चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेका हुन् । अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सङ्घले माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्योपचारको नियमित काममा जुट्नका लागि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य सङ्घसंस्थालाई अनुरोध गर्दछौँ ।’ सङ्घले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको जनाउँदै घटनाका विषयमा थप छलफल गरी समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको जनाएका छन् । मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर अगाडि सडकमा चिकित्सकमाथि भएको कुटपिटको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।
तुलसीपुर विमानस्थलको डिपिआर पूरा, ठूला विमानले उडान गर्ने
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिए । उनले डिपिआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताए। छलफलपछि निष्कर्ष निकाल्ने र त्यहीअनुसार सङ्घीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ । हाल विमानस्थलको धावनमार्ग सात सय ५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ । हाल नेपाल एयरलाइन्सको १९ सिटे ट्वीनेटरले उडान भरिरहेको छ । आगामी फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने आठ हजार कायम रहनेछ ।
बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उनले बताए । निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले दुई किलोमिटर एक सय दुई मिटर दूरीको बेनी-गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय-मङ्गलादेवी-सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताए । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । बेनी नगरपालिकाको ८, ६ र ९ नं वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक विसं २०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो । चारदेखि छ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् । रासस
खुद बीमाशुल्क सामान्य बढ्दा शिखर इन्स्योरेन्सको नाफा २४ करोड
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.९५ प्रतिशत घटेर २४ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क १.०९ प्रतिशत बढेर ७७ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दावी भुक्तानी ६.६० प्रतिशत बढेर ४२ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ८६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड १७ लाख रुपैयाँ र पुनर्बीमा कमिशन वापत ३४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १६.८० प्रतिशत बढेर ८१ करोड ७५ हजार रुपैयाँ, बीमा कोष ८.१४ प्रतिशत बढेर १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोष १३ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.२१ रुपैयाँ पैसा र मूल्य आम्दानी अनुपात ४३.४९ गुणा रहेको छ ।
ग्लोबल आइएमई बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला, ११.२५ प्रतिशत ब्याज पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (माघ २९ गते, आइतबार)देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गरेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
दोल्ती पावरले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.वि.स.का स्थानियहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गर्ने भएको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ७ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
४.२५ अर्ब नाफा गरेसँगै नेपाल टेलिकमको ईपीएस ४७.२८ रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९.१६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री वितरण आम्दानी ५.८८ प्रतिशत घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब २० करोड ७१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४४.६४ प्रतिशत बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७८ करोड १९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ०.५१ प्रतिशत बढेर २२ अर्ब १० करोड ११ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष ३.८१ प्रतिशत घटेर ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ बढेर ४७.२८ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३.३१ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.३७ गुणा रहेको छ ।
आइएमई लाइफले १ सय प्रतिशत बढायो पुँजी, नाफामा ५१ प्रतिशत छलाङ
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५०.९६ प्रतिशत बढेर ११ करोड ७६ लाख ७९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १७ प्रतिशत बढेर १ अर्ब ८६ करोड ९५ लाख ३५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ७६ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३९ प्रतिशत बढेर ५२ करोड ७४ लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९६ लाख ५१ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्तालाई २२ करोड ४६ लाख ३१ हजार रुपैयाँ कमशिन दिएको छ । कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २५ करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०० प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ७७.५१ प्रतिशत बढेर १ अर्ब ४ करोड २२ लाख ७९ हजार रुपैयाँ र जीवन बीमा कोष ४१ प्रतिशत बढेर ५ अर्ब ४७ करोड ९४ लाख ७ हजार रुपैयाँ र महाविपत्ति कोष ९४ प्रतिशत बढेर ११ करोड ५७ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन ११ अर्ब २२ करोड ३९ लाख रुपैयाँ, हालसम्मको कुल बीमा लेख जारी संख्या ३ लाख ३३ हजार २८१ वटा, कुल दावी भुक्तानी रकम २३ करोड ४५ लाख ८४ हजार रुपैयाँ रहेको छ । ३१ दावी वापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ८.४१ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.३६ रुपैयाँ छ ।