
फाइल फाेटाे
काठमाडौं । आन्दोलनरत चिकित्सक र सहकारबीच सहमित भएको छ । आईतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तापछि चिकित्सले आन्दोलन स्थगित गरेका हुन ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । चिकित्सकको आन्दोलनकाे निर्णयपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आन्दोलनरत चिकित्सकलाई वार्तामा बोलाएको थियो ।
आजको वार्तामा विभिन्न ६ बुँदे सहमितपत्रमा हस्ताक्षर गरेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल चिकित्सक संघले जनाएको छ ।
सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।
वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ ।
सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा। गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेका छन् ।