विकासन्युज

उपकरणको अभावमा मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा प्रभावित

कावासोती । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मंसिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन् । तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन नसकेको उनले बताए । सेवा सूचीकरणका लागि पाँच डायलायसिस उपकरण आवश्यक पर्छ । तर थप एक उपकरण खरिदका लागि स्रोत सुनिश्चितता नहुँदा अस्पताल सूचीकरणसमेत हुन नसक्ने अवस्थामा रहेको डा कँडेलले बताए । हालको अवस्थामा सेवालाई दुई सिफ्टमा सञ्चालन गरेर १८ जनासम्मको डायलायसिस गर्न सकिने भए पनि जनशक्ति र खर्चको व्यवस्थापन नहुँदा नौ जनाभन्दा धेरैलाई सेवा दिन नसकिएको उनले जानकारी दिए । अस्पतालमा डायलायसिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । तर उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ ।यसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ । मेडिकल सुपरिटेण्डेन्ट डा कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ । पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहसँग सहयोग मागेको र कावासोती नगरपालिकाले १५ लाख विनियोजन गरेको छ भने मध्यविन्दुमा पनि केही रकम छुट्टिएको जानकारी आएको मेडिकल सुपरिटेण्डेन्ट कँडेलले जानकारी दिए । उनका अनुसार जिल्लामा एक सय जनाको आसपास डायलसिस गर्नुपर्ने बिरामी रहेका छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीको लागि समेत सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उनले माग गरे । रासस

आकाशमा इन्टरनेट दिन दुई अपरेटरले लिए अनुमति, नेपाल एयरलाइन्स पनि प्रक्रियामा

काठमाडौं । नेपाली आकाशमा इन्टरनेट सञ्चालन गर्न दुई विदेशी इन्टरनेट सेवा प्रदायक (अपरेटर) कम्पनीले अनुमति लिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट केही समय अघि दुई विदेशी अपरेटर कम्पनीले अनुमति लिएका हुन । प्राधिकरणले १० हजार फिटमाथि उडान गर्ने वायुसेवा कम्पनीले नेपाली आकाशमा इन्टरनेट तथा मोबाइल सञ्चालनको अनुमति दिएसँगै सीता र थालिस कम्पनीले अनुमति लिएका हुन । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नेपाली आकाशमा उड्ने विमानका यात्रुहरुले मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा पाउने गरी निर्णय गरेको थियो । तर, प्राधिकरणले मंगलबार ईन–फ्लाईट टेलिकम्युनिकेसन सर्भिस सेवा संचालनका लागि अन्तरिम निर्देशिका जारी गरेसँगै नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट सञ्चालनको बाटो खुलाएपछि अब आकाशमै इन्टरनेट तथा मोबाइल सञ्चालन हुनेछ । प्राधिकरणका प्रवत्ता सन्तोष पौडेल २ विदेशी अपरेटर कम्पनीले अनुमति पाएको भन्दै अब आकाशमा मोबाइल तथा इन्टरनेट चलाउन सकिने बताए । ‘हामीले दुई वटा अपरेटर कम्पनीको माग अनुसार अनुमति दिएका छौँ, अब उक्त कम्पनीले माग भएका वायुसेवा कम्पनीलाई मोबाइल तथा इन्टरनेट सञ्चालन गर्न दिन्छ’, उनले भने, ‘कुन एयरलाइन्सले अनुमति लिए त्यसको तथ्यांक अपरेटर कम्पनीसँग हुन्छ, हामीसँग हुँदैन ।’ उनका अनुसार दुई वटा अपरेटर कम्पनीले अन्य वायुसेवा कम्पनीलाई इन्टरनेट वितरण गर्नेछ । दुई विदेशी अपरेटर कम्पनीले आकाशमा इन्टरनेट सञ्चालनको अनुमति लिएपछि सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले समेत इन्टरनेट तथा मोबाइल सञ्चालनको अनुमतिका लागि प्राधिकरणमा निवेदन दिएको छ । प्रवक्ता पौडेलले नेपाल एयरलाइन्सले अनुमति मागेको भन्दै अनुमति दिने प्रक्रियामा प्राधिकरण रहेको बताए । यसअघि २०७७ को चैत ९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले इन्टरनेट प्रयोग (ईन–फ्लाईट टेलिकम्युनिकेसन सर्भिस) गर्न दिने निर्णय गरेको हो । प्राधिकरणको उक्त निर्णय अनुसार नेपालमा उडान गर्ने विदेशी लगानीमा सञ्चालीत विदेशी वायुसेवा कम्पनीले प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति लिन पाएका थिए । उनका अनुसार प्राधिकरणले अपरेटर कम्पनीलाई आकाशमा इन्टरनेट सञ्चालनको अनुमति सगैँ इन्टरनेट सञ्चालनका लागि विभिन्न शर्तहरु दिएको छ । जसमा १० हजार फिटभन्दा माथि उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संस्था ९आइकाओ० ले तोकेका नियम तथा मापदण्डको पालना गर्नुपर्ने लगायतका सर्त पालना गर्नुपर्नेछ । यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् ।

क्यान इन्फोटेकको आज अन्तिम दिन, स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘क्यान इन्फोटेक २०२३’ को आज अन्तिम दिन रहेको छ । यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । साथै विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनाहरूलाई पनि स्थान दिइएको छ । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादन सहितको प्रविधिको प्रशंसा गरेको आयोजकको भनाइ छ । प्रदर्शनीमा ३१ ओटा स्टार्टअप छन् । यसअन्तर्गत यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्यूरा हेल्थ, चिम्पभाइन लगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम उत्पादन एवं सेवामा विद्यार्थी देखि व्यवसायी र लगानीकर्ताले चासो देखाएको आयोजकले जनाए । स्टार्टअप कमिटीका संयोजक दीपेन्द्र पौडेलले क्यान इन्फोटेक स्टार्टअपका लागि एस्पोजर प्लेटफर्म बनेको बताउँदै यसबाट स्थानीय प्रतिभा र नवप्रवर्तनको विकास हुने विश्वास व्यक्त गरेका छन् । यसबाहेक प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्ड सँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५० भन्दा भढी स्टल छन् । साथै क्यान इन्फोटेककै अवसर पारी कोडिङ च्यालेन्जदेखि अनलाइन गेमिङ कम्पिटिशन प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्ता प्रतिस्पर्धामा विशेषगरी विद्यार्थीको क्रेज देख्न सकिन्छ । त्यस्तै क्यान इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटी मैत्री बस रहेको छ । हालसम्म ६०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर जारी राखेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरिरहेको छ । यस अन्तर्गत आइतबार ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो २ देखि ४ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ । यस अघि विभिन्न तीन विषयमा आईसीटी सेमिनार सम्पन्न भइसकेको छ ।

रजिष्ट्रार घिमिरे भन्छन् : सहकारीमा समस्या होइन, चुनौती छ

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गरेका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिए । ‘यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन, हाम्रा कारणले समस्या आएको होइन भने यसलाई हाम्रो समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ, रजिष्ट्रार घिमिरेले भने, ‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ ।’ सहकारीमा समस्या छ भन्ने कुरालाई छोडेर चुनौती छ, हामी सामना गर्छौ भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन उनले सहकारी अभियानकर्मीहरुलाई आव्हान गरे । ‘कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कार्वाही गर्न कानुन सहयोगी हुनुपर्छ, कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ, रजिष्ट्रार घिमिरेले भने । सहकारी ऐनमा भएका प्रावधानहरुको कार्यान्वयनका लागि सबैसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरे । बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भैरहेका कामको बारेमा जानकारी गराएका थिए । यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता छ, सबै मिलेर बचाउ र संगै सहकारीको सुशासनका लागि प्रवद्र्धनसंगै नियमन र अनुगमनमा लागौ, अध्यक्ष उप्रेतीको भनाइ थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी बैंकको विगत, वर्तमान र आगामी योजना लगायत सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा बैंकले खेलेको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए । सहकारी विभागमा हालै आएका रजिष्ट्रार नमराज घिमिरेलाई बैंकको सञ्चालक समितिका तर्फबाट स्वागत गरिएको थियो । अध्यक्ष उप्रेती, निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल लगायत सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रजिष्ट्रार घिमिरे र उपरजिष्ट्रार उपाध्यायलाई स्वागत गरिएको हो ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । आइतबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका आधाभूत सेयरधनीको कारोबार रोक्का गरिदिएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि नेप्सले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरेको हो । मर्जरमा जानको लागि दुई कम्पनीले गत माघ २७ गते नै समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

कञ्चनपुरमा खानेपानी आयोजनाका लागी ४५ लाख बराबरको जग्गादान

कञ्चनपुर । दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ । १३ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो । शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि १८–१८ लाख रुपैयाँ गरी ३६ लाख रुपैयाँ बजेटमा कार्य गरिएको छ । ‘पाँच वर्षभित्रै निर्माण पूरा हुने खानेपानी आयोजनाबाट छ सय ८० परिवारको घरमा शुद्ध पेयजल पुर्याउने लक्ष्यसहित कार्य गरिरहेका छौँ’, उनले भने, ‘पर्खाल निर्माण र बोरिङ गाड्ने कार्य पूरा भइसकेकाले ट्याङ्की निर्माणको काम सुरु गर्छौं ।’ साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उनको भनाइ छ । खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताए । ‘ट्याङ्की निर्माणका लागि आवश्यक बजेट माग गर्छौं’, उनले भने, ‘त्यसपछि पाइप लाइनको कार्य अगाडि बढाउँछौँ, पाइप लाइनको कार्य सकिएसँगै धारा जडानकार्य हुन्छ ।’ उपभोक्ताको घर–घरमा र सार्वजनिक ठाउँमा धारा जडानकार्य हुने उहाँले बताए । शुद्ध पेयजलको व्यवस्था नहुँदा वडाका बासिन्दाले हेण्डमम्पको असुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन् । धेरै उपभोक्ताको हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायतको समस्या रहेको छ । ‘खानेपानीका लागि पहिला कुवाको प्रयोग हुन्थ्यो’, स्थानीय कर्णबहादुर ऐरले भने, ‘त्यसपछि हेण्डपम्पको प्रयोग हुन थालेको हो, हेण्डपम्पको पानी सुरक्षित नभए पनि बाध्य भएर पिउँदै आएका छौँ ।’ खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढेसँगै शुद्ध पेयजल पिउन पाउनेमा ढुक्क भएको उनले बताए । आयोजना निर्माण हुन थालेपछि निकै खुसी भएको उनको भनाइ छ । खानेपानी आयोजना निर्माणका लागि स्थानीय डम्बरबहादुर ऐर, तीर्थबहादुर ऐर र सुनादेवी ऐरले तीन कठ्ठा जग्गा दान गरेका छन् । दान गरिएको जग्गाको मूल्य ४५ लाख रुपैयाँ बढी रहेको छ । रासस

१ करोड लगानीमा दरबारमार्गमा खुल्यो हलाल रेस्टुराँ, अरेबियन स्वादका पारखीहरुका लागि उपयुक्त गन्तब्य

काठमाडौं । अरेबियन परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा हलाल रेस्टुरा“ खुलेको छ । राजधानीमा बग्रेल्ती रेस्टुराँ खुलेपनि अरेबियन परिकारहरुको स्वाद लिनका लागि रेस्टुराँ भेट्टाउनु दुर्लभ नै छ । अब त्यो रहर अरेबियन झझल्को दिने द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । एक करोड रुपैंयाँ भन्दा बढीको लगानीमा खुलेको यस रेस्टुराँमा शत प्रतिशत हलाल परिकारहरुको स्वाद लिन सकिनेछ । शुक्रबार नायक नाजिर हुसेनबाट द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको उद्घाटन भएको छ । द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्र्तगतको प्रेस्टिजिओ होल्डिङ्सले सूरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुरा“को सजावट अरेबिक शैलीको छ । अरेबिक सोफामा बसेर बिभिन्न अरेबिक परिकारका साथै विशेष इन्डियन परिकारहरुको स्वाद लिने रहर द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । करिब एक सय भन्दा अरेबिक परिकारका साथमा इन्डियन परिकारहरुरेस्टुराँको मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स ९अरेबियन टि, गावा, टर्किस कफी, अरेबिक फ्लेवरमा हुक्काको पनि स्वाद लिन पाइनेछ । मजलिसमा बसेर पारिवारिक वातावरणमा बसेर आनन्द लिन सकिनेछ । यहाँ साउदी अरब, कुवेत, कतारमा काम गरेका अनुभवी दुई जना इन्डियन सेफहरुले तयार पारेकासाउदी अरेबियन, लेवनानी, सिरियन लगायत स्पेशल परिकार र फ्रेस जुस चाख्न सकिनेछ । यो विशुद्ध खानाका लागि खुलेको पारिवारिक रेस्टुराँ हो । पढ्नमा रुची हुनेहरुका लागि लाइब्रेरीको पनि सुविधा छ । साउदी अरेयिबा लगायत बिभिन्न गल्फ देशबाट फर्केका ११ जना नेपाली व्यवसायीहरुको समूहले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ होम डेलिभरीको सुविधा पनि प्रदान गर्नेछ । यहा बस्नका लागी दुई वटा बेग्लै रुमको ब्यवस्था छ, जहा समूहमा बसेर खानाका परिकारको स्वाद लिनुका साथै मिटिङ पनि गर्न सकिनेछ । एउटा मिटिङ हलमा १४ र अर्कोमा १६ जना बस्न मिल्ने सिट क्षमता छ । यस्तै अरेबिक सोफाले चिटिक्क पारिएको मजलिसमा एकै पटक १० जना बस्न सकिन्छ भने क्याफेमा १२ जना व्यक्ति बस्न सक्नु हुन्छ । एकै पटक रेस्टुराँमा सबै गरेर ५२ जना अटाउन सक्ने सिट क्षमता छ । रेस्टुराँले जम्मा १८ जनालाई रोजगारी दिलाएको छ । रेस्टुराँको व्यवस्थापनमा फिरोज खान र क्रियटिभ डाइरेक्टर तथा अन्तर्राष्ट्रिय फोटोग्राफर अफ्जल खानको व्यवस्थापन छ । ‘अरब मुलुकमा अनुमानित २० लाख नेपालीहरु छन् । तर, फर्किएका नेपालीहरुले यहाँ अरेबिक खानाका परिकारका लागि रेस्टुराँ भेटाउ‍ँदैनन् ।’ सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठले भने, ‘यहाँ मुस्लिम संस्कार अनुसार हलाल मासुका परिकार चाख्न सक्नुहुन्छ ।’ साउदी अरबमा ५ वर्ष बसेर फर्किएका श्रेष्ठले विदेशमा बसेर फर्किएका नेपालीहरु रोजगारी दिने आफ्नो प्राथमिकता रहेको सुनाए । विदेशमा बस्दा सिकेको सीपलाई स्वदेश प्रयोग गर्नु आफ्नो उद्देश्य रहेको उनले सुनाए । ‘बारम्बार विदेश जान नपरोस् । सकेसम्म नेपालमै रोजगारीको अवसर सिर्जना गरौं ।’ श्रेष्ठले भने, ‘नेपालीहरुलाई बढी भन्दा बढी रोजगारी दिलाउने हाम्रो कम्पनीको लक्ष्य हो ।’

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए ।