विकासन्युज

देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी छैन : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए । उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताउनु भयो । उहाँले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए । उनले भने ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन् । विदेशीहरुका दलालहरु छन् । यी हाम्र शत्रुहरु हुन् । यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन् । यो उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ । हाम्रा सहयोगी मित्रहरु पनि छन् । यी साथीहरुसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ । नराम्रालाई मैत्रीपूर्ण आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ । हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ । नयाँ कथाहरु बनाउनुपर्छ । नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ ।’ पूर्वप्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका बीस कानुन संशोधनका लागि विधेयक दर्ता

काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार उक्त विधेयक दर्ता गराएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । चालु अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो । सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन संशोधन गर्न लागिएको छ । प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० मा संशोधन गर्न लागिएको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, पारस्पारिक कानुनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९ मा संशोधन गर्न लागिएको छ । मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा पनि विधेयकमार्फत संशोधनको प्रस्ताव गरिएको छ । निकासी पैठारी (नियन्त्रण) ऐनमा संशोधन गरेर ‘व्यापार पारदर्शिता इकाइ’ गठनको व्यवस्था राख्न लागिएको छ । यस्तो इकाइको व्यापारमा पारदर्शिता कायम गर्न स्थापित अन्तरदेशीय निकायसँग समन्वय गर्ने मुख्य काम रहनेछ । मालपोत ऐनमा संशोधन गरेर घरजग्गासम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था राख्न विधेयकमा प्रस्ताव गरिएको छ । ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गासम्बन्धी कारोबार गर्दा इजाजत लिनुपर्नेछ’, विधेयकमा भनिएको छ । त्यस्तै, पर्यटन ऐनमा क्यासिनोसँग सम्बन्धित व्यवस्था संशोधन गर्न लागिएको छ । नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गरेर बचत तथा ऋणको कारोबार गर्ने संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र ल्याउन लागिएको छ । रासस ।

राष्ट्रपति पदका लागि राजनीतिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन् ।’ उनले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमति कायम हुनसक्ने विचार व्यक्त गरे । नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको बताए। उनले वर्तमान सरकारमा नेकपा ९एस० सहभागी नहुने प्रष्ट पारे । नेता खनालले समाजवाद पक्षधरका शक्तिबीच एकताबद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरी जाने सम्बन्धमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।

स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि थप कदम चालेको छ । वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासनभित्र विकृति देखिएको ठहर गर्दै मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । स्वीकृत दरबन्दी भएका सहसचिवलाई काम नदिने तर तल्लो तहका उपसचिवलाई शक्तिको आडमा काममा लगाउने गरेको पाइएको भन्दै मन्त्रालयले सात दिनभित्र दरबन्दी अनुसारकै कर्मचारी खटाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ । ‘कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मुनिको कर्मचारीलाई खटाइएको पाइएको हुँदा सात दिनभित्र स्वीकृत दरबन्दी अनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउने, यदि स्वीकृत दरबन्दीभन्दा मुनिको कर्मचारीबाट कार्यसम्पादन हुन सक्ने र माथिल्लो तहको कर्मचारी आवश्यक नपर्ने हो भने दरबन्दी पुनःसंरचनाको प्रक्रिया अघि बढाई सो को जानकारी गराउने’, मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ । सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउने जस्ता विकृति देखिएको मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले बताए । मन्त्रिस्तरीय निर्णय गर्दै सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनको व्यवस्थाअनुसार न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीलाई सरुवा गर्नुपरेमा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । रासस ।

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन् । उनले भनिन्, ‘भ्रष्टाचार राज्यविरुद्धको अपराध हो । यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पु¥याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी छ ।’ सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति भण्डारीको भनाइ छ । उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् ।

टिकटकमा ट्रेन्डिङमा अर्नाकोे नयाँ गीत

काठमाडौं । गीत संगीतलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ गत शुक्रबार सार्वजनिक गरेको छ । नेपाल हिपप् रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख पुरस्कार राशीका विजेता बन्न सफल यस गीतको म्यूजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरु प्रस्तुत गरिएको छ । गत आइतबारदेखि सार्वजनिक भएको गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ । गीतमा रहेको मनमोहक बीटहरूमा टिकटकरहरुको उत्साहजनक सहभागिताले यस गितलाई टिकटकको ट्रेन्डिङ्गको उचाईमा पु¥याएको कम्पनीको भनाइ छ । साधारण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गीत नाच्न रमाउने सबैका लागि उपयुक्त यस गीतलाई तपाईंले अर्ना म्यूजिकको यूटूब च्यानल वा अर्ना बियरको सबै समाजिक संजालहरुमा सजिलै हेर्न सकिने कम्पनीले जनाएको छ ।

हिउँ कुर्दै कास्कीका पर्यटन व्यवसायी

कास्की । यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन् । मादी गाउँपालिका–२ क्रपुडाँडामा गएको वर्ष दैनिक २०/२५ जना पर्यटक हिउँ खेल्न पुग्थे । अहिले मुस्किलले तीन/चार जनामात्र पुग्ने गरेका छन् । पर्यटकीय गाउँ ताङतिङको शिरान क्रपुडाँडा हिउँ खेल्नेका लागि सबैभन्दा नजिकको गन्तव्य हो । अहिलेसम्म हिउँ नपर्दा पर्यटकको उपस्थिति कम भएको क्रपुडाँडाका पर्यटन व्यवसायी हिमाल गुरुङले जानकारी दिए। यहाँ चार वटा होटल छन् । ‘अघिल्लो वर्ष यही समयमा यहाँका होटलले थेग्नै नसक्ने गरी पाहुना आएकामा यो वर्ष दैनिक तीन/चार जना मात्र आएका छन्, यो सङ्ख्या निकै कम हो’ गुरुङले भने। उनका अनुसार यो वर्ष पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ । ‘क्रपुमा पर्यटकको चहलपहल बढी हुने नै हिउँ पर्ने समयमा हो’, पर्यटन व्यवसायी गुरुङले भने, ‘अघिल्लो वर्ष दसैँतिहारपश्चात् ग्रुप आउन सुरु हुन्थ्यो तर यो मुस्किलले तीन/चार जना आउने गरेका छन् ।’ पर्यटकीय गाउँ सिक्लेसमा पनि हिउँ नपर्दा पर्यटक नपुगेको स्थानीय बेल गुरुङले बताए । ‘हिउँ नपरेपछि पर्यटक सङ्ख्या घटेको छ । दैनिक दैनिक एक सयभन्दा बढी पर्यटक आउने गरेकमा अहिले दैनिक २०/२५ जना पाहुना आउने गरेका छन्’, उनले भने। सिक्लेससँगै हुगुगोठ, कपुचे, कोरीलगायत हिउँ पर्ने स्थानमा पनि पर्यटक घटेकाले व्यवसायी चिन्तित भएका छन् । पानी र हिउँ नपरेपछि सिक्लेसमा खेतीपातीमा समस्या भएको गुरुङले बताए। ‘पानी त बुधबार अलिअलि पर्यो तर हिउँ पर्न सकेन् । जसले गर्दा पर्यटन व्यवसाय धरापमा परेको छ । खेती गर्न पनि समस्या छ’, गुरुङले भने। उनका अनुसार पानी र हिउँ नपर्दा आलु, गहुँ, जौ, आलु, तोरी, हरियो मटरकोशा, टमाटर, सागलगायत बाली सप्रिन पाएका छैनन । जिल्लाको मर्दी हिमाल पदयात्रामा पर्यटकको चहलपहल घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित छन् । हिउँ खेल्न जाने पर्यटक पदयात्रामा नआएका लो क्पाम्प गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक अमृत तामाङले बताए। ‘पयर्टकका लागि यो अफ सिजन हो, अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो’, तामाङले भने, ‘यो पटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । व्यवसाय धान्न गाह्रो छ ।’ उनका अनुसार हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दुई सयभन्दा बढी पर्यटक पुग्ने गर्थे । तर, यो सिजनमा मुस्किलले ४०/५० जना पर्यटन जाने गरेका छन् । यहाँको अर्को पर्यटकीय स्थल घान्द्रुक गाउँमा पनि हिउँ नपर्दा पर्यटकको सङ्ख्यामा कमी आएको छ । घान्द्रुक पर्यटन व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार पर्यटकका लागि अफ सिजन भएकाले पर्यटक कम गएको हुन् । ‘अलि बढी चिसो भए घान्द्रुकमै हिउँ पर्छ तर माथिल्लो भेग देउराली, टाढापानीमा हिउँ परेपछि त्यहाँ जाने धेरै हुन्थे’, अध्यक्ष गुरुङले भने, ‘यो पटक के भएको हो खै र? हिउँ पनि परेन, पर्यटक पनि त्यति छैनन् ।’ कास्कीको कोरी, कपुचे, हुगुगोठ, सिक्लेस, क्रपुडाँडा, ताङतिङ, घान्द्रुकसँगै हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत गाउँ तथा डाँडामा भारी हिउँ पर्छ । तर, यो वर्ष पानी नपरेपछि यी स्थानमा हिउँ पर्न सकेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन भएको वन प्राविधिक समाज कास्कीका अध्यक्ष केदार पौडेलले बताए। ‘संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियसमा तापक्रम बढेको छ’ अध्यक्ष पौडेलले भने, ‘यसले गर्दा पानी पर्यो भने पनि एक दर्को मज्जाले पर्ने अनि पर्दैन । सुक्खा खडेरी पर्ने तथा हिम नदी सुक्ने अवस्था आएको छ ।’ लामो समय वन तथा वातावरणका क्षेत्रमा काम गर्नुभएका पौडेलले यस्तै भइरहे अबको एक सय वर्षमा अहिले भइरहेका हिमनदी करिब आधा सुक्ने बताए ।कार्बनडाइअक्साइडको मात्रा बढेकाले यस्तो अवस्था भएकाले सरोकारवाला निकाय सजग हुनुपर्ने उनको भनाइ थियो । रासस ।

इभीका सवारी साधन नेपाल ल्याउन एमएडब्लु ग्रुप र सेरेसबीच समझदारी

काठमाडौं । नेपालको दोस्रो ठूलो अटो ग्रुप एमएडब्लु समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समुहले शुक्रबार सेरेसका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारीको घोषणा गरेका छन्। २०२३ को तेस्रो त्रैमासिकदेखि, सेरेसले एमएडब्लुको डिलरशिपहरूको विस्तृत नेटवर्क मार्फत नेपालमा इभी सभ, इभी सेडन्स र मिनी इभी को दायरा लन्च गर्नेछ । सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो र यसको लोकप्रिय डिएफएसके र सेरेस ब्रान्डहरूका लागि प्रसिद्ध छ । सेरेस समूह चीनको पहिलो कम्पनी हो, जसले स्वतन्त्र रूपमा विश्वको अग्रणी थ्री(इलेक्ट्रिक कोर टेक्नोलोजीलाई नियन्त्रण गर्दछ र यो एक आन्तरिक अग्रणी सवारी साधन निर्माता पनि हो । जसले पूर्ण रूपमा बौद्धिक नेटवर्क जडान प्रणाली र इन्जिनियरिङ निर्माणलाई एकीकृत गर्ने गरेको छ । एमएडब्लु समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘सेरेस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक इभी नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौं, एमएडब्लुमा, हामी हाम्रा ग्राहकहरूलाई नवीनतम र सबैभन्दा नवीन अटोमोटिभ उत्पादनहरू प्रदान गर्न समर्पित छौं, र सेरेस इभी यस मिशनको लागि उपयुक्त छन्। यो साझेदारीले हामीलाई नेपाली अटो बजारमा हाम्रो नेतृत्व स्थितिलाई अझ बलियो बनाउन मद्दत गर्नेछ।’ सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेशनका उपमहाप्रबन्धक झाउ लिगाङले भने, ‘सेरेस विश्वव्यापी स्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ, र हामी हाम्रा ईभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लु समूहसँग साझेदारी गर्न पाउँदा खुसी छौं। हामी विश्वस्त छौं कि हाम्रा उच्च गुणस्तरीय र कुशल इभी नेपाली उपभोक्ताहरूले राम्रोसँग प्राप्त गर्नेछन्, र हामी एमएडब्लु सँग मिलेर नेपालमा इभीको प्रयोगलाई अगाडि बढाउन तत्पर छौं।