
काठमाडौं । आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना हुन लागेको हो ।
मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलुतथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको छ ।
हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेको भएता पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन्, जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योग प्रति आकर्षित हुन सकिरहेका छैनन् । यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदानप्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडीदेखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । विगत केही बर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गरिएको मेला संयोजक शोभा गुरुङले बताए ।
तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने मेला संयोजक गुरुङले बताए ।
नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आमनागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको विक्री वितरणलाई सहयोग पु¥याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको छ ।
अर्गानिक उत्पादनहरुको बारेमा आमनागरिकमा जानकारी दिदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पु¥याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवद्र्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिबृद्धि गर्ने लक्ष्य प्राङगारिक कृषि मेलाको रहेको आयोजकले जनाएको छ । नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया आदि गरिने अर्गानिक कृषि मेलाको उद्देश्य रहेको छ ।
प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहनेछ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । ७ करोड भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय–व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह-सरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।