विकासन्युज

सुपर मादी हाइड्रोपावरको आईपीओमा मागभन्दा ७ गुणा बढी आवेदन

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा ६.७६ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओमा १० लाख १४ हजार जना आवेदकले आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । जसमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र ४२ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

दुई वर्षमा ३ हजार झोलुङ्गे पुल बनाइने

काठमाडौं । सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलु्ङ्गे पुल निर्माणको योजना अघि बढाएको छ । झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना बनाइएको सहरी विकास मन्त्रालयले जनाएको छ । सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो कामका रुपमा झोलुङ्गे पुलसम्बन्धी फाइल सदर गरेका थिए । चालु पन्ध्रौँ योजनामा प्रत्येक आधाआधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । सोही आधारमा बस्ती भएका र आवश्यकता भएका स्थानमा पुल निर्माणका लागि तयारी अघि बढाइएको सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले बताए । बस्ती नभएका र जङ्गल क्षेत्र छाडेर बस्ती लक्षित झोलुङ्गे पुल निर्माण गर्दा देशभरमा झण्डै तीन हजार नयाँ पुल आवश्यक देखिएको विभागले जनाएको छ । झोलुङ्गे पुल नभएर बालबालिका विद्यालय तथा स्वास्थ्य चौकी जान र कृषि उत्पादन बजारमा लगेर बेच्न समेत कठिनाइ भइरहेको उनले बताए । उनले भने, ‘लक्ष्यअनुसार झोलुङ्गे पुल बनेपछि पुल नभएरै ज्यान जोखिम हुने अवस्थाको अन्त्य हुनेछ ।’ यसको निर्माणमा तीनै तहको सरकारको संलग्नता रहँदै आएको छ । एक सय २० मिटर भन्दा कम लम्बाई स्थानीय तहले बनाउने र त्योभन्दा बढी लम्बाइको पुल आवश्यक भएमा सङ्घीय सरकारले निर्माण गर्ने महानिर्देशक मरहठ्ठाले बताए । स्थानीय तहले निर्माण गरेको स्थानमा बजेट सङ्घीय सरकारले दिने गरेको छ । चालु् आवमा झोलुङ्गे पुल निर्माणका लागि छ अर्ब विनियोजन भएको छ । लक्ष्यअनुसार पुल निर्माणका लागि कहाँकहाँ र कति सङ्ख्यामा आवश्यक छ भनी जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरिएको उनले बताए । नगर वा गाउँ कार्यपालिकाको निर्णयबाट विभागलाई माग आउने गर्दछ । उन्ले भने, ‘मागका आधारमा विभागको टिमले अध्ययन गरेपछि निर्माणमा जाने निर्णय हुनेछ ।’ चालु आवबाट नै सो योजना कार्यान्वयमा लैजाने उन्को भनाइ छ । चालु आवको बाँकी पाँच महिनामा कुन–कुन स्थानमा पुल आवश्यक छ भनी अध्ययन गरिने र अर्को दुई वर्षमा निर्माण गरिने महानिर्देशक मरहठ्ठाले बताए । लक्षित कार्यक्रम अनुसार हिमाली र पहाडी जिल्लाका साथै तराईको केही ठाउँमा निर्माण योजना बनाइएको छ । विकासका हिसाबले पछि परेका र यातायातको पूर्वाधारमा कमजोर स्थान छनौट हुनेछन् । धादिङ, गोरखा, कालीगण्डकी, त्रिशुलीलगायतका नदीमा आधा–आधा घण्टामा झोलुङ्गे पुल निमार्ण भइसकेका छन् । एउटा झोलुङ्गे पुल बन्न निकुञ्ज वा अन्य समस्या बाहेकको अवस्थामा एक वर्ष लाग्ने गर्दछ । केही दशकयता पुल निर्माणका लागि नयाँ–नयाँ प्रविधिको प्रयोग बढेसँगै निर्माण सहज र थप व्यवस्थित बन्दै गएको उनको भनाइ छ । स्थानीय तहको माग अनुसार विभागले निरिक्षण गरेर आवश्यकताका आधारमा माग कार्यान्वयन गरिन्छ । ‘निर्माण स्थानमा नदी वारिपारी कालोपत्र तथा ग्राभेल सडक बनिसकेको भए त्यस्तो स्थानमा झोलुङ्गे पुल आवश्यक पर्दैन्’, उनले भने । सडक नै नभएका वा सडक खन्न सुरु गरिएका स्थानमा नागरिक तथा स्थानीय तहसँग छलफल गरी सङ्घ, प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा निर्माण योजनाको आवश्यकता अनुसार निर्णय गरिन्छ । उनले भने, ‘त्यहाँ पुगेर जनप्रतिनिधिसँग छलफल पछि वस्तुस्थिति हेरेर टुङ्गो लगाइन्छ ।’ झोलुङ्गे पुलको आयु ४०/५० वर्ष हुने भएपनि समय–समयमा मर्मत गर्नुपर्ने हुन्छ । अबको दुई वर्षमा ठूलो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण हुनेभएपछि केही वर्षपछि विस्तारै माग कम हुने उनको भनाइ थियो । निर्माण भन्दा मर्मत लक्षित कार्यक्रम तयारी अवस्थामा रहेको विभागले जनाएको छ । हाल प्रदेश र सङ्घीय सरकारबाट मर्मत भइरहेपनि नयाँजस्तै मर्मत कार्यले प्राथमिकता पाउन सकेको छैन ।

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउने लक्ष्मीकान्त

रेसुङ्गा । सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ। जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुगे । उनले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाएका छैनन् । विगत ४३ वर्षदेखि भारी बोक्दै आएका उनी १० वर्षदेखि गुल्मीमा बसेर काम गरिरहेका छन्। त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसके । उनले बोकेका राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएको छ । त्यही रहर पूरा गर्न आचार्यले कहिल्यै फूर्सद पनि पाएनन् । आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्‍याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गरेका छन् । अध्ययन सकेपछि उनले काठमाडौँमा काम गर्न पनि थालेका छन् । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाएका आचार्य अहिले खुसीले गद्गद छन् । ‘छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ’, उनी भन्छन्, ‘राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए।’ आचार्य मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउँछन्। गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आएका उनी राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्छन् । प्राय मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसेपनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैँले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आएका छन् । आफैँले बनाएका सामग्रीहरु बेच्दा वार्षिक पाँच लाखसम्मको कारोबार हुने र चार लाखसम्म बचाउने गरेको आचार्य बताउँछन् । गुल्मीको ग्रामीण भेगमा समानहरु बिक्री गर्न पुग्दा जुम्लाका प्राङ्गारिक समान भनेर मन पराउने गरेको उनी बताउँछन्। जुम्लाबाट विसं २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउँदै आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने बताउँछन्। ‘आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरेँ’, उनी भन्छन्, ‘अहिले छोरा पनि आफैँमा आत्मनिर्भर बन्दा खुसी लागेको छ।’  उनका कान्छा छोरा धिरन्दाले पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

बैंकहरुको सेयर कर्जा १० प्रतिशत घट्यो, एनएमबि, लक्ष्मी र एभरेष्ट बैंकको बढ्दा नबिल र ग्लोबलबीच टक्कर

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ९.७३ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा बैंकहरुले ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको वाणिज्य बैंकहरुले समिक्षा अवधिमा भने झण्डै १० प्रतिशत घटाएका हुन् । मंसिरसम्म बैंकहरुले ५८ अर्ब ७६ करोड ५० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका हुन् । बैंकहरुले निरन्तर रुपमा सेयर धितो कर्जा घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रवाह घटाउँदै गएका हुन् । निरन्तर रुपमा सेयर कर्जा घटाउँदै आएकोमा यस अवधिमा भने ३ वटा वाणिज्य बैंकले भने बढाएका छन् । एनएमबि बैंक, लक्ष्मी बैंक र एभरेष्ट बैंकले भने सेयर धितो कर्जा बढाएका हुन् । एनएमबि बैंकको २.८५ प्रतिशत बढेर १ अर्ब ४९ करोड २० लाख रुपैयाँ, लक्ष्मी बैंकको २.४६ प्रतिशत बढेर २ अर्ब १६ करोड १० लाख रुपैयाँ र एभरेष्ट बैंकको १.५८ प्रतिशत बढेर ७४ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । मंसिरसम्म १८ वटा वाणिज्य बैंकको भने सेयर धितो कर्जा घटाएका छन् । यस अवधिमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको २७.३८ प्रतिशतले घटेको छ । साथै नेपाल बैंकको २३ प्रतिशत, एनआईसी एशिया बैंकको २० प्रतिशत, सनराइज बैंकको १६.१५ प्रतिशत, कुमारी बैंकको ११.६३ प्रतिशत, सिभिल बैंकको ११.५५ प्रतिशत, प्राइम बैंकको १०.३९ प्रतिशत र सानिमा बैंकको १०.१७ प्रतिशत मार्जिन नेचर लोन घटाएका हुन् । यस्तै, नबिल बैंकको ९.५१ प्रतिशत, सिद्धार्थ बैंकको ९.१८ प्रतिशत, सिटिजन्स बैंकको ८.९४ प्रतिशत, प्रभु बैंकको ७.७२ प्रतिशत, हिमालयन बैंकको ६.७१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.३२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.२९ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९४ प्रतिशत र कृषि विकास बैंकको ०.०९ प्रतिशत सेयर कर्जा घटाएका हुन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नबिल बैंकले ६ अर्ब ८९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ र प्रभु बैंकले ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तै, सबैभन्दा कम नेपाल एसबिआई बैंकले ३ करोड २ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब १७ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २० करोड रुपैयाँ, एनआईसी एशिया बैंकले १ अर्ब ५३ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ, सनराइज बैंकले १ अर्ब ५९ करोड रुपैयाँ र सिभिल बैंकले २ अर्ब ६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, प्राइम बैंकले ३ अर्ब १० करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ५४ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ, सिजिन्स बैंकले ३ अर्ब ७१ करोड रुपैयाँ र कुमारी बैंकले ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

हिमालयन बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान र आँखा परिक्षण शिविर संचालन

काठमाडौं । हिमालयन बैंकले तीसौं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर र  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका स्थित माछापुछ्रे स्वास्थ्य चौकी, दुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे । बैंकका अनुसार डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व , नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा माघ ४ गते देखि माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुछ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएको बैंकले जनाएको छ । यसै गरी ‘रक्तदान जीवनदान’ भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाएको बैंकले जनाएको छ ।

१० अंकले बढ्यो नेप्से, झण्डै साढे ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २१८३.६२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमशस् ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिम जिआइसी इन्स्योरन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर रहेको छ । यस्तै, आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४६ करोडको कारोबार भएको छ । कारोबार हुने कम्पनीहरुमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँको भएको छ ।

५ अर्ब लगानीमा नयाँ कम्पनी खोल्यो आईएमई समूहले, सडक निर्माणमा निजी क्षेत्रको प्रवेश

काठमाडौं । लगानी विस्तारमा आक्रामक रुपमा अगाडि बढिरहेको आइएमई समूहले ५ अर्ब रुपैयाँ पुँजी लगानी हुने नयाँ कम्पनी दर्ता गराएको छ । समूहले सडक पूर्वाधारमा समेत लगानी गर्ने उदेश्य राखेर उद्योग विभागमा वान क्यापिटल होल्डिङ्ग्स प्रालि दर्ता गरेको छ । निजी क्षेत्रले सडक पूर्वाधार निर्माणमा अगाडि बढ्न लागेको यो पहिलो पटक हो । तर सडक निर्माणको काम कुन मोडलका गर्न लागिएको हो भन्ने खुलाइएको छैन । ‘यो होल्डिङ कम्पनी हो । यसले विभिन्न क्षेत्रमा लगानी गर्छ’ आइएमई समूहका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले विकासन्युजसँग भने । यो समूहको नेतृत्व चन्द्रप्रसाद ढकालले गरेका छन् । चन्द्रप्रसाद र हेमराज  दाजुभाई हुन् । पुस २० गते दर्ता भएका उक्त कम्पनीले केबलकार, सडक, जलविद्युत र उत्पादनमूलक उद्योगमा लगानी गर्ने उदेश्य राखेको उद्योग विभागले जनाएकाे छ ।  विभागमा दर्ता गर्दा कम्पनीले निर्माण क्षेत्र अन्तर्गतमा केबलकार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँ, इनर्जी वेस उद्योग (हाइड्रोपावर र सोलार विद्युत उत्पादन) मा १ अर्ब रुपैयाँ र उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी रहने प्रस्ताव गरेको छ । उक्त उद्योगले १५ किलोवाट विद्युत उपयोग गर्ने र ४० जनालाई रोजगारी दिने उल्लेख छ । आईएमई समूहको रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी रहेको छ । हाल यस समूहले देशका विभिन्न स्थानमा केबुलकार र होटल क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जीमा लगानी गरेको छ । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ । आईएमई समूहको लगानीमा आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटल सञ्चालित छन् । यो समूहले नेपाल पूर्वाधार बैङ्क, नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनीमा पनि ठूलो लगानी गरेको छ ।

गृहमन्त्री लामिछानेले भेटे प्रेम आचार्यको परिवार

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ बानेश्वरमा मंगलबार आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यकाे परिवारलाई भेटेका छन् । बुधबार दिउँसो गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेटेका हुन् । आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।