रक्सी पिउँदै दरबार चियाउँदै

<p>काठमाडौं । नारायणहिटी दरबार रहँदासम्म र दरबारभित्र राजा रहुन्जेल दरबारमार्गमा बढीमा दुई तले भवन बनाउन पाइन्थ्यो । राणा, शाह, श्रेष्ठ, राजभण्डारी सबैको घर तथा व्यवसायिक कार्यालय दुई तलाभन्दा अग्लो बनेका थिएनन् । गणतन्त्र आएपछि नारायणहिटी राजदरबार नारायणहिटी संग्रहालयमा परिणत भयो । दरबार मार्गमा गगनचुम्बी भवनहरु उठ्न थालेका छन् । संग्रहालयको मुख्य प्रवेशद्धारको देब्रेपट्टि ५ तले दरबार [&hellip;]</p>

काठमाडौं । नारायणहिटी दरबार रहँदासम्म र दरबारभित्र राजा रहुन्जेल दरबारमार्गमा बढीमा दुई तले भवन बनाउन पाइन्थ्यो । राणा, शाह, श्रेष्ठ, राजभण्डारी सबैको घर तथा व्यवसायिक कार्यालय दुई तलाभन्दा अग्लो बनेका थिएनन् ।

गणतन्त्र आएपछि नारायणहिटी राजदरबार नारायणहिटी संग्रहालयमा परिणत भयो । दरबार मार्गमा गगनचुम्बी भवनहरु उठ्न थालेका छन् । संग्रहालयको मुख्य प्रवेशद्धारको देब्रेपट्टि ५ तले दरबार मल बनेको करिब ५ वर्ष भैसक्यो ।

यो व्यवसायिक भवनमा विश्वको नम्वर वान ब्राण्ड टेस्ला कारको शोरुम पनि राखिएको थियो । अहिले नेपालको सबैभन्दा ठूलो ब्राण्ड एनसेलको कर्पोरेट सर्भिस सेन्टर त्यहीँ रहेको छ । अन्तरार्ष्ट्रिय बजारमा स्थापित ब्राण्ड र उच्च मूल्यवान वस्तुका पसलहरु त्यही भवनमा रहेका छन् ।

अनि, त्यसको पाँचौ तलामा खुलेको छ रक्सी पिउने र दरबार नियाल्ने ठाउँ । नेपाली ठेट भाषामा रक्सी खाने ठाउँलाई भट्टी भनिन्छ, अंग्रेजीमा बार भनिन्छ र थाई नागरिक म्यापलले यसको नाम पेन्टहाउस दिएका छन् । यो बारको डिजाइन पनि उनैले गरेका हुन् ।

लिफ्टबाट बाहिरिने बित्तिकै सूर्यको प्रकाशलाई निषेध गरिएको बन्द र मन्द अँध्यारो कक्षमा पुगिन्छ । दायाँपट्टि सम्पन्नता बिम्बित गर्ने करिब १२ फिट अग्लो, सुनौलो र आकर्षक ढोका देख्न सकिन्छ । भारी ढोका बलपूर्वक धकेलेर भित्र छिर्दा गोलाकारको कक्षमा पुगिन्छ, जसको चारै तिरै गोल्डेन कोड गरिएको छ ।


एउटा कर्नरमा रहेको कालो ढोका उघारेपछि अर्को छुटै दुनियाँ देखिन्छ । खुला आकाश । दरबार नियाल्ने बाल्कोनी । अलिपर चम्किला सिसंम काठका कुर्सी । ह्विस्की, भोड्का, बियर, वाइन पिउनेहरुको लागि अलग्गै बार । ककटेल, मकटेल पिउनेहरुको लागि अलग्गै बार । कफी, सफ्ट ड्रिङस्, फूड्स लिनेहरुको लागि अलग्गै बसाईं । खुला आकाश मुनी बस्ने वा ट्रस मुनि बस्ने वा रुफटप मुनी बस्ने वा वालमार्बल ल्यामिनेटेड अनसिन डोर (नदेखिने ढोका) धकेलेर नो डे लाइट सिक्रेट रुममा बस्ने ।

बाहिरको कुनै पनि क्षेत्रमा बस्नु ग्राहकले छनौट गर्न सक्नेछन तर अदृश्य ढोका खोलेर गोप्य कक्षमा जान भने बार म्यानेजरसँग अनुमति लिनु पर्दछ । गोप्य र भिआईपी कक्षको डिजाइन यस्तो छ कि प्रहरीले छापा मार्यो भने पनि त्यस कक्षमा बस्ने ग्राहकलाई प्रहरीले देख्दैन ।

रुफटप बार भएकोले खुला क्षेत्रबाट नारायणहिटी संग्राहलय, दरबारको अगाडि जोडिएका तीन सडकमा सवारीको लुकामारी आनन्दले नियाल्न मिल्छ । ठमेलको अलफ्ट होटल, सेराटन होटल, लैनचौरको एनसेल मुख्यालय, नागपोखरीस्थित काठमाडौं मेरिएट, दरबारमार्गको याक एण्ड यति होटलसहित काठमाडौंको उपत्यकाका गगनचुम्बी भवनहरु र उपत्यकाको आधाउधी क्षेत्रफल यो बारको एउटै बिन्दुमा उभिएर देख्न सकिन्छ ।

बारको एउटा भित्तामा विश्वका अग्ला १४ हिमालहरुको चित्रण र उचाईको बिम्ब वा निर्मल पूर्जा राखिएको छ । एउटा भित्तामा आँखी झ्यालबाट नारायणहिटी दरबार नियालेको अनुभूति दिने गरी मेटल र ग्लासको मिश्रित वाल डिजाइन गरिएको छ । अर्को भित्तामा इलेक्ट्रिक फायर प्लेस राखिएको छ । बारको वालहरुमा अर्नामेन्ट डिजाइन राखिएका छन् । यो बार निर्माणमा काठ, मार्बल, फलामसहित विभिन्न मेटलहरुको मिश्रित प्रयोग गरिएको छ ।

बारको साजसज्जा गर्ने क्रममा बुद्धिष्ट संस्कार र वास्तु विज्ञानलाई मिश्रित गरिएको छ । कलात्मक प्रतिबिम्बहरु पाइने, सकारात्मक इनर्जी पाइने र सम्पन्नता झल्काउने गरी यो बारको डिजाइन भएको अपरेशन म्यानेजर पोषण रिजालले बताए । यसको डिजाइनमा थाइल्याण्डका नागरिक म्यापलले गरेका थिए । ‘हामीले सफ्ट लञ्च गरेका छौं, फिनिसिङमा फाइनल टच दिन बाँकी नै छ, सबै काम सकेपछि ग्राण्ड ओपनिङ गछौं,’ रिजालले भने ।

यसको क्षेत्रफल ६ हजार ८ सय वर्गफिट छ । यो बारमा १६० जना आरामले बसेर खान, पिउन सक्छन् । यो बारमा करिव ३० जनाले राेजगारी पाउने छन् ।

‘आरामदायी बसाईं, राम्रो ड्रिङ्स, मिठो खानासहितको हस्पिटालिटी सेवा दिनको लागि यो बार खोलिएको हो,’ पेन्टहाउसका अपरेशन म्यानेजर पोषण रिजालले भने,‘यो बारलाई एशियाको सबैभन्दा राम्रो बारको रुपमा निर्माण गरेका छौं ।’

पत्रकारको नजरमा यो बारमा बसेर खान, पीउन महँगै छ । बारको मेन्यू अनुसार यामाजाकि ब्राण्डको रक्सी ६० एमएलपेग पिउँदा ७५०० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै ग्लिनफिडिचको ६० एमएल पेग मूल्य ६४०० रुपैयाँ छ । ग्लिनफिडिच २३ वर्षे ७०० एमएलको एक बोटल रक्सि पिउनेले ९८ हजार रुपैयाँ तिनुपर्छ । त्यसमा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट पनि थपिन्छ । एक बोतल रक्सीसँगै स्न्याक्सहरु खाँदा करिब डेढ लाखको बिल आउने सम्भावना हुन्छ ।

तर, बारको मूल्य धेरै महँगो नभएको अपरेशन म्यानेजर रिजालले बताए । ‘बार धेरै महँगो छैन, सामान्यत एक पेग रक्सीको करिब १२०० र १५०० रुपैयाँ पर्छ, एउटा मगटेल लिनुभयो भने ५०० र ६०० रुपैयाँ पर्छ, फुडको क्वालिटी धेरै राम्रो हुन्छ’ उनले भने । उद्योगी, व्यवसायी, कुटनीतिक क्षेत्रमा काम गर्नेहरु, मदिरा पारखीहरुलाई आकर्षित गर्ने गरी यो बार खोलिएको उनले बताए ।

Share News