विकासन्युज

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४८.२६ प्रतिशत बढ्यो, साढे १० करोड नाफा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.०५ प्रतिशत बढेर १० करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ४८.२६ प्रतिशत बढेर ५० करोड ९६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३०.५५ प्रतिशत बढेर २४ करोड ४० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्तालाई १ करोड ३५ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको पुनर्बीमाबाट १४ करोड ४२ लाख रुपैयाँ कमिसशन आय र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड ९४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९.५० प्रतिशत बढेर १ अर्ब ३१ करोड २८ लाख रुपैयाँ, जगेडा कोष १९ प्रतिशत घटेर २५ करोड ३७ लाख रुपैयाँ र बीमा कोष ९ प्रतिशत बढेर ८४ करोड ४९ लाख रुपैयाँ र महाविपत्ति कोष ४ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ९७ करोड २१ लाख रुपैयाँ, बीमा लेख जारी संख्या ७४ हजार २१३ वटा, कुल दावी भुक्तानी रकम ५१ करोड ८२ लाख रुपैयाँ रहेको छ । २ हजार ६५५ वटा दावी वापत ७१ करोड ४४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १५.९८ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८६.९८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.९१ गुणा रहेको छ ।

एग्रिटेक प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ : मन्त्री शाह

चितवन । भरतपुर र मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा।लि।को संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीकोे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गरिन् । प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्री शाहले देशको समग्र अर्थतन्त्रको हिस्सा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धी प्रदर्शनीहरुले निकै ठूलो महत्व राख्ने बताइन् । उनले यस्ता प्रविधियुक्त प्रदर्शनीहरुले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकहरुलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले ले प्रदर्शनीमा रहेका अधिकांश कृषि सम्बन्धित स्टलहरुमा पुगी सम्बन्धित सरोकारवालाहरुसँग कृषिसँग सम्बन्धित उपकरणहरुको बारेमा जानकारी लिएकी थिइन् । सोही अवसरमा प्रदर्शनीको अवलोकन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई।वसन्त कुशवाहा, कन्सुल जनरल भारत बिरगञ्जका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनाङ्क शर्मा लगायतले यस्ता खाले प्रदर्शनीले वास्तविक कृषकहरुको मर्म, भावना समेटन सक्ने भएकोले प्रदर्शनी निकै फलदायी भएको बताएका थिए । माग २९ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थाको रुपमा रहेका छन् ।

राष्ट्रपति कार्यालयमा रात्री भोज हुँदै (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिगण, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता रहेको छ । रासस ।

डाक्टर कुटिएको विरोधमा चिकित्सक संघले आइतबार देशभरका उपचार सेवा बन्द गर्ने

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहसहित अन्य डाक्टरहरुमाथि प्रहरीले लाठिचार्ज गरी घाइते बनाएकोमा गम्भिर ध्यानआकर्षण भएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । भिआपीको सुरक्षाको नाममा चिकित्सकलाई घाइते बनाउने कार्य र हजारौं सेवाग्राहीहरुलाई अस्पतालसम्म पुग्न नदिएकोमा संघ स्तब्ध भएको जनाएको छ । ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रिमियर स्टीलको ‘प्रिमियर डिलर्स मिट’ सम्पन्न

बिराटनगर । नेपालको प्रतिष्ठित स्टील कम्पनी प्रिमियर स्टील प्रा.लि.ले ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिराटनगरमा आयोजित समारोहमा प्रिमियर स्टीलले आफ्नो ब्यवसायीक यात्राको महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाइ भेला गरेर ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा कम्पनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिँह लगायतले कम्पनीका बारेमा प्रकाश पार्दै हाल कम्पनीका उत्पादनहरू, गुणस्तर, बजार बिस्तारका योजना र भावी रणनितिका बिषयमा डिलर संचालकहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा प्रिमियर स्टीलका ब्रान्ड एम्बेसडर, राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले प्रिमियर डिलर्स मिटका सहभागीलाइ हौसला बढाउदै नेपालको प्रतिष्ठित स्टील कम्पनी प्रिमियर स्टीलसँग आवद्ध भएर कार्यक्रममा सहभागी हुन पाउदा गौरबको अनुभुति भएको बताएका थिए । सो अवसरमा डिलरहरूले पनि बजारको अहिलेको अवस्था र बजार बिस्तारका अन्य नया उपायहरूका बिषयमा सुझाव प्रदान गरेको कम्पनीका ब्राण्ड मेनेजर सजल राउतले बताए । सो अवसरमा सहभागी डिलरका संचालकहरूलाइ उद्योगको भ्रमण गराइएको थियो । शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रेमियर स्टील अहिले पूर्वी नेपालको विशाल उपलब्धि बन्न पुगेको छ। दैनिक ८०० टन भन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुहबीमा अवस्थित छ ।

५० करोड भन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव गरेको हो । ‘रु पच्चिस करोडभन्दा बढी शेयर पूँजी भएका वा वार्षिक रु ५० करोडभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सहकारीसम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम नेपाल राष्ट्र बैंकले गर्नेछ’, विधेयकमा भनिएको छ । ऐनमा संशोधन गरेर बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धमा निर्देशन तथा मापदण्ड जारी गर्ने अधिकार पनि नेपाल राष्ट्र बैंकलाई दिन लागिएको छ । उक्त विधेयकमार्फत सहकारी ऐन, २०७४ मा पनि संशोधन गर्न लागिएको छ । ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण र सुपरीवेक्षण गर्ने निकायले सो सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डको पालना गर्नुपर्नेछ’, सहकारी ऐनमा गर्न लागिएको संशोधनबारे विधेयकमा उल्लेख छ । स्थानीय तहमा दर्ता भई वार्षिक २५ करोडसम्मको कारोबार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण सम्बन्धित स्थानीय तहले नै गर्नेछन् । त्यस्तै स्थानीय तहमा दर्ता भई वार्षिक २५ करोडभन्दा बढी र ५० करोडसम्मको कारोबार गर्ने सहकारी संस्थाको नियमन प्रदेशबाट गर्ने व्यवस्था गर्न लागिएको छ । स्थानीय तह वा प्रदेशमा दर्ता भएका र वार्षिक ५० करोडभन्दा बढीको कारोबार भएका सहकारी संस्थाको नियमन भने सहकारी विभागले गर्ने गरी कानुन संशोधन गर्न लागिएको छ । रासस ।

नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

काठमाडौं । आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना हुन लागेको हो । मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलुतथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको छ । हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेको भएता पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन्, जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योग प्रति आकर्षित हुन सकिरहेका छैनन् । यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदानप्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडीदेखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । विगत केही बर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गरिएको मेला संयोजक शोभा गुरुङले बताए । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने मेला संयोजक गुरुङले बताए । नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आमनागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको विक्री वितरणलाई सहयोग पु¥याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ । अर्गानिक उत्पादनहरुको बारेमा आमनागरिकमा जानकारी दिदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पु¥याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवद्र्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिबृद्धि गर्ने लक्ष्य प्राङगारिक कृषि मेलाको रहेको आयोजकले जनाएको छ । नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया आदि गरिने अर्गानिक कृषि मेलाको उद्देश्य रहेको छ । प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहनेछ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । ७ करोड भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय–व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह-सरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे । उनले नेकपा एमालेले अन्तितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भुमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भुमिका खेल्ने बताए । उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढीरहेको छ । मैले संकेत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भुमिका छ । के भूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भुमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।’ अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए । उनले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन । यथास्थिति रहँदैन । सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ । ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो शुरुवात हो ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे ।