पर्यटन मन्त्रीले कर्मचारीलाइ भने : लुम्बिनीलाई मागी खाने भाँडो नबनाउनुहोस्
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन् । उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए । उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गरे । उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन, एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए । उनले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताए । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे । उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए । उनले भने,‘ लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दै छु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिए । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजान चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डर अनुसार कार्ययोजना चाहियो । लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाडो बनाउनु भएन । विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मालम्बीहरु रहेका छन् । गौतम बुद्ध बौद्ध धर्मलम्वीहरुको नाभी हो । लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भिर हुनुहोला ।’ उनले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताउनु भयो । उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताउनु भयो । मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गरे । उनले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गरे । उनले भने,‘ हामी कोही कर्मचारी सरुवा गरेर रमिता देखाउने छैनौं । कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुराना प्रवृत्ति हो । हामीलाई काम चाहियो । तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरै तिर बल नगर्नु होला । जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस् । केही छैन । वडा अध्यक्ष पनि हुदिन भन्ने थियो । मन्त्री भए पद गए जान्छ तर सम्झौता देशको हीत विपरित हुने क्रियाकलापसँग हुँदैन । सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो । यहाँ भन्नुस् । हामी नीतिमा सहयोग गर्न तयार छौं । आफूसँग कुनै स्वार्थ छैन । म आफैँ फाइल बोकेर जानु नपरोस् ।’ कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे । उनले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताए । उनले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताए । सचिव अधिकारीले बजेटको कमी बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताए । उनले लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गाहरु अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरुलाई बाँडफाँट भएकाले समस्या भएको बताए ।
लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना
काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले लघुवित्तले छोराको बिहे गर्दा ऋण दिन नहुने बताएकी छिन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएकी हुन् । उनले लघुवित्तले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न पर्ने बताइन् । ुलघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन, कर्जा प्रवाह गर्दा लघुवित्त आफै सजग हुनुपर्छ,ु उनले भनिन् । यस्तै, उनले लघुवित्त सेयरधनीको हितको लागि मात्रै नभएर सेवामुखि हुनुपर्ने बताइन् । ‘लघुवित्त घाटामा गएका छन भन्छन तर उच्च लाभांश कसरी बाडिहेका छन भनेर प्रश्न उठेको छ,’ उनले भनिन् । डेपुटी गभर्नर ढुंगानाले लघुवित्तहरुले मर्जरमा जोड दिनुपर्ने धारण राखेकी छिन् । उनले बाध्यात्मक मर्जरभन्दा पनि आफ्नो स्थिति हेरेर लघुवित्तहरु मर्जरमा जानुपर्न धारणा राखिन् ।
शिवम् सिमेन्टले किन्यो साढे ४ अर्बको सेयर, प्रभु बैंकको मात्र ११ लाख कित्ता
काठमाडौं । शिवम् सिमेन्टले लगानी विविधिकरण गर्ने विभिन्न कम्पनीको सेयर खरिदमा जोड दिएको छ । कम्पनीले असोज मसान्तसम्ममा ४ अर्ब ४७ करोड ४७ लाख ७ हजार ३७५ रुपैयाँको सेयर खरिद गरेको जनाएको छ । कम्पनीले सूचीकृत कम्पनी प्रभु बैंकको ११ लाख २० हजार कित्ता सेयर लिएको छ । शिवम् सिमेन्टले प्रभु बैंकको संस्थापक समूहको १० लाख कित्ता सेयर किनेको र बोनस सेयरबाट एक लाख २० हजार कित्ता सेयर थपिएको कम्पनीले जनाएको छ । शिवमले विभिन्न कम्पनीको सेयर खरिद गरी लगानी विविधिकरण गर्ने नीति लिएको सोही अनुसार लगानी सम्बन्धि निणर्यहरु भैरहेको कम्पनीका निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार गोयलले बताए । शिवम् सिमेन्टले एससिएल इन्भेष्टमेण्ट कम्पनीमा ५५ कारेड ५० लाख रुपैयाँ लगानी गरेको छ । ‘यो शिवम् सिमेन्टको सहायक कम्पनी हो, यसमा १०० प्रतिशत लगानी हाम्रो छ, सिमेन्ट उद्योगको लागि आवश्यक खानी क्षेत्रमा लगानी गर्नको लागि यो इन्भेष्टमेन्ट कम्पनी खोलेको हौं,’ उनले भने । शिवमले सबैभन्दा धेरै लगानी होङ्शी सिमेन्टमा गरेको छ । शिवमले सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेड मार्फत होङ्शी शिवम् सिमेन्ट प्रा. लि. मा ३ अर्ब ७० करोड ७१ लाख ३५ हजार रुपैयाँ लगानी भएको छ । होङ्शीले गत वर्षको नाफाबाट ९ प्रतिशतका दरले बोनस सेयर दिएपछि कुल लगानी त्यति पुगेको उनले बताए । गत आर्थिक वर्षको नाफाबाट आएको उक्त आम्दानीलाई शिवमले चालु आर्थिक वर्ष २०७९/८०को आम्दानीमा बाँधेको पनि उनले बताएका छन् । अहिलेसम्म विभिन्न कम्पनीमा गरी ४ अर्ब ४७ करोड ४७ लाख ७ हजार ३७५ रुपैयाँ रहन पुगेको उनले जनाए । शिवमको चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा पुँजी भन्दा बढी विभिन्न कम्पनीको सेयरमा लगानी भएको उनले बताए। शिवमले गत वर्षको नामबाट सेयरधनीलाई १० प्रतिशतका दरले नगद लामांश दिएको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता सवा ५ सयको हाराहारीमा किनबेच भैरहेको छ ।
राष्ट्र बैंक भन्छ : ७६ प्रतिशतसम्म लाभांश बाँड्न लघुवित्तले कताबाट नाफा कमाए ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्तको लाभांशमाथि प्रश्न गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा लघुवित्तको लाभांशमाथि प्रश्न गरेका हुन् । उनले धेरै लघुवित्तले २० प्रतिशतसम्म लाभांश बाँडे पनि केहीले भने धेरै लाभांश बाँडेको बताए । ‘७६ प्रतिशतसम्म लाभांश बाड्न कताबाट नाफा कमाए ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश बाडेको भएपनी केही लघुवित्तले धेरै लाभांश बाँडेका छन्,’ उनले भने । यस्तै, उनले लघुवित्तले पैसा लिएर तिर्नुपर्दैन भन्ने प्रवृति अराजक भएको बताए । ‘लघुवित्तको अनुशासनमा ठूलो गिरावट आएको छ, यसको क्रियाकलापमा सिद्धान्त पालना हुन सकेको छैन, लघुवित्त आफै सुध्रिनु पर्छ, राष्ट्र बैंकले कारबाही गरेर मात्रै हुँदैन,’ उनले भने । उनले हालसम्म १५ वटा लघुवित्तले मात्रै एजिएम क्लियरेन्स प्राप्त गरेका जानकारी दिएका छन् ।
दोहोरो अंकले घट्यो नेप्से, सर्वाधिक कमाउने र कारोबार गर्नेमा दुवै इन्स्योरेन्स
काठमाडौं । आइतबार सेयर बजार १४.६८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार घटेर २१६९.५३ विन्दुमा पुगेको छ । यसरी बजार घटेपनि आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा दुई इन्स्योरेन्स, दुई हाइड्रोपावर कम्पनी र एक लघुवित्त रहेका छन् । सकारात्मक कम्पनीहरु क्रमश लुम्बिनी जनरल इन्स्योरेन्स, बराही हाइड्रोपावर कम्पनी, इस्टर्न हाइड्रा्पावर, आदर्श लघुवित्त र सूर्यज्योती लाइफ इन्स्योरन्स कम्पनी रहेका छन् । यस्तै, आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा आज आइएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले आज ९ करोड ९९ लाख कारोबार गरेको छ ।
रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए । सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो। कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ । उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए ।
दोस्रो त्रैमासमा ५० प्रतिशत लघुवित्त ऋणात्मक हुनेछ : महासचिव यादव
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले दोस्रो त्रैमासको वित्तिय प्रतिवेदनमा ५० प्रतिशत लघुवित्त संस्था ऋणात्मक हुने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले लघवित्तको ५० प्रतिशत रकम कृषि कर्जामा गएको बताए । उनले लघिवित्त दिगो हुने कि नहुने भन्न एकिन हुन नसकेको बताउँदै मापदण्ड अनुसार कर्जा प्रवाह भए सहज हुने बताए । ‘लघुवित्तको लागत उच्च छ, यसको पुनर्संरचना गर्न जरुरी छ,’ उनले भने । यस्तै, महासचिव यादवले गरीबी न्यूनिकरण गर्न लघुवित्तको भूमिका खेलेको तर अझै पनि दुर्गम ठाउमा लघुबित्त नपुगेको बताए ।
बाँकेमा पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण
बाँके । बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो । ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरुले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो । कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामील निर्माण ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे । उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरुप कालोसूचीमा राखिने बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएका छन् । रासस