राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउने लक्ष्मीकान्त

<p>रेसुङ्गा । सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ। जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुगे । उनले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाएका छैनन् । विगत ४३ वर्षदेखि भारी [&hellip;]</p>

रेसुङ्गा । सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा ।

त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ। जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुगे । उनले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाएका छैनन् ।

विगत ४३ वर्षदेखि भारी बोक्दै आएका उनी १० वर्षदेखि गुल्मीमा बसेर काम गरिरहेका छन्। त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसके । उनले बोकेका राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएको छ । त्यही रहर पूरा गर्न आचार्यले कहिल्यै फूर्सद पनि पाएनन् ।

आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्‍याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गरेका छन् । अध्ययन सकेपछि उनले काठमाडौँमा काम गर्न पनि थालेका छन् ।

राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाएका आचार्य अहिले खुसीले गद्गद छन् । ‘छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ’, उनी भन्छन्, ‘राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए।’ आचार्य मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउँछन्।

गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आएका उनी राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्छन् । प्राय मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसेपनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैँले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आएका छन् । आफैँले बनाएका सामग्रीहरु बेच्दा वार्षिक पाँच लाखसम्मको कारोबार हुने र चार लाखसम्म बचाउने गरेको आचार्य बताउँछन् ।

गुल्मीको ग्रामीण भेगमा समानहरु बिक्री गर्न पुग्दा जुम्लाका प्राङ्गारिक समान भनेर मन पराउने गरेको उनी बताउँछन्। जुम्लाबाट विसं २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउँदै आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने बताउँछन्।

‘आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरेँ’, उनी भन्छन्, ‘अहिले छोरा पनि आफैँमा आत्मनिर्भर बन्दा खुसी लागेको छ।’  उनका कान्छा छोरा धिरन्दाले पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

Share News