विकासन्युज

भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमान्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए । उनले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताबिरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता तथा न्युनतम कार्यक्रममा अख्तियार दुरुपयोग अनसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुत गर्न एवं भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभुत सेवादेखि राष्ट्रिय परिचय पत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र लगायत प्रशासनिक सेवामा सरलता, सिघ्रता, सुलभ र पारदर्शीता कायम गर्न सरकार संवेदनशील भएको बताए । उनले सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सदाचार अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राही बीचको प्रत्यक्ष सम्पर्कलाई घटाइ सेवा प्रवाहमा हुनसक्ने ढिलासुस्ती, हैरानी र अनुचित लेनदेनलाई न्युनिकरण गर्न कार्ययोजना बनाइ काम थालनी भइसकेको दाबी गरे । उनले भ्रष्टाचारबिरुद्धको संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्रको हैसियतले भ्रष्टाचारबिरुद्धको विश्वव्यापी प्रयासमा ऐक्यवद्धता प्रकट गर्दै राष्ट्रिय प्रतिवद्धता पूरा गर्न नेपाल सरकार दृद्ध संकल्पित रहेको बताए । प्रधानमन्त्री प्रचण्डले महासन्धीमा उल्लेखित विषयको पूर्ण कार्यान्वयनका लागि हाल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गरी यसै वर्षभित्र नयाँ ऐन संसदबाट पारित गराउन सरकारको तर्फबाट आवश्यक प्रयास गरिने पनि बताए । उनले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउँदै सुशासन कायम कायम गर्न सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत नागरिकका आवश्यक्तालाई सर्वोपरी ठानी सार्वजनिक पदाधिकारी तथा राष्ट्रसेवक पदाधिकारीहरुले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिए । उनले भने, ‘विकास र सुशासन एक अर्काका परिपूरक हुन् । नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ । संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताबिरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्नेछ ।’ प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले लिएका लक्ष्यहरु आर्थिक समृद्धि र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले आयोगको क्षमता विकास, दक्षता अभिवृद्धि, उच्च प्रविधिको प्रयोग र तथ्यपरक अनुसन्धान प्रणालीको अवलम्वन अनिवार्य रहेको बताए ।

सेगवे–नाइनबटको नयाँ हाई–पावर ई–स्कुटर एन-१०० आकर्षक मूल्यमा नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रा.लि लेएन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन-१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । एन-१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान भएको कम्पनीको दाबी छ । जसले सवारी चालकहरुलाई नयाँ र उच्चस्तरको सुविधा प्रदान गर्दछ । सेगवे ले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन-१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्ने जनाएको छ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने कम्पनीले अपेक्षा गरेको छ ।

जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउँदै उपमहानगर

जनकपुरधाम । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् । महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेले केही दूरीमा रहेका अन्य मन्दिरसमेत अवलोकन गरी आनन्द लिन सक्छन् । यिनै मठमन्दिर अवलोकनका लागि उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन् । पहिलो पटक जनकपुर आएकी काठमाडौंकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशुचौपायाको व्यवस्थापन हुन सके अझ सहज हुने बताइन्। ‘मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ, मन्दिर घुमिसकेपछि थकाइ मार्ने उपयुक्त बस्ने ठाउँको पनि व्यवस्थापन रहनेछ’, उनले भनिन्, ‘स्थानीय सरकारले उपयुक्त पार्किङस्थल, सफा शौचालय र बसेर आराम गर्न मिल्ने ठाउँको व्यवस्था गरेको भए राम्रो हुने थियो ।’ जनकपुरधाम उपमहानगरपालिकाले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताए । उनले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताए । ‘जनकपुरलाई धार्मिक पर्यटन नगरीका रुपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु’, नगरप्रमुख साहले भने, ‘त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण र फुटपाथ निर्माणको काम हुँदैछ ।’ जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ मन्दिर छेउमा बनाउन लागिएको सुविधा सम्पन्न पार्किङ सोही योजनाको सुरुआती भएको उनले बताए । बाह्र कट्ठाभन्दा बढी जग्गामा बन्न लागेको सुविधासम्पन्न पार्किङले जनकपुरधाममा रहेका मन्दिरको दर्शन गर्न आउने पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ । ‘अन्य समस्या त छँदैछन्, मुख्यरुपमा मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकले गाडी सडक छेउमै पार्किङ गर्नुपर्ने अवस्था छ । जसले ट्राफिक व्यवस्थापनमा पनि कठिनाई भइरहेको छ’, नगरप्रमुख साहको भनाइ छ, “यस समस्यालाई मध्यनजर गरी वडा नं ८ स्थित दशरथ मन्दिर छेउमा पर्किङ बन्दैछ । यसको निर्माणपछि सहजरुपमा गाडी पार्किङ गरेर पैदल हिँडेर मुख्य धार्मिकस्थलको अवलोकन गर्न सघाउ पुग्नेछ ।’ उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले करिब पाँच करोड लागतमा बन्न लागेको पार्किङस्थलमा प्रतिक्षालय, सार्वजनिक शौचालय, कार्यालय, सानो व्यापारिक क्षेत्रसहितको संरचना रहने बताए । ‘धार्मिक पर्यटकलाई लक्षित गरी बन्ने यो पार्किङका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेटमा माटो भरण, कम्पाउण्ड वालसहित प्रारम्भिक कार्य हुनेछ’, इन्जिनियर यादवले भने, ‘आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी हामीले योजना बनाएका छौँ, त्यसपछि अहिले धार्मिक पर्यटकले भोग्ने समस्या केही हदसम्म समाधान हुनेछ ।’ अव्यवस्थितरुपमा सवारीसाधन पार्किङका कारण नगरक्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत सघाउ पुग्ने उपमहानगरपालिकाको विश्वास छ । उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पनि धर्म, संस्कृति र मठमन्दिरले जोडेको जनकपुरलाई सजाउने, सिगार्ने र सुन्दर बनाउने काममा उपमहानगरपालिकाले आवश्यक काम गर्ने बताए। उनले जनकपुरलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न मन्दिरको सौन्दर्यीकरण, सडकपेटी निर्माण र छाडा पशुचौपाया व्यवस्थापनको काम गरिने बताए । तर, यहाँको अधिकांश जग्गा गुठी संस्थानको नाममा रहेकाले सुधारका कार्य गर्न केही कठिनाइ भइरहेकाले गुठीसँग समन्वय गरेर आवश्यक जग्गा भाडामा लिएर फोहोर व्यवस्थापनलगायतका काम गरिने र त्यसले अहिलेको अवस्थामा थप सुधार हुने उनले बताए। ‘जनकपुरधामको मुख्य विशेषता नै धार्मिक मठमन्दिर हुनु हो, यसको उचित व्यवस्थापन हुनसके त्यसबाट अझ धेरै लाभ लिन सकिन्छ’, उपप्रमुख साहले भने, ‘पौराणिक धार्मिक नगरीलाई आधुनिक धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न हामीले मापदण्डअनुसार योजनाबद्धरुपमा सुधारका काम गर्छौं, पहिलो आर्थिक वर्षमा त्यसको सुरुआत भई आगामी पाँच वर्षभित्र साँच्चै धार्मिक पर्यटन नगरीका रुपमा यहाँको विकास हुनेछ । त्यस कार्यमा हामी सबै लागिरहेका छौँ ।’ नगरप्रमुख साहले पनि उपमहानगरपालिकाको योजनामा यहाँस्थित गुठीले आवश्यक सहयोग गरेमा पाँच वर्षमा जनकपुर र यहाँका धार्मिकस्थललाई हेर्न लायक बनाउन सकिने दाबी गरे। ‘धार्मिक पर्यटकीय नगरी बनाउने गरी हामीले सुधारको काम थालिसकेका छौँ, सडक बाटो, फोहर व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापन र अन्य आवश्यक पूर्वाधार निर्माण गरी हाम्रो कार्यकालभित्रै यो योजना पूरा गर्ने छौँ तर यसमा गुठी संस्थानलगायत सबैको साथ र सहयोग अपरिहार्य छ’, नगरप्रमुख साहले भने । रासस ।

टर्की भूकम्पमा बाइस हजारभन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन्भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् । टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्कीए र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् । यसअघि अन्तरराष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको थियो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तरराष्टिय सहयोग हो । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । यसैगरी बेलायतलगायत देशले टर्कीए र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

भ्यालेन्टाइन दिवस मैत्री बनाएर सजाईंदै काठमाडौं (फोटो फिचर)

काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ? प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ । यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रुपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदै छ । ७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो । आज प्रेमिहरु एकअर्काबीचमा वाचा वन्धनहरु खाने गर्दछन् । भ्यालेन्टाइन डे इटालीको रोमवाट शुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक शुरु भएको छ । प्रेमिल जोडीहरुले काठमाडौं धपक्क बलेको छ । फोटो स्रोत : न्युज एजेन्सी नेपाल ।

अध्ययनमा प्रोत्साहन गर्न तनहुँको म्याग्दे र आँबुखैरनी पालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहेका छन् । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गरेका उनलाई गाउँपालिकाले रु २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत १८ महिना अध्ययन गर्दा लाग्ने शुल्कबापतको ५० प्रतिशत रकम गाउँपालिकाले छात्रवृत्तिबापत वितरण गरेको छ । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले भेटेरीनरी अध्ययन गर्ने निर्णय गरेको हुँ, त्यसमाथि गाउँपालिकाले यो शिक्षा अध्ययन गर्दा छात्रवृत्ति दिएर प्रोत्साहन गरेको छ’, उनले भने। म्याग्दे गाउँपालिका–६ का ज्योति राना पनि सोही विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहेकी छन्। ‘प्राविधिक शिक्षा अध्ययनपछि रोजगारी सहजै पाइने भएपछि यो विषयमा रुचि बढ्यो’, उनले भनिन्, ‘गाउँपालिकाले यो विषय अध्ययन गर्नेलाई प्रोत्साहन गर्ने नीतिले अध्ययनमा सहयोग पुगेको छ ।’ गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने ११ विद्यार्थीलाई जनही रु २५ हजारका दरले दुई लाख ७५ हजार छात्रवृत्ति रकम वितरण गरेको छ । म्याग्दे गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कूल खर्चको ५० प्रतिशत रकम छात्रवृत्तिबापत उपलब्ध गराइएको लेखा अधिकृत नवराज पोख्रेलले जानकारी दिए। गाउँपालिकामा पहिलोपटक भेटेरीनरी विषयको अध्यापन शुरु भएको हो । प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित प्रोत्साहन होस् भन्नका लागि छात्रवृत्ति रकम उपलब्ध गराइएको पोख्रेलले बताउनुभयो । उक्त विद्यालयमा अध्ययनरत हेमबहादुर राना, ज्योति राना, सोमलाल परियार, अमन थापा, ममता नेपाली, लक्ष्मी विश्वकर्मा, सलिना आले, अनुपा थापा, पूजा विक, सविन घिमिरे र इश्ना थापामगरले छात्रवृत्ति पाएका छन् । ‘पालिकाभित्रका गरिब तथा विपन्न वर्गको छात्रछात्रालाई शिक्षामा सहज पहुँच र भेटेरीनरी शिक्षामा आर्कषण गर्ने हेतुले पालिकाको स्वीकृत बजेटबाट छात्रवृत्ति उपलब्ध गराएका हौँ’, पोख्रेलले भने । स्थानीयस्तरमै प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित भेटेरीनरी पढाइ शुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढाउन र यसको महत्व बुझाइ स्वनिर्भर तथा आत्मनिर्भर बनाउने उद्देश्य राखेका छौँ’, श्रेष्ठले भने । उनले प्राविधिक शिक्षापछि कोही पनि बेरोजगार बस्नुनपर्ने बताउँदै आगामी वर्ष पनि छात्रवृत्तिलाई निरन्तरता दिइने बताए। आँबुखैरेनी गाउँपालिकाले पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरुप छ लाख ५० हजार वितरण गरेको हो । गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेश गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णय बमोजिम रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित सो रकम वितरण गरेका हौँ, यसले गर्दा उहाँहरुको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ’, चुमानले भने । छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिकदेखि विद्यावारिधी तहसम्म अध्ययनरत विद्यार्थी छन् ।

वालिङ नगरपालिकाबाट बसाइँसराइ गर्ने बढे

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए । वि.सं. २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन् । बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या बर्सेनि बढ्दोक्रममा रहेको छ । गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाई सरी आएका तथ्याङ्क रहेको उनले जानकारी दिए। चौध वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ । केही वडा ग्रामीण र विकट छन् । ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्ने क्रम बढ्दै गएको छ । बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको सङ्ख्या पनि उत्तिकै छ । यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाई सरेर गए । यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे । विसं २०७८ मा वडा नं. १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए । १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाई सरेका उनले जानकारी दिए । स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन् । ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने धारणा उनको छ । ‘यहाँको विकासका लागि पनि जनसङ्ख्या आवश्यक पर्छ’, उनले भने, ‘स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, लगानी गर्ने वातावरण बनाई छिमेकी पालिकालाई पनि आकर्षित गर्दै अगाडि बढ्नु आवश्यक छ ।” वालिङबाट विभिन्न कारणले मानिस अन्यत्र बसाई सरेर जानुलाई आफूले गम्भीर ढङ्गले लिएको नगर प्रमुख कृष्ण खाँणले बताए । ‘वालिङमा अन्यत्रबाट बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन’, उनले भने ‘बसाइँसराइका कारण के के हुन् पहिचान गरी कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छौँ ।’ पछिल्लो समय आर्थिक सम्पन्नताका कारण पनि केही मानिस ठूला सहरमा शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसायका लागि जाने चलन बढेको उनी बताउँछन् । बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जाने गरेका छन् ।

एनआईसी एशियाको ‘भ्यालेनटाइन्स डे’ अफर : तारे होटलमा साथीसँग डिनरसहित क्यासब्याक पनि

काठमाडौं । एनआईसी एशिया बैंकले ‘फेब्रुअरी १४’ अर्थात् ‘भ्यालेनटाइन्स डे’ को अवसरमा ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । बैंकले एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याएको हो । यो योजना २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने छ । यसअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेनटाइन्स डेको दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जनाएको छ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।