विकासन्युज

काठमाडौं महानगरले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ । कामपाले आयोजना गरेको अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि नेपाल खड्गी सेवा समितिअन्र्तगत ४७ गुठी तथा खललाई एक लाखका दरले रकम उपलब्ध गराइएको हो । रकम प्राप्त गर्ने गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं बाजं खलः, कंगअजिमानायः खिं, सिपाइँनायःगुठी, पुन हिटी गुठी, योमरीपुन्ही गुठी, दफ्तर नायः खिं बाजं खलः, ईन्द्रायणी गुठी, ईन्द्रायणी सना गुठी, ईन्द्रायणी गुठी समाज, भद्रकाली गुठी, ईन्द्रायणी गुठी, भद्रकाली गुठी खलः, भद्रकालीनायोखिंं बाजँखलः समिति रहेका छन् । त्यसैगरी पंचकुमारी सिं गुठी, मैतीअजिमानायः खिं बाजं खल, पचली भैरव तःधं गुठी, पचली भैरव सेवा गुठी, पचली भैरव नायोपाचो तधं गुठी, ईन्द्रायणी तःधं गुठी, ईन्द्रायणी शान्ती गुठी, ईन्द्रायणी सेवा गुठी, ईन्द्रायणी आजाःअजु सना गुठी, भद्रकाली छ्वास गुठी, बालाच¥हे सेवा गुठी खलः, पचली भैरव चिधं गुठी क्वःने, बागबजार नेवाबाजं खलः, भद्रकाली धर्म गुठी, ईन्द्रायणी गुठी, अजिमा सेवागुठी, ईन्द्रायणी गुठी समाज, नरसिंह माइला गुठी, बैकुण्ठ गुठी, भुरुङ् खेल मेहर सिं गुठी, चल्खु अजिमा गुठी, गुहेश्वरी द्यः पालाः खड्गी समुह, पञ्चकुमारी खड्गी सेवा गुठी, बलराम गुठी, शान्त गुठी, ईन्द्रायणी सना गुठी द्यः बु रहेको छ । कार्यक्रममा कामपाप्रमुख बालेन्द्र साहले अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौँको सांस्कृतिक पहिचान नै धरापमा पर्नसक्ने भन्दै मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न अहिले नै लाग्नुपर्ने बताए। कार्यक्रममा नेवा जातीय महासङ्घका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउन थाल्ने जस्ता विकृतिप्रति चनाखो हुनुपर्ने बताए ।

विदेशबाट फर्केर काष्ठकला उद्योगबाट मासिक २ लाख आम्दानी गर्दै कृष्ण रसाइली

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइसराइ गरी आएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइसराइ गर्न लहर चलेको छ। तराईमा जमिन किन्न होडबाजी छ। तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइसराइ गरी धनकुटा आए । रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आएका हुन् । विसं २०६३ मा उनी रोजगारका सिलसिलामा मलेसिया गएका थिए । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिक रूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरे । सो समयमा मासिक १८ हजार नेपाली तलबमा काम गरेका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किए। उनले भने, ‘विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुर्ख्यौली पेसामा लागेँ ।’ पुर्ख्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन्। पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाए । रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गरे। दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक २० हजार पारिश्रमिक दिएर दुई सहयोगी र ५५ हजार पारिश्रमिक दिएर तीन कालिगड राखेका छन् । साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दै आएका रसाइलीले एउटा सामानको दुई सयदेखि २२ हजारसम्ममा बिक्री गर्दै आएका छन् । वार्षिक २५ लाखदेखि ४० लाखसम्म कारोबार गरेर मासिक दुई लाख कमाइ गरिरहेका रसाइलीले भने, ‘श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ।’ समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ । कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौँलगायत क्षेत्रमा बेच्दै आएका छन् । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिँदै आएका रसाइलीले आफ्नो व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सहयोग गरेको बताए । रासस

लघुवित्तको कर्जा तिर्नै पर्छ, कुनै पनि सरकारले मिनाहा गर्न सक्दैन : सासंद अधिकारी

काठमाडौं । धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले लघुवित्तबाट कर्जा लिइसकेपछि तिर्नै पर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अधिकारीले कर्जा लिई सके पछि तिर्नै पर्ने र कुनै पनि सरकार वा निकायले मिनाहा गर्न नसक्ने बताएका हुन् । ‘लघुवित्त संस्थाहरुले महिलाहरुलाई परनिर्भरताबाट छुटकारा दिएको छ, लघुवित्तले गाउँगाउँमा गई महिलाहरुलाई समूहमा आवद्ध गराउने काम गरेको छ तर, कर्जा लिई सके पछि तिर्नै पर्छ, कुनै पनि सरकार वा निकायले मिनाहा गर्न सक्दैन,’ उनले भने । संघका महासचिव रामवहादुर यादवले लघुवित्तको उदेश्य पवित्र रहेको बताए । उनले लघुवित्त संस्थाहरुले कहिकतै सुधार गर्नुपर्ने भए छलफल गरि सुधार गर्न तयार रहेको बताए । साथै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको लघुवित्त क्षेत्रलाई सवै मिलेर अगाडी बढाउनुपर्ने उनको भनाइ छ । लघुवित्तका माध्यमले उद्यमशिलता विकास गरि विदेशमा रहेका नेपालीलाई नेपालमै रोजगारीको अवसर प्रदान गरि भित्राउनु पर्ने उनले बताए । सघर्ष समितीका महासचिव पे्रम वि.क.ले लघुवित्तमा केहि समस्या रहेको र त्यही सुधार गर्नका १२ बुँदे सम्झौता भएको बताए । साथै उनले १२ बुँदे सहमति महिलाहरुको हकहितमा रहेको दाबी गरे । उनले उक्त सहमति अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । हाल देखिएको समस्याको समाधान सडकबाट नभई संवाद र छलफलबाट समाधान गर्नु पर्ने उनको भनाई छ । नेपाल लघुवित्त बैंकर्स संघले विभिन्न लघुवित्त संस्थाहरुको सहयोगमा ७७ वटै जिल्लामा वित्तीय सारक्षता कार्यक्रमको आयोजना गरिरहेको छ । सोही बमोजिम संघको आयोजनामा माघ १२ गते धादिङको धादिङ वेशीमा विभिन्न लघुवित्त संस्थाहरुमा आवद्ध करिव ३ सय जनालाई वित्तीय साक्षरता प्रदान गरेको हो । कर्जाको सही सदुपयोगीता तथा व्यवस्थापन, बहु बैंकिङ्गबाट परेको असर र उपाय, लघुउद्यम विकास तालिम, ग्राहकको जेहेन्दार बालवच्चालाई छात्रवृति प्रदान, उत्पादन वृद्धिका लागी प्राविधिक सहयोग तथा बजार व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । साथै, समूहलाई सुदृढ बनाउनु पर्ने, कर्जा अनुशासन, सामाजिक कृयाकलाप, ग्राहकको हकहितका लागी सुझाव सल्लाह र समग्र रुपमा लघुवित्त क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागी सुदृढ बनाउनु पर्ने विषयमा छलफल भएको थियो ।

सोलुखुम्बुका अध्यक्षले आफ्नै लगानीमा विद्यार्थीलाई एमबिबीएस पढाउने

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउने भएका छन छ । उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गरेका हुन । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गरेका हुन्। उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् । अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका हुन् ।

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ’, उनले भने । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ । तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा रु आठ हजार आठ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम नौ हजार र अधिकतम १२ हजार रहेको छ । हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।

बीमा प्राधिकरणले १ करोड १५ लाखमा ४ वटा गाडी किन्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ सवारी साधन (गाडी) खरिद गर्ने भएको छ । प्राधिकरणले ४ वटा सवारी साधन खरिद गर्ने भएको हो । प्राधिकरणले च्याङ्गानको एल्स्भिन १.४ एमटि कम्पनीका ४ वटा सवारी खरिद गर्ने भएको हो । उक्त सवारी खरिद गर्न एम.ए.डब्लू इन्टरप्राइजेज प्रालिलाई प्राधिकरणले छनोट गरेको हो । उक्त सवारीको मूल्य अभिवृद्धि कर बाहेकको बोल रकम १ करोड १५ लाख ९२ हजार ९२० रुपैयाँ रहेको छ । सार्वजनिक खरिद ऐन २०६३, नेपाल बीमा प्राधिकरण खरिद विनियमावली २०७९ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७४ को प्रावधान बमोजिम खरिद कम्पनी छनोट गरेको प्राधिकरणले जनाएको छ । बीमा प्राधिकरणको कार्यालयका लागि आर्थिक वर्ष २०७९/८० को बजेटमा सवकारी साधन खरिद गर्न व्यवस्था गरेको थियो । सोही बमोजिम गत मंसिर २४ गते इ–बिडिङ आह्वान गरी पुस २५ गते बोलपत्र खोलीएको थियो ।

अशोक शेरचन तेस्रो पटक प्रभु बैंकको सीईओमा नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन प्रभु बैंकमा तेस्रो पटक नियुक्त भएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् । २७ वर्षको बैंकिङ्ग अनुभव सँगालेका सीईओ शेरचनले सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनी तत्कालिन नेपाल बंगलादेश बैंक प्रवेश गरे । त्यसपछि उनी सन् २००६ मा प्रभु फाइनान्समा जोडिए । उनी फाइनान्सको सीईओ बने । साथै, तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए । जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै टप फाइभ भित्र राख्न सफल भएका छन् । शेरचन सन् २००७ मा तत्कालिन प्रभु फाइनान्सको सीईओमा नियुक्त भएका उनी सन् २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । विभिन्न मर्जर र एक्विजिसनहरू सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ । सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु हुनेछ । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । मर्जरमा अब्बल र सफल  सीईओ शेरचनले आफ्नो कार्यकालमा प्रभु बैंकसँग विभिन्न बैंक तथा वित्तीयको मर्जर तथा एक्विजिसन गर्न सफल भएका छन् । प्रभु बैंकसँग मर्ज भएका विभिन्न मर्जर र एक्विजिसनहरूमा सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ । प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक बनाउन उनले ठूलो भूमिका खेलेका थिए । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । यी सबै मर्जर तथा एक्विजिसनमा उनले ठूलो भूमिका निर्वाह गरेका छन् । साथै, उनले वित्तीय सूचकहरमा कमजोर रहेका बैंक तथा वित्तीय संस्थालाई गाभ्दै अब्बल बैंकका रुपमा उभ्याएका छन् । उनको कार्यकालमा पछिल्लो समय सेञ्चुरी बैंकलाई प्राप्ति गर्न सफल भएका छन् । सेञ्चुरी बैंकलाई प्राप्ति गरी गत पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा अब माघ २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले माघ १० गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको सनराइज फोकस्ड इक्विटी फण्ड बिक्री खुला गरेको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गरेको हो । क्यापिटलको उक्त फण्डमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।