घोडा चढेर किसानका गोठमा पुग्छन् म्याग्दीका पशु प्राविधिक
गलेश्वर । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका-७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटरसाइकल र अन्य सानाठुला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी पनि छन् । साना र ठुला सवारी साधन भएकाे गाउँमा सुवेदीले भने अझै घाेडा चढ्न छाेडेका छैनन् । किसानलाई सेवा दिन उनी घोडा चढेर गाउँबस्ती र गोठगोठमा पुग्ने गर्छन् । उनले १ लाखमा घोडा किनेका हुन् । करिब ३ दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमासमेत घरमै सेवा दिने उद्देश्यले घोडा किनेका हुन् । घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको सुवेदीको भनाइ छ । ‘इञ्जिनभन्दा भरपर्दो छ, दुर्घटनाको जोखिम पनि कम हुन्छ, मर्मतको खर्च लागेन, उनले भने । किसानको घरआँगनमै पुगेर सेवा दिन पैदल र मोटरसाइकलभन्दा पनि सहज भएकाले घोडा किनेको सुवेदीले बताए। गाउँपालिकाको विकट बस्ती लुलाङ, मुदीसहित सडक सञ्जाल नपुगेका धेरै ठाउँमा घोडामै गएर सेवा दिने गरेको उनले बताए। दुधालु गाईभैँसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलोमा पुग्ने क्रममा सेवाग्राही समेत उत्साहित हुने गरेका उनको भनाइ छ। लामो समयदेखि व्यावसायिकरुपमा गाईभैँसी, बाख्रापालन गर्ने कृषकसँग घरमै पुगेर व्यवसाय सञ्चालनका क्रममा आइपरेका समस्याका बारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने गरेका सुवेदीको सेवाबाट कृषकसमेत सन्तुष्ट छन् । घोडामा लाग्ने खर्च कम भएकालेसमेत ग्रामीण क्षेत्रमा महँगो हालेर मोटरसाइकल किन्न आवश्यक नभएको उनको तर्क छ । मर्ने अवस्थामा रहेका पशुचौपायाको उपचारसँगै भैँसीमा देखिएको बाँझोपनका कारण पत्ता लगाई औषधि उपलब्ध गराउँदा सुवेदीलाई यातायात खर्चसहितको सुविधासमेत कृषकले दिन्छन् । परिवारका सदस्यलेसमेत घोडाको स्याहारसुसार र हेरचाहमा सघाउने गरेको उनले बताए। धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं २ लुलाङको बस्ती, मुदीका विभिन्न गाउँमा अहिलेसम्म सडक सञ्जालले छोएको छैन । सडक सञ्जाल पुगेका बस्तीमा समेत मोटरसाइकल र अन्य सवारी साधनको प्रयोग गर्न सहज छैन । वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेको अवस्थामा समेत सहज सेवा दिन मिलेको उनी बताउँछन् । रासस
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उनको भनाइ थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गरको थिए । पशुपति क्षेत्रलाई सधैँ सफा राख्न पनि उनले कोषका उच्च अधिकारीलाई निर्देशन दिए। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न उनले मूल समारोह समितिअन्तर्गत गठन भएका नौ वटै उपसमितिलाई निर्देशन दिएका छन् । मूल समारोह समितिको अध्यक्ष मन्त्री किराँती नै रहेका छन् । सफाइमा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय सङ्घसंस्था लगायतको सहभागिता रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मूल समारोह समितिअन्तर्गत गठिन उपसमितिले महाशिवरात्रिका दिनसम्म प्रत्येक दिनजसो सफाइ अभियानलाई निरन्तरता दिने भएको छ । यसअन्तर्गत कोषमा कार्यरत करिब एक सय सफाइ कर्मचारी र स्वयंसेवी पनि सहभागी हुने जनाइएको छ । रासस
सरकारसँग ६ बुँदे सहमति पछि चिकित्सकहरुको आन्दोलन स्थगित
फाइल फाेटाे काठमाडौं । आन्दोलनरत चिकित्सक र सहकारबीच सहमित भएको छ । आईतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तापछि चिकित्सले आन्दोलन स्थगित गरेका हुन । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । चिकित्सकको आन्दोलनकाे निर्णयपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आन्दोलनरत चिकित्सकलाई वार्तामा बोलाएको थियो । आजको वार्तामा विभिन्न ६ बुँदे सहमितपत्रमा हस्ताक्षर गरेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल चिकित्सक संघले जनाएको छ । सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ । वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ । सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ । सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा। गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेका छन् ।
सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताएकि छन् । उनले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल गर्ने बताइन् । पत्रकार महासङ्घ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारका संगठनद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उहाँले सञ्चारसँग सम्बन्धित सबै कानुन संशोधन गरी समय सान्दर्भिक बनाउने समेत स्पष्ट पारिन् । ‘चलचित्र बोर्ड ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पनि पुरानो छ’, उनले भनिन्, ‘आमसञ्चारको तीव्ररुपमा विकास भइरहेको छ, अब पुराना कानुन संशोधन गरी समयअनुकुल बनाउनुपर्छ ।’ मन्त्री शर्माले हुलाक सेवालाई पुर्नसंरचना गर्न आवश्यक रहेको बताएकि छन् । पछिल्लो समय हुलाक सुनसान हुने गरेको भन्दै पुर्नसंरचना आवश्यक रहेको बताइन् । ‘एउटा हुलाक कार्यालयमा जाँदा चार महिनामा तीन वटा पत्र मात्रै पठाएको पाइयो’, उनले भनिन्, ‘हुलाकबाट व्यक्तिगत पत्र आदानप्रदान अहिले शुन्यको अवस्थामा रहेछ, त्यसबाहेक हुलाकबाट अन्य काम नहुने रहेछ ।’ उनले राजमार्गका कतिपय स्थानमा मोबाइल फोनले काम गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता स्थानमा दुर्घटना भएमा उद्दारमा समस्या आउने गरेको बताइन् । मन्त्री शर्माले निर्वाचन जसले जिते पनि विकासको काममा सबैको सहकार्य जरुरी रहेको धारणा राखिन्। चारलेनको सडकका लागि पहल घोराही–तुलसीपुर चारलेन सडक निर्माण अघि बढाउन आफू लागिपरेको मन्त्री शर्माको भनाइ छ । निर्वाचन जितकै दिनमा दाङमा सम्बन्धित निकायसँग छलफल गरी १५ दिनभित्र काम नसके ठेक्का तोड्न राजी हुनका लागि सहमति गराइएको उनको भनाइ छ । तत्कालीन समयमा श्रेष्ठ कम्पनीले निर्माणको जिम्मा पाएको थियो । तर केही समयपछि कम्पनीले काम छोडेपछि सुनिलजङ्ग रायमाझीले निर्माणको ठेक्का पाएका थिए । ‘रायमाझीले काम सुरु नगरी र अर्कैलाई ठेक्का दिएको भन्ने सुन्नमा आएको छ’, मन्त्री शर्माले बताइन् । चारलेनको सडक भारतको एक्जिम बैंकको लगानीमा निर्माण हुन लागेको र नेपाल सरकारले मात्रै चाहेर ठेक्का तोड्न सम्भव नभएको उनको भनाइ छ । ‘नेपाल सरकारले मात्रै चाहेर ठेक्का तोड्न सक्ने अवस्था छैन, ठेक्का तोड्नु नै पर्ने अवस्था आएमा सरकारले बजेट सुनिश्चित गर्नुपर्छ’, उनले भनिन् । रासस
लुम्बिनी इन्टरनेशनल एकेडेमीद्धारा उपचारको लागि डा.रञ्जितकारलाई २ लाख सहयोग
काठमाडौं । लुम्बिनी इन्टरनेशनल एकेडेमीद्धारा उपचारको लागि डा.रञ्जितकारलाई सहयोग गरेको छ । लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीद्धारा क्यान्सर उपचारको लागि डा. मुरली गोपाल रञ्जितकारलाई दुई लाख ५५ हजार ५५५ रुपैया सहयोग गरेको हो । लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका भूतपूर्व विद्यार्थीहरुको संस्था, लियास्ट अल्मूनाई ललितपुरले कलेजका अध्ययनरत र उत्तीर्ण विद्यार्थीहरुबाट सङ्कलित रकम प्रथम चरण एक लाख ५५ हजार ५५५ रुपैयाँ र दोस्रो चरणमा एक लाख रुपैयाँ गरेर जम्मा दुई लाख ५५ हजार ५५५ रुपैयाँ कलेजका रिसर्च एण्ड डेभलपमेन्ट शाखा प्रमुख डा. मुरली गोपाल रञ्जितकारको क्यान्सर उपचारको लागि उपलब्ध गराएको छ । उक्त रकम डा. रञ्जितकारका छोरा श्री सगुन रञ्जितकारलाई क्याम्पसमा आयोजित एक कार्यक्रममा अल्मूनाईका अध्यक्ष पुष्प बहादुर कटुवाल र क्याम्पस प्रमुख डा. खेट्राज दहालले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै उक्त कार्यक्रममा क्याम्पस र अल्मूनाइ बाट सञ्चालित विभिन्न कार्यक्रमहरुमा उल्लेख्य सहयोग गरे वापत ई. ज्ञानेन्द्र राजभण्डारीलाई सम्मान गरिएको थियो ।
सबै नेपाली दूतावासहरूमा ‘श्रमिक हेल्पडेस्क’ राख्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो । माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो । गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने, ‘विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो, प्रधानमन्त्रीज्यूको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ, सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेशागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ। निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ ।’ विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धि माघ २५ गतेको निर्णयमा भनिएको छ, ‘विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरूका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेशस्थित सबै नेपाली नियोगहरूमा श्रमिकहरूका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगहरूमा श्रम डेस्क (लेबर डेस्क) स्थापना गर्ने सम्बन्धमा यही मिति २०७९।१०।२५ गते सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ, त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै ‘डेडिकेटेड फोकल प्वाइन्ट’ तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ, यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकहरूका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ ।’
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताइन् । उनले भनिन्, ‘समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।’ उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन् । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाइ राखेका थिए । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गरेका थिए । रासस
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बृद्धि भएको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।