हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ । पहिरो खुलाउने पहल भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार राजमार्गमा खसेको पहिरो खुलाउने काम भइरहेको छ । हिमपातले राजमार्गसमेत अवरुद्ध हुन थालेको छ ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
काठमाडाें । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ नसकिएपछि शुक्रबारका लागि राखिएको छ । यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।
रविले कार्यविधि पालना गरेनन्, तर यसो भन्दैमा उनलाई गैरनागरिक भन्नु मिल्दैन : सरकारी वकिल
काठमाडाें । सरकारी वकिलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनःप्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि पालना नगरेको बताएकाे छ । तर कार्यविधि पालना नगरेकै आधारमा गैर नागरिक हुने अवस्था नभएको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीकाे तर्क छ । ‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन, नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहीनताको परिकल्पना गरेको छैन, निवेदकहरुले माननिय रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नुभएको अवस्था छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै उनले भनेका छन् । संविधान र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले गैर नेपाली नागरिक मात्र उम्मेदवार हुन योग्य नहुने भनेको तथा संविधानको धारा ११(१) मा नेपालको नागरिकता प्राप्त गरेको र प्राप्त गर्न योग्य व्यक्ति नेपाली नागरिक हुनेछन् भन्ने व्यवस्था भएकाले लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन योग्य रहेको उनकाे जिकिर छ ।
पहिलो दिनमै १० प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति ?
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साविकको सुर्या लायफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जभएपश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले बुधबार पहिलो कारोबार गरेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.७० रुपैयाँ पुगेको छ । जुन नेप्सेले तोकेको ओपनिङ प्राइसको तुलनामा प्रतिकित्ता ३७.११ रुपैयाँले बढी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ३७१.५९ रुपैयाँबाट ओपनिङ प्राइस तोकेको थियो । बजारमा कम्पनीको ८ लाख रुपैयाँ बराबरको १ हजार ९६५ कित्ता सेयर कारोबार किनबेच भएको छ । मर्जरको क्रममा रहेकोले साविकको सुर्या लायफ र ज्योति लाइफको सेयर कारोबार रोक्का भएको थियो । मर्जर प्रक्रिया सकिएसँगै दोश्रो बजारमा सेयर सूचीकृत भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार शुरु भएको छ । साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर हुँदा सेयर स्वाप अनुपात १००ः०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स १ कित्ता सेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम सेयरधनीहरुको नाममा सेयर कित्ता कायम भएको छ । कम्पनीको पूँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ४९ प्रतिशत रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आई एस ओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट
काठमाडौं । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए । यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ । नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिल बैंक नयाँ प्रविधि अपनाउने र नविनतम उत्पादन तथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।
रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने
काठमाडौं । भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम सञ्चालन हुने भएको छ । इको प्यानल जडान सम्वन्धी दुईदिने निःशुल्क तालिम सञ्चालन हुन लागेको हो । तालिम माघ १९ र २० गते हुने जनाइएको छ । नेपाल इको प्यानल प्रालिले तालिम सञ्चालन गर्न लागेको हो । निःशुल्क तालिमपश्चात् रोजगारीको व्यवस्था रहेको कम्पनीले जनाएको छ । इको प्यानल नेपाल प्रालिका जनरल म्यानेजर विक्रम गोसाईले इको प्यानल जडान सम्वन्धी तालिम हुन लागेको जनाए । दुई दिनको तालिमपछि नै इको प्यानल जडान गर्न सकिने उनले जनाए । जडान गर्न जानिएपछि रोजगारीको सुनिश्चिता रहेको उनले सुनाए । छिटो, छरिटो र गुणस्तीयर निर्माणका लागि इको प्यानलको प्रयोग गरिन्छ । इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । तालिम लिन इच्छुकहरुले कम्पनीको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरस्थित (डा इवामुरा अस्पालको अपोजिट) मा सम्पर्क गर्न सूचित गरेको छ ।
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ६३औं एक्सटेन्सन काउन्टर
काठमाडौं । ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिका तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
व्यावसायिक गोलभेँडा खेतीमा बढ्दो आकर्षण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित भएका छन् । जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत खेती गर्ने कृषकहरु जिल्लामा बढेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए । उनका अनुसार गत वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक हजार सात सय १९ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ९५ हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडा खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘पछिल्लो समय व्यावसायिक रूपमै सामूहिक गोलभेँडा खेतीतर्फ कृषकहरु आकर्षित भएका छन्’, सूचना अधिकारी पौडेलले भने, ‘जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक गोलभेँडा खेती सुरु गरेका छन् ।’ देवचुली नगरपालिका–१७ मा चार वर्षदेखि १० बिघा जमिन भाडामा लिएर गोलभेँडा खेती सुरु गरेका कृषक गोविन्द बस्याल यसबाट राम्रो आम्दानी हुने बताउछन् । कृषिमा थोरै श्रम गरेर आम्दानी राम्रो हुने भएकाले यसतर्फ आफूहरु लागि परेको उनको भनाइ छ । ‘स्वदेशमा अवसर नभएको भन्दै युवाहरु विदेश पलायन हुने क्रम बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि त्यसको सदुपयोग पनि हुने र युवाहरुलाई स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न आफँैले टमाटर खेती गरेको हो’, उनले भने । यहाँ उत्पादन भएको गोलभेँडा स्थानीय बजारसँगै बुटवल, नारायणघाट, पोखरा र काठमाडाँैमा खपत हुने गरेको छ । ‘हामीले उत्पादन गरेको गोलभेँडा दैनिकरूपमा पोखरा र काठमाडौँका बजारमा पठाउने गरेका छाँै’, उनले भने, ‘व्यापारी आफैँले हामीलाई सम्पर्क गर्ने हुँदा सहज तरिकाबाट जिल्लाबाहिर निर्यात हुने गरेको छ ।’ गत वर्षको भदौदेखि गोलभेँडा खेती सुरु गर्नुभएका गैँडाकोटका कृषक हरि थापाले यो वर्ष मुनाफा हुने बताए । ‘पहिलो वर्ष चालू खर्च मात्र उठाउने लक्ष्य लिएकामा यो वर्ष लगानीसँगै मुनाफा पनि गर्ने लक्ष्य रहेको छ’, उनले भने । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका कृषकहरु गोलभेँडा खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । ‘आधुनिक प्रविधिमार्फत व्यावसायिक रूपमा खेती गर्दा सफल भइन्छ भन्ने उदाहरण यहाँका कृषकहरुले प्रस्तुत गर्न सफल भएका छन्’, उनले भने । यहाँका युवाहरुले ग्रामीण कृषि उत्पादक समूह निर्माण गरी विभिन्न निकायहरुको सहयोगमा गत भदौबाट सामूहिक रूपमा व्यावसायिक खेती सुरु गरेको प्रमुख लामिछानेले बताए । रासस