विकासन्युज

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक छन्, यो मेरा लागि चुनौती हो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परिसूचकहरु नराम्रो नभएको अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौतिको विषय भएको बताए । ‘अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो छैन, यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मेरो लागि चुनौतिको विषय बनेको छ, म अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको छ, सरकारको पहिलो बैठकमा नै मैले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने निर्देशन दिएको छु,’ उनले भने । यस्तै, उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए ।

भृकुटीमण्डपमा मेला आयोजना गर्न कति लाग्छ भाडा ?

काठमाडौंको सबैभन्दा बढी मेला तथा प्रशर्दनी हुने ठाउँ हो भृकुटीमण्डप । भृकुटीमण्डपमा प्रत्येक महिना मेला तथा महोत्सवको आयोजना भइरहन्छ । विभिन्न कम्पनी तथा संस्थाहरुले विभिन्न किसिमका मेला तथा प्रदर्शनीका लागि भाडा पनि तिर्ने गरेका छन् । समाज कल्याण परिषदलाई निश्चित शुल्क तिरेर विभिन्न संस्था तथा कम्पनीहरुले मेला आयोजना गर्ने गरेका छन् । उक्त ठाउँमा मेला महोत्सव मात्र नभई गीतका छयाङ्कनदेखि सुटिङ्गसम्म हुन्छ । समाज कल्याण परिषदले समायवधि तोकेर भाडा लिने गरेको छ । समाज कल्याण परिषद, भृकुटी मण्डप सञ्चालन कार्यालयका अनुसार भृकुटी मण्डपको हल र चौरमा समेत कार्यक्रम गर्दा प्रतिदिन साढे २ लाख रुपैयाँ शुल्क लाग्छ । यस्तै, ठूलो चउरमा मेला तथा महोत्सवको आयोजना गर्दा प्रतिदिन ७५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । भृकुटीमण्डपमा भित्र बगैंचा पनि छ । उक्त बगैंचा प्रयोग गर्दा प्रतिदिन ७५ हजार भाडा तिर्नुपर्ने हुन्छ । मूल गेट छेउको चउरमा प्रतिदिन ७५ हजार रुपैयाँ भाडा लाग्छ । यस्तै, प्रदर्शनी पछाडिको चउर प्रयोग गर्दा प्रतिदिन १२ हजार ५ सय रुपैयाँ भाडा लाग्ने पनि भृकुटीमण्डप सञ्चालन कार्यालयले बताएको छ । रिपोर्टर्स क्लबसँगको चउर प्रयोग गर्दा प्रतिदिन १२ हजार ५ सय शुल्क तिर्नु पर्ने हुन्छ । यस्तै, ठूलो पर्दाको फिल्म (फिचर फिल्म सुटिङ्), सानो पर्दा फिल्म (टेलिफिल्म) सुटिङ र लोक दोहोरी, सांगितिक गीत, तीज गीत छायाङ्कन गर्दा प्रतिदिन १५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुनछ । भृकुटीमण्डप सञ्चालन कार्यालयले पेप्सी, कोकाकोला, फ्यान्टा आदिको गाडी प्रवेश गर्न प्रतिमहिना ३ हजार भाडा तिर्नुपर्ने व्यवस्था गरेको छ । भृकुटीमण्डप भित्र सञ्चालन भएका नाङ्लो पसल र होलसेल व्यापारले प्रतिमहिना ३÷३ हजार रुपैयाँ भाडा बुझाउनु पर्ने हुन्छ ।

महानगरले दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ७० प्रतिशत गिरावट, विकल्प नखोजे आन्दोलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएको छ । महानगरपालिकाले गत पुस १९ गतेदेखि दरबारमार्गमा पार्किङ गर्न नपाउने व्यवस्था गरेसँगै दरबारमार्गमा दैनिक हुने व्यापारमा ७० प्रतिशतसम्म गिरावट आएको बताइएको हो । महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडककमो किनारनामा गरिँदै आएको पार्किङ हटाएको थियो । सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गरेका थिए । अहिले पनि महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्थापन नगरी पार्किङ हटाएको भन्दै दरबारमार्गमा व्यवसायीले आक्रोश समेत व्यक्त गरिरहेका छन् । उनीहरुले विकल्पको रुपमा पार्किङको व्यवस्थापन नै नगरी सडकको पार्किङ हटाउँदा उल्लेख्य रुपमा व्यापार घटेको गुनासो गरेका हुन् । आइक्लबकामा कार्यरत आश कुमार गुरुङले पछिल्लो समय दरबारमार्गमा हुने व्यापारमा उल्लेख्य रुपमा कमि आएको बताए । उनका अनुसार सडकको पार्किङ हटाउँदा मानिसको आवतजावत कम भएर व्यापार पनि खस्किएको छ । आइक्लको ब्यापार पनि पार्किङ हटेपछि ५० प्रतिशतले कमि आएको उनको भनाइ छ । ‘अहिले दरबारमार्ग क्षेत्रमा पार्किङको व्यवस्था छैन, ग्राहकको लागि पार्किङ स्थल छैन, जसको असर अहिले व्यापारमा देखिएको छ, दरबारमार्गमा आउने अधिकांश ग्राहकहरु आफ्नो सवारी लिएर आउनुहुन्छ, पछिल्लो समय सवारी पार्किङको सुविधा नभएपछि व्यापारमा नै कमि देखिएको छ, यसरी व्यापारमा कम हुँदै जाने हो भने घर÷सटर भाडा तिर्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने । उनका अनुसार स्थानीय व्यापारीले पनि सवारी पार्किङका लागि नजिकैका होटलमा पार्किङ गर्दै आएका छन् । लामो समयदेखि दरबारमार्गमा सःशुल्क सडकको छेउमा पार्किङको व्यवस्था थियो । महानगरले उक्त ठाउँमा पार्किङ निषेध गरेसँगै त्यसको असर अहिले दरबारमार्ग क्षेत्रको व्यापार/व्यवसायमा देखिन थालेको हो । दरबारमार्ग आन्तरिक तथा बाह्य पर्यटनको आवागमन हुने ठाउँ हो । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर बिस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकारात्मक असर परेको व्यवसायीहरुको गुनासो छ । पार्किङ्गको व्यवस्था हट्नुअघिको दरबारमार्गको बेलुकीको दृष्य यस्तै, दरबारमार्ग विकास बोर्डका कार्यालय सचिव यज्ञराज पाण्डेले अहिले दरबारमार्गको व्यापारमा ७० प्रतिशतसम्म कमी आएको बताए । उनका अनुसार अहिले दरबारमार्गमा दिनहुँ मानिसको आवतजावतमा पनि निकै कमि आएको छ । ‘अहिले पार्किङ छैन, केही ठाउँमा निजी पार्किङ छ, बिचमा ७० फिटको सडक छ, ४ लेन सडकमा गाडी चलाउँदा पनि १२/१३ फिट सडक खालि छ, तर पार्किङ गर्न पाइँदैन,’ उनले गुनासो गरे । विकास बोर्डले शुक्रबार पार्किङको विषयलाई नै लिएर पत्रकार सम्मेलन पनि गर्दैछ । पहिलाको ठाउँमा नै पार्किङ गर्न नदिए वा पार्किङ गर्ने स्थानको टुङ्गो नलगाए आन्दोलन गर्ने बोर्डको तयारी छ । दरबारमार्ग क्षेत्रको पार्किङ जानकारी नदिई हटाइएको पनि बोर्डको आरोप छ । ‘यहाँको पार्किङको विषयलाई लिएर महानगरपालिमा पनि गयौं, उपप्रमुखसँग पनि कुरा गर्यौं, उहाँहरूले यस विषयमा सकारात्मक तरिकाबाट हेर्नु भयो, मेयरसँग पटक पटक भेट्न कोसिस गर्दा पनि सकेनौं, फोन पनि उठाउनु हुन्न, उहाँलाई पत्र पनि पठाएका छौं,’ उनले भने । सडकमै पार्किङ गर्न दिन्नौं : अध्यक्ष श्रेष्ठ काठमाडौं महानगरपालिकाका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले दरबारमार्गको सडकमै सवारी पार्किङ गर्न दिने अवस्था नरहेको बताए । ‘उहाँहरू (व्यवसायी) पार्किङ गर्न पाउँ भनेर अडानमा हुनुहुन्छ, महानगर ट्राफ्रिक प्रहरी त्यो ठाउँमा पार्किङ गर्न नदिने पक्षमा छ, व्यापारिक दृष्टिकोले पार्किङ राख्न दिनुहुन्न भन्न पनि सकिन्न, दिन पनि भन्न सकिन्न, सबै मिलेर समस्याको समाधान गर्नु पर्छ,’ उनले भने । महानगरपालिकाले सडकको छेउमा सवारी पार्किङ राख्न नुहिने नियम भएका कारण नै त्यहाँ निषेध गरिएको उनको भनाइ छ । अहिले पार्किङ गर्ने ठाउँ छैन, तर निजी ठाउँमा पनि गर्न सकिन्छ, त्यसमा पार्किङ गर्ने सक्ने व्यवस्था मिलाउन महानगरले पनि पहल गर्नु पर्छ,’ उनले भने ।

छैठौं वर्षमा खल्ती, दुई सब्सक्रिप्शन प्लान ल्याउँदै

काठमाडौं । डिजिटल वालेट खल्ती छैठौं वर्षमा प्रवेश गरेको छ । माघ १२ गते बुधबार कम्पनी स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने भएको छ । यस प्लान अन्तर्गत खल्तीले विशेष अफर र सुविधा प्रधान गर्ने जनाएको छ। साथै, खल्तीले विभिन्न साझेदारहरुसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभअवे पनि ल्याएको छ । दैनिक ३ लाखसम्म भुक्तानी हुने गरको खल्तीमा ३१ लाख प्रयोगकर्ताको रहेको कम्पनीले जानकराी दिएको छ । खल्तीकले देशभरि ७० हजार एजेन्ट, ६० हजार व्यापारी, ५० बढी बैंक तथा वितिय संस्था, ११ सय सहकारीहरू र २५० बढी कर्मचारीको साथमा काम गरिरहेको छ। खल्तीले गत वर्ष ‘डिजिटल अपर्टुनिटि/इन्क्लुजन अवार्ड’ को श्रेणी मा ‘विट्सा ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड २०२२’ र सुचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ‘आइएसओ २७००१ः२०१३ प्रमाणपत्र’ प्राप्त गरेको थियो ।  

नेपालमा डेढ लाख रुपैयाँसम्म पर्ने हेलमेट, कुन कम्पनीको बढी सुरक्षित ?

काठमाडौं । दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक चिज हो हेलमेट । दुईपाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन् । ‘भैँसी किन्दा पाडो उपहार’ भने जस्तै धेरै कम्पनीले मोटरसाइकल खरिद गर्दा हेलमेट निःशुल्क प्रदान गर्छन् । जुन हेलमेटमा कम्पनीको लोगो पनि हुन्छ । सुरक्षा सँगसँगै नयाँ तथा आकर्षक डिजाइनका महँगा हेलमेट लगाउनु युवाहरुको प्यासन नै बनिसकेको छ । मूल्यका हिसाबमा बजारमा हेलमेट लाखौं रुपैयाँसम्म पर्छन् । एउटा मोटरसाइकलको आधा मूल्य नै राम्रो हेलमेटमै पर्न जान्छ । दुईपाँग्रे सवारी चालकहरूले सबैभन्दा बढी भारतीय कम्पनीले उत्पादन गरेका हेलमेट प्रयोग हुने हेलमेट नेपालका सेल्स म्यान करन श्रेष्ठले बताए । उनका अनुसार नेपालमा सबै भन्दा बढी ६ देखि १० हजार रुपैयाँसम्म पर्ने हेलमेट प्रयोग हुन्छन् । ‘पहिला मान्छे सेफ्टी हेर्दैन थिए, अहिले सेफ्टटीको विषयमा मान्छे निकै चासो राख्छन्, युवाले ग्राफिक्स र बुढा पाकाले सहज किसिमको हेलमेट खोज्छन्, हेलमेटका पनि मोडल हुन्छन्, एउटै कम्पनीले धेरै मोडल बनाउँछ, मोडल अनुसार फिचर हुन्छन्, त्यही अनुसारको मूल्यको निर्धारण गरिएको हुन्छ,’ उनले भने । नेपालमा महँगोमा हेलमेट १ लाख ६० हजार रुपैयाँसम्म प्रयोग भएको पाइएको उनको भनाइ छ । एलएसटु, एमटी, एसएमके बिलमोला लगायतका कम्पनीको हेलमेटको माग बढेको उनी बताउँछन् । स्टिलबर्ड हेलमेट स्टिलबर्ड धेरै युवाको रोजाइमा पर्न सफल हेलमेट हो । उक्त हेलमेट दुईपाँग्रे सवारी चलाउँदा सुरक्षाको हिसाबले पनि निकै उपयुक्त मानिन्छ । स्टिलबर्ड हेलमेटका विभिन्न मोडल बजारमा पर्याप्त उपलब्ध छन् । यो सानो र हेर्दा आकर्षक देखिने भएकाले सो हेलमेट सबैको रोजाइमा पर्छ । यसको सेल सानो भएका कारण स्कुटरको डिग्गीमा पनि सहजै राख्न सकिन्छ । अन्य हेलमेटको तुलनामा यो हेलमेट सस्तो पनि छ । स्टिलबर्ड हेलमेट नेपालमा ३ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको पाइने बताइएको छ । यो हेलमेट विभिन्न रङ र मोडलमा उपलब्ध छ । एसएमके हेलमेट पछिल्लो समय एसएमके हेलमेटका नयाँ नयाँ मोडलहरू बजारमा आइरहेका छन् । यो हेलमेट टाउकामा लगाउँदा निकै सहज भएको महसुस हुन्छ । जसले गर्दा भाइजरको प्रयोग गरेर नै सवारी कुदाउन सकिन्छ । यो हेलमेटमा डबल भाइजर छ । हेलमेट प्रयोग गर्दा मानिसको मुखबाट निस्किएको बाफले भाइजलाई नछेकोस् भनेर एन्टी फग पनि दिइएको हुन्छ । यो युरोपेलीबाट मान्यता प्राप्त हेलमेट हो । एसएमकेका पनि विभिन्न मोडल छन् । मूल्य अनुसार यस कम्पनीको हेलमेटमा पनि विशेषता समेटिएका छन् । एसएमकेका ७/८ वटा ग्राफिक्स रहेको बताइएको छ । एसएमकेका हेलमेट नेपाली बजारमा ७ हजारदेखि साढे २४ हजार रुपैयाँसम्मका उपलब्ध छन् । केवाईटी हेलमेट केवाईटीका हेलमेट अधिकांश बाइक राइडरहरुले प्रयोग गरेको पाइन्छ । यो इटालियन हेलमेट हो । तर, इन्डोनेसियाबाट यो हेलमेट आएको कारण यसको मूल्य केही कम हुन गएको पनि बताइएको छ । अहिले नेपालमा सो ब्राण्डका हेलमेट ११ देखि १२ हजारसम्म उपलब्ध छन् । बिलमोला हेलमेट बिलमोला हेलमेटका पनि मोडल धेरै किसिमका छन् । यसको मोडल अनुसार ग्राफिक्स पनि भिन्नभिन्न हुन्छ । बिलमोला स्पाइकर मोडेलको हेलमेटलाई नेपालमा १९ हजार ५ सय रुपैयाँमा पाइन्छ । यो दुवईबाट मान्यता प्राप्त हेलमेट हो । यस हेलमेटको अगाडिको भागलाई खोली आधा बनाइ पनि प्रयोग गर्न सकिन्छ । यसको लुक्स हेर्दा आकर्षक देखिन्छ । सेफ्टीको हिसाबले सो हेलमेट निकै सुरक्षित मानिन्छ । यो हेलमेट सिटी राइडको लागि बढी मात्रमा प्रयोग हुँदै आएको छ । यस हेलमेटका पनि धेरै वटा मोडल बजारमा उपलब्ध भएको कारण अलग अलग मूल्यको निर्धारण गरिएको छ । एजीवी हेलमेट एजीवी ट्र्याकमा जाने हेलमेट हो । सेफ्टीको लागि यो हेलमेट निकै उपयुक्त मानिन्छ । एजीवीका विभिन्न मोडल छन् । यसको मोडल केवानदेखि सुरु हुन्छ । एजीवी हेलमेट नेपालीमा बजारमा ७ देखि एक लाख ८० हजार रुपैयाँसम्मका उपलब्ध छन् । शार्क हेलमेट शार्क पनि ट्र्याकमा जाने हेलमेट हो । अन्य हेलमेट भन्दा यो हेलमेट सेफ्टीको हिसाबले नम्बर वान मानिन्छ । यो फ्रान्सको प्रडक्ट हो । यसका पनि विभिन्न मोडल छन् । मोडल अनुसार रकमको निर्धारण हुने बताइएको छ । यो कम्पनीको हेलमेट नेपालमा २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पर्ने बताइएको छ । ठन्डर हेलमेट ठन्डर मोडलको कार्बन फाइबर भएको यो हेलमेट फुल फेस हेलमेट हो । यसका पनि विभिन्न सेग्मेन्टमा हेलमेट छन् । यस कम्पनीका हेलमेट पनि विभिन्न मोडलसँगै रङमा पनि उपलब्ध छन् । यो हेलमेट नेपालमा ७ हजार रुपैयाँदेखि माथि पाइने बताइएको छ । आइरो हेलमेट यो हेलमेट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । यो कम्पनीले सेफ्टीलाई पनि उच्च प्राथमिकता दिदै सेफ्टी तयार पारिएको छ । यो सात वटै रङमा उपलब्ध छ । आइरो हेलमेट २९ हजारदेखि माथिसम्मका छन् । बेल हेलमेट विश्वमा पहिलो पटक हेलमेट उत्पादन गर्ने कम्पनी हो, ‘बेल हेलमेट’ । यो कम्पनीले सस्तोदेखि महँगोसम्मको हेलमेट उत्पादन गर्छ । यो हेलमेट सबैले प्रयोग गर्छन् । बजारमा यस कम्पनीको हेलमेट २ हजार देखि ८० हजारसम्म मूल्य भएको पाइन्छ । डट हेलमेट हेलमेट विशेष गरी अफरोडको लागि प्रयोग हुने बताइएको छ । डट बाइक प्रयोग कर्ताहरूले उक्त हेलमेटको सबैभन्दा बढी प्रयोग गर्छन् । यसको मूल्य पनि मोडल अनुसारको निर्धारण गरिएको छ । यो १०÷११ हजार रुपैयाँसम्ममा पनि पाइन्छ ।

माघ २४ गतेदेखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रदर्शनी अवलोकनका लागि रू एक सयको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवालोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् । महासचिव अधिकारीले मधेस प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत २ देखि ६ सम्म प्रदर्शनी गर्ने तयारी रहेको जानकारी दिए ।

हिउँ पन्छाएपछि फेरि सुरु भयो जुम्लाको हवाई सेवा

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, ‘आजका लागि दुई वटा मात्रै उडान भएको छ ।’ विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए । हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।

‘व्यवसायीलाई बैंकहरुले दिने दवाव कम गर्न सरकारले सहयोग गर्नुपर्छ’

काठमाडौं । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाले दिने दवावको कम गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य ‍संघ काठमाडौंले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संघले व्यवसायीहरु दवावको कारण आत्महत्यासम्म गर्न पुगेको बताउँदै यसप्रति ध्यान दिन आग्रह गरेको छ । ‘आज सामाजिक संजालमा बैंकको वित्तीय संस्थाका दवाव र अन्यायका धेरै कुराहरु आइरहेको छन्, यस्ता अप्रिय घटना हुन नदिन र व्यवसायीको मनोवल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्रसँग सम्बन्धित निति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । संघले ब्याजदरको स्थिरताको लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । ‘हालका बैंकिङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्वका लागी निजि क्षेत्र सरकारको ध्यानाकर्षण गर्दै अविलम्ब समस्या समाधानका लागी संवोधन हुन पनि जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, उद्योग स‌ंगठन मोरङले सरकारले व्यवसायीको समस्यालाई गम्भिरतापूर्वक सुनी समय मै सम्बोधन गर्नु आवश्यक रहेको बताएको छ । मंगलबार नयाँ बानेश्वरमा व्यवसायीलर् गरेको आत्मदाहले नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याईरहेको बताउँदै संगठनले अभिभावकको रुपमा राज्य प्रस्तुत हुनु पर्ने बताएको छ । संगठनले पेशागत संघरसंस्थाको माध्यमबाट पद्धती सुधारका लागि राज्यका संयन्त्रहरुलाई दवाव दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा श्रोत हुन अनुरोध गरेको छ ।