विकासन्युज

रक्सी पिउँदै दरबार चियाउँदै

काठमाडौं । नारायणहिटी दरबार रहँदासम्म र दरबारभित्र राजा रहुन्जेल दरबारमार्गमा बढीमा दुई तले भवन बनाउन पाइन्थ्यो । राणा, शाह, श्रेष्ठ, राजभण्डारी सबैको घर तथा व्यवसायिक कार्यालय दुई तलाभन्दा अग्लो बनेका थिएनन् । गणतन्त्र आएपछि नारायणहिटी राजदरबार नारायणहिटी संग्रहालयमा परिणत भयो । दरबार मार्गमा गगनचुम्बी भवनहरु उठ्न थालेका छन् । संग्रहालयको मुख्य प्रवेशद्धारको देब्रेपट्टि ५ तले दरबार मल बनेको करिब ५ वर्ष भैसक्यो । यो व्यवसायिक भवनमा विश्वको नम्वर वान ब्राण्ड टेस्ला कारको शोरुम पनि राखिएको थियो । अहिले नेपालको सबैभन्दा ठूलो ब्राण्ड एनसेलको कर्पोरेट सर्भिस सेन्टर त्यहीँ रहेको छ । अन्तरार्ष्ट्रिय बजारमा स्थापित ब्राण्ड र उच्च मूल्यवान वस्तुका पसलहरु त्यही भवनमा रहेका छन् । अनि, त्यसको पाँचौ तलामा खुलेको छ रक्सी पिउने र दरबार नियाल्ने ठाउँ । नेपाली ठेट भाषामा रक्सी खाने ठाउँलाई भट्टी भनिन्छ, अंग्रेजीमा बार भनिन्छ र थाई नागरिक म्यापलले यसको नाम पेन्टहाउस दिएका छन् । यो बारको डिजाइन पनि उनैले गरेका हुन् । लिफ्टबाट बाहिरिने बित्तिकै सूर्यको प्रकाशलाई निषेध गरिएको बन्द र मन्द अँध्यारो कक्षमा पुगिन्छ । दायाँपट्टि सम्पन्नता बिम्बित गर्ने करिब १२ फिट अग्लो, सुनौलो र आकर्षक ढोका देख्न सकिन्छ । भारी ढोका बलपूर्वक धकेलेर भित्र छिर्दा गोलाकारको कक्षमा पुगिन्छ, जसको चारै तिरै गोल्डेन कोड गरिएको छ । एउटा कर्नरमा रहेको कालो ढोका उघारेपछि अर्को छुटै दुनियाँ देखिन्छ । खुला आकाश । दरबार नियाल्ने बाल्कोनी । अलिपर चम्किला सिसंम काठका कुर्सी । ह्विस्की, भोड्का, बियर, वाइन पिउनेहरुको लागि अलग्गै बार । ककटेल, मकटेल पिउनेहरुको लागि अलग्गै बार । कफी, सफ्ट ड्रिङस्, फूड्स लिनेहरुको लागि अलग्गै बसाईं । खुला आकाश मुनी बस्ने वा ट्रस मुनि बस्ने वा रुफटप मुनी बस्ने वा वालमार्बल ल्यामिनेटेड अनसिन डोर (नदेखिने ढोका) धकेलेर नो डे लाइट सिक्रेट रुममा बस्ने । बाहिरको कुनै पनि क्षेत्रमा बस्नु ग्राहकले छनौट गर्न सक्नेछन तर अदृश्य ढोका खोलेर गोप्य कक्षमा जान भने बार म्यानेजरसँग अनुमति लिनु पर्दछ । गोप्य र भिआईपी कक्षको डिजाइन यस्तो छ कि प्रहरीले छापा मार्यो भने पनि त्यस कक्षमा बस्ने ग्राहकलाई प्रहरीले देख्दैन । रुफटप बार भएकोले खुला क्षेत्रबाट नारायणहिटी संग्राहलय, दरबारको अगाडि जोडिएका तीन सडकमा सवारीको लुकामारी आनन्दले नियाल्न मिल्छ । ठमेलको अलफ्ट होटल, सेराटन होटल, लैनचौरको एनसेल मुख्यालय, नागपोखरीस्थित काठमाडौं मेरिएट, दरबारमार्गको याक एण्ड यति होटलसहित काठमाडौंको उपत्यकाका गगनचुम्बी भवनहरु र उपत्यकाको आधाउधी क्षेत्रफल यो बारको एउटै बिन्दुमा उभिएर देख्न सकिन्छ । बारको एउटा भित्तामा विश्वका अग्ला १४ हिमालहरुको चित्रण र उचाईको बिम्ब वा निर्मल पूर्जा राखिएको छ । एउटा भित्तामा आँखी झ्यालबाट नारायणहिटी दरबार नियालेको अनुभूति दिने गरी मेटल र ग्लासको मिश्रित वाल डिजाइन गरिएको छ । अर्को भित्तामा इलेक्ट्रिक फायर प्लेस राखिएको छ । बारको वालहरुमा अर्नामेन्ट डिजाइन राखिएका छन् । यो बार निर्माणमा काठ, मार्बल, फलामसहित विभिन्न मेटलहरुको मिश्रित प्रयोग गरिएको छ । बारको साजसज्जा गर्ने क्रममा बुद्धिष्ट संस्कार र वास्तु विज्ञानलाई मिश्रित गरिएको छ । कलात्मक प्रतिबिम्बहरु पाइने, सकारात्मक इनर्जी पाइने र सम्पन्नता झल्काउने गरी यो बारको डिजाइन भएको अपरेशन म्यानेजर पोषण रिजालले बताए । यसको डिजाइनमा थाइल्याण्डका नागरिक म्यापलले गरेका थिए । ‘हामीले सफ्ट लञ्च गरेका छौं, फिनिसिङमा फाइनल टच दिन बाँकी नै छ, सबै काम सकेपछि ग्राण्ड ओपनिङ गछौं,’ रिजालले भने । यसको क्षेत्रफल ६ हजार ८ सय वर्गफिट छ । यो बारमा १६० जना आरामले बसेर खान, पिउन सक्छन् । यो बारमा करिव ३० जनाले राेजगारी पाउने छन् । ‘आरामदायी बसाईं, राम्रो ड्रिङ्स, मिठो खानासहितको हस्पिटालिटी सेवा दिनको लागि यो बार खोलिएको हो,’ पेन्टहाउसका अपरेशन म्यानेजर पोषण रिजालले भने,‘यो बारलाई एशियाको सबैभन्दा राम्रो बारको रुपमा निर्माण गरेका छौं ।’ पत्रकारको नजरमा यो बारमा बसेर खान, पीउन महँगै छ । बारको मेन्यू अनुसार यामाजाकि ब्राण्डको रक्सी ६० एमएलपेग पिउँदा ७५०० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै ग्लिनफिडिचको ६० एमएल पेग मूल्य ६४०० रुपैयाँ छ । ग्लिनफिडिच २३ वर्षे ७०० एमएलको एक बोटल रक्सि पिउनेले ९८ हजार रुपैयाँ तिनुपर्छ । त्यसमा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट पनि थपिन्छ । एक बोतल रक्सीसँगै स्न्याक्सहरु खाँदा करिब डेढ लाखको बिल आउने सम्भावना हुन्छ । तर, बारको मूल्य धेरै महँगो नभएको अपरेशन म्यानेजर रिजालले बताए । ‘बार धेरै महँगो छैन, सामान्यत एक पेग रक्सीको करिब १२०० र १५०० रुपैयाँ पर्छ, एउटा मगटेल लिनुभयो भने ५०० र ६०० रुपैयाँ पर्छ, फुडको क्वालिटी धेरै राम्रो हुन्छ’ उनले भने । उद्योगी, व्यवसायी, कुटनीतिक क्षेत्रमा काम गर्नेहरु, मदिरा पारखीहरुलाई आकर्षित गर्ने गरी यो बार खोलिएको उनले बताए ।

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी

गण्डकी । पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति। पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ। मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको पाइएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए। ‘खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्’, उनले भने, ‘दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौँ।’ सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ। नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ। उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ। समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो। पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले जानकारी दिए। कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुनलागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन्। व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन्। सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालनलगायत लगानी गरिँदै आएको छ। मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो। पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ। मालेपाटन ढोडबेँसी क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखु लगाउँदै आएका छन्। उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ। अनी रस पकाइन्छ। उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ। यहाँका किसानले कोलमा उखु पेल्थे। दाइँमा जस्तै गोरुले कोल घुमाउँथे। यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ। पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए। पहिचान जोगाउन ब्राण्डिङ मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्राण्डिङ गरिएको छ। पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा राखेर गत वर्ष नै बजारमा लगिएकामा यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए। यस वर्ष प्याकेजिङ गरिएकामध्ये पाँच सय बोतल बिक्री भइसकेको जानकारी दिँदै उहाँले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेँसीको भन्दै ठाउँ–ठाउँमा बिक्री हुने गरेको पाइएको बताए। गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर तीन सय ५० निर्धारण गरिएको छ। दश लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर तीन सय २५ लिने गरिएको छ । सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन् । महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको बताए। महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा वडा नं ३२ मा उखुखेतीमा जोड दिने कडरियाले जानकारी दिए । विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन्। उखुमा लाग्ने गरेको ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ। यस वर्ष वर्षात्को समयमा उखु ढलेपछि चिन्तित बनेका यहाँका स्थानीयलाई औषधि छर्नका लागि कृषि ज्ञान केन्द्रले स्प्रे उपलब्ध गराएको थियो । औषधि छरेसँगै क्षतिमा कमी आएको थियो। उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्न थालिँदा चिन्तित बनेका छन्। करिब ६० देखि ७० कृषकले उखुबाट वार्षिक ६० लाख आम्दानी गर्ने गरेकामा वर्षात्मा सेतो ढुसीका कारण उखु लड्दा उत्पादन केही कम भएको अवसर पारी तराईबाट खुदो ल्याएर मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्ने गरिएकोे स्थानीयवासी रामप्रसाद ढकालले बताए । ‘पछिल्ला वर्षमा यस क्षेत्रमा उखुको व्यावसायिक खेती हुने गरेको छ, व्यक्तिगतरूपमा नै कतिपयले एक सय ४० टिनसम्म (प्रति टिन १६–१७ लिटरसम्म हुने) खुदो उत्पादन गर्ने गरेका छन्’, उनले भने। स्थानीयले यहाँको गुणस्तरीय खुदो घर–घरबाट प्रतिमाना दुई सयमा बिक्री गर्ने गरेको उल्लेख गर्दै उनले तराईबाट ल्याइएको कम गुणस्तरको खुदो प्रतिमाना एक सय ४० देखि एक सय ५० सम्म बेच्दा स्थानीय उत्पादन बिक्री गर्न सस्यामा भएको छ । रासस

साल्ट ट्रेडिङले फेब्रुअरीलाई ‘आयोडिन महिना’ को रुपमा मनाउँदै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने भएको छ । आयोडिनयक्त नुनको कमीले सिर्जना हुनसक्ने बिकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सो अभियान सञ्चालन गरिएको कर्पोरेसनले जनाएको छ । युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि फेब्रुअरीलाई ‘आयोडिन महिना’ घोषणा गरी चेतनामुलक कार्यक्रम गरी मनाईंदै आएको छ । आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न विकृतिहरु मध्ये ‘भिजिबल गोइटर’ सन् १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र अहिले समुदायमा सो स्वास्थ्य विकृति नदेखिएको कर्पोरेसनको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन नुन उपभोग गरेको र सोही समयमा सरकारले गरेको एनडिएचएस सर्वेअनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको उपभोग गरेको पाइएको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले आयोडिन महिनामा जनचेतनामुलक गतिविधि गर्ने, पदर्शनी गर्ने र स्टल राख्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ। क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या  भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए । उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । ‘पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ,’ उनले भने । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन् । हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरूष कैदी रहेको जेलर पन्तले बताए । यस्तै चोरी डकैती मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, बन्यजन्तु ओसारपोसारका तीन कैदी र  एक बन्दी तथा लागूऔषध मुद्दाका एक कैदी (पुरुष) र एक बन्दी (पुरुष) रहेका प्रमुख पन्तले बताए । यसैगरी जबरजस्ती करणी, बालविवाह मुद्दाका एक पुरुष कैदी, बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा छन्।

मेलम्ची खानेपानी आयोजनाका ९ अर्ब ६२ करोडको संरचना केयुकेएललाई हस्तान्तरण

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ९ अर्ब ६२ करोडको संरचना केयुकेएललाई हस्तान्तरण गरेकाे छ ।  आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उपआयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका कूल ९ अर्ब ६२ करोड रुपैयाँ बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको हाे । उप–आयोजना–२ बाट काठमाडौँको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा प्रशोधित मेलम्चीको खानेपानी उक्त केन्द्रबाट काठमाडौँका विभिन्न नौ स्थानमा रहेका १० वटा खानेपानी ट्याङ्कीहरूमा आपूर्तिका लागि बिच्छइएका थोक वितरण प्रणालीका ४०० मि.मि. देखि १,४०० मि.मि. ब्याससम्मका ठुला डक्टाइल आइरन पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको आयोजनाका उपनिर्देशक तथा प्रवक्ता चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए । राजधानीमा आयोजित कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व हस्तान्तरण सम्बन्धमा सम्झौता भएको उनले बताए । खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको उपस्थितिमा उक्त सम्झौता पत्रमा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।

पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ। जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्। प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरेका हुन् । विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए। तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो। आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उनको भनाइ छ। पीडित ६४ परिवारलाई सेलाङको बाँसखर्क, २७ परिवारलाई बराम्चीको चनौटे तथा ७५ परिवारलाई लिदीको सिमलडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। विस्थापितलाई आवास निर्माणका लागि सरकारले प्रतिपरिवार रु पाँच लाख उपलब्ध गराएको थियो । रासस

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

मकवानपुर । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटौंडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ। मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन् । भारतको दुई करोड ६० लाख लागतमा निर्माण भएको सो सङ्ग्राहलय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो। यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन्। सङग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन्। सङ्ग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ। त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त सङ्ग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान विश्वविद्यालयको बीचमा रहेको सो सङ्ग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिंग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ। सङ्ग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले सङ्ग्रहालयले गति नलिएको बताए। ‘बजेटको अभाव भएको छ’, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उनको भनाइ छ । यहाँ कर्मचारीको समेत अभाव छ। वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ। हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए।

प्रधानमन्त्रीसँग एनआरएनए मकाउको माग : हुण्डी प्रयोग गर्ने बाध्यता हटाइदिनुस्

काठमाडौं । गैर आवासीय नेपाल संघ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउका यस्तो माग गरेको हो । पैसा पठाउने वैधानिक रेमिट्यान्स कम्पनी नहुँदा मकाउमा रहेका नेपालीहरु हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ । एनआरएनए मकाउले सरकारकै पहलमा रेमिट्यान्स कम्पनी खोलिदिन आग्रह गरेको छ । एनआरएनए मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न पनि सरकारसँग माग गरेको छ । नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट भिषा लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदारहरु समस्यामा परेको एनआरएनए मकाउको गुनासो छ । एनआरएनए मकाउले सम्भव भए नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ । त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउमा पर्यटक नेपाल आउन पनि सहज हुने एनआरएनए मकाउको भनाई छ । यस्तो छ प्रधानमन्त्रीसँग एनआरएनए मकाउको पाँच बुँदे माग १. नेपाल र मकाउबीच सिधा हवाई सम्पर्क छैन । यसै सम्बन्धमा नेपालीहरु यहाँसम्म पुग्न विभिन्न देशको बाटो हँुदै धेरै समय र पैसाको लगानी गरी जाने गरेका छन् । हामी सरकारसँग यो आग्रह गर्दछौं कि कम्तिमा हप्तामा एक वटा फ्लाइटको व्यवस्था गरेमा विश्वकै प्रसिद्व पर्यटकीय स्थल मकाउबाट नेपालमा थप पर्यटक पनि आकर्षित गर्न सकिन्छ । २. यदि सिधा हवाई सम्पर्क सम्भव नभएको अवस्थामा हङकङबाट बस अथवा फेरि प्रयोग गरी छोटो समयमै मकाउ पुग्न सकिन्छ । हङकङ सरकारले नेपालीहरुको लागि ट्रान्जिट भिषाको व्यवस्था त गरेको छ तर, जुन निकै झन्झटिलो र धेरै समय लाग्ने हुँदा यो व्यवस्था हटाउन प्रधानमन्त्रीले विशेष पहल गरेमा यहाँका नेपालीहरु लाभान्वित हुने थिए । पहिला पनि अनौपचारिकरुपमा पहल भएको तर, ठोस निष्कर्षमा पुग्न नसकेकाले यस पटक हङकङ र नेपाल दुवैतिर नयाँ कार्यपालिका भएकाले ठोस नजिताको अपेक्षा राख्दछौं । ३. चिनियाँ व्यापारीहरु विशेषगरी होटल तथा पर्यटन र क्यासिनो क्षेत्रमा लगानी गर्न आकर्षित रहेका छन् । तर, लगानी सुरक्षीत सुनिश्चिततामा शंका व्यक्त गरेको सन्दर्भमा बिप्पा सम्झौतालगायतको पूर्ण कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको कुरा चीनस्थित नेपाली राजदूतावास र हङकङस्थित महावाणिज्यदूतमार्फत पहल गर्न निर्देशन गरेमा त्यसले निकै सकारात्मक अवस्था ल्याउनेछ । ४. सामान्यतया संसारका धेरै देशमा मानिसहरु अनअराइभल भिषामा बिना रोकतोक हङकङ घुम्न सक्छन् । तर, यति धेरै नेपाली रहेका र नजिक भएर पनि नेपालीहरुले भिषा नै नपाउने अवस्था रहेको छ । यो अवस्थालाई अन्त्य गर्न सरकारबाट चिनियाँ राजदुतमार्फत सहज आवागमनको व्यवस्थाको लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौं । ५. विगत लामो समयदेखि नेपालीहरु उच्च तलबमा काम गरिरहेका छन् तर, कमाएको रकम नेपाल पठाउन एउटा पनि स्वदेशी रेमिट्यान्स कम्पनी नभएको सन्दर्भमा अधिकांशले बाध्यताबस हुन्डीको प्रयोग गर्दै छन् । जुन सरकारको लागि करोडौं डलरको घाटा र गैरकानुनी पनि छ । त्यसैले सरकारी तबरबाट केही रेमिट्यान्स कम्पनी स्थापना गर्न सके यस आर्थिक संकटको बेलामा निक्कै फाइदा पुग्ने अपेक्षा राखेका छौं ।