विकासन्युज

सनराइज बैंकले बनायो चेतनामुलक भिडियो, सिआइबिलाई गर्यो हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो बनाएको छ । बैंकिङ्ग पहुँच बढ्दै गएको अवस्थामा यसको प्रयोगसँगै सतर्कता अपनाउनु आवश्यक देखिएकोले बैंकले चेतनामुलक भिडियो बनाएको हो । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएको छ । बैंकले उक्त भिडियो केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । उक्त भिडियो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फत समाजमा पुर्याएर चेतना बढाउन मदत गर्ने जनाएको छ । साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् ।

चैतभित्र विद्युत् उत्पादन गर्ने तयारी गर्दै घारखोला जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताए । उनका अनुसार तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम पनि अन्तिम चरणमा छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ । अमिला काफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत्गृहको दुरी एक हजार २०० मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरे बगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत्गृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रङगरोगन भइरहेको छ । विद्युतगृहमा टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण जडान भइरहेको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् । सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ । पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ । विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको हो । कूल रु दुई अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले कर्जा लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवलको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन् । रासस

सर्वोच्चले भन्यो : होटेल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क पाउँदैनन्

काठमाडौं । सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ, २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार सर्वाेच्चले यस्ताे निर्देशन दिएकाे हाे । ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट र किटानी रुपमा शुलकको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएको अवस्थामा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले यसरी साूमहिक सम्झौता बमोजिम शुल्क रकम लिने कार्य गर्न नदिनु, नदिलाउनू, त्यस प्रकारको कार्य तत्काल रोक्नू भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषेध मिश्रित परमादेश समेत जारी हुने ठहर्छ,’ फैसालामा भनिएकाे छ ।    

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

  जुम्ला । हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ । हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । ‘विद्युत्मा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालीकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युत्को काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ’, उनले भने । विद्युत् अवरुद्ध भएपछि खलङ्गालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन् । हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ । सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा १२ पटक म्याद थप्दा पनि सम्पन्न भएन आयोजना, नयाँ ठेकेदारको खोजी

काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन । चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेशनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरिदिइएको समयमा काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो । इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । ‘अब इङ्कले काम नगरेपछि नयाँ ठेकेदार कम्पनीको खोजी गरिने निर्णय भएको छ, यसका लागि तीन नगरको बैठकले तय गर्नेछ’, आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीको खोजीबारे तीन नगरका जनप्रतिनिधिको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पूराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयवासीका घरघरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने जनाइएको थियो । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याइएको हो । नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ । बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब बाह्र वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक एडिबी बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब एक अर्बमा सम्पन्न हुने जनाइएको थियो । हाल खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाएका हुन् । नगरप्रमुखले खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थाल्न लगाएका छन् । यस्तै पनौती नपा–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माणकार्य सक्न नयाँ ठेकेदार कम्पनीको खोजी गर्नुपर्ने जनाइएको छ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । वादेका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पु¥याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ । मुख्य तथा अन्य पाइपलाईनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ । आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने इन्टर कनेक्सनको काम भएको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी आयोजनाको काममा ढिलाइ भएको जनाइएको छ । आयोजनाअनुसार क्षति पु¥याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका एक हजार एक सय १४ इन्टर–कनेक्सन गरिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् । “अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो” धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीले केही महिनामै आयोजना सकेर खानेपानी वितरण हुनसक्ने उनको अनुमान छ । आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकबाट अनुदान तथा ३५ प्रतिशत रकम विसं २०६९ असारमा नगर विकास कोषबाट ऋणका रुपमा लिइएको थियो । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ । वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा भएको थियो । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याटबाहेक ९९ करोड ८ लाख सात हजार रुपैयाँ रहेको छ । रासस

राहदानी विभागमा सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाइँदै

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ । विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताए । उनले भने, ‘सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भीड घटाउन हामीले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ ।’ कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ । राहदानी विभागमा अबका दुई/तीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ । विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिएका थिए । राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ । अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले बताए ।

यस कारण घाटामा गयो कृषि विकास बैंक, सर्वोच्चमा १३ वटा मुद्दा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएपछि यस विषयमा धेरैकाे ध्यान केन्द्रीत भएकाे छ । विशेष गरेर बैंक तथा वित्तीय संस्था र लगानीकर्ताहरु माझ कृषि विकास बैंक किन नोक्सानमा गयो भन्ने विषय चर्चा चुलिएकाे छ । ५ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा कृषि विकास बैंकले ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यसपछि बैंकले निरन्तर नाफा कमाउँदै आफूलाई अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा आफूलाईै देखाएको थियो । बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड १७ लाख २७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा १ अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । निरन्तर राम्रो नाफा कमाइरहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ऋणात्मक अर्थात् नोक्सानी ब्यहोर्नु पर्याे । बैंक दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटामा गएको छ । तरलताको असहजता, लगानीयोग्य पूँजीमा आएको संकुचन, खराबकर्जाको वृद्धि लगायतका कारणले बैंक ऋणात्मक अवस्थामा पुगेको बैंकले जनाएकाे छ । पूँजी बजारको गिरावट, लागत वृद्धि, निष्कृय कर्जावृद्धि, नियामकले कर्जा नोक्सानी व्यवस्था सम्बन्धि गरेको परिवर्तनको निरन्तरता लगायतका कारण बैंकको नाफामा प्रतिकुल असर गरेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले बताए । खराब कर्जा बढ्दा प्रोभिजन गर्नुपर्ने भएकाले नाफामा असर गरेको उनको भनाइ छ । उनका अनुसार बैंकले ८ अर्ब रुपैयाँको हाराहारीमा प्रोभिजन गर्नु परेको छ । ‘कोरोनाले सिथिल पारेको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएपनि बैंकिङ्ग क्षेत्रले तरलता अभाव खेप्नु पर्याे, जसले गर्दा समयमा पैसा उठाउन सकिएन, केही ठाउँबाट पुस मसान्तसम्म आउनु पर्ने थियो तर त्यो पैसा आउन सकेन, पैसा नआउँदा खराब कर्जा (एनपीएल) बढ्यो,’ उनले भने, ‘एनपीएल बढेको कारण प्रोभिजन गर्नुपर्याे, त्यो प्रोभिजिनिङ गर्नुपर्दा नाफा कम देखिएको हो तर माघ मसान्तसम्ममा नै सुधार हुन्छ, बैंकलाई आफ्नो साइजमा ल्याउँछौं, अहिलेदेखि नै सुधार हुँदै गएको छ ।’ चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ भएकाे छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटामा भएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । तर, बैंकको वितरणयोग्य नाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको सीडी रेसियो ८७.५४ प्रतिशत र आधार दर ११.०६ प्रतिशत रहेको छ । पहिलो त्रैमासमै थियो समस्या कृषि विकास बैंकको दोस्रो त्रैमासमा वित्तीय विवरण नकारात्मक आएपनि यो अवस्था पहिलो त्रैमासमा नै देखिनु पर्ने बैंक स्रोतको भनाइ छ । यसअघि बैंकको सीईओमा अनिल कुमार उपाध्याय थिए । धेरैको बुझाइ उपाध्याय बाहिरिएपछि बैंकको वास्तविक वित्तीय विवरण बाहिरिएको भन्ने छ । बैंकले सही तथ्यांक नराखेको भन्दै कृषि विकास बैंकलाई राष्ट्र बैंकले २० लाख रुपैयाँ जरिवाना समेत गराएको थियो । बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई २० लाख रुपैयाँ जरिवाना गराएको थियो । १३ वटा मुद्दा सर्वाेच्च अदालतमा पछिल्लो समय कृषि विकास बैंकका विरुद्ध सर्वाेच्च अदालतमा १३ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरु कर्जासँग सम्वन्धित रहेको कामु सीईओ सुवेदीले बताए । ऋणीहरुले चित्त नबुझ्दा मुद्दा हाल्ने गरेको उनको भनाइ छ । ‘ऋणीहरुले समयमा कर्जा भुक्तानी गर्दैनन्, ऋण नतिरेपछि बैंकले लिलामी गर्छ, लिलाम गरेपछि बैंकले आफ्नो रकम असुल गर्छ, त्यसमा चित्त बुझेन भनेर मुद्दा हालिदिन्छन्,’ उनले भने, ‘ठूलठूला कर्जा लिएर पैसा नतिर्ने धेरै छन्, बिएन सुपरमार्केट, ल्याण्ड मार्क होटलको कर्जा धेरै छ, बैंकको कर्जा चुक्ता गरेका छैनन्, कर्जा चुक्ता नगरेपछि लिलामीमा राखिएकाे छ तर उनीहरुले अदालतको स्टे अर्डरबाट रोकेका छन् ।’

सबैको स्वास्थ्य बीमा गर्दै बागलुङको बडिगाड गाउँपालिका

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले पाँच प्रकारका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बीमा सेवा दिन थालेको छ । गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क पहुँचमा ल्याउन थालिएको हो । गाउँपालिकाले पाँच वर्षभित्र पालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने लक्ष्यअनुसार कार्यक्रम ल्याउन थालेका गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार ‘ख’ वर्गको अपाङ्गता, स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका र सुकुम्वासीलाई निःशुल्क बीमा गर्न थालिएको छ । लक्षित वर्गले स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुँदा लाग्ने प्रिमियम शुल्क गाउँपालिकाले भुक्तानी गर्नेछ । गाउँपालिकाको स्वास्थ्य शाखामार्फत सञ्चालित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा २० लाख लागतमा लक्षित वर्गको निःशुल्क बीमा थालिएको छ । ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत यो वर्ष २० लाखको स्वास्थ्य बीमा गर्ने लक्ष्य छ, नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भरपर्दो माध्यम नै स्वास्थ्य बीमा हो’, गाउँपालिका अध्यक्ष अधिकारीले भने, ‘अहिलेसम्म सात सय जनाको निःशुल्क बीमा गरिएको छ, जसमध्ये बीमा गर्नेमा एकल महिला, एकल पुरुषको सङ्ख्या अधिक रहेको छ, पाँच वर्षमा सबै नागरिकलाई निःशुल्क बीमा गर्ने योजना छ ।’ बडिगाड गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको वडा नम्बर २, ७ र ९ मा ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ लागू गरेको छ भने अन्य वडामासमेत उक्त कार्यक्रम थाल्ने बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले बताए । केसीका अनुसार पालिकाले स्वास्थ्य बीमाको प्रिमियम शुल्क तिर्ने गरी नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना छ । ‘पालिकाले ल्याएको योजना हामीले कार्यानवयन गर्ने हो, स्वास्थ्य बीमा बोर्डअन्तर्गत वडा–वडामा दर्ता सहयोगी छन्, उनीहरुले लक्षित वर्गको बीमा गरेर पालिकामा एकमुष्ट बील भरपाईसहित भुक्तानी माग्नेछन्, हामीले नियम अनुसार भुक्तानी गर्नेछौँ’, केसीले भने, ‘स्वास्थ्य बीमा गरेबापत एक परिवारले एक लाखसम्मको एक वर्षमा निःशुल्क औषधि र उपचार पाउनेछ ग्रामीण भेगका नागरिकलाई राहत मिल्नेछ ।’ एकल महिला र एकल पुरुष, कुपोषित बालवालिका र सुकुम्बासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले राहत भएको गाउँपालिकाको भनाइ छ । हालसम्म सात सय जनाको स्वास्थ्य बीमा गरिसकेको पालिकाले तीस हजार नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । बडिगाड गाउँपालिका भौगोलिक हिसाबले अत्यन्तै विकट रहेकाले अझै घर–घरमा स्वास्थ्यको पहुँच पुग्न नसकेको भन्दै पालिकाले ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत पायकपर्ने स्थानमा स्वास्थ्य शिविरसमेत गर्दै आएको छ । गाउँपालिकाको १० वटै वडामा पुगेर गर्भवतीको भिडियो एक्सरे, रगत परीक्षण, दुई वर्ष मुनिका बालबालिकाको तौल अनुगमन, परिवार नियोजनको सेवा, शङ्कास्पद बिरामीको खकार नमुना सङ्कलन, सुगर परीक्षण र स्वास्थ्य परीक्षण तथा परामर्श गर्न थालिएको छ । गाउँपालिकाको नयाँ नेतृत्व आयसँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न थालेपछि स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा राहत पाएका हुन् । यस्तै बागलुङको निसीखोला गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि सबै नागरिकको स्वास्थ्य बीमाबापतको रकम गाउँपालिकाले भुक्तानी गर्ने नीति लिएको छ । रासस