अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !
काठमाडौं । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए । यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन् । सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ । ‘गृह मन्त्रालयसँग समन्वय गरेर भोलिदेखि अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो’, मन्त्री अर्यालले भने । अपाङ्ग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरु सवार भाडाका गाडीलाई सहजरुपमा सिंहदरबार प्रवेश गराउने उनले बताए ।
टाइम कार्ड सुरु गर्दै श्रम मन्त्रालय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताए । ‘श्रमसम्बन्धी सेवा तोकिएको समयमा पाउनका लागि श्रम टाइम कार्ड लागू गर्ने तयारी भएको छ”, उनले भने, ‘टाइम कार्डमा तोकिएको सेवा दिन नसक्ने कारण भए दिनुपर्छ, झुलाउने काम गर्न पाइएन, त्यसको कारण दिनुपर्छ ।’ श्रम मन्त्रालयमा पाँच वर्ष अगाडि नै श्रमिकका गुनासो लिनका लागि कल सेन्टर स्थापना गरिएको थियो । कल सेन्टरको काम प्रभावकारी नभएका भन्दै आलोचना हुने गरेको छ । मन्त्रालयले आजदेखि ‘श्रमाधानः २४ घन्टे श्रम सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ । स्वदेश तथा विदेशमा रहेको श्रमिकले पाउने अप्ठ्यारा, गुनासा समाधानका लागि केन्द्रमा टेलिफोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । ‘आजदेखि २४ घन्टा कल सेन्टर सुरु भएको छ’, उनले भने । छ महिनाभित्र श्रमाधानको मोबाइल एप पनि सार्वजनिक गरिने मन्त्री अर्यालले बताए । उक्त एपमार्फत श्रम मन्त्रालयसँग सम्बन्धित गुनासो गर्न दर्ता गर्न सकिने छ ।
घट्दो बजारमा लुम्बिनी जनरलको सेयर मूल्यमा उछाल, अझै बढ्न सक्ने
काठमाडौं । दोश्रो बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य निरन्तर बढेको छ । पछिल्लो समय निरन्तर घटेको बजारमा कम्पनीको सेयर मूल्य भने निरन्तर सर्किट लेभलमा बढीरहेको छ । सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको कम्पनीको सेयर गत साताको बिहीबारदेखि बढीरहेको छ । रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएपछि दोश्रो बजारमा कम्पनीको सेयरको भाउ बढेको नेप्सेको तथ्यांकले देखाउँछ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको सेयर कारोबार गत माघ १२ गतेदेखि खुला गरेको थियो । गत माघ १२ गतेदेखि माघ १७ गतेसम्ममा इन्स्योरेन्सको सेयर मूल्य ४१.३६ प्रतिशत अर्थात प्रतिकित्ता १५७.९ रुपैयाँले बढीसकेको छ । यो अवधिमा जम्मा चार दिन सेयर कारोबार खुला भयो । यो चार दिनमा नेप्से परिसूचक भने ७१.९४ अंकले घटीसकेको छ । गत माघ ११ गते २१८३.६२ बिन्दुमा रहेको परिसूचक माघ १७ गतेसम्म निरन्तर घटेर २१११.६८ बिन्दुमा झरेको छ । रोक्कापछि खुलेको कारोबारको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४२०.२० रुपैयाँमा पुग्यो । त्यसपछिको कारोबारमा पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुग्यो । अर्को दिनको कारोबारमा पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०८.४० रुपैयाँ पुग्यो । र, माघ १७ गतेको कारोबारमा भने कम्पनीको सेयर मूल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ता ५३९.९० रुपैयाँ पुगेको छ । किन बढ्यो कम्पनीको सेयर मूल्य ? पछिल्लो समय घट्दो बजारमा पनि कम्पनीको सेयर मूल्य भने निरन्तर बढीरहेको छ । सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने अन्तिम तयारीमा भएकोले कम्पनीको सेयर मूल्य बढेको एक जानकारले बताए । सगरमाथासँग १००ः८० को स्वाप रेसियोमा मर्ज हुन लागेको लुम्बिनीको सेयर मूल्य स्वाप रेसियोको आधारमा अझै बढ्नु पर्ने धेरैको बुझाइ छ । मंगलबारको बजारमा सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स क्रमश १००:८० को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज हुने गरी हुने गरी दुई कम्पनीबीच अन्तिम सम्झौता पनि भइसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने भएको छ । र, सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । यता सगरमाथा इन्स्योरेन्सले पनि सेयरधनीलाई चुक्ता पुँजीको १२.४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह
विराटनगर । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेपछि सो आग्रह गरेको हो । महानगर प्रमुख नागेश कोइरालाले यो अभियानमा साथ दिन व्यवसायीलाई आग्रह गरे । ‘सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई व्यवस्थित बनाउन सकिन्छ’, उनले भने । प्रमुख कोइरालाले बढीभन्दा बढी कर सङ्कलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने भन्दै उनले भने, ‘करको दर बढाएको छैन । हामीले दायरा मात्रै बढाउन अभियानमा छौँ’, नगरमा धेरै होटल, रेष्टुरेन्ट र मदिरा पसलहरु महानगरमा दर्ता नगरीकनै सञ्चालन गरेको पाइएको उहाँको भनाइ थियो । उपप्रमुख शिल्पा निराला कार्कीले कानुनी रुपमा बलियो भएर व्यवसाय सञ्चालन गर्दा कसैसित पनि डराउनु नपर्ने बताए । उनले अनुगमनमा पुग्दा सबै कागजपत्र दुरुस्त बनाएर राख्दा व्यवसायीकै प्रतिष्ठा बढ्ने कुरामा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताए । सो छलफलमा उपस्थित व्यवसायीले गुनासो पोखेका थिए । होटल र रेष्टुरेन्ट अगाडि नै मादक पदार्थ सेवा सम्बन्धी जाँच गरिदिँदा पसलको सटर लगाउनुपर्ने अवस्था आएको बताए । होटल व्यवसायी खिलकुमार सुवेदीले कोरोनाका कारण सुस्ताएको व्यवसाय अझै माथि उठ्न नसकेको गुुनासो सुनाए । ‘ग्राहक नआउँदा होटलका टेबल र कोठा खाली छन्’, उनले थपे, ‘यस्तो अवस्थामा हामीले कसरी कर तिर्नु ?’ उनले किराना पसलहरुले पनि मदिरा बिक्री गरिरहेको जानकारी दिए । मदिरा व्यवसायी सङ्घ मोरङका पूर्वाध्यक्ष अंशु बञ्जराले विराटनगरको विकासका लागि जतिसुकै पनि कर तिर्न तयार रहेको प्रतिक्रिया दिए । उनले घरेलु मदिराको बिक्री नियन्त्रण गर्न नसकेको गुनासो पोख्दै महानगरले मदिराको लाइसेन्ससमेत नदिएको गुनासो गरे । होटल तथा पेयपदार्थ व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुरज श्रेष्ठले निश्चित समयसम्म जरिवाना छुट दिएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले विद्यालय र मन्दिर छेउ मदिरा बिक्री वितरण रोक्न आफूहरुले स्थानीय प्रशासनलाई सहयोग गर्ने धारणा राखे । पसल आगाडि पार्किङ निषेध गर्दा ग्राहक आउन छाडेको व्यवसायीहरुको गुनासो थियो । मदिरा व्यवसायीलाई करको दायरामा ल्याउन महानगरले आगामी फागुन मसान्तसम्म दर्ता र नवीकरणका लागि शत्प्रतिशत जरिवाना छुट गर्ने राजस्व महाशाखाप्रमुख सरोज गौतमले जानकारी दिए । रासस
सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । उच्च अदालतको आदेश बदर गरी लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको हो । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई दुई हप्ताअघि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो । लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन अवस्थामा छ ।
काठमाडौंमा भिखारीहरुको कमाइ २४ हजार रुपैयाँसम्म (फोटोफिचर)
काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न सडकमा भिख माग्नेहरुको जमात नै भेटिन्छ । मानसिक तथा शारीरिक रूपमा अशक्त भई जीवन चलाउनका लागि भनेर विभिन्न सडकमा हात थापेर भिख माग्नेहरुको जमात नै भेटिन्छ । सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन् । मागेर भएपनि उनीहरुले दैनिक ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म संकलन गर्ने गरेको बताएका छन् । उनीहरुले मासिक रुपमा २४ हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाएको थियो । गत असारमा महानगरले एक सूचना जारी गर्दै भिख माग्न रोक लगाएको थियो । महानगरले रोक लगाएपनि काठमाडौंमा मगन्तेहरु भने कम भएका छैनन् ।
‘समयमै आऔँ, मर्यादित पोशाक लगाऔँ र राष्ट्रियगान गाऔँ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा रास्वपाका सविता गौतमले सदन समयमै उपस्थित हुने, ड्रेसकोड कायम गर्ने र राष्ट्रिय धुनको सट्टा राष्ट्रिय गान नै बजाऔँ भन्ने विषयसहितका सुझाव प्रस्तुत गरिन् । सभामुख सदनमा प्रवेश गर्नसाथ राष्ट्रिय धुन बजाइने र त्यहाँ उपस्थित सबै उठेर राष्ट्रिय धुनप्रति सम्मान गर्ने प्रचलन रही आएको छ । उनले भनिन्, ‘पङचुवालिटी, सभालाई मर्यादित तुल्याउन ड्रेसकोट, राष्ट्रिय गानप्रति सम्मान व्यक्त गर्न त्यो बजाइँदा सबै शर्तक अवस्थामा रहनुपर्ने व्यवस्था होस् भन्ने हाम्रो दलको धारणा हो ।’ सदनमा सभामुखको भूमिका निर्णाय(रेफ्री) जस्तो हुन्छ भन्ने मान्यता भए पनि कहीले काही प्रतिपक्षलाई पेलेर जान्छन् भन्ने कुरा सुनिँदै आएको बताउँदै समिति सदस्य गौतमले सभामुख कुनै दल विशेषको पक्षधर भएको खण्डमा त्यसको उपचार वा सम्वोधन कहाँबाट खोज्ने भन्ने विषय पनि निमयमालीमा स्पष्ट हुनुपर्नेमा जोड दिइन् । दल विशेषको सभामुख बनाउने होडबाजीले त्यो अवस्था आउन सक्नेतर्फ समयमै सचेत भएर निमयमावली बनाउन ध्यान पु¥याउन आवश्यक रहेको उनले बताइन् । नेकपा(माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सभालाई मर्यादित र अनुशासित तुल्याउन सदन चलिरहेका समयमा मुख्य विषयमा ध्यान दिनुको साटो मोवाइल चलाउने, पत्रपत्रिका पढनेलगायत विषयमा अल्झने प्रवृत्ति अन्त्यका लागि नियमावली तर्जूमामै कडाई गर्न व्यवस्था गर्न सुझाव दिए । नेकपा (एमाले)का नेता एवं पूर्वसभामुख सुवास नेम्वाङले नियमावलीमा सदनमा सभामुखतिर पीठ्यू फर्काउन नहुने स्पष्ट लेखिए पनि नेता र सदस्यबीचका सम्वादमा यस्ता क्रियाकलाप पटकपटक हुने गरेको बताए । उनले भने, ‘कुनै सदस्यले बैठकमा असङ्गत कुरा बोलेमा माथि चियरबाट हस्तक्षेप नहुने हो भने नहुनु पर्ने कुरा पनि भइरहन्छ, बैठकमा कार्यसूचीभन्दा बाहिर गएर असम्बन्धित विषय प्रवेश गराउने कार्य पटक भएको देखिन्छ, त्यसलाई अध्यक्षको चियर र नियमापत्तिको अभ्यासबाट सदस्यले हो ।’ जेष्ठ सदस्य चित्रबहादुर केसीको अध्यक्षतामा सञ्चालन भएको उक्त समितिको बैठकमा सदनमा विरोध गर्ने क्रममा वयल घेराउन कार्य नियम विपरित भए पनि दलले अभ्यासकैरुपमा अघि बढाइरहेकाले त्यसलाई आगामी दिनमा दोह¥याउन दिन नहुने सुझाव दिइयो ।
सगरमाथा र लुम्बिनी जनरल मर्ज भई ‘सगरमाथा लुम्बिनी’ बन्ने, सीईओ चंकी, अध्यक्षमा मूल
काठमाडौं । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । माघ १७ गते एक कार्यक्रमबीच दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको हो । उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । त्यस्तै, दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतीको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १०० : ८० कायम रहनेछ । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिने कम्पनीले जनाएको छ । अन्तिम सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका संचालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । सम्बन्धित समाचार सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १००ः८०