विकासन्युज

अनलाइनबाट हुने औषधी किनबेचलाई नियमन गरौं : राज्यमन्त्री कार्की

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो बताएकी हुन् । ‘फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक छ,’ उनले भनिन् । उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् । ‘नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु हुँदैन, सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुन्छ,’ उनले भनिन् ।

१५ अंकले घट्यो सेयर बजार, प्राइम लाइफले सबैभन्दा बढी गुमायो

काठमाडौं । मंगलबार सेयर बजार १५.७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१११.६८ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि घटेको छ । नेप्सेको अनुसार आज ७५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी हाइड्रोपावरले १९ करोड रुपैयाँको गरेको छ । यस्तै, आज सबैभन्दा बढी आम्दानी आदर्श लघुवित्तले गर्दा प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी गुमाएको छ ।

बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ काे बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याव भवनको आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउँदै समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे । ‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो,’ मन्त्री पौडेलले भने । ‘ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, ट्रेड ब्योलेन्सको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौँ,’ उनले थपे । सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बनाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा थियो । मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे । ‘गुणस्तरीय शिक्षाको खोजी नेपाली युवा संसारका विभिन्न मुलुक जान बाध्य छन्, जसबाट ठूलो रकम विदेशिएको छु, उनले भने, ‘यसले पैसा र युवा जनशक्ति दुवै पलायन भइरहेको छ ।’ उनले समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायत्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए । उनले सो अवसरमा हाइड्रो इञ्जिनीयर स्व बलराम प्रधानले ऊर्जा क्षेत्रमा पु¥याउनुभएको योगदानको अनुशरण गर्न आग्रह गरे । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, रजिष्टार डा अच्यूत वाग्ले, स्कुल अफ साइन्सका डीन मनिष पोखरेललगायतले विश्वविद्यालयमा कार्यरत प्राध्यापक स्व प्रधानले ऊर्जा क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए । नेपालका पहिलो सङ्गठित ल्यावका रुपमा विश्वविद्यालयमा स्थापित उक्त दुई तले ग्रीन हाइड्रोजन ल्याव भवन कूल दुई करोड ६८ लाख लागतमा निर्माण भएको हो । कूल लागतमध्ये ४५ लाख स्व प्रधानको परिवारले सहयोग गरेको हो । रासस  

गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका छन् । मंगलबार पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका हुन् । उनले पुर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे निर्णय नगर्ने बताएका हुन् । यसअघि गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकाताको कारण सांसद पद सर्वोच्चबाट बदर भएपछि गृहमन्त्री पद कसले पाउने भन्ने सबैको चाँसोको विषय बनेको छ । आइतबार लामिछानेले पुनस् नागरिकाता प्राप्त गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएका छन् । लामिछानेले मंगलबार बिहान यस विषयमा प्रधानमन्त्रीलाई पनि भेटिसकेका छन् । लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन ।

ठमेलको गार्डेन अफ ड्रीम्समा एनएमबि बैंकको एटिएम

काठमाडौं । एनएमबि बैंकको नयाँ एटिएम ठमेलमा खोलेको छ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको हाे । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौँ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएकाे छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

पुरानो नोट बन्द गर्न प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं । नयाँ नोट जारी गरेर लुकाइएको पैसा मुलप्रवाहमा ल्याउन नेकपा(एकीकृत समाजवादी)ले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २० बुँदे ज्ञापन पत्र बुझाउँदै समाजवादीले मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न भनेको हो । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागु गरियोस्’, समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ । समाजवादीले अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्न अभियान शुरु गर्न समेत सरकारलाई आग्रह गरेको छ । अर्थतन्त्रलाई सुधार गर्न ढिलाई गर्न नहुने विषयलाई समाजवादीले जोड दिएर उठाएको छ । उसले संविधानमा उल्लेखित आर्थिक नीतिलाई कडाइकासाथ लागु गर्न, कृषि उत्पादनलाई जोड दिन र निक्षेप र ऋण प्रवाहको ब्याजमा न्यूनिकरण गर्ने लगायतका अर्थतन्त्रसँग जोडिएका विषयवस्तुहरुलाई आफ्नो ज्ञापनपत्रमा उठाएको छ । सुझाव बुझाउन पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेकाे थिए ।

गुणस्तरहीन औषधिको निगरानी बढाउन मन्त्री गिरीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् । उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे । उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ, तपाईहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो, पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ, यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन, त्यसमा सम्पूर्ण रुपले प्रतिवद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनुपर्छ,’ उनले भने । उनले भने,’मन्त्रालयले के सहयोग गर्नुपर्छ गर्नेछ । यो सवालमा जनशक्ति छैन, केही लिमिटेशनहरु छन् भन्ने लगायतका इत्यादि कुराले गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरु स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ ।’ मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले विभाग मा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे । मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए । उनले नविकरणसम्बन्धी कामहरु अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए ।

डिजिटल कारोबारको सीमा बढ्यो, सेवा शुल्क घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै डिजिटल कारोबारको सीमा बढाएको हो । यससँगै मोबाइल बैंकिङ्ग कारोबारको सीमा २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, राष्ट्र बैंकले इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा पनि बढाएको छ । अब इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा २० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय डिजिटल बैंकिङ्गमा जोड दिएको राष्ट्र बैंकले कारोबारको सीमालाई पनि बढाउँदै लगको हो । साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल प्रविधिमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिँदै आएको छ । राष्ट्र बैंकको डिजिटल अभियानलाई सहयोग गर्दै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल प्रविधिमा जोड दिइरहेका छन् । यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट हुने कारोबारको अधिकतम सीमा पनि निर्धारण गरेको छ । बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यस्तै, वालेटबाट अन्य बैंक खातामा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ र एक वालेटबाट अर्काे वालेटमा प्रतिदिन ५० हजार रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था मिलाएको छ । विद्युतीय वालेटमा जुनसुकै माध्यमबाट रकम जम्मा भएतापनि उपर्युक्त सीमा भन्दा अधिक हुने छैन । प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । भुक्तानी सेवा प्रदायक संस्थाले रेमट्यिान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा पुर्याएको मानिने छैन् । विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । वालेटमा कारोबार गर्दा भुक्तानी सेवा प्रदायक संस्थाहरूले नियुक्त गरेको एजेन्टको कारोबार तथा संस्थागत ग्राहकले वालेटमा रकम प्राप्त गर्दाको हकमा लागू हुने छैन । एजेन्टले गरेको कारोबारको सम्पूर्ण विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले ५ हजार रुपैयाँ कारोबार भए ५ रुपैयाँ, ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ र १० हजार माथिको कारोबार गर्दा १० रुपैयाँ शुल्क लाग्नेछ । साथै, अन्तर बैंक मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग कारोबार गर्दा प्रति कारोबार १० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, एजेन्ट मार्फत वालेटमा कारोबार गर्दा न्यूनतम ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । साथै, आरटिजीएस मार्फत कारोबार गर्दा विहान १० रुपैयाँ, मध्यान्ह २० रुपैयाँ र बेलुका १ सय रुपैयाँ शुल्क तोकिएको छ ।