानलगायत विषयलाई समेटिएको छ ।
राइड सेयरिङ : दैनिक डेढ लाखलाई सेवा दिँदै, आपराधिक क्रियाकलाप बढाउँदै
काठमाडौं । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उनको परिवार वञ्चित भयो । त्यति मात्रै होइन, गत जेठ २६ मा जडीबुटीमै मोटरसाइकल र ट्याक्सी एकापसमा जुध्दा मोटरसाइकलमा सवार मेनुका गुरुङ घाइते भए । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भए । कुनै एक राइड सेयरिङ एपमार्फत् यात्रा गरिरहेकी गुरुङले उजुरी गर्न पाईनन् । किनभने उक्त कम्पनीको नेपालमा न त कम्पनी नै थियो, न त कुनै जिम्मेवार व्यक्त नै थिए । त्यसो त एप प्रयोग नगरी राइड सेयरिङ एपका नाममा ‘अफलाइन’ यात्रा गर्ने यात्रु मात्रै होइन, चालक स्वयं पनि पीडित बनेका उदाहरण कैयन् छन् । गत वर्ष माघ ९ गते राति सामाखुसीबाट कोटेश्वरसम्म अनलाइन यात्रा गरेका उनी त्यसपछि धापाखेल पुगेपछि लुटिए । कोटेश्वरसम्म अनलाइनमार्फत् सेवा दिएका चालक प्रवीण राईले त्यसपछि धापाखेलसम्म अफलाइन यात्रा गर्दा यात्रुबाट मोटरसाइकल र ८ हजार रुपैयाँ लुटिनु मात्रै भएन मध्यरातमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधिएको अवस्थामा केही घण्टासम्म बस्नुपर्यो । अर्को दिन सुमन तामाङ र मीनराज राईले मोटरसाइकल बिक्री गर्दैगर्दा चन्द्रागिरिबाट उनीहरु समातिएका थिए तर चालक प्रवीणले भने कुनै क्षतिपूर्ति पाएनन् । कारण थियो, ‘अफलाइन राइडिङ’ । राइड सेयरिङमा अफलाइन यात्रा गर्दा अप्रत्यासित रुपमा घटेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले सुरु भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको सङ्ख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ । थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अफलाइन राइडिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । ‘अफलाइन राइडिङका कारण हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्नु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘अफलाइन राइडिङ गरेको पाइएमा चालकलाई सम्झाउने र यसबारे जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले अफलाइन यात्रा गर्दा बढी असुरक्षित हुने हुँदा अनलाइनमै यात्रा गर्न सुझाव दिए । ‘पहिलो कुरा त यात्रु र चालक आफैँ सचेत हुनुपर्छ, त्यसबाहेक सम्बन्धित कम्पनीले पनि चालक र यात्रु दुवैलाई जागरुग बनाउनुपर्छ,’ उनले भने ‘प्रहरीले पनि समुदाय तथा विद्यालयस्तरमा हुने सचेतनामूलक कार्यक्रममार्फत पनि जानकारी गराउँदै आएको छ ।’ उनका अनुसार केही समयअघि मात्रै प्रहरीले १२५ भन्दा बढी राइड सेयरिङ चालकलाई विशेष कक्षासमेत सञ्चालन गरेको थियो । जसमा उनीहरुलाई अफलाइन राइडिङ नगर्न तथा कानूनको पालना गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ‘अफलाइन राइडिङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ, त्यसैले अफलाइन राइडिङ नगर्न र नगराउन आग्रह गरेका छौँ, यसबाट जोखिम न्यूनीकरण हुने हाम्रो अपेक्षा छ,’ उनले भने । हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन् । जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ । पठाओ नेपालसँग मात्रै २ पाङ्ग्रेमा १ लाख ५० हजार र ४ पाङ्ग्रेको हकमा करिब ७ हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन् । यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले आफूहरु सधैँभरि चालक र यात्रुलाई सचेत बनाउँदै आए पनि अझै पनि अफलाइनमा चल्ने चालक र यात्रुको कमी नआएको पठाओ नेपाल प्रालिका प्रवक्ता शशांक शमशेर थापाको भनाइ छ । उनले नेपाल प्रहरीले अफलाइन यात्रालाई निरुत्साहित गर्दै कारबाही अघि बढाएको विषय स्वागतयोग्य भएको बताए । ‘यात्रुलाई अफलाइन जानुपर्ने कुनै बाध्यता नै हुँदैन र पनि अफलाइन गएको भेटेका छौँ,’ उनले भने, ‘अफलाइन जानु भनेको यात्रा असुरक्षित बनाउनु हो भन्ने भुल्नु हुँदैन ।’ पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ । सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ । यात्रुहरु पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ । अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुव्र्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु वञ्चित भइन्छ । ‘पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्युआरटी (क्विक रेस्पोन्स टिम) परिचालन गर्छौं र सेवा उपलब्ध गराउँछौँ,’ थापाले भने ‘अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।’ उनले सकेसम्म अनलाइन यात्रा गर्नका लागि चालक र यात्रु दुवैलाई समय-समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । ‘अफलाइनमा यात्रा गर्दा राज्यको राजस्व गुम्छ भने यात्रु र चालक दुवैको ज्यान जोखिममा पर्न सक्छ,’ उनले भने ‘अफलाइनमा ट्रयाकिङ गर्न पनि नसकिने भएकाले सबैलाई अनलाइन नै यात्रा गर्न आग्रह गर्छु ।’ पठाओ नेपालले त्यसरी अफलाइन गएको भेटिए चालकलाई कारबाही गर्दै आएको थापाले जानकारी दिए । ‘यदि घटना सामान्य छ भने पहिलो र दोस्रो पटकलाई चेतावनी मात्रै दिन्छौँ भने तेस्रो पटकको हकमा सधैँभरिका लागि कम्पनीबाट हटाउँछौँ,’ उनले भने, ‘तर फैजदारी घटनाको हकमा भने तुरुन्तै कारबाही गर्दै थप कानुनी उपचारका लागि समेत पीडितलाई सहयोग गर्छौं ।’ हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डु, जायर, साधनलगायतका राइड सेयरिङ एप प्रचलनमा छन् । जसमध्ये इन्ड्राइभर नेपालमा दर्ता बिना नै सञ्चालन भइरहेको छ । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला बिना दर्ता, बिना कमिसनमा राइडर र यात्रुलाई सेवा दिइरहेको देखिन्छ । इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी सञ्चालन गर्ने बताएको थियो । कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित्रा नन्दाको भने आफूहरुले यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’बाट भने सेवा दिने दाबी थियो तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन । इन्ड्राइभरका नन्दाले आफूहरुले बीमाको सुविधा नदिने बताए पनि कानुनमा भने यात्रुको बीमा अनिवार्य गरिएको छ । बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्नसक्ने उल्लेख छ । बीमा सुरक्षा राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ । यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचारलगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ । अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन् । कम्पनीका अनुसार १ लाख रुपैयाँसम्म दुर्घटना बीमा छ भने दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा १० लाख रुपैयाँको बीमा गरिएको छ । कम्पनीका अनुसार बीमा सुरु भएपछिको हालसम्म २ सयभन्दा बढीले दुर्घटनामा परी ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी लिइसकेका छन् । पठाओ नेपालबाट हालसम्म दुर्घटनामा परी मृत्यु भएका ३ जनाले त्यसबापतको बीमा सुविधा पनि प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । कानुनमा के छ ? सरकारले हालसम्म राइड सेयरिङजस्ता स्टार्टअपलाई सञ्चालन तथा नियमनका लागि कुनै कानुन बनाएको छैन । यद्यपि बागमती प्रदेशले भने चालु आर्थिक वर्षको आर्थिक विधेयकमा भने दर्ताका लागि निश्चित रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ । जसमा २ पाङ्ग्रे सवारी साधनको हकमा २५ हजार रुपैयाँ दर्ता शुल्क र नवीकरणका लागि १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । साथै ४ पाङ्ग्रे सवारी साधनको हकमा ५० हजार रुपैयाँ दर्ता शुल्क र नवीकरणका लागि २५ हजार रुपैयाँ तोकिएको छ । यदि २ पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै सवारी साधन सञ्चालन गर्नेका हकमा दर्ताका लागि ७० हजार रुपैयाँ र नवीकरणका लागि ३५ हजार रुपैयाँ शुल्क तोकिएको छ तर हालसम्म कार्यविधि नबनेकाले कार्यान्वयन नसकेको यातायात व्यवस्था कार्यालय बागमती प्रदेश प्रमुख मदनप्रसाद पोखरेलले बताए । राइड सेयरिङ कम्पनी ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसी भने सरकारले कानुन बनाएर यस्ता कम्पनीको दर्ता र सञ्चालनसम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा सुरक्षित यात्राका लागि भरपर्दो माध्यम बन्दै गएको राइड सेयरिङ कम्पनीलाई नियमन गरी सञ्चालन गरिनुपर्ने बताए । उनले कुनै कम्पनी दर्ता नभई सञ्चालन हुन नदिने, स्वदेशी र विदेशी कम्पनीलाई छुट्याउन तथा अफलाइन सेवा दिनेलाई कारबाहीका लागि यो आवश्यक कानुन आवश्यक भएको बताए ।