बजेटको आकार घटाइने, आज अर्धवार्षिक समीक्षा
काठमाडौं । अर्थ मन्त्रालयले आज (आइतबार) चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज साँझ ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेका हुन् । सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ । अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ र दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल चार खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो । चालु आर्थिक वर्षको सात महिना बितिसक्दा समेत लक्ष्यअनुसार खर्च र राजश्व संकलन समेत नउठेपछि बजेटको आकार घटाईने तयारी भएको छ । अर्थ मन्त्रायल स्रोतका अनुसार खर्च र राजश्व संकलन लक्ष्य अनुसार नउठेपछि २० प्रतिशतसम्म बजेटको आकार घटाईने तयारी भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा सरकारले विनियोजित बजेटको ९४ दशमलव ७ प्रतिशत बजेट घटाएको थियो । गत आर्थिक वर्ष १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा त्यसलाई घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको बनाईएको थियो ।
व्यास नगरपालिकाद्वारा ६ करोड राजस्व सङ्कलन
तनहुँ । तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ छ करोड चार लाख ९६ हजार पाँच सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट २२ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले यस अवधिमा सङ्घीय सरकारमार्फत ४४ करोड ६२ लाख ५३ हजार चार सय ४५ रुपैयाँ प्राप्त गरेको छ । सङ्घीय सरकारबाट एक अर्ब दुई करोड ४९ लाख ९९ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट एक करोड ५९ लाख ४५ हजार ८८ रुपैयाँ प्राप्त भएको छ । प्रदेश सरकारबाट आठ करोड ६९ लाख ५२ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ । त्यस्तै अन्य बाँकीबाट १७ करोड ६८ लाख ९८ हजार चार सय २८ रुपैयाँ आम्दानी भएको छ । यो शीर्षकबाट ३१ करोड ७५ लाख रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान रहेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए । छ महिनाको अवधिमा कुल २८.७६ प्रतिशत खर्च भएको छ । चालुतर्फ ८७ करोड ४४ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकामा ३५ करोड ६७ लाख ८८ हजार छ सय ८७ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ रु ७८ करोड नौ लाख ८५ हजार विनियोजन भएकामा ११ करोड ९३ लाख ४१ हजार ७८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ ४०.८० र पुँजीगततर्फ १५.२८ प्रतिशत रुपैयाँ बजेट खर्च भएको छ । चालु आवमा कुल एक हजार ५३ योजनामा उपभोक्ता समितिमार्फत गरिने एक हजार योजनामध्ये दुई सय ३६ योजनाको कार्यसम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । चार सय ३३ योजना सम्झौता भई अधुरो रहेको, तीन सय ३२ सम्झौता हुन बाँकी रहेको र ठेक्कामार्फत सञ्चालन हुने ५३ मा कार्यसम्पन्न भएको न्यौपानेले बताए। उनका अनुसार कार्यसम्पन्न र सम्झौता भएका ६८ प्रतिशत र सम्झौता हुन बाँकी ३२ प्रतिशत छ । नगरवासीका असीमित आकाङ्क्षा रहेको र बजेट निर्माण गर्ने समयमा सम्बोधन हुन नसकेका कार्यक्रमलाई वडाको सिफारिस लिई जुनसुकै समयमा पनि नगरपालिकामा माग गर्ने प्रवृत्ति हरेक महिना हुने कार्यपालिका बैठकमा मागका निवेदनको दबाबलाई व्यवस्थापन गर्न कठिनाइ महसुस भएको न्यौपानेले बताए । ‘सबैको क्षमता, परस्पर सद्भावले मात्र अपेक्षित कार्यक्रम अघि बढाउन सकिन्छ र यसका लागि हामी जनप्रतिनिधि एवं कर्मचारी सद्भावपूर्ण सहकार्य आवश्यक छ’, उनले भने । नगरपालिकाले चालु आवमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, युवा, खेलकुद, सूचना र सञ्चारका क्षेत्र, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख न्यौपानेले बताए । नगरपालिकाअन्तर्गत बैरेनी जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग करिब नौ करोड रुपैयाँ ऋण सम्झौता भएको, गत वर्ष नै बहुउद्देश्यीय भवन निर्माणका लागि करिब २८ करोड रुपैयाँ को ऋण सम्झौता भएको, व्यास १० स्थित नारेश्वर ताल प्रदेश सरकारसँगको सहकार्यमा निर्माण प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । व्यास–११ स्थित चिस्यान केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा जान लागेको, फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको, एकीकृत मादी उपत्यका विकास परियोजनाअन्तर्गत विभिन्न ठाउँमा प्रदेश सरकारको पहलमा करिब ३५ करोड रुपैयाँको तटबन्धन कार्यक्रम चालु आवमा अगाडि बढेको बताइएको छ । रासस
सिनर्जी पावरको विशेष साधारण सभा रद्द
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा रद्द गरेको छ । कम्पनीले आगामी फागुन ४ गते बिहान ८ बजे बोलाएको उक्त सभा रद्द गरेको हो । उक्त सभामा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई लैजाँदै थियो । जुन कम्पनीको यसअघि अर्थात १५ औं वार्षिक साधारण सभाबाट नै निर्णय भइसकेको भन्दै कम्पनीले आगामी विशेष साधारण सभा रद्द गरेको हो ।
सामसुङ इलेक्ट्रोनिक्स प्लाजाको कुमारीपाटी शाखा मर्मतपछि संचालनमा
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ । शेखर गोल्छा (अध्यक्ष तथा प्रबन्ध निर्देशक, गोल्छा ग्रुप) र श्रीमती सीमा गोल्छा निर्देशक, हिम इलेक्ट्रोनिक्सद्वारा शोरुमको संयुक्त रूपमा उद्घाटन गरिएको थियो। सामसुङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स अन्तर्गतको सहायक खुद्रा बिक्रेता हो जहाँ सामसुङ होम एप्लायन्सेस देखि सामसुङ मोबाइल फोनसम्मका उत्पादनहरू प्रदर्शन गरिएको छ। नेपालमा सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक आयातकर्ता र वितरक हिम इलेक्ट्रोनिक्सले उच्च नवीन र गुणस्तरीय सेवाका साथ देशभरका ग्राहकहरूलाई सेवा दिने कम्पनीले जनाएकाे छ । हिम इलेक्ट्रोनिक्सले बजारमा उत्कृष्ट उत्पादन मात्रै उपलब्ध नगराई, विश्वकै चर्चित उत्पादनहरू पनि उचित मूल्यमा उपलब्ध गराउँछ। इएमआइ सेवाहरू मार्फत पनि ग्राहकहरूले सजिलै खरिद गर्न सक्ने विकल्प पनि प्रदान गरिएको छ । कम्पनीले विगत २२ वर्षदेखि आफ्ना ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु
काठमाडाैं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालको सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पतालको सेवा विस्तार गर्ने क्रममा थाइराइड उपचार सुरु गरेका छौँ, यसले तनहुँका अतिरिक्त आसपासका सर्वसाधारणलाई पनि सहज हुनेछ’ उनले भने । यहाँ थाइराइड परीक्षण नहुँदा सर्वसाधारण पोखरासम्म जानुपर्ने बाध्यता थियो । उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएपछि तनहुँसँगै छिमेकी स्याङ्जा र पाल्पाका केही भागका सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् । केन्द्रमा केही दिन अगाडिमात्रै शवगृह पनि सञ्चालनमा आएको छ । शवगृहमा मोइस्चर चेम्बर मेसिन जडान गरिएको छ । उक्त शवगृहमा चार शव राख्ने क्षमता रहेको छ । शवगृह नहुँदा शव व्यवस्थापनका लागि सकस हुँदै आएको थियो । केन्द्रले नियमितरूपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएकाे छन् । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सहज भएको छ । अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनेशनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । रासस
टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए
कैलाली । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन् । अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन् । अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले जानकारी दिइन्। ‘नौ वर्षमाथिका बालिका उपचारमा आएका छन् । हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्’, उनले भनिन्, ‘त्यसबाहेक श्रीमान्ले पिटेर चोटपटक लागेका बढी आएका छन् । हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।’ विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८ अस्पतालमा विस्तार भइसकेको छ । ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ । अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन् । टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि हिंसापीडितलाई छुट्टै राखेर उपचार गर्न सहज भएको छ । ओसिएमसीका संयोजक तिमिल्सिना महिला आफ्ना खुट्टामा नउभिएका वा आत्मनिर्भर नभएका कारण हिंसा सहन बाध्य भएको उनी बताउछिन् । ‘बालिकामाथि यौनजन्य हिंसा हुनुमा समाजमा आपराधिक मानसिकता भएकाहरू छन् भन्ने बुझाउँछ’, उनी भन्छिन्, ‘१९ देखि ४९ वर्ष उमेर समूहका महिला बढी हिंसामा परिरहेको तथ्याङ्कले देखाएकाले महिला आर्थिकरूपमा सक्षम र आत्मनिर्भर नभएकाले हिंसामा परिरहेका छन् भन्ने लाग्छ ।’ ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हो । लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ । उपचार तथा परामर्शसम्बन्धी अधिकांश सेवा यहाँ छ । यहाँ उपलब्ध नभएका सेवाका लागि भने अन्यत्र अस्पतालमा सिफारिस गर्नुपर्ने हुन्छ । टीकापुर अस्पतालले यहाँ नभएका सेवाका लागि हिंसापीडित महिलालाई धनगढी सेती अञ्चल अस्पताल पठाउने गरेको छ । अस्पतालले स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना केन्द्र निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ओसिएमसीमा हिंसापीडितले सेवा पाउने भएपछि प्रहरीलाई समेत सहज भएको छ । हिंसापीडितलाई उद्धार गरी उपचारमा ल्याउँदा विगतमा पीडित राख्ने ठाउँकै अभाव हुन्थ्यो । अस्पतालमा ओसिएमी भएपछि अनुसन्धानमा समेत सहयोग पुगिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्का बताउछन् । अधिकारकर्मी योजना अधिकारीले ढिलै भए पनि टीकापुर अस्पतालमा पीडितलाई छुट्टै उपचार पाउने व्यवस्था हुँदा राहत भएको बताइन् । ‘विगतमा हिंसापीडितलाई उपचार, कानुनी परामर्शलगायतका सेवा पाउन कठिन थियो । सबै बिरामीले सेवा लिइरहेकै ठाउँमा उपचार हुन्थ्यो’, उनले भनिन्, ‘हाल छुट्टै, एकान्त र सुरक्षित ठाउँमा ओसिएमसी स्थापना गरिएको छ । त्यहाँ सबै व्यवस्था छ । यसले राहत भएको छ ।’ रासस
एक महिनापछि लुम्बिनी सरकारले पूर्णता पायो
देउखुरी । लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिनाविभागीयमन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरी कार्यविभाजन गरेको जनाइएको छ। विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन्। मुख्यमन्त्रीको सिफारिसमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मन्त्री नियुक्त केसीले यसअघि बिनाविभागीय मन्त्रीको रूपमा रहँदै शनिबार नै पदबाट राजीनामा गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे प्रदेश राजधानीमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १३ वटा मन्त्रालयलाई घटाएर बनाइएको छ। रासस
आज देशभर आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द
काठमाडौं । आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द हुने हुने भएको छन् । नेपाल चिकित्सक संघले आज (आईतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहसहित अन्य डाक्टरहरुमाथि प्रहरीले लाठिचार्ज गरी घाइते बनाएकोमा गम्भिर ध्यानाकर्षण भएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । भिआपीको सुरक्षाको नाममा चिकित्सकलाई घाइते बनाउने कार्य र हजारौं सेवाग्राहीहरुलाई अस्पतालसम्म पुग्न नदिएकोमा संघ स्तब्ध भएको जनाएको छ । ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।