
काठमाडौं । लगानी विस्तारमा आक्रामक रुपमा अगाडि बढिरहेको आइएमई समूहले ५ अर्ब रुपैयाँ पुँजी लगानी हुने नयाँ कम्पनी दर्ता गराएको छ ।
समूहले सडक पूर्वाधारमा समेत लगानी गर्ने उदेश्य राखेर उद्योग विभागमा वान क्यापिटल होल्डिङ्ग्स प्रालि दर्ता गरेको छ ।
निजी क्षेत्रले सडक पूर्वाधार निर्माणमा अगाडि बढ्न लागेको यो पहिलो पटक हो । तर सडक निर्माणको काम कुन मोडलका गर्न लागिएको हो भन्ने खुलाइएको छैन ।
‘यो होल्डिङ कम्पनी हो । यसले विभिन्न क्षेत्रमा लगानी गर्छ’ आइएमई समूहका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले विकासन्युजसँग भने । यो समूहको नेतृत्व चन्द्रप्रसाद ढकालले गरेका छन् । चन्द्रप्रसाद र हेमराज दाजुभाई हुन् ।
पुस २० गते दर्ता भएका उक्त कम्पनीले केबलकार, सडक, जलविद्युत र उत्पादनमूलक उद्योगमा लगानी गर्ने उदेश्य राखेको उद्योग विभागले जनाएकाे छ । विभागमा दर्ता गर्दा कम्पनीले निर्माण क्षेत्र अन्तर्गतमा केबलकार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँ, इनर्जी वेस उद्योग (हाइड्रोपावर र सोलार विद्युत उत्पादन) मा १ अर्ब रुपैयाँ र उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी रहने प्रस्ताव गरेको छ ।
उक्त उद्योगले १५ किलोवाट विद्युत उपयोग गर्ने र ४० जनालाई रोजगारी दिने उल्लेख छ । आईएमई समूहको रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी रहेको छ ।
हाल यस समूहले देशका विभिन्न स्थानमा केबुलकार र होटल क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जीमा लगानी गरेको छ । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।
यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ ।
आईएमई समूहको लगानीमा आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटल सञ्चालित छन् । यो समूहले नेपाल पूर्वाधार बैङ्क, नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनीमा पनि ठूलो लगानी गरेको छ ।