अब मालपोतमा ‘टाइमकार्ड’, काम २ घण्टाभित्र बन्ने
फाइल फाेटाे काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र काम सम्पन्न गर्ने जानकारीसहितको नागरिक बडापत्रको व्यवस्था मिलाउन निर्देशन दिएको बताए । मोरङलगायत मुलुकका विभिन्न भागमा रहेका मालपोत कार्यालय र नापीको अनुगमनपछि उनले सेवाग्राही र लेखापढी व्यवसायीबाट पनि मालपोतबाट प्रदान गरिने सेवालाई प्रभावकारी तुल्याउन सहयोगको अपेक्षा गरे । मालपोत, नापी, स्थानीय तह, वडा कार्यालय, लेखापढी व्यवसायीले अन्तरसम्बन्धित काममा समन्वय आवश्यक रहेको बताउँदै सचिव डा रेग्मीले भने, “लेखापढी व्यावसायीले लिने सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्छ, लागतभन्दा बढी सेवा शुल्क लिन भएन ।” मन्त्रालयले मालपोत भूमि प्रशासनसँग जोडिएका कार्यालयमा टोकन प्रणाली, सेवाग्राही प्रतिक्षालय, पिउने पानीसहितको हेल्पडेस्क स्थापना गर्न निर्देशन दिएको छ । रासस
सार्वजनिक यातायात बन्द फिर्ता, आज गाडी चल्ने
फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता भएको छ । मंगलबार बिहान यातायात मजदुरहरु र सरकारबीच भएको छलफलले बन्दको निर्णय फिर्ता गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाको लागत तीन गुणाले बढ्यो, यस्तो छ २४ आयोजनाको प्रगति
काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेका विभिन्न २४ वटा आयोजनाको खर्च न्यून रहेको पाइएको छ । आर्थिक वर्ष २०५५/०५६ सालदेखि हालसम्म सञ्चालित विभिन्न २४ वटा आयोजना समयमा निर्माण सम्पन्न नहुँदा लागत तीन गुणासम्म बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको गौरवका आयोजनाको तथ्यांक अनुसार लागत प्रारम्भीक लागतको तुलनामा तीन गुणबढी खर्चको अनुमान गरिएको छ । २०५५/५६ मा सुरु भएको मेलम्ची खानेपानी आयोजनादेखि केही सुरु हुन बाँकी आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । पटक–पटक लागत अनुमान संशोधन गर्दा अधिकांश आयोजनामा लागत बढेको हो । उक्त आयोजनाको ६ खर्ब १२ अर्ब १ करोड ३० लाख रुपैयाँ प्रारम्भीक लागत रहेको थियो । समयमा निर्माण सम्पन्न नहुँदा १८ खर्ब ९५ अर्ब ५४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । वर्षौंदेखि विभिन्न कारणले बन्न नसकेका आयोजनाहरू र केही महत्वाकांक्षी भनिएको आयोजनाको शीघ्र निर्माणका लागि गौरवका आयोजनाको घोषणा नेपाल सरकारको निर्णयअनुसार गरिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा २०६८/६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको थियो । दोस्रो पटक, आव २०७०/७१ मा चारवटा, तेस्रो पटक आव २०७५/७६ मा एउटा, आव २०७६/७७ मा एक र आव २०७७/७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रूपमा विकास गरिनेछ’ भनेसँगै हालसम्म राष्ट्रिय गौरवका आयोजनाको संख्या २४ पुगेको छ । ५ महिनामा १५ प्रतिशत खर्च अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (गत साउनदेखि पुस मसान्तसम्म) को तथ्यांक अनुसार १५ प्रतिशत मात्रै बजेट खर्च भएको हो । मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सघाउ पुयाउने रणनीतिक महत्वका आयोजना, वित्तीय र प्राविधिक रूपमा चुनौतीपूर्ण रहेका ठूला आयोजना र साँस्कृतिक महत्वका २४ आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । ऊर्जा, सिँचाई, खानेपानी, सडक, पर्यटन, वन क्षेत्र संरक्षणसँग सम्बन्धित आयोजनालाई गौरवका आयोजनामा समावेश गरेर बजेट विनियोजन गर्दा नै सरकारले उच्च प्राथमिकतामा राख्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई सकेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठ २ गतेबाट व्यावसायिक उडान सुरु भएको र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सम्पन्न भई आन्तरिकतर्फको उडान सञ्चालनमा आएको छ । यस्तै, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना सुरु हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ । अन्य आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् । चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि सरकारले ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा चालुतर्फ ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम विनियोजन भएकोमा ६ महिनाको अबधिमा १५ अर्ब ८ लाख अर्थात १५.१६ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालुतर्फ ८० करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १४ करोड १३ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । कुन आयोजनाको अवस्था के छ ? मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति १८ प्रतिशत भएको छ । एक हजार ८७९ किलोमिटर (किमी) सडकमध्ये एक हजार २५९ किमी कालोपत्रे भएको छ भने १३७ पुल बनाउनुपर्नेमा ९३ वटा पुल निर्माण गरिएको छ । २०६४/०६५ सालमा सुरु भएको उक्त आयोजनाका लागि ३३ अर्ब ६६ करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएकोमा बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ भएको छ । हुलाकी राजमार्ग कुल एक हजार ७९२ किमीमध्ये हालसम्म ८९१ किमी कालोपत्रे सम्पन्न गरिएको छ । २१९ कुल पुलमध्ये ११५ पुल निर्माण सकिएको छ । २०६६/०६७ सालमा सुरु भएको उक्त आयोजनाका लागि ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएकोमा हाल बढेर ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यस्तै, २०६४/०६५ सालमा निर्माण सुरु गरिएको उक्तर दक्षिण लोकमार्गका लागि ४१ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ६६ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । कुल २६८ किमिमध्ये हालसम्म २६३ किमी ट्रयाक खोल्ने कार्य पुरा भएको उल्लेख छ । रेल मेट्रा रेल तथा मनोरेल विकास आयोजनाका लागि ७० अर्ब ६२ करोड रुपैयाँ अनुमान गरिएकोमा ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनाका लागि १ खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पुस मसान्तसम्म उक्त आयोजनको भौतिक प्रगति ९.११ प्रतिशत रहेको छ । लुम्बिनी विकास कोष अन्तर्गत ५ अर्ब ५५ करोड रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ खर्च हुने भएको छ । हालसम्म् बृहत्तर लुम्बिनी क्षेत्रको गुरूयोजनाको अवधारणा तयार भएको उल्लेख गरिएको उक्त योजनाको प्रगति २४ प्रतिशत रहेको छ । बबई सिँचाई आयोजनाका लागि २८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त आयोजना अन्तरगत पुस मसान्तसम्म हेडवर्कस् निर्माण सकिएको छ । रानी जमरा कुलरिया सिँचाई आयोजनाका लागि १२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने अनुमान रहेकोमा २७ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । सो आयोजनाका लागि गेट जडानको कार्य सकिएको छ भने पावर हाउसको करिब ९५ प्रतिशत काम सकिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब २५ करोड रुपैयाँ खर्च हुने अनुमान रहेकोमा २ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ खर्च भैसकेको छ । सो आयोजना अन्तरगत तालतलैया सिमसार संरक्षण तथा व्यवस्थापन ४० वटा गल्छी, पहिरो खहरे रोकथाम भएको छ भने ९.१० किमी नदी तथा खोला किनारा स्थिरिकरण ३० हजार विरूवा उत्पादन खरिद सकिएको छ । अर्थविद विश्वास गौचन योजना तथा बजेट देशको वास्तविकता तथा क्षमताको आधारमा निर्र्माण नगर्दा न्यून खर्च हुने गरेको बताउँछन् । ‘चीनले पनि हासिल गर्न नसकेको आर्थिक विकासको लक्ष्य समेतेर आवधिक विकास योजना तयार गछौँ, त्यसै अनुरुप बजेटको लक्ष्य पनि तय गछौँ, अनि कसरी खर्च गर्न सक्छाैं’, उनले भने । उनले महत्वकाक्षीय योजना राख्दा सम्पन्न हुन नसकेको समेत बताए ।
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबारको गर्ने तयारी रहेको सिभिल बैंकका मर्जर समिति संयोजक तथा सञ्चालक समिति सदस्य अम्बिर बोगटीले विकासन्युजलाई बताए । हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द हुने उनले बताए । राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मको डेडलाइन तोकेको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ । सञ्चालक समिति र व्यवस्थापन समूह हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । ‘हिमालयन बैंकको सञ्चालक समिति एक वर्षसम्म निरन्तर हुन्छ, अर्को साधारण सभा नहुञ्जेलसम्म त्यहि सञ्चालक समिति मान्य हुन्छ, एक वर्ष पछि चुनाव हुन्छ, त्यसपछि सिभिल र हिमालयन दुवै बैंकबाट भन्ने हुँदैन, सबै आ–आफ्नो हिसावमा सञ्चालक बन्छन्, एक वर्षका लागि हामीले त्याग गरेको हो,’ बोगटीले भने । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेलस्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने छन् । यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति भएपनि भिआरएस सुविधामा बाहिरिने भएका हुन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । पछिल्लो समय कर्मचारीहरुको पद घटुवा गरेको भन्दै विरोध जनाएका थिए । तर, कर्मचारीहरु सबै सेवा सुविधा र पद यथावत रहेको बैंकले बताएको छ । सञ्चालक बोगटीले सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताए । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् ।
नेपाल टेलिकमका हाकिमले बुझे साढे ९ करोड तलब, सञ्चालकको भत्ता कति ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का हाकिम तथा प्रबन्ध सञ्चालकलाई साढे ९ करोड रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का १० औं तह र सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक तथा अन्य सुविधावापत ९ करोड ६८ लाख २१ हजार ५४ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७८/७९मा सञ्चालकहरुले बैठक भत्ता वापत ११ लाख २ हजार ५ सय रुपैयाँ बुझेका छन् । जसमा सबैभन्दा धेरै सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य अम्बिका प्रसाद पौडेलले भत्ता वापत बुझेका छन् । सञ्चालक पौडेललाई कम्पनीले ४२ वटा बैठकमा उपस्थित भएवापत १ लाख ९२ हजार ५ सय रुपैयाँ भत्ता भुक्तानी गरेको हो । यस्तै, सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले १ लाख ८८ हजार रुपैयाँ, पूर्व अध्यक्ष हरिप्रसाद बस्यालले १२ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् । यस्तै, सञ्चालकहरु भुपाल बरालले ६९ हजार रुपैयाँ, रामेश्वर दंगालले १ लाख ८ हजार रुपैयाँ, उत्तर कुमार खत्रीले १ लाख ३६ हजार रुपैयाँ, डिल्लीराम शर्माले १२ हजार रुपैयाँ, फणीन्द्र गौतमले १ लाख ८५ हजार रुपैयाँ, सुनिल पौडेलले ६० हजार रुपैयाँ, प्रतिभा बैद्यले ६० हजार रुपैयाँ र डिल्लीराम अधिकारीले ८० हजार रुपैयाँ भत्ता वापत बुझेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिको ४३ वटा बैठक बसेका थिए । गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीका सेयरधनीहरुले ३१ करोड ३६ लाख ५७ हजार ५० रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी रहेको कम्पनीका सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालले जानकारी दिए ।
आत्मनिर्भर लघुवित्तको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले माघ १६ गतेदेखि जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको हो । लघुवित्तको आईपीओ १० कित्ताका दरले बाँडफाँट गर्दा २ हजार ३३ जनाले मात्रै पाउनेछन् । लघुवित्तको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मरोसेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
एशियन हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले आज फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
चितवन–२ मा पुरानै उम्मेदवार बन्ने चाहना, कसले मार्ला बाजी ?
काठमाडौं । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् । सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो । लामिछाने ४९ हजार ३ सय मत प्राप्त गरी विजयी भएका थियो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको समर्थन थियो । यसैगरी नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारको मत १ हजारभन्दा कम थियो । सो क्षेत्रमा ८० हजार ७५३ मत सदर भएको थियो । यसअघि निर्वाचित लामिछानेले पुनःआफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । उनी निकट पत्रकार प्रकाश सिग्देलका अनुसार पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हुन् । आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुग्नुभएका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताएका छन् । ‘म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु,’ श्रेष्ठले भने । यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उनको गुनासो थियो । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरेका छन् । ‘पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु, दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरुलाई भन्दा आफूलाई सहज हुन्छ,’ उनले भने । श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट अन्य उम्मेदवारहरूले पनि चाहना व्यक्त गरेका छन् । नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि दाबी प्रस्तुत गरेका छन् । यो क्षेत्र भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पूरै भाग पर्दछ । यसक्षेत्रमा १ लाख २४ हजार २१४ मतदाता रहेका थिए । पछिल्लो समय निर्वाचन कार्यालयले पुनः मतदाता नामावली सङ्कलन गरेको थियो ।