वन कार्यालयमा भ्रष्टाचारको आरोपमा महिनौंदेखि ताला, मर्कामा उपभोक्ता
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । वन समितिको मिलेमतोमा ३० करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो । उपभोक्ता मित्रसेन योञ्जनले ३० देखि ३५ करोड रुपैयाँ संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्यसचिव सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीलगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाउनुपरेको बताए । वन कार्यालयको भवन निर्माणमा समेत भ्रष्टाचार भएको योञ्जनले बताए । उनले भने, ‘साझेदारी वन भए पनि विधान दर्ताबिनै काम भएर वन ऐनको निर्देशिकाविपरीत धेरै मात्रामा सालको काठ काटी भ्रष्टाचार गरिएको छ ।’ योञ्जनले वन ऐनअन्तर्गत साझेदारी वनको रूपमा दर्ता भएर सबैसामु नियमानुसार हिसाब पारदर्शीरूपमा सार्वजनिक भएपछि मात्र वन कार्यालयको ताला खुल्ने जानकारी दिए । योञ्जन सोही साझेदारी वनमा खाँसँग अध्यक्ष पदमा पराजित भएका थिए । गत मङ्सिर १७ गते भएको वनको साधारणसभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढङ्गले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको स्थानीय उपभोक्ता गीतामणि दाहालले बताए । साझेदारी वनमा व्यापक अनियमितता हुने गरेको, सार्वसाधारण उपभोक्ताले प्रयोग गर्न नपाएर काठ कुहिएर त्यसै खेर गएको तथा आफूखुसी बिक्री वितरण भएको स्थानीय मिलन बस्नेतले बताए । लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष खाँले वन व्यवस्थापन समूहका लागि भएको निर्वाचनमा हार स्वीकार गर्न नसकेर वन कार्यलयमा ताला लगाउने काम भएको बताए । उनले आफू निर्वाचित भएर पनि अहिलेसम्म शपथ खान नपाएको गुनासो गरे । ‘निर्वाचित भएर पनि शपथ खान पाएको छैन, यो कहाँसम्मको न्याय हो,’ खाँले भने, ‘शपथ खाए त्यसबारेमा बोल्नेछु र सत्यतथ्य बाहिर ल्याउने छु, आफू अध्यक्ष भएर पनि काम गर्न पाएको छैन ।’ साझेदारी वनका सदस्यसचिव तथा सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख माझीले लोहन्द्रा केराबारी साझेदारी वनमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको उल्लेख गरे । उनले साझेदारी वन नियम तथा विधानअनुसार नै अघि बढेर काम भएको बताए । साझेदारी वनमा व्यापक भ्रष्टचार भएको भन्दै स्थानीय उपभोक्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा उजुरीसमेत दिएका छन् । आयोग इटहरीका सूचना अधिकृत निरोजकुमार देवले साझेदारी वनमा भएको भ्रष्टाचारका बारेमा अहिले छानबिन भइरहेको उल्लेख गरे । लामो समयदेखि वन कार्यालयमा ताला लाग्दा केही स्थानीय उपभोक्ता अहिले मर्कामा परेका छन् । लोहन्द्रा केराबारी साझेदारी वनमा ३२ हजार घरधुरी सङ्ख्या तथा दुई लाख ५० हजारभन्दा बढी उपभोक्ता रहेका छन् । यसको कार्यक्षेत्र ३२ वडाअन्तर्गत सुन्दरहरैँचा, बेलबारी नगरपालिका, विराटनगर महानगरपालिका, केराबारी, ग्रामथान, जदाहा, कटहरी गाउँपालिका रहेको छ । रासस
पुँजी वृद्धि र आन्तरिक कारोबार राेक लगाएपछि रेमिट्यान्स व्यवसायी आत्तिए, छलफलका लागि पुगे राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै नेपाल रेमिटर्स एशोसियसनका पदाधिकारीहरु राष्ट्र बैंक पुगेका छन् । साना कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्न सकस हुने भन्दै सहजीकरण गर्नु पर्ने माग राख्दै उनीहरु राष्ट्र बैंक पुगेका हुन् । नेपाल रेमिटर्स एशोसियसनका उपाध्यक्ष रितेस मित्तलले राष्ट्र बैंकले पुँजी वृद्धिको नीति बनाएसँगै सहजीकरण गरिदिन भन्दै राष्ट्र बैंक पुगेको बताए । उनले विनियमावलीमा भएका अफ्ठ्यारा व्यवस्थालाई सहजीकरण गर्नु पर्ने मौखिक माग समेत राखेको बताए । नेपाल राष्ट्र बैंकले माघ १३ गते नेपाल नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ सार्वजनिक गर्दै पुँजी वृद्धिको व्यवस्था गरेको थियो । जसमा केही व्यवस्थाहरु अस्पष्ट र असहज रहेको भन्दै छलफलका लागि रेमिट्यान्स व्यवसायीहरु राष्ट्र बैंक पुगेका हुन् । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ लाई स्वागत गरेका छौं तर, केही व्यवस्थाहरु अस्पष्ट र असहज छन्, त्यसलाई रेमिट्यान्स कम्पनीले कार्यान्वयन गर्न सक्दैनन्,’ उनले भने । नेपाल रेमिटर्स एशोसियसनका अध्यक्ष चन्द्र टण्डनसहितको पदाधिकारी टीम र नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख कार्यकारी निर्देशक रामु पौडेलबीच बिहीबार राष्ट्र बैंकमा छलफल भएको हो । रेमिट्यान्स कम्पनीले राखेका आवश्यक मागहरु सच्याउन वा सहजीकरण गर्न राष्ट्र बैंक सकारात्मक बुझिएको छ । ‘राष्ट्र बैंक अफ्ठ्यारा र असहज भएका व्यवस्थालाई सहज गर्न तयार छौं भनेका छ, लिखित रुपमा सुझाव पेश गर्न भन्नु भएको छ,’ छलफलमा सहभागी एक पदाधिकारीले विकासन्युजसँग भने । राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, विप्रेषण कम्पनी सञ्चालन गर्न इजाजतपत्रका लागि विप्रेषण कम्पनीको २ लाख रुपैयाँ र अन्य विप्रेषण कम्पनीको लागि एकमुष्ट १ लाख रुपैयाँ इजाजत शुल्क लिई ५ वर्षको लागि सञ्चलान गर्न पाउने व्यवस्था छ । उक्त शुल्क महँगो भएको भन्दै कम गर्न माग गरेका छन् । साथै, इजाजत लिँदा विप्रेषण कम्पनीको लागि २ करोड रूपैयाँ र अन्यको हकमा १ करोड रूपैयाँ धरौटी राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था रहेको छ । यसअघि १० लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबार रोक्का गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले रेमिट्यान्स कम्पनीहरु बन्द हुने भन्दै केही समयको लागि कारोबार गर्न पाउनु पर्ने माग उनीहरुले राखेका हुन् ।
प्रिमियममा नेकोलाई पछ्याउँदै तेश्रो स्थानमा उक्लियो हिमालयन एभरेष्ट, प्रिमियर र सानिमा जिआईसीबीच टक्कर
काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अन्य कम्पनीहरुभन्दा मर्जरपछि बनेका नयाँ कम्पनीहरु बीमाशुल्क आर्जनमा आक्रामक देखिएका हुन् । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा व्यवसायबाट कूल २० अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएका छन् । सञ्चालित १८ कम्पनीहरुले कूल १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । जुन पछिल्लो एक महिनाको तुलनामा २५.६८ प्रतिशतले बढी हो । गत मंसिरसम्ममा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता नै रहेको छ । कम्पनीले पुससम्ममा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन एक महिनाको तुलनामा ७२.१७ प्रतिशतले बढी हो । प्रतिशतको आधारमा पनि कम्पनीले सबैभन्दा बढी वृद्धि गरेको तथ्यांकले देखाउँछ । त्यस्तै, दोश्रोमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा २०.९० प्रतिशतले बढाएर १ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जसलाई साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पछ्याउँदै तेश्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन मंसिरको तुलनामा ३६.७९ प्रतिशतले बढी हो । यसअघि तेश्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स चौथोमा झरेको छ । यद्पि कम्पनीको व्यवसाय भने १५.७३ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । १८ कम्पनीमध्ये ९ कम्पनीहरु अर्ब क्लबमा छन् । गत मंसिरमा करोडको क्लबमा रहेका एनएलजी, प्रिमियर र सानिमा जीआईसी यो पटक भने अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । यीमध्ये सानिमा जीआईसी हालै मर्जरपछि बनेको कम्पनी हो, जसले समीक्षा अवधिमा २२.२९ प्रतिशत बढी प्रिमियम संकलन गरेको छ । गत मंसिरसम्ममा ८३ करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब एक करोड ६४ लाख रुपैयाँ प्रिमियम उठाएको छ । त्यस्तै, सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स छ । इन्स्योरेन्सले ६ महिनामा ४९ करोड ४० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १९.४५ प्रतिशतले बढी हो ।
उच्च ब्याजदरका कारण उद्योगी व्यवसायीहरुको मनोबल खस्कियो : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण उद्योगी व्यवासायीहरको मनोबल खस्किएको बताएका छन् । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो बताएका हुन् । उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतीका लागि धन्यवाद दिदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे । उनले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकिकरण गरी सहयोग गर्नुपर्ने बताए । यस्तै उनले उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाईमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल संचालन गर्न आग्रह गरेका थिए । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडी बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराएका थिए । उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो नन–पर्फमिङ लोन रहेको बताए । उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गरे । संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरु, नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहकार अशोक शम्सेर राणा लगायत उपस्थित रहेका थिए ।
विमान दुर्घटनापछि बस व्यवसायीको बिजनेस बढ्यो, विमानस्थल बने सुनसान
काठमाडौं । यती एयरको विमान दुर्घटना भएपछि बस व्यवसायीको बिजनेस बढेको छ । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि यात्रुहरुले हवाइमा यात्रा छोडेर गाडीमा यात्रा गर्न थालेका छन् । जसले हवाइ सेवा पुरानै लयमा फर्कन सकेको छैन । यतीको पोखरा दुर्घटना नेपालको आन्तरिक उडानमा इतिहासकै पहिलो ठूलो दुर्घटना हो । माघ १ गते भएको उक्त दुर्घटनाको असर वायुसेवा कम्पनीमा अझै देखिएको जनाइएको छ । उक्त दुर्घटनापछि आन्तरिक उडानका यात्रुहरु आधाभन्दा बढी घटेको उडान गर्दै आएका वायुसेवा कम्पनिहरुले बताउँदै आएका छन् । उक्त दुर्घटनापछि हवाइ यात्रुहरु डाइभर्ट भएको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनापछि हवाई यात्रुहरु डाइभर्ट भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन् । उनका अनुसार दुर्घटनापछि अधिकांश मानिसहरु अझै जहाज चढ्न डराएर सार्वजनिक तथा रिजर्भ गरेर बस लिएर जानेहरु बढेका छन् । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले (ढिला) हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’ यसले गर्दा बस व्यवसायी तथा हाइसहरुको बिजनेस बढेको छ भने वायू सेवा कम्पनीहरुको घटेको छ,’ उनले भने । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला पनि पछिल्लो समय सडकमार्गमार्फत् यात्रुहरु बढ्ने गरेको बताए । ‘दुर्घटनापछि अहिले जहाज चढ्ने यात्रुहरु सार्वजनिक सवारीमा चढ्न थालेको पाइएको छ, यो अफ सिजनको व्यापार हो’, उनले भने । उनले आफू समेत जहाज छोडेर सार्वजनिक यातायातमार्फत् नै यात्रा गर्न थालेको बताउँछन् । ‘मलाई छिटो नेपालगञ्ज पुगेर काठमाडौं फर्कनु पर्ने थियो, अरु समयमा जहाज चढेर नै यात्रा गर्ने गरेको थिएँ, तर यतीको दुर्घटनापछि जहाज चढ्न मनले मानेन, समय निकालेर गाडीबाटै यात्रा गरिरहेको छु,’ उनले भने । विमानस्थल सुनसान बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासले सामाजिक सञ्जाल (टिव्टरमा) लेखेका छन्, ‘राज्यले अर्बौं लगानी गरेको ठाउँमा प्रतिफल खोजिन्छ र खोज्नु पनि पर्छ, पर्यटन क्षेत्र उठ्न नसकेको र काठमाडौंस्थित त्रिभुवन विमानस्थलले समेत पर्याप्त बिजनेस नपाइरहेको अवस्थामा भैरहवा र पोखरा विमानस्थलले ऋणको ब्याज तिर्ने आम्दानी समेत गर्न नसक्ने अवस्था आउनु पीडादायी अवस्था हो ।’ अहिले पोखरा र भैरहवा विमानस्थल मात्रै होइन अधिकांश विमानस्थलको अवस्था यस्तै छ । यतीको दुर्घटनापछि विभिन्न विमानस्थलहरु बजिनेसविहीन बनेका छन् । जनवरी १ तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हाल सुनसान जस्तै बनेको छ । सुनसान पोखरा विमानस्थल । हवाइ यात्रु न्यून हुँदा विमानस्थल सुनसान बनेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल कार्यालयका प्रमुख बिक्रम राज गौतम यतीको दुर्घटनापछि पोखराको हवाइ उडान पुरानै अवस्थामा फर्कन नसकेको बताउँछन् । ‘जनवरी महिना हवाइ उडड्यनको क्षेत्रमा अफ सिजन हो, अफ सिजनको समयमा ठूलो दुर्घटना हुँदा पोखराको हवाइ उडान पुरानै अवस्थामा फर्कन अझै सकेको छैन, बिजनेस घटेको छ, अहिले मानिसहरुले सडकमार्गबाट यात्रा गर्न खोजिरहेका छन्,’ उनल भने । उनले आगमी फ्रेब्रअरी २३ तारिखदेखि रात्रीकालिन उडानको तयारी थालिएको बताए । ‘हामीले आगामी २३ तारिखदेखि रात्रीकालिन उडानको तयारी थालेका छौँ, रात्रीकालिन उडान सुरु भएपछि हवाई यात्रु बढ्ने हाम्रो अपेक्षा छ’, उनले भने । क्यानले फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्न पाउने व्यवस्था गरेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले रात्रीकालिन उडानको तयारी थालिएको बताएका छन् । यसअघि दिउँसोको ३ बजेपछि पोखरा उडान बन्द हुने गरेको छ ।
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन् । सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् । उदघाटनका अवसरमा खड्काले भने, ‘हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौं ।’ एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधासम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताए ।
माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा १३ प्रतिशत छुट
काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमा स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन् । जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडि, बेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढिमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौंबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । माछापुच्छ्रे बैंक लि।ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
भिभोका चारवटा स्मार्टफोनको मुल्य घट्यो, कुनको कति ?
काठमाडौं । भिभोका चारवटा स्मार्टफोनको मुल्य घटेको छ । भिभोका चारवटा स्मार्टफोन भी२३ई, वाई५३एस, वाई२०एस र वाई१५सी को मुल्य घटेको हो । कम्पनीको अनुसार यो नयाँ मूल्य फेब्रुअरी १ तारिखदेखि देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछन् । यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन् : ‘भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।’ भिभो नेपालका सीईओ माइकलले भने । भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ । वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ । निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्शन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा लगायत उल्लेखनीय विशेषताहरु समावेश छन् । वाई२० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ ।