गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्छु : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका छन् । मंगलबार पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका हुन् । उनले पुर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे निर्णय नगर्ने बताएका हुन् । यसअघि गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकाताको कारण सांसद पद सर्वोच्चबाट बदर भएपछि गृहमन्त्री पद कसले पाउने भन्ने सबैको चाँसोको विषय बनेको छ । आइतबार लामिछानेले पुनस् नागरिकाता प्राप्त गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएका छन् । लामिछानेले मंगलबार बिहान यस विषयमा प्रधानमन्त्रीलाई पनि भेटिसकेका छन् । लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन ।
ठमेलको गार्डेन अफ ड्रीम्समा एनएमबि बैंकको एटिएम
काठमाडौं । एनएमबि बैंकको नयाँ एटिएम ठमेलमा खोलेको छ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको हाे । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौँ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएकाे छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
पुरानो नोट बन्द गर्न प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझाव
काठमाडौं । नयाँ नोट जारी गरेर लुकाइएको पैसा मुलप्रवाहमा ल्याउन नेकपा(एकीकृत समाजवादी)ले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २० बुँदे ज्ञापन पत्र बुझाउँदै समाजवादीले मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न भनेको हो । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागु गरियोस्’, समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ । समाजवादीले अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्न अभियान शुरु गर्न समेत सरकारलाई आग्रह गरेको छ । अर्थतन्त्रलाई सुधार गर्न ढिलाई गर्न नहुने विषयलाई समाजवादीले जोड दिएर उठाएको छ । उसले संविधानमा उल्लेखित आर्थिक नीतिलाई कडाइकासाथ लागु गर्न, कृषि उत्पादनलाई जोड दिन र निक्षेप र ऋण प्रवाहको ब्याजमा न्यूनिकरण गर्ने लगायतका अर्थतन्त्रसँग जोडिएका विषयवस्तुहरुलाई आफ्नो ज्ञापनपत्रमा उठाएको छ । सुझाव बुझाउन पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेकाे थिए ।
गुणस्तरहीन औषधिको निगरानी बढाउन मन्त्री गिरीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् । उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे । उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ, तपाईहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो, पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ, यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन, त्यसमा सम्पूर्ण रुपले प्रतिवद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनुपर्छ,’ उनले भने । उनले भने,’मन्त्रालयले के सहयोग गर्नुपर्छ गर्नेछ । यो सवालमा जनशक्ति छैन, केही लिमिटेशनहरु छन् भन्ने लगायतका इत्यादि कुराले गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरु स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ ।’ मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले विभाग मा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे । मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए । उनले नविकरणसम्बन्धी कामहरु अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए ।
डिजिटल कारोबारको सीमा बढ्यो, सेवा शुल्क घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै डिजिटल कारोबारको सीमा बढाएको हो । यससँगै मोबाइल बैंकिङ्ग कारोबारको सीमा २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, राष्ट्र बैंकले इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा पनि बढाएको छ । अब इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा २० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय डिजिटल बैंकिङ्गमा जोड दिएको राष्ट्र बैंकले कारोबारको सीमालाई पनि बढाउँदै लगको हो । साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल प्रविधिमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिँदै आएको छ । राष्ट्र बैंकको डिजिटल अभियानलाई सहयोग गर्दै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल प्रविधिमा जोड दिइरहेका छन् । यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट हुने कारोबारको अधिकतम सीमा पनि निर्धारण गरेको छ । बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यस्तै, वालेटबाट अन्य बैंक खातामा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ र एक वालेटबाट अर्काे वालेटमा प्रतिदिन ५० हजार रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था मिलाएको छ । विद्युतीय वालेटमा जुनसुकै माध्यमबाट रकम जम्मा भएतापनि उपर्युक्त सीमा भन्दा अधिक हुने छैन । प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । भुक्तानी सेवा प्रदायक संस्थाले रेमट्यिान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा पुर्याएको मानिने छैन् । विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । वालेटमा कारोबार गर्दा भुक्तानी सेवा प्रदायक संस्थाहरूले नियुक्त गरेको एजेन्टको कारोबार तथा संस्थागत ग्राहकले वालेटमा रकम प्राप्त गर्दाको हकमा लागू हुने छैन । एजेन्टले गरेको कारोबारको सम्पूर्ण विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले ५ हजार रुपैयाँ कारोबार भए ५ रुपैयाँ, ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ र १० हजार माथिको कारोबार गर्दा १० रुपैयाँ शुल्क लाग्नेछ । साथै, अन्तर बैंक मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग कारोबार गर्दा प्रति कारोबार १० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, एजेन्ट मार्फत वालेटमा कारोबार गर्दा न्यूनतम ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । साथै, आरटिजीएस मार्फत कारोबार गर्दा विहान १० रुपैयाँ, मध्यान्ह २० रुपैयाँ र बेलुका १ सय रुपैयाँ शुल्क तोकिएको छ ।
बागलुङको छुर्पी अमेरिकामा निर्यात
काठमाडौं । पछिल्लो समय ग्रामिण क्षेत्रका सहकारीहरु उत्पादनमा प्राथमिकता दिइरहेका छन् । सहरी क्षेत्रका सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रित हुँदा ग्रामिण क्षेत्रका सहकारी भने उत्पादनमा प्राथमिकता दिन थालेका हुन् । ग्रामिण क्षेत्रका सहकारीले उत्पादनमा प्राथमिकता दिँदा स्थानीय उत्पादनको प्रवद्र्धनका साथसाथै धेरैले रोजगारी पनि पाएका छन् । बागलुङको बागलुङ दुग्ध उत्पादक सहकारी संघले पछिल्लो समय दुध उत्पादनसँगै छुर्पी बनाएर निर्यात गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ । बागलुङको बागलुङ दुग्ध उत्पादक सहकारीले विभिन्न १४ वटा सहकारी संस्थाहरुबाट दुध संकलन गरेर बजारमा बिक्रीसँगै त्यसबाट छुर्पी बनाउने काम पनि गरिरहेको संघका अध्यक्ष दिपक गौतमले बताए । उनका अनुसार संघसँग ४० लाख टन छुर्पी उत्पादन गर्ने क्षमता भएपनि २० लाख टन निर्यात भइरहेको छ । हाल संघले प्रतिकेजीको १२ सय रुपैयाँमा छुर्पी बिक्री गरिरहेको छ । १५ जना कर्मचारीहरुबाट दैनिक दुध संकलन गरेर बजारमा पठाइरहेको पनि उनले बताए । उनले संघले उत्पादन गरेको छुर्पी काठमाडौं सप्लाई गरेर काठमाडौंबाट अमेरिकामा निर्यात हुने गरेको बताए । पछिल्लो समय छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । विदेशमा कुकुर र बिरालोको खानाको रूपमा छुर्पी निर्यात हुन्छ । विभिन्न देशमा निर्यात हुने छुर्पीमध्ये अमेरिकामा करिब८४ प्रतिशत जाने गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल २ अर्ब ९१ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा अमेरिकातर्फ मात्रै दुई अर्ब ४४ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । बागलुङ दूग्ध उत्पादक सहकारी संघले जिल्लालाई दुधमा आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । उनका अनुसार बागलुङ जिल्लामा सबै बजारहरुमा दैनिक ६ हजार ५ सय लिटर दूध खपत हुने भएपनि सदरमुकाम स्थित बागलुङ बजारमा चार हजार लिटर दूध खपत हुन्छ । अझै जग्गा लिएर व्यवसाय विस्तार गर्ने संघको योजना छ ।
उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर
गलकोट । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गरे । एक सय मौरीका घारसहित चरनका लागि आएका उनले तीन सय केजी मह उत्पादन गरेको बताए । ‘मह प्रतिकेजी एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह काढ्छु’, उनले भने । मौरी चरनका लागि उपयुक्त कुडुँले फाँटमा यतिबेला तोरी फुलेको छ । तोरी फुल्ने मौसमका साथै मौरीका लागि उपयुक्त हावापानी भएकाले यहाँ महको उत्पादन दोब्बरले बढेको श्रेष्ठको भनाइ छ । ‘महको व्यावसायिक घार र प्रविधिको प्रयोगले मह काढिन्छ, उपयुक्त हावापानी र राम्रो चरन क्षेत्रका कारण मह उत्पादनमा राम्रो हुन्छ’, उनले भने, ‘अहिले कुडुँले फाँटमा एक सय घार मौरी चराउनका लागि एक हप्ताअघि ल्याएको थिए, एक हप्तामा तीन सय केजी मह उत्पादन भयो ।’ उनका अनुसार तीन सय केजीको बजार मूल्य तीन लाख ६० हजार पर्दछ । मौरीको ढुवानी र आउन जान खर्च भए पनि चरन क्षेत्र राम्रो हुँदा निकै फाइदा भएको उनको भनाइ छ । ‘अझै दुई पटक मह काढ्न सकिन्छ, त्यसपछि यहाँका घार पुनः अर्को स्थानमा पुर्याउने हो, यही तोरी फुलेको सिजनमा एक सय घार मौरीबाट १० लाख कमाउन सकिन्छ’ उनले भने । ‘चरन क्षेत्र राम्रो भएकाले एक महिनामा तीन पटक मह उत्पादन गर्न सकिन्छ ।’ महको चाकालाई असर नपर्ने गरी मह निकाल्दा माहुरीले छिटो मह उत्पादन गर्ने मह किसानको अनुभव छ । राम्रोसँग फस्टाएको घारमा एकै पटकमा १० केजीसम्म मह उत्पादन भएको श्रेष्ठको अनुभव छ । श्रेष्ठले स्थानीयलाई समेत मौरीको व्यावसायिक उत्पादनका लागि प्रेरणा दिएका छन् । कुडुँले फाँट र म्याग्दीको रत्नेचौर फाँट अहिले तोरीका कारण प्रख्यात बनेपछि तोरीको बहुउपयोगिताको लागि मौरी चरन क्षेत्रका रुपमा लिइएको म्याग्दी चिम खोला घर भई हालै मात्र मौरीपालन व्यवसायमा लागेर मह उत्पादन कार्य अवलोकन गर्न बागलुङको कुडुँले फाँटमा आएको डविन पुनले बताए । पुनले हालैबाट ३१ वटा मौरीका घार म्याग्दी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा चराउनका लागि राखेका छन् । ‘म नयाँ किसान हुँ । कुडुँले फाँटमा अहिले ललितपुरबाट मौरी चराउन ल्याइएको थाहा पाए पनि सिक्नका लागि यहाँ आएको छु, मैले ३१ घार मौरी अहिले रत्नेचौर तोरी बारीमा राखेको छु ।’ पुनले भने । विसं २०५१ सालदेखि मौरीपालन गर्दै आएका ललितपुरका धर्मराज श्रेष्ठले कुडुँलेमै मौरीपालनका धेरै कुरा सिकाएको र उपयुक्त हावापानी र चरन क्षेत्र राम्रो भएमा मह उत्पादनबाट मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने आफूले बुझेको बताए । ललितपुरका श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घारहरुसमेत बिक्री गर्दै आएको छ । उनले प्रतिघार १२ हजारमा बिक्री गर्दै आएको छ । माउन्टेन मौरी कन्सर्नले मौरीसहितका घारहरु बिक्रीबाट मह बिक्रीको तुलनामा बढी फाइदा गर्दै आएको छ । ‘पहाडी क्षेत्रमा चरेका मौरीको मह अर्गानिक र स्वस्थकर मानिन्छ’, उनले भने, ‘मैले उत्पादन गरेको मह जापान निर्यात हुन्छ । बागलुङमा मौरीपालनको व्यवसाय फष्ठाउने संभावना रहेछ, आगमी वर्ष समेत मौरी चराउन यही ल्याउने योजना बनाएको छु ।’ उनले बागलुङ जिल्लामा पहिलोपटक मौरी लिएर आएको भएपनि अहिले हाम्रो मौरीका घार सिन्दुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रूपन्देही, सर्लाही र काठमाडौँको विभिन्न स्थानमा पुर्याएको जानकारी दिए । मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा समझदारी गरिने श्रेष्ठको भनाइ छ । रासस
अर्को बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने
काठमाडौं । एउटा बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै अन्तर एटीएम कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन पाउने बताएको हो । ‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ । यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । यस्तै, अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।