विकासन्युज

बिपिडब्लु लघुवित्तले माघ २२ र फागुन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ २२ र सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गर्ने भएको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ हजार ५ सय कित्ता कर्मचारी, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोष र ८० हजार ९५० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, सर्वसाधारणले छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुन्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरे । कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे । राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनको भनाइ थियो ।

सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको छ । कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । अब २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सवारी प्रदूषण र दुर्घटना न्यूनीकरण गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् । सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा.पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन् । कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहनु हुनेछ । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डेय सदस्यसचिव रहेका छन् ।

माया खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्ता खरिद गर्ने ?

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बरारबको सेयर सर्वसाधारण लगानीकर्ताकाहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता सेयर आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ १७ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

एसएमई प्लेटफर्म तत्काल सञ्चालनमा आउँछ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले एसएमई प्लेटफर्म तत्कालै सञ्चालनमा ल्याउने बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को नव निर्वाचित कार्य समितिलाई स्वागत गर्दै अध्यक्ष हमालले नेप्सेमा साना कम्पनीहरुको कारोबारका लागि एसएमई प्लेटफर्म कार्यान्वयनमा ल्याउने बताएका हुन् । ‘हामीले एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा तयार पारिसकेका छौं, केहि समयभित्रै मन्त्रिपरिषदमा पठाउँछौं, मन्त्रिपरिषदले पास गरेपछि नेप्सेमा एसएमई प्लेटफर्म तयार गरि कार्यान्वयनमा ल्याउँछौं, कार्यान्वयनमा आएपछि पूँजी बजारमा सकारात्मक प्रभाव पर्ने र साना कम्पनीहरु थप आकर्षित हुन्छन्,’ उनले भने । उनले रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउन पनि आफुले निकै मेहनत गरिरहेको बताए । बुक बिल्डिङमा देखिएका अप्ठेरा पनि समाधान उन्मुख रहेको उनको दाबी थियो । अध्यक्ष हमालले संस्थागत सुशासन, साना लगानीकर्ताहरुको संरक्षणका लागि पनि आफुले काम गरिरहेको बताए । उनले पुँजी बजार सम्बन्धी तालिम दिनका लागि संस्थागत संरचना नै खडा गर्ने तयारी भैरहेको जानकारी पनि दिए । कार्यक्रममा इम्सन अध्यक्ष रामराजा श्रेष्ठले पूँजी बजारको विकासका लागि सेबोनसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले आर्थिक मिडिया र सेबोनको सम्बन्ध जति राम्रो भयो त्यति नै बजारको विकासमा सहयोगी सिद्ध हुने दावी गरेका थिए । ‘अहिले बोर्ड र सम्बद्ध सरोकारवालाहरुबीच समन्वय नहुँदा बोर्डले लिएका कतिपय नीतिहरु कार्यान्वयमा कठाई वा सो सम्बन्धमा विरोध भैरहेका छन्,’ उनले भने, ‘यदि यसलाई सुरुवाती चरणमै मिडियामार्फत सरोकारवालाहरुलाई बुझाउन सकियो भने विरोध नआउन सक्छ ।’ साथै सेयर बजार गैरकानूनी रुपमा चलखेल गर्नेमाथि बोर्डले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने समेत श्रेष्ठले बताए । स्वागत कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी निर्देशकहरु डा.मुक्ति श्रेष्ठ, बिनयदेव आचार्य र कृष्ण पोखरेल सहभागी थिए । इम्सनका तर्फबाट अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष लोचन खतिवडा, महासचिव नारायण पौडेल, सचिव हिम बिष्ट, सह–सचिव बिष्णु तारुके, कोषाध्यक्ष केशब भण्डारी र कार्य समिति सदस्यहरु मिलन खड्का र सुरेन्द्र पौडेल सहभागी थिए । नेपाल धितोपत्र बोर्ड र इम्सन सहकार्यका लागि तयार भएका छन् । इम्सनसँग सहकार्य गरेर नेपालको पुँजी बजारको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आत्मदाह गरेका प्रेम आचार्यको ५० लाखको बीमा, भुक्तानी पाउँछन् की पाउँदैनन् ?

काठमाडौं । आत्मदाह गरी मृत्यु भएका प्रेम प्रसाद आचार्यको ५० लाखको जीवन बीमा भएको खुलेको छ । उनको सन नेपाल लाइफ इन्स्योरेन्समा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरेको खुलेको हो । मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल मार्फत आफ्नो जीवन बीमा सन नेपाल लाइफमा गरेको खुलाएका थिए । कम्पनीले पनि उनले दुई वर्षअघि नै बीमा गरेको बताएको छ । तर अब उनको परिवारले दावी भुक्तानी पाउँछ की पाउँदैनन् होला ? चासोको विषय बनेको छ । जीवन बीमा पोलिसीअनुसार सुसाइड अर्थात आत्महत्या मार्फत मृत्युको बाटो रोजेका सबै बीमितको केशमा दावी भुक्तानी हुँदैन । तर आचार्यको केशमा भने उनको परिवारले बीमाको दावी भुक्तानी पाउने भएका छन् । आचार्यले बीमा गरेको दुई वर्ष बढी भइसकेकोले उनको परिवारलाई दावी भुक्तानी दिइने कम्पनीले बताएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल पनि मृतक आचार्यको सुसाइड केस लागू नहुने बताउँदै उनको परिवारलाई नियमअनुसार नै सबै रकम भुक्तानी गर्ने बताउँछन् । ‘आचार्यले विगत २ वर्ष अघिदेखि नै बीमा गर्नुभएको थियो, त्यसैले उहाँले बीमा गरेवापतको रकम पाउनुहुनेछ, यसमा सुसाइडकेस लागू हुँदैन,’ सीईओ अर्यालले बताए । पोलिसीअनुसार कुनै पनि बीमितले बीमा गरेको दुई वर्ष भएको छैन, तर उसले सुसाइडमार्फत देह त्याग गरेको खण्डमा भने कम्पनीले उसको परिवारलाई कत्ति पनि बीमाको दावी दिँदैन । तर बीमा गरेको दुई वर्ष नाघेको केशमा भने उक्त बीमितका परिवारलाई भने दावी भुक्तानी दिइने व्यवस्था छ । कम्पनीका अनुसार आचार्य र उनकी श्रीमती नानुका अधिकारीको गरी कूल १ एक करोड रुपैयाँ बराबरको बीमा गरेका छन् । तर उनको परिवारले कहिले र कति रकम पाउँछन् भन्नेमा भने हाल एकीन भइ सकेको छैन । झापा बिर्तामोडको शाखाबाट बीमा गराएका मृतक आचार्यको फाइल बिर्तामोडमा भएकाले कति रकमको दावी भुक्तानी दिने विषयमा हाल एकीन नभएको उनको भनाई छ । ‘ओरजिनल फाइल बिर्तामोडबाट मगाएको छु, त्यो आईसकेपछि पाउनु पर्ने रकम भुक्तानी गरिन्छ,’ सीईओ अर्यालले विकासन्युजसँग भने । यससँगै कम्पनीले मृतक आचार्यको परिवारलाई उनले तिरेको पछिल्लो किस्ताको अपडेट र नियमअनुसार पाउनु पर्ने रकम हस्तान्तरण गर्ने छ । काठमाडौंको बुढानिलकण्डमा बस्दै आएका इलामका व्यवसायी आचार्यले व्यवसाय संकटमा परि बैंकको ऋण तिर्न नसकेपछि आत्मदाहको बाटो रोजेको उनले लेखेको स्ट्याटसमा उल्लेख छ । उनले गत माघ १० गते काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि नै आफ्नै शरीरमा पेट्रोल खन्याएर आफैंमाथि आगो लगाएका थिए । र, उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । सामाजिक सञ्जालमा लेखेको स्ट्टाटसमार्फत आचार्यले सरकारसँग विभिन्न २५ बुँदे मागसमेत गरेका छन् । उनले उठाएका विषयहरुको छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ । छानबिनका क्रममा आएका नतिजाको आधारमा सरकारले आवश्यक कदम चाल्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

‘पाँच वर्षमा पर्वतका सबै पालिकामा सुविधासम्पन्न अस्पताल बन्छ’

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत गएका पदम गिरीले अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने बताएका छन् । जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले सो बताएका हुन् । ‘अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने छ सबै पालिकामा आवश्यकताअनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहितको न्यूनतम सेवा अनिवार्य उपलब्ध हुनेछ ।’ उनले केपी शर्मा ओली सरकारका पालामा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लग्ने स्पष्ट गरे । उनले भने, ‘अब कोही पनि मानिस औषधि नपाएर, उपचार नपाएर मर्ने स्थिति हुनु हुँदैन, स्वास्थ्य बीमा थप प्रभावकारी बनाउँदै सबै घरमा पुर्याउनुपर्छ ।’ त्यो स्थितिको अन्त्य गर्न स्वास्थ्यजस्तो संवेदनशील मन्त्रालयको जिम्मा लिएको उनको भनाइ छ । मन्त्री गिरीले पर्वत अस्पतालको अनुरोधमा पहिलोपटक जिल्ला आउँदा एक करोड ४० लाख पर्ने स्वास्थ्य उपकरण लिएर आएको सुनाउँदै भने, ‘म धेरै बोल्दिनँ, हामीले सुरुआत मात्र गरेका छौं, स्वास्थ्य क्षेत्रका समस्या बुझ्दैछौं, स्वास्थ्य क्षेत्रभित्रका समस्या पहिचान गरी गरिब र विपन्नको पहुँचमा स्वास्थ्य सेवा ल्याउने कुरा रिजल्टद्वारा देखाउने काम गर्नेछौँ ।’ उनले चुनावअघि र चुनावपछि बोल्ने कुरा फरक हुन सक्छन् भन्दै आफू चुनाव जितेर मन्त्री बनेपछि जिम्मेवार भएर बोलेको तर्फ सङ्केत गर्दै भने, ‘हामी अहिले अरुको आलोचना गरेर समय खेर फाल्ने पक्षमा छैनौँ, जति सकिन्छ काम गरेर रिजल्ट दिने ध्याउन्नमा छौं ।’ उनले जिल्लाको खानेपानी, सडक, बाटोघाटो, सिँचाइ, भूकम्पले क्षति भएका घरहरूका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याए । रासस