भरतपुरमा माघ १६ गतेबाट विद्युतीय तार भूमिगत गरिने
चितवन । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए । उनले भने, ‘फिल्डमा काम माघ १६ गतेबाट हुन्छ । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको छ ।’ कामको सुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उनले बताए । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ, केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ । भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए । सन् २०२२ जनवरीबाट लागू हुने गरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । उक्त आयोजनाको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १८ गते शिलान्यास गरेका थिए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिगत विद्युतीकरणको काम अब तीव्र गतिमा हुने बताइन् । तत्कालीन समयमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका अध्यक्ष दाहाल र महानगरको विशेष पहलमा आयोजना यहाँ ल्याइएको थियो । उनले यो निर्माण सम्पन्न भएसँगै भरतपुरको सौन्दर्यकरणमा थप टेवा पुग्ने बताइन् । उनले भनिन्, ‘यो भरतपुरको गौरवको आयोजना हो, यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।’ आयोजना सम्पन्न गर्न आवश्यक सहजीकरण महानगरले सुरुदेखि नै गर्दै आएको छ । पटकपटकको प्रयासपछि यो आयोजना भरतपुरमा आएको भन्दै उनले यो काम सम्पन्न भएसँगै महानगरका सहरी क्षेत्रमा विस्तारका लागि पहल गरिने बताइन् । प्रमुख दाहालले आफ्नो पहिलो कार्यकालमा पर्न सफल भएका गौरवका आयोजनामध्ये यसलाई महत्वपूर्ण आयोजनाका रुपमा लिएको बताइन् । आयोजना सम्पन्न भएसँगै विद्युत्, टेलिकम, इन्टरनेटलगायतका तारका कारण कुरुप देखिएको सहरी क्षेत्र सुन्दर बन्नेछ । रासस
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन् । केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन् । उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीले अगाडि भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’ केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्बोधन गरिनेछ ।’ नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा दुई सय वटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ । बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन् । प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ ।’ मिर्गौला प्रत्यारोपणका लागि वार्षिकरुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि केन्द्रले भूमिका खेलको भन्दै प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले त्यसका लागि केन्द्रलाई धन्यवाद दिए । प्रधानमन्त्रीले थपे, ‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन । यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ । साथै सातवटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यकपर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु ।’ रासस
साढे ३९ करोडको आइपीओ जारी गर्दै दरम खोला हाइड्रो, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि साढे ३९ करोड रुपैयाँ बराबारको ३९ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । उक्त सेयर सार्वजनिक गर्नको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । सो सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् । दरम खोला हाइड्रो इनर्जीको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं. ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
आजदेखि धनकुटा महोत्सव, ५ करोडको कारोबार गर्ने
धनकुटा । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० कक्ष रहेका छन् । हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा पाँच करोड रुपैयाँँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले जानकारी दिए ।
जहाज कोलकाता डाइभर्ट हुँदा निगमको २७ लाख चैट, पाइलटलाई तालिम दिन नमान्दाको क्षति
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको वायु सेवा निगमको जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ । शुक्रबार बिहान निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसक्दा भारतको कोलकाता डाइभर्ट हुँदा २७ लाख २७ हजार बढी नोक्सान भएको हो । कोलकाता जाँदा डेढ घण्टा र फर्कदा डेढ घण्टागरी ३ घण्डा जहाज उडाउँदा सञ्चालन खर्च २१ हजार डलरभन्दा बढी लाग्ने निगमका एक क्यापटेनले जानकारी दिए । उनका अनुसार १ घण्टामा सकिने आरएनपी–एआर एप्रोच प्रणालीको तालिम नहुँदा नोक्सानीमा गएको निगममाथि थप व्ययभार थपिएको छ । २१ हजार डलर खर्च हुँदा नेपाली २७ लाख २७ हजार व्ययभार निगममाथि थपिएको हो । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । निगमको जहाज ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सक्थ्यो । तर, मलेसियाबाट काठमाडौं आएको जहाजले उक्त भिजिविलिटीमा अवतरण गर्न नसक्ने बताएपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् । ‘अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो तर निगमका चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्टको अनुमति मागे’, उनले भने, ‘पाइटलको तालिम नहुँदा अवतरणा गर्न नसकि डाइभर्टको अनुमति मागे ।’ ११ सय भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि शुक्रबार उडान भरेको निगमको एयरबस ३२० (न्यारोवडी) का क्यापटेन राकेश खुस्वाले जहाज अवतरण गर्न २८०० भिजिविलिटी आवश्यक पर्ने निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार निगम व्यवस्थापनले समयमा नै तालिम नदिँदा सहज रुपमा अवतरण गर्न सकिने जहाज समेत डाइभर्ट गर्नुपर्ने बाध्यता भयो । क्यापटेन खुस्वा निगमकै एयरबस ३२० मा कोपाइटलबाट केही समय अघिमात्रै क्यापटेन भएका थिए । क्यापटेनको तालिन लिन जाँदा एकैपटकमा हुने तालिम समयमा नहुँदा समस्या हुने गरेको ति क्यापटेनले बताए । कोपाइटल हुँदा उनले सो तालिन लिएपनि क्यापटेन भएपछि तालिन लिएका छैनन् । आरएनपी–एआर एप्रोच तालिम निगमले इन्डोनोसियामा गर्दै आएको छ । क्यापेटन खुस्वाजस्तै निगमका अन्य ६ जना क्यापटेनको उक्त तालिन नलिएको जनाइएको छ । आरएनपी–एआर एप्रोच तालिम ६/६ महिनामा लिनुपर्छ । उक्त तालिमका लागि १ हजार डलर खर्च हुने निगमले जनाएको छ । उक्त खर्च निगम आफैले व्यहोर्छ । निगमको अपरेशन विभागका प्रमुख रवीन्द्र आरके शेरचनले कार्यकारी अध्यक्षले बोल्ने अनुमति प्रवक्तालाई मात्रै दिएको भन्दै उक्त विषयमा बोल्न नमिल्ने बताए ।
पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले आफू नेकपा एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’ बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।
सुनको मूल्य प्रतितोला एक लाख ५२ सय पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ। हिजो बिहीबार तोलामा १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । झापाकी मगर समानुपातिक सांसद हुन् । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन् । उनले भनिन्, ‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ, जसको प्रश्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मती रुपमा निर्णय गरेको हो, अल्पमतमा होइन ।’ त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानूनको अध्ययन नगरेको भएपनि कानूनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन् । उनले भनिन्, ‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो, म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो, कानून नपढेपनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रहरुको अनुभव ३३ वर्षमा गरेको छु ।’ उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ, आज उपसभामुखको एम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको छ ।