विकासन्युज

रुकुममा ३ दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन् । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् । सल्यान र रुकुम (पश्चिम) को बिचमा फल्ट हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम (पूर्व) ले जनाएको छ । विद्युत् सुचारु गर्न निरन्तर काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए ।

६६ वर्षमा पनि बनेन कान्ति लोकपथ

पाटन । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन । सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो । ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ । कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न । कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बताउँछन् । ‘पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्’, उनले भने, ‘अर्थ मन्त्रालय समक्ष बहुवर्षीय ठेक्का हुने गरी ६६ करोडको योजना सहमतिका लागि पठाएका छौंँ । योजना आयोगबाट पनि सिफारिस भइसकेको छ ।’ उनका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढवर्षभित्र कान्तिलोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ । कान्ति लोकपथ आयोजनाका इञ्जिनियर रबीन्द्र महर्जनका अनुसार अहिले दुईवटा पुरानो ठेक्काको काम भइरहेको छ । पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ । यसमध्ये करिब दुई किमी सम्पन्न भइसकेको छ । उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले १९ करोड ३९ लाख ८३ हजार आठ सय ६४ रुपैयाँमा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२/७३ मा सम्झौता गरेको थियो । विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको इञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ । यसका लागि नागार्जुन सर्वशक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ । सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी इञ्जिनियर महर्जनले बताए ।

भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिए । उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उनले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराए । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिए । उनले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिए । प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिए । भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रुपमा रहेको व्यापार सहजीकरण, राजस्व सङ्कलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखी अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुनसक्ने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले आग्रह गरे । उनले भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवं राजस्व चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले विभिन्न चरणमा अगाडि बढाएको भन्सार सुधार तथा आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिए । उनले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व सङ्कलन गरी राष्ट्र निर्माणका लागि आवश्यकपर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न आग्रह गरे । राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा रहेका कमीकमजोरी तत्काल हटाउने र राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र र क्रियाकलापमा निगरानी बढाउन तथा कानुनविपरीतका कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको बताए । विभागले समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरी पैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं महानगरले ३ महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

काठमाडाैं । काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो । महानगरले आर्थिक ऐन-२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक पाँच सय शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट एक हजार शुल्क निर्धारण गरेको छ । महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ । चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म ३१ करोड ४२ लाख असूल उपर गरेको डा अघिकारीको भनाइ छ । लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक-पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्याैता रकम पनि असूल हुन थालेको बताएको छ ।

सनराइज बैंकले बनायो चेतनामुलक भिडियो, सिआइबिलाई गर्यो हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो बनाएको छ । बैंकिङ्ग पहुँच बढ्दै गएको अवस्थामा यसको प्रयोगसँगै सतर्कता अपनाउनु आवश्यक देखिएकोले बैंकले चेतनामुलक भिडियो बनाएको हो । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएको छ । बैंकले उक्त भिडियो केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । उक्त भिडियो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फत समाजमा पुर्याएर चेतना बढाउन मदत गर्ने जनाएको छ । साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् ।

चैतभित्र विद्युत् उत्पादन गर्ने तयारी गर्दै घारखोला जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताए । उनका अनुसार तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम पनि अन्तिम चरणमा छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ । अमिला काफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत्गृहको दुरी एक हजार २०० मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरे बगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत्गृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रङगरोगन भइरहेको छ । विद्युतगृहमा टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण जडान भइरहेको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् । सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ । पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ । विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको हो । कूल रु दुई अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले कर्जा लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवलको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन् । रासस

सर्वोच्चले भन्यो : होटेल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क पाउँदैनन्

काठमाडौं । सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ, २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार सर्वाेच्चले यस्ताे निर्देशन दिएकाे हाे । ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट र किटानी रुपमा शुलकको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएको अवस्थामा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले यसरी साूमहिक सम्झौता बमोजिम शुल्क रकम लिने कार्य गर्न नदिनु, नदिलाउनू, त्यस प्रकारको कार्य तत्काल रोक्नू भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषेध मिश्रित परमादेश समेत जारी हुने ठहर्छ,’ फैसालामा भनिएकाे छ ।    

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

  जुम्ला । हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ । हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । ‘विद्युत्मा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालीकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युत्को काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ’, उनले भने । विद्युत् अवरुद्ध भएपछि खलङ्गालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन् । हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ । सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।