चितवन–२ मा पुरानै उम्मेदवार बन्ने चाहना, कसले मार्ला बाजी ?

<p>काठमाडौं । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् । सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि [&hellip;]</p>

काठमाडौं । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् ।

सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

लामिछाने ४९ हजार ३ सय मत प्राप्त गरी विजयी भएका थियो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको समर्थन थियो ।

यसैगरी नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारको मत १ हजारभन्दा कम थियो । सो क्षेत्रमा ८० हजार ७५३ मत सदर भएको थियो । यसअघि निर्वाचित लामिछानेले पुनःआफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् ।

उनी निकट पत्रकार प्रकाश सिग्देलका अनुसार पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हुन् । आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुग्नुभएका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताएका छन् । ‘म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु,’ श्रेष्ठले भने । यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उनको गुनासो थियो ।

नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरेका छन् । ‘पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु, दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरुलाई भन्दा आफूलाई सहज हुन्छ,’ उनले भने ।

श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट अन्य उम्मेदवारहरूले पनि चाहना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालले पनि दाबी प्रस्तुत गरेका छन् । यो क्षेत्र भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पूरै भाग पर्दछ । यसक्षेत्रमा १ लाख २४ हजार २१४ मतदाता रहेका थिए । पछिल्लो समय निर्वाचन कार्यालयले पुनः मतदाता नामावली सङ्कलन गरेको थियो ।

Share News