बूढानीलकण्ठका १४६ बालबालिकामा देखियो मुटु रोगको समस्या, डाक्टर भन्छन् : जन्मजात हो
काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा नौ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए । बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रीनिङ परीक्षण सुरु गरिएको थियो । पुस महिनादेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका तीन हजार आठ सय २० र निजी विद्यालयका नौ हजार एक सय ८० जना विद्यार्थी सहभागी रहेका थिए । उनका अनुसार जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । ‘अस्पतालमा परीक्षण (इको) गर्दा शङ्का लागेका विद्यार्थीलाई पुनःअस्पतालमा परीक्षण गरेका थियौं, बाथ तथा मुटु रोगका समस्या भएका नौ बिरामी देखिए, एक सय ४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो,’ उनले भने । अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको उनको भनाइ छ । ‘लक्षण नभए पनि जन्मजात मुटुको रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौं उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ,’ उनले भने । केन्द्रले मुगु जिल्ला र धुनीबेसी नगरपालिकामा समेत मुटुरोगको अध्ययन गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । उनले भने, ‘देशका विकट स्थानमा मुटुसम्बन्धी समस्या कस्तो छ ? भन्ने जान्नका लागि मुगुमा अध्ययन गर्ने तयारी छ ।’ जन्मजात मुटु सचेतना सप्ताह चलिरहँदा अस्पतालले उक्त अध्ययन सार्वजनिक गरेको हो । जन्मजात मुटुरोग सचेतना फेब्रुअरी सात देखि १४ तारिखसम्म विभिन्न जनचेतनामूलक सप्ताहका रूपमा मनाइन्छ । बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्यका अनुसार एक सय जनामा एक जनालाई जन्मजात मुटुसम्बन्धी रोग हुने गर्छ । ती मध्ये एक तिहाइलाई जटिल प्रकारको समस्या हुने र उपचार नपाए मृत्युको जोखिम हुने गर्छ । उनले भने- ‘सबैभन्दा बढी बच्चाको मृत्युको कारण जन्मजात मुटुसम्बन्धी रोग हो, गर्भ अवस्थाबाटै शिशुको मुटुभित्र र बाहिरका बनावटमा कुनै पनि प्रकारको विकृतिलाई जन्मजात मुटुरोग भनिन्छ,’ उनले थपे- ‘जन्मजात मुटुसम्बन्धी रोगका ९० प्रतिशत कारण पुष्टि हुँदैन । दश प्रतिशत कारणमध्ये सबैभन्दा धेरै वंशाणुगत र वातावरणीय प्रतिक्रिया हुन सक्छ ।’ मुटुरोग विशेषज्ञ डा पुनम शर्माले भने- ‘१२ देखि २४ हप्ताको गर्भमा शिशुको मुटुसम्बन्धी समस्या परीक्षण गर्न सकिन्छ, त्यस्ता समस्या सामान्यदेखि जटिलसम्म हुनसक्छ, समयमा पहिचान हुनसके जटिल मुटुरोगको उपचार सम्भव छ ।’ डा शर्माका अनुसार जन्मजात मुटुरोग हुने बालबालिकामा ओठ र जिब्रो नीलो हुने, तौल नबढ्ने, छिटो थाक्ने, आमाको दूध राम्ररी खान नसक्ने र निमोनिया भइरहने जस्ता लक्षण देखिन सक्छ । गर्भवती महिलाले मद्यपान, धुम्रपान सेवन गर्ने र विकिरणको सम्पर्कमा आउँदा शिशुमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चिकित्सकको सल्लाहविना औषधिको सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । रासस
दुई लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले फागुन १ गते मात्रै इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । जसमध्ये इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८३१.६७ रुपैयाँ कायम भएको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८३४.४५ रुपैयाँ कायम भएको छ । यससँगै, मंगलबारको बजारमा यी दुबै संस्थाको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।
पार्टीसँग भएको सहमति कार्यान्वयन नभएसम्म सरकारमा जाँदैनौं : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए । उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे । उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए । उनले भने- ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौं, किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौं र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौं, पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौं ।’ त्यस्तै, बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ । आज नयाँ केन्द्रिय समिति सदस्यका रुपमा १६ जना चयन गरेको हो । मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् । बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन हुनुभएको उपमहासचिव बर्तौलाले बताए ।
स्कूल होस् त बुढानिलकण्ठ जस्तो
फाेटाे-प्रनव प्रधान, बुढानिलकण्ठ स्कूल काठमाडौं । बुढानिलकण्ठ स्कूलको गेटबाट प्रवेश गर्ने वित्तिकैको पर्यावरण तथा भौतिक संरचनाले विद्यालयहरुभन्दा फरक अनूभूति दिन्छ । स्वच्छ वातावरण, वातावरणमैत्री पूर्वाधार, स्कूलभित्रै नलेजपार्क, त्यसभित्र तरकारी खेती, गाईपालन, बेकरी उद्योग, सफा बाटो, प्रयाप्त खेल मैदानहरु । ५७४ रोपनी क्षेत्रफलको सिमाभित्र रहेको स्कूलमा ५ देखि १२ कक्षा सम्म पढ्ने ११५० जना विद्यार्थी छन् । उनीहरुलाई पढाउने १५० भन्दा धेरै शिक्षक र कर्मचारी पनि छन् । स्कूलमा नै आवासीय रुपमा बस्छन् । विद्यार्थी, शिक्षक, कर्मचारी सबै आवासीय छन् । यो भनेको कुनै पालिकाको सानो वडाकै जनसंख्या जति नै हो । तर, काठमाडौंको प्रदुषित सहरको छेउमा रहेको यो विद्यालयको भित्री परिवेशमा प्लाष्टिकको टुक्रा कतै फालिएको अवस्थामा देख्न पाईंदैन । सबैले आ–आफ्नो भूमिका निभाइरहन्छन् । कोही शिक्षक वा कर्मचारी पनि कतै टहलिइरहेको देखिँदैन । पढ्ने, बस्ने, खाने, सिक्ने र कार्यालयका थुप्रै आकर्षक भवनहरु स्कूल परिसरभित्र रहेका छन् । विभिन्न विषयका आकर्षक आधा दर्जन खेल मैदान, जंगल, फार्मिङ क्षेत्र, सबै क्षेत्रलाई जोड्ने सडकले स्कूललाई मनमोहक बनाएको छ । स्कूलले पढाउने सबै शिक्षकहरु र कतिपय कर्मचारीहरुलाई बस्नको लागि सुन्दर क्वाटरहरु दिएको छ । चाहँदा वा आवश्यकता पर्दा आफ्ना बाबुआमा, श्रीमान÷श्रीमती र छोराछोरी पनि ल्याउन पाइन्छ । बस्ने सुविधा मात्रै होइन, स्कूलले शिक्षकहरुलाई तलब पनि अन्य सरकारी स्कूलको तुलनामा झण्डै दोब्बर दिएको छ । त्यसैले उनीहरु आफ्नै घरजस्तै स्कूललाई माया गरेर बस्छन् । स्कूलको उत्तरी भागमा रहेको झण्डै डेढ सय रोपनी क्षेत्रफललाई स्कूलले नलेज पार्क नाम दिएको छ । जहाँ तरकारी, फलफुल र अन्य कृषिजन्य खेति गरिएको छ । त्यस्तै, जलविद्युत उत्पादनको नमूना र फर्निचर उद्योग पनि नलेज पार्कमा रहेका छन् । विद्यार्थीले पढाईसँगै व्यवहारिक शिक्षाको अभ्यास गर्नको लागि स्कूलले नलेज पार्कको विकास गरेको प्रधानाध्यापक होमनाथ आयार्य बताउँछन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) काँशीराम शर्माले नलेज पार्क स्कूलको मुख्य विशेषता मध्ये एक भएको बताउँछन् । नलेज पार्कमा आधा दर्जन प्लाष्टिकका टनेलमा लटरम्म गोलभेँडा फलेका छन् । केही नयाँ टनेल निर्माण गरेर सिताके च्याउको खेती शुरु गरिएको छ । जहाँ स्कूलका केही कर्मचारीहरुले काम गरिरहेका छन् । एउटै गोलभेँडाको बोटले २० किलोसम्म उत्पादन दिएको स्कूलका सीईओ शर्मा बताउँछन् । विद्यार्थीले अभ्यास गर्छन्, त्यसलाई राम्रो बनाउन अरुले काम गर्नुपर्ने उनी बताउँछन् । स्कुलकै फार्ममा फलेको टमाटरको केचब पकाउँदै स्कुलका कर्मचारी फलेको सबै गोलभेँडा स्कूलको मेसमा मात्रै खपत हुँदैन । त्यसैले बाँकी रहेकोलाई केचब बनाएर खाजामा प्रयोग गर्ने गरिन्छ भने केही बेच्ने गरिएको सीईओ शर्मा बताउँछन् । स्कूलले आफूलाई चाहिने फर्निचर बनाउने तथा मर्मत गर्ने उद्योग आँफै सञ्चालन गरेको छ । जहाँ केही कर्मचारीहरुले काम गरिरहेका छन् । नलेज पार्कमा भुटानबाट ल्याएको अलैँची कलकल मौलाएका छन् । कागती, कफी र एभोकार्डोका बिरुवा पनि हुर्किदै छन् । रोपिएका एक–एक बिरुवाहरुको हुर्काउने जिम्मेबारी विद्यार्थीले लिएका छन् । माटो र रुख नछुने विद्यार्थीलाई आफ्नो देशको माया विकास नहुने स्कूलका प्रधानाध्यापक आचार्यको बुझाई छ । ‘हामीले विद्यार्थीलाई माटोमा काम गराउँछौं, यहाँ पढेका विद्यार्थी जुन देशमा छन्, उनीहरुले स्कूल जहिले सम्झिन्छन्’, प्राधानाध्यापक भन्छन्, ‘यति धेरै माया गर्छन की यति धेरै माया वास्तवमा कुनै स्कूलको ग्रयाजुयटले आफ्नो पूर्व विद्यालयलाई गर्दैन ।’ ७/८ वर्ष विद्यार्थीले स्कूलसँग जोडिएको माटोमा समय व्यतित गर्दा उनीहरुलाई स्कूलको औधी माया लाग्ने गरेको आचार्य बताउँछन् । स्कुलमा सरसफाइको काम गर्दै विद्यार्थी माटोमा काम गर्दै हुर्केका विद्यार्थीमा देशप्रतिको भावना र माया पनि बढी हुने प्रधानाध्यापक आचार्यको भनाइ छ । ‘अहिले सहरबजारमा विद्यार्थीहरु एउटा कोठामा बस्छन्, स्कूल जान्छन र फर्केपछि पनि एउटै कोठामा बस्छन्’, उनी भन्छन्, ‘उनीहरुले माटो देख्दैनन्, रुख देख्दैनन्, वातावरण देख्दैनन्, वातावरणसँग घुलमिल गर्दैनन् ।’ त्यसरी हुर्केका विद्यार्थीहरुमा देशप्रति कम माया–प्रेम हुने उनको भनाइ छ । नलेज पार्क सँगै व्यवहारिक अभ्यासको लागि स्कूलले लर्निङ रिसोर्सेस सेन्टर, अंग्रेजी ल्याब, संगीत तथा कला केन्द्र लगायतका विषयहरु पनि सञ्चालन गरेको छ । जहाँ विद्यार्थीहरुले विभिन्न विषयमा अनुसन्धान, अभ्यास र सिर्जना गर्ने गर्छन । स्कूलको लर्निङ रिसोर्सेस सेन्टरमा विद्यार्थी छात्र तथा छात्राहरुलाई खेल अभ्यासको लागि भलिबल, बास्केटबल र फुटबलका छुट्छुट्टै खेल मैदानहरु बनाइएका छन् । सबै विद्यार्थीहरु आ–आफ्नो रुची अनुसार कुनै न कुनै खेलको अभ्यासमा सहभागी हुने गर्छन् । यसै वर्षमा स्कूलले सहरी विकास मन्त्रालयको सहयोगमा फुटसल मैदान निर्माण गर्ने तयारी गरेको छ । यसै वर्षबाट स्कूलले नलेज पार्क क्षेत्रभित्रै गाई फार्म सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको लागि आवश्यक पूर्वाधार निर्माण गर्न टेण्डर पनि आह्वान भइसकेको छ । अहिले स्कूलमा दैनिक रुपमा चिया र दुध पिउन ३ सय लिटर दुध खरिद गर्ने गरिन्छ । अब गाई पालेर सो दुधको आपूर्ति गर्ने स्कूलको योजना रहेको सीईओ शर्मा बताउँछन् । ‘गाई पाल्दा विद्यार्थीले गाई पालन र दुध उत्पादनको सबै प्रक्रियामा प्रत्यक्ष जोडिन पाउँछन्, जसले विद्यार्थीहरुको सिकाई र व्यवहारमा पनि निखारता ल्याउँछ’, शर्मा भन्छन् । सत्कर्मको अभ्यास बालबालिकाहरु झण्डै १० वर्षको उमेरदेखि नै यस स्कूलको होस्टेल जीवनमा प्रवेश गरेका हुन्छन् । अन्य विद्यालयहरुले जस्तै यो स्कूलले सँधै सार्वजनिक विदा दिँदैन । ५ कक्षामा पढ्न आएका साना–साना बालबालिकाहरुले विद्यालयको नियमअनुसार नयाँ जीवनको शुरुवात गर्दा केही वर्ष निकै गाह्रो हुने गरेको सीईओ शर्मा बताउँछन् । विद्यार्थीहरु बस्ने आवास गृहलाई स्कूलले हाउसको नाम दिएको छ । सबै हाउसमा विद्यार्थीहरुको चौविसै घण्टा रेखदेख गर्न आयाहरुको व्यवस्था गरिएको छ । जसले आमाहरुले जस्तै विद्यार्थीहरुलाई ख्याल गर्छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट हाउस अफ हेड र सहायक हेड पनि प्रत्येक होस्टलमा रहेका हुन्छन् । स्कूलको होस्टेल भवन विद्यार्थीहरुले स्कूल समयमा लगाउने ड्रेस र अरु समयमा लगाउने कपडा स्कूलले नै तोकिदिएको हुन्छ । वर्गका हिसाबले धनी, मध्यम वा गरिब परिवारका व्यक्तिहरु स्कूलमा आउने भएपनि फेसनमा एकरुपता हुन्छ । कुनै धनी परिवारको विद्यार्थीले महंगो कपडा लगाउन खोजेर पाउँदैन, फेसनमा कायम गरिएको एकरुपताले । आफुले लगाउने भित्री कपडा बाहेक अन्य कपडा लन्ड्रीमा धुने व्यवस्था मिलाइएको छ । साना–साना बालबालिकाले पनि आफुले लगाउने कपडा धुने, मेकअप गर्ने, नुहाउने जस्ता आफ्ना निजी कामहरु आँफैले गर्नुपर्ने हुन्छ । आफ्ना अभिभावकहरुबाट टाढा रहेर शुरुवात हुने गुरुकुल जीवनमा विद्यार्थीलाई संस्कृति, समाज र परिवारका मूल्यमान्यतासँग जोडिरहन स्कूलले निकै ख्याल राख्ने गरेको प्रधानाध्यापक आचार्यले बताए । बिहान खाजादेखि साँझको खाना सबैले सँगै एउटै मेसमा खान्छन् । शिक्षक, कर्मचारी र विद्यार्थी कसैले पनि बाहिरको जंकफुड स्कूल भित्र लगेर खान पाईंदैन । क्यान्टिनमा हप्ताभरीको खाना खाजाको सेड्युल बनाइएको छ । खाना खाजा खाने ठूलो हल छ, जहाँ ६५० जनाले एकैपटक बसेर खान मिल्छ । स्कूलका सीईओ काँशीराम शर्मा भन्छन्, ‘पहिले विद्यार्थीले २ लट गरेर खान्छन्, अनि हामी खान्छौं ।’ स्कुलको किचन, जहाँ एकैपटकमा ६ सय भन्दा धेरै विद्यार्थीले खाना खान मिल्छ । पछिल्लो समयका युवाहरुले आफ्नो संस्कृतिलाई भुल्दै गएको आफूलाई पनि महशुस भएको प्रधानाध्यापक आचार्यले अनुभव सुनाए । त्यसैले स्कूलले पछिल्ला समयमा विद्यार्थीको घर/परिवारमा हुने सांस्कृतिक कार्यक्रममा नछुटुन भनेर स्कूलले आवश्यकताअनुसार महिनैपिच्छे पनि विद्यार्थीलाई घर जाने विदा दिने गरेको छ । ‘पहिला हामी हजुरबुवा हजुरआमासँग बस्थ्यौं, संयुक्त परिवारमा बस्थ्यौं, त्यसरी संयुक्त परिवारमा बस्दा बुवाआमाले नसिकाएको कुरा हजुरबुवा हजुरआमाले सिकाउनुहुन्थ्यो, काकाकाकीले सिकाउनुहुन्थ्यो’, उनले भने–‘मलाई भजन गाउने कुरा मेरो काकाले सिकाउनुभएको हो ।’ संयुक्त परिवारमा बसेर सिक्ने कुराको ग्याब हुँदै गएको अझ सहरीया बसाइले थप ग्याब हुँदै गएको, मान्छेहरु थप स्वार्थी बन्दै गएकोले आफूहरुले अध्यापन र बसाइको क्रममा सो विषयमा विशेष ख्याल गर्ने गरेको आचार्यले बताए । राम्रो पारिवारिक वातावरण बनाउन स्कूलले विद्यार्थीको थरमा पनि विशेष ख्याल गरेको छ । विद्यालयमा कुनै पनि विद्यार्थीको थर सार्वजनिक गरिँदैन । त्यसैले कुन विद्यार्थी कुन जात वा थरको हो भन्ने कुरा अर्को विद्यार्थीले थाहा पाउँदैन । ‘विद्यार्थी भर्ना हुँदा र पास आउट भएर जाँदा मात्रै उसको थरको प्रयोग हुन्छ अन्य समयको लागि उसलाई नामको पछाडि कोडबाट पहिचान गर्ने व्यवस्था गरिएको हुन्छ’, सीईओ आचार्यले भने । आधुनिक गुरुकुल मोडेल विद्यार्थीहरुमा प्राकृतिक प्रकृयाद्वारा नै सिकाईको विकास गर्न स्कूलले खाना र प्रविधिमा विशेष ख्याल गर्ने गरेको छ । स्कूलभित्र चाउचाउ, विस्कुट, मिठाई लगायतका कुनै पनि जंक फुड लैजान निषेध गरिएको छ । बिहानको खाजा, साँझको खाना सहित सबै प्रकारका परिकार स्कूल भित्र नै तयार गरिन्छ । खाजाकै लागि स्कूलभित्रै उद्योगको स्तरमा बेकरी सञ्चालन गरिएको छ । स्कूलमा पढ्ने कुनैपनि विद्यार्थीले मोबाइल बोक्न पाउँदैनन् । सूचना प्रविधि सम्बन्धी विद्यालयले कक्षा ५ देखि नै विशेष कम्प्युटर कक्षाको व्यवस्था गरेको छ । ‘अहिले आइटी अन्तर्गत हामीले कक्षा ५ देखि नै कोडिङ, प्रोग्रामिङ सिकाउँछौ, त्यसको लागि हामीले बाहिरबाट विज्ञहरुको सहायता लिने गरेका छौं’, प्रधानाध्यापक आचार्यले भने । त्यस्तै विद्यार्थीहरुले स्कूलले विकास गरेको पाठ्यक्रमअनुसार लर्निङ रिसोर्सेस सेन्टरमा आफ्ना इच्छामुलक सिर्जना तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्छन् । जहाँ विद्यार्थीहरुले विभिन्न डिजाईन र आविस्कारका कामहरु गरिरहेका हुन्छन् । कक्षाकोठामा लिएको विषयगत ज्ञानलाई व्यवहारिक रुपमा ढाल्न सो सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको सिइओ शर्माको भनाइ छ । विद्यालयका प्रमुख कार्यकारी अधिकृत काँशीराम शर्मा । स्कूलले कक्षा ५ देखि १० सम्म नेपाल सरकारले तोकेको पाठ्यक्रम नै पढाउँछ । कक्षा ११ र १२ मा भने विद्यार्थीलाई दुईवटा विकल्प रोज्ने अवसर छ । नेपाली पाठ्यक्रम अनुसारको विज्ञान संकाय वा क्याम्ब्रिज विश्वविद्यालयको ए लेभल विद्यार्थीले रोजेर पढ्न सक्छन् । राज्यले तोकेको पाठ्यक्रममा मात्रै सीमित भएर पुग्दैन भनेर विद्यालयले आफ्नै थप पाठ्यक्रम पनि विकास गरेको छ । विद्यालयका प्रधानाध्यापक आचार्यले सक्षम जनशक्ति उत्पादनको लागि सरकारले तय गरेको पाठ्यक्रम पूर्ण नभएको बताउँछन् । त्यसैकारण विद्यार्थीलाई समयअनुसारको शिक्षा प्रदान गर्ने अवसर सिर्जना गर्नको लागि स्कूलले आफ्नो पनि पाठ्यक्रम विकास गरेको उनले बताए । साथै उनले स्कूलले नयाँ विशेषता सहितको शैक्षिक अभ्यास गरेको समेत दाबी गर्छन् । ‘बुढानिलकण्ठ भनेको आधुनिक गुरुकुल हो, यो अरु स्कूलहरु भन्दा भिन्न छ, अन्य विद्यालयहरुमा एउटा निश्चित समयमा विद्यार्थीहरुले सिक्छन्, बुढानिलकण्ठमा चौविसै घण्टा सिक्छन्’, उनले भने, ‘किनकी विद्यार्थीहरु यहीँ बस्छन् ।’ उनले आफूहरुले विद्यार्थीहरुलाई सरकारले तोकेको पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विषयवस्तु पढाउने काम गरिरहेको तर त्यो भन्दा धेरै विद्यार्थीलाई कक्षाकोठा भन्दा बाहिर सिक्ने अवसर सिर्जना गरेको बताउँछन् । ‘कक्षाकोठा भन्दा बाहिरको सिकाई एकदमै राम्रो छ, जस्तो विद्यार्थीले बिहान उठेर योगा गर्छन्, ध्यान गर्छन्, खेलकुदका तालिममा जान्छन्, मेकर स्पेसमा जान्छन, साइन्सका प्रोजेक्टहरु गर्छन्, अनि कक्षा सकिएपछि फेरि खेलकुदका क्रियाकलापमा उनीहरु संलग्न हुन्छन्’, प्रधानाध्यापक आचार्यले भने । कक्षाकोठाको अध्ययन, अभ्यास र बाहिरी ज्ञानको माध्यमबाट विद्यार्थीको समग्र विकासमा स्कूलले योजनावद्ध भूमिका निर्वाह गरिरहेको उनी बताउँछन् । कक्षाकोठामा पढाउँदै शिक्षक ‘बुढानिलकण्ठ स्कूलले प्रविधिमैत्री र व्यवहारिक शिक्षालाई विशेष–विशेष जोड दिएको छ, हामीले पाठ्यक्रमले तोकेको कुराहरु त पढाउँछौं नै, त्यो भन्दा बढी पढाउन आफ्नै बिएनकेएस पाठ्यक्रम पनि बनाएका छौं, यसलाई अहिले परीक्षणको चरणमा लागु गरिरहेका छौं’, उनले भने, ‘यसमा हामी कृषि सिकाउँछौं, कर्पोरेट सिकाउँछौं, इलेक्ट्रिकल वर्कहरु सिकाउँछौं, पल्म्बिङ सिकाउँछौं ।’ विद्यार्थीहरुले सेल्फ म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा सिक्न अत्यन्तै महत्वपूर्ण हुने बताउँदै उनले स्कूलले सो विषयलाई विशेष जोड दिएर सिकाउने गरेको बताउँछन् । ‘होस्टेलमा बस्दाखेरी आफ्नो सामानको व्यवस्थापन, सुरक्षा, सफा सुग्घर लगायत दैनिकी जीवन यापनका विषय हामीले सिकाउँछौं’, उनले भने, ‘हामीले कम्युनिकेसन स्कील सिकाउने र व्यवहारिक ज्ञानलाई बढावा दिने काम गरेका छौं ।’ आगामी दिनमा स्कूललाई शैक्षिक अनुसन्धान तालिमको हब बनाउने उद्देश्य राखिएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विद्यालयका प्रध्यानाध्यापक होमनाथ आचार्य । ‘वि.सं. २०२५ सालमा तत्कालीन राजा महेन्द्र शाहले बुढानिलकण्ठ स्कूलको अवधारणा अगाडि सारेका हुन् । खासगरी उनले राजपरिवार र सीमित भाइभारदारहरुको लागि यस प्रकारको स्कूलको अवधारणा अगाडि सारेर बेलायत सरकारसमक्ष सहयोग मागेका थिए । तर, बेलायत सरकारले राजपरिवार र भाइभारदारको लागि मात्रै नभएर सबै नेपालीको लागि सञ्चालन गर्न सकिने अवधारणा सहित स्कूलको निर्माणमा सहयोग गरेको थियो । २०२९ सालबाट सञ्चालनमा आएको स्कूलको २३ वर्षसम्म बेलायतीहरुले नै शैक्षिक कार्यक्रमको नेतृत्व गर्ने कार्य गरेका थिए । स्कूलमा प्रवेश परीक्षा खुलाएर विद्यार्थीले प्राप्त गर्ने मेरिटका आधारमा भर्ना लिने र पढाउने गरिन्छ । शुरुवातमा ६० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति र ४० प्रतिशत विद्यार्थीलाई सःशुल्क आवासीय अध्ययनको शुरुवात गरिएको थियो । ०४७ सालको राजनीतिक परिवर्तनपछि बेलायत सरकारले स्कूलको शैक्षिक कार्यक्रमको नेतृत्व छाड्यो । त्यसपछि तीनजना नेपाली प्राध्यापक भइसकेका छन् । अहिले नेपाल सरकारले वार्षिक रुपमा ४० जना नयाँ विद्यार्थीलाई छात्रवृत्तिमा पढ्नको लागि स्कूललाई ५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने कतिपय पूर्वाधारका कार्यक्रममा पनि सरकारको सहयोग रहने गरेको छ । तर, बाँकी समग्रमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्कूलले विद्यार्थीहरुबाट नै शुल्क उठाएर खर्च व्यवस्थापन गर्ने गर्छ । विद्यार्थीलाई भर्ना गर्नु, किताबहरु पढाउनु, परीक्षा लिनु र पास/फेलको नतिजा प्रकाशन गर्नुलाई शैक्षिक क्रियाकलाप मान्ने हो भने राज्यको तथ्याङ्कले नेपालमा ३४ हजार भन्दा धेरै विद्यालयहरु अस्तित्वमा रहेको देखाउँछ । तर, हजारौं विद्यालयहरुको संख्यामा केहीले भने नतिजामुखी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अभ्यास गरेका छन् । त्यसैमध्ये एउटा विद्यालय हो स्वर्गीय राजा ‘महेन्द्र’को सपनाबाट कोरिएको काठमाडौंको ‘बुढानिलकण्ठ स्कूल’ । कुनै कलाकारले कोरेको उत्कृष्ट आकृति सम्पन्न गरिसकेपछि उक्त आकृतिमा फेरि हेर्दा केही अपुरो वा कतै केही नपुगेको उसैलाई लाग्न सक्छ । त्यस्तै कोलाहल काठमाडौं उपत्यकाको उत्तरी किनारामा रहेको बुढानिलकण्ठ स्कूलमा अझै केही अपूर्णता अवश्य होलान्, तर हजारौंको माझमा एउटा साँच्चीकै उत्कृष्ट र नमूना शैक्षिक अभ्यास देख्न सकिन्छ यस स्कूलमा ।
अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सचेत छौं : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताएका छन् । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए । आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसितको सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उनले उल्लेख गरे । ‘अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ ।’ प्रधानमन्त्री दाहालले भने- ‘अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन् ।’ उनले राजस्व सङ्कलन र विदेशी मुद्रा सञ्जय वृद्धि भएको बताउँदै यी सबै सकरात्मक सङ्केतका रुपमा लिएको धारणा राखे । ‘समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन ।’ उनले भने- ‘अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ, र सरकार सोही दिशातर्फ अग्रसर पनि छ ।’ त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताए । ‘सुख्खा बन्दरगाहको वातावरण प्रभाव मुल्याङ्कनको काम भई स्वीकृतीको चरणमा हुनुका साथै भारतसित ‘एमओयु’ हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ ।’ उनले भने- ‘निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ ।’ उनले सो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्व राख्ने विश्वास लिएको बताए । ‘सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणासम्मको अवसर प्राप्त गरेँ ।’ दाहालले भने- ‘गेटा मेडिकल कलेजलाई पहिलोपटक बजेट बिनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने आइसकेको छ ।’ उनले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताए । ‘यसले सुदूरको आर्थिक विकासमा मात्रै प्रगति हुने छैन, सिङ्गो राष्ट्रको आर्थिक विकास निकै ठूलो योगदान हुनेछ ।’ उनले भने- ‘सरकारले तयार गरेको एकीकृत कार्ययोजनामा सुदूरको समृद्धि, विकास अभियानका पनि समेटिएको छ ।’ उनले यथास्थितीमा रुमलिने प्रवृतीको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताए । ‘जनतामा देखिएको निराशालाई आशामा बदल्दै दृेढ सङ्कल्प र नेतृत्वप विकासको निम्ती आश्वयक छ ।’ उनले भने- ‘नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुसाँइ हुने छैन ।’ प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटनअघि सुक्खाबन्दरगाह निर्माण स्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षण समेत गरेका थिए । प्रधानमन्त्रीसँगै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्यामन्त्री पदम गिरी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सृुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत निरीक्षणमा सहभागी थिए । रासस
यातायात व्यवसायीहरु भन्छन् : भोलिदेखि काठमाडौं उपत्यकाभित्र गाडी चलाउँदैनौं
काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायत मजदुरका तीन वटा संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु पुरा नभए फागुन २ गतेदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संघठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले विभिन्न १० बुँदे माग पुरा नभए भोलिदेखि नै गाडी नचलाउने बताएका छन् । आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ । साथै, उनीहरुले फागुन ३ गतेदेखि देशभरि आन्दोलन गर्ने समेत बताएका छन् । ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो । ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका हुन् । यससँगै संगठनहरुले काठमाडौं उपत्यकाका यातायात श्रमिक, यातायात व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई सोही अनुसार सम्पूर्ण यातायातका साधनहरु ठप्प पार्न विज्ञप्तिमार्फत आह्वान गरेका छन् । उपत्यका बाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत रुपमा सञ्चालन हुने विज्ञप्तिमा भनिएको छ ।
यातायात व्यवसायीले जलाए प्रहरीको भ्यान
काठमाडौं । यातायात व्यवसायीले प्रहरीको भ्यानमा आगजनी गरेका छन् । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुइटा भ्यानमा आगजनी गरेका हुन् । बालजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रेका यातायात व्यवसायीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् । आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् । ट्राफिकले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताएका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको छ । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन् ।
ट्राफिकले आफूखुसी नियम लगाएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन, विभिन्न क्षेत्रमा चक्काजाम
काठमाडौं । यातायात व्यवसायी संघले ट्राफिकले आफूखुसी नियम लगाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ट्राफिकले आफूखुसी नियम लगाई चिट काटेको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सार्वजनिक गाडीहरु बीच बाटोमा रोकेर विरोध प्रदर्शन गरेका हुन् । यातायात मजदुरहरुले बीच सडकमै सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि उक्त क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ । यातायात व्यवसायीको विरोधका कारण चक्रपथ आसपासका केही क्षेत्रमा चरम ट्राफिक जाम भएको छ । साथै, आन्दोलनका कारण एम्बुलेन्सजस्ता आकस्मिक सेवा समेत प्रभावित भएकाले सर्वसाधारणलाई ठूलो समस्या परेको छ । ट्राफिकले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताए । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको छ । त्यस्तै, यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् ।मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन् । यतिबेला नेपाल प्रहरीले यातायात सुचारु गर्न प्रयास गरिहरेको छ ।