लाभांश र हकप्रद पारित गर्न अपि पावरले बोलायो साधारण सभा
काठमाडौं । अपि पावर कम्पनीले लाभांश पारित गर्न लाभांश साधारण सभा बोलाएको छ । कम्पनीले फागुन १४ गतेको लागि कम्पनीको साधारण सभा बोलाएको हो । सभाले कम्पनीको गत वर्षका नाफाबाट प्रस्तावित लाभांश पारित गर्नेछ । कम्पनीले यस वर्ष ७।८९ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ । सभाले सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४१३.१५ करोड रुपैयाँको एक सेयर बराबर ०.४० को दरले हुने १६५.३४ करोड बराबरको हकप्रद सेयर जारी गर्नेबारे पनि निर्णय गर्नेछ । प्रस्तावित हकप्रद सेयर निस्काशनबाट प्राप्त हुने रकम कम्पनीले संचालन गरी उत्पादन गरिरहेको जलविद्युत र सौर्य विद्युतमा प्रयोग गर्ने जनाएको छ ।
अब दैनिक ८ घण्टा मात्रै हवाइ उडान !
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । माघ १ गते यती एयरलाइन्सको पोखरा दुर्घटनापछि प्राधिकरणले उडानलाई सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्न लागेको हो । हवाइ दुर्घटनाको मुख्य कारण क्याप्टेनको मेन्टालिटी रहेको जनगुनासो आउने गरेपछि प्राधिकरणले दैनिक उडान आवर तथा उडान/अवतरणको संख्यालाई कटौति गर्ने तयारी थियो । प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन् । यसअघि दैनिक १० घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था थियो । यसअघि एक क्यापटेनले सातामा ४२ घण्टा उडान गर्नुपर्नेमा त्यसलाई कटौति गरी सातामा ३६ घण्टामा झार्न लागिएको हो । सातामा ६ दिन काम गर्ने पाइटलले अब ५ दिनमात्रै उडान गर्न पाउने छन् । दैनिक धेरै उडान हुँदा त्यसको असर क्यापटेनको मानसिकतामा पर्ने भएपछि उडान आवर र अवतरणको संख्या घटाउने तयारी थालिएको क्यानले जनाएको छ । प्राधिकरण महानिर्देशकबाट सर्कुलर जारी गर्ने विषयमा निर्णय भइसके पनि सरोकारवालासँग छलफल गरी जारी गर्ने तयारी भएको छ । नयाँ सर्कुलर समर सेड्युलबाट लागू गर्ने तयारी भएको छ । यस्तै, नयाँ सर्कुलरमा आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्ने नपाइने व्यवस्था लागु गर्न लागिएको छ । यसैगरी पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिट माथि हुनु पर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तिमा १ हजार फिट माथि हुनु पर्ने व्यवस्था सहितको सर्कुलर जारी गर्ने तयारी गरिएकाे छ । वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने विषय पनि नयाँ सर्कुलरमा राखिएको छ । क्यापटेन भन्छ्न् : दैनिक ६ घण्टा उपयुक्त प्राधिकरणले दैनिक ८ वटा ल्यान्डिङ गर्न पाउने व्यवस्था लागू गर्नु सकारात्मक भएको क्यापटेनहरुले बताएका छन् । यसअघि दैनिक १० वटा ल्यान्डिङ गर्दै आएका वायुसेवाका क्यापटनेहरु दैनिक ८ वटालाई अझै कटौति गरी दैनिक ६ वटा बनाउनु उपयुक्त हुने बताउँछन् । नेपाल वायुसेवा निगममा कार्यरत एक क्यापटने दैनिक १० वटा ल्यान्डिङलाई ६ वटामा झार्नु उपयुक्त हुने बताउँछन् । ‘दैनिक १० वटा ल्याडिङ रहेकोमा त्यसलाई ८ वटामा झार्नुभन्दा ६ वटा बनाउनु उपयुक्त हो, सन् २०१८ मा म्याङलोरमा भएको दुर्घटनापछि भारतले दैनिक ६ वटा ल्याडिङ राखेको छ’, उनले भने, ‘नेपालको जस्तो भौगोलिक विकटता भारतमा छैन, समथर नै छ, भारतमा उक्त दुर्घटनापछि दैनिक ६ वटा ल्यान्डिङ मात्र दिईएको हो, त्यही अनुसार नेपालमा पनि दैनिक ६ वटा ल्याणिङ बनाउनुपर्छ ।’ नेपालमा मासिक १०० घण्टाभन्दा बढी उडान गर्न पाइँदैन । तर, निजी क्षेत्रका वायुसेवा कम्पनीमा कार्यरत क्यापटेनहरुले दैनिक १०० घण्टाभन्दा बढी उडान गर्ने गरेका छन् । उनीहरुले ल बुकमा १०० घण्टा मात्र उल्लेख गर्ने र त्योभन्दा बढी उडान भरेको रकम लिने गरेका छन् ।
लक्ष्मी बैंकको १४४औं शाखा ललितपुरको हात्तीवनमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औं शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
सिनर्जी पावरले यस वर्ष लाभांश नदिने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश घोषणा नगरी फागुन ४ गते बिहीबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ १७ गते बसको संचालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । यस्तै, बैठकले साधारण सभा परियोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले माघ २५ गते बुक क्लोज एक दिन बुक क्लोज मिति तोकेको हो ।
एनआइसी एशिया क्यापिटलमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकाउन्टेन्ट वा वित्तीय विभागका लागि १ जना र म्युचअल फण्ड डिपार्टमेन्टका लागि केहि संख्याका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।
पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । हाल ११ सम्पदाको पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुनसकेको छैन । स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो । हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विश्वरुप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ । विश्वरुप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो । जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ । रासस
फक्सवागन गाडीको एक्सचेन्ज अफर सुरु
काठमाडौं । फक्सवागनले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल यो एक्सचेन्ज योजना ल्याएको हो । यो एक्सचेन्ज योजना माघ १८ गते बुधबारदेखि सुरु भएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा ग्राहकले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने भन्दा राम्रो मूल्य दिईने कम्पनील बताएको छ । यसका साथै, योजना अवधिभर ग्राहकहरुले फ्रि एक्सेसरिज, विशेष लोयल्टी बोनस र ३ जना ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । हाल नेपालमा फक्सवागनका पोलो, ताइगुन, अलस्पेस र टउरेग भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरुमा २ वर्षको अनलिमिटेड केएम वारेन्टी, प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी रहेको छ । कम्पनीको अनुसार यसका गाडीहरु एक वर्ष वा १५ हजार किलोमिटर दौडेपछि सर्भिसिङ गर्दा हुन्छ ।
सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताए । गाउँपालिकाको मातहतमा रहेको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यानका विभिन्न संरचना निर्माण गर्न लागिएको छ । उद्यान बनेपछि गाउँमा रौनकता थप्ने र आर्थिक गतिविधि बढ्ने स्थानीय नागेन्द्र यादवले बताए । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उद्यान निर्माण भइरहेको छ । ‘निर्माणपछि आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा गरेका छौँ’ उनले भने । रासस