काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ९ अर्ब ६२ करोडको संरचना केयुकेएललाई हस्तान्तरण गरेकाे छ । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उपआयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका कूल ९ अर्ब ६२ करोड रुपैयाँ बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको हाे ।
उप–आयोजना–२ बाट काठमाडौँको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा प्रशोधित मेलम्चीको खानेपानी उक्त केन्द्रबाट काठमाडौँका विभिन्न नौ स्थानमा रहेका १० वटा खानेपानी ट्याङ्कीहरूमा आपूर्तिका लागि बिच्छइएका थोक वितरण प्रणालीका ४०० मि.मि. देखि १,४०० मि.मि. ब्याससम्मका ठुला डक्टाइल आइरन पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको आयोजनाका उपनिर्देशक तथा प्रवक्ता चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए ।
राजधानीमा आयोजित कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व हस्तान्तरण सम्बन्धमा सम्झौता भएको उनले बताए ।
खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको उपस्थितिमा उक्त सम्झौता पत्रमा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।