विकासन्युज

कोइला अभावसँगै बन्द भयो हेटौंडा सिमेन्ट उत्पादन

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ । उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे । कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ । लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो । दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सो अनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन । उद्योग विगत चार वर्षदेखि घाटामा छ । उद्योग विसं २०३३ मा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो । रासस

निलम्बन भएका सबै लाइसेन्स फिर्ता

काठमाडौं । ट्राफिक प्रहरीले निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको लाइसेन्स फिर्ता हुने भएको छ । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्ताले ट्राफिकले निलम्बन गरेको लाइसेन्स आगामी फागुन ११ गतेसम्म फिर्ता दिने समझदारी भएको हो । अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारीले ट्राफिक प्रहरीले निलम्बनलका लागि सिफारिस गरेको २ सयभन्दा बढी चालकको लाइसेन्स फिर्ताको निर्णय भएको जानकारी दिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्तर्गत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाउने गरेका छ । ट्राफिकले पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि विभागमा पठाउने गरेको थियाे । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए । ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।

आईएमई समूह उद्योगमा प्रवेश, कात्तिकबाट पेपर उत्पादन थाल्ने

काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, व्यापार, सूचना प्रविधिमा लगानी विस्तार गर्दै आएको आईएमई समूहले उत्पादन मूलक उद्योगमा हात हालेको छ । सर्राफ समूहसँगको साझेदारीमा आईएमई समूह कागज उद्योगमा स्थापना गर्दैछ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले महोत्तरीको राम नगरमा ११ विघा जमिन किनेर कागज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउँदैछ । यो उद्योगले आगामी दशैंतिहारको बीचमा कागज उत्पादन थाल्ने आईएमई समूहका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले जानकारी दिए । उद्योगले उच्च गुणस्तरको पेपर उत्पादन गर्ने जनाइएको छ । ‘हामीले फोटो तथा प्रिन्टमा प्रयोग हुने एफोर साइजको पेपर उत्पादनमा जोड दिन्छौं । बजारको मागअनुसार हामी सबै साइजको कागज उत्पादन गर्न सक्छौं’ पोखरेलले भने । नेपालमा वार्षिक करिब ६० हजार मेट्रिकटन कागज खपत हुने अनुमान गरिएको छ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको उत्पादन क्षमता दैनिक ७५ मेट्रिकटन हुनेछ । ‘कुल पेपर बजारको करिब २५ प्रतिशत बजार हिस्सा लिन सकिने अनुमानसहित दैनिक ७५ मेट्रिकटन उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागेका हौं’ पोखरेलले भने । नेपालीले फोटोकपी वा प्रिन्टर्समा प्रयोग गर्ने सबै कागज हाल विदेशबाट आयात हुने गरेको छ । पेपर आयात प्रतिस्थापन गर्न यस उद्योगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यस्तो पेपर उत्पादनको लागि आवश्यक कच्चा पदार्थ पल्पको भने आयात गर्नुको विकल्प छैन । कम्पनीले कच्चा पदार्थ इन्डोनेसिया, भारत वा अन्य देशबाट आयात गर्ने छ । ‘पल्प आयात गर्नुको विकल्प हामीसँग छैन । तर यो उद्योग उच्च भ्यालु एडिसन गर्ने उद्योगमा पर्छ’ उनले भने । उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ । सर्राफ समूहको ३० प्रतिशत लगानी छ । सुनिल गोपाल श्रेष्ठ र ओम ज्ञवालीको १५/१५ प्रतिशत सेयर लगानी छ । यो उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले कर्जा लगानी गरेका छन् । सर्राफ समूहको कौसल किशोर सर्राफ कागज उद्योगका अनुभवी उद्यमी हुन् । एभरेष्ट पेपर मिल समेत चलाउँदै आएका सर्राफसँग यस क्षेत्रको बारेमा लामो अध्ययन र अनुभव रहेको छ । मेसिन राख्ने क्षेत्र, गोदाम, कर्मचारी आवास लगायतको निर्माण कार्य भैरहेको छ । मेसिन खरिदको सम्झौतासँगै आयातको लागि एलसी खोल्ने काम भएको छ ।

लोत्से मलमा लुटपाट, ८ करोड बढीको मोबाइल चोरी

काठमाडौं । सोमबार साँझ नयाँ बसपार्कमा रहेका लोत्से मलमा लुटपाट हुँदा ८ करोड रुपैयाँ बढीको मोबाइल चोरी भएको छ । नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट हुँदा २ पसलमा रहेका ८ करोड रुपैयाँ बढीका मोबाइल चोरी भएको बताएको हो । महासंघका अध्यक्ष भरत भट्टराईले दुई वटा मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताए । उनले सोमबार साँझ नै प्रहरीलाई उक्त घटनाको जानकारी गराएतापनि अहिलेसम्म मोबाइल चोरीमा संलग्न कसैलाई पक्राउ नगरिएको बताए । अध्यक्ष भटराईले सुरक्षित रुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै त्यसको विरोध गर्ने बताए । मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकीकृत भएका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन् । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौंको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका थिए । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्कभित्र छिर्नपर्यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बताए । उनले लोत्सेमा सोमबार भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए । ‘लोत्से मलभित्र भएको क्षतिको क्षतिपूर्ति कसले दिन्छ, व्यक्तिले बनाएको संरचनामा यसरी क्षति गर्न मिल्छ ?,’ उनले भने । आन्दोलनकारी पसलभित्रै बसेर तोडफोड तथा चोरी गरेका थिए । उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ ।

सुनको भाउँ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अंक ल्याए पास

काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन । यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । यसैगरी साँघुरो फलेकको अङ्कभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइनेछ । त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक सङ्केतका लागि १५ अङ्कभार तोकिएको छ । ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ । निर्देशिकामा उबडखाबडको अङ्कभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा पाँच अङ्कभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालोको अङ्कभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अङ्कभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट)को अङ्कभार २० तोकिएको छ । दुईपटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घट्नेछ तर ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ¬्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक सङ्केतको अङ्कभार १५ तोकिएको छ । पालना नगरे १५ अङ्क घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अङ्कभार घटाइनेछ । अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपाङ्ग्रे सवारी चालकलाई उकालोका लागि अङ्कभार १५ तोकिएको छ । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर छ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ‘ग्यारेज पार्किङ’को अङ्कभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ । रासस

अब मालपोतमा ‘टाइमकार्ड’, काम २ घण्टाभित्र बन्ने

फाइल फाेटाे काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र काम सम्पन्न गर्ने जानकारीसहितको नागरिक बडापत्रको व्यवस्था मिलाउन निर्देशन दिएको बताए । मोरङलगायत मुलुकका विभिन्न भागमा रहेका मालपोत कार्यालय र नापीको अनुगमनपछि उनले सेवाग्राही र लेखापढी व्यवसायीबाट पनि मालपोतबाट प्रदान गरिने सेवालाई प्रभावकारी तुल्याउन सहयोगको अपेक्षा गरे । मालपोत, नापी, स्थानीय तह, वडा कार्यालय, लेखापढी व्यवसायीले अन्तरसम्बन्धित काममा समन्वय आवश्यक रहेको बताउँदै सचिव डा रेग्मीले भने, “लेखापढी व्यावसायीले लिने सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्छ, लागतभन्दा बढी सेवा शुल्क लिन भएन ।” मन्त्रालयले मालपोत भूमि प्रशासनसँग जोडिएका कार्यालयमा टोकन प्रणाली, सेवाग्राही प्रतिक्षालय, पिउने पानीसहितको हेल्पडेस्क स्थापना गर्न निर्देशन दिएको छ । रासस

सार्वजनिक यातायात बन्द फिर्ता, आज गाडी चल्ने

फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता भएको छ । मंगलबार बिहान यातायात मजदुरहरु र सरकारबीच भएको छलफलले बन्दको निर्णय फिर्ता गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् ।