लागुऔषध कारोबारमा संलग्न ६ विदेशीसहित १३ जना पक्राउ
फाइल फाेटाे काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये ४ जना थाई नागरिक, २ जना भारतीय र ७ जना नेपाली नागरिक गरी कुल १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले २०७९ साल माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बु जिल्लाका ३५ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाइट्रोभ्ैट १२ हजार ९५० ट्याब्लेट र नगर ४ लाख ५ हजार सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा माघ २५ गते कामनपा वडा नम्बर २२ सुन्धाराबाट लाक्पा शेर्पालाई बिक्री गरेको लागु औषध बापतको रकम लिन भारत मधुवनीबाट काठमाडौं आएका भारत, बिहार राज्य मधुवनी जिल्लाका भारतीय नागरिक फैज अहमद (वर्ष ३८) लाई पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले माघ २६ गते धनुषाको औराही गाउँपालिका ३ बाट जनकपुरबाट काठमाडौंसम्म सवारी साधन व्यवस्थापन गरी लागुऔषध एम्पुल लुकाएर पठाउने धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरेको थियो । प्रहरीले माघ २६ गते नै धनुषाको औराही गाउँपालिका ३ स्थित कपटोलस्थित सडक किनाराबाट जनकपुरदेखि काठमाडौंसम्म लागुऔषध लुकाइएको गाडीमा सँगै आइ लागुऔषध एम्पुल लाक्पा शेर्पालाई दिने जिल्ला धनुषा औरही गाउँपालिकाका ४५ वर्षका जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो । नेपाल प्रहरीले माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट लाक्पा शेर्पासँग लागु औषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलाञ्चोक भुम्लु ४ का २४ वर्षका दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं महानगरपालिका वडा नम्बर २२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी ८ का २९ वर्षका लक्ष्मण बखतीलाई ६ हजार नग्दसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । उनले लागुऔषध चरेस २३.८ किलोग्रामसहित ४ जना थाई नागरिकलाई पक्राउ गरेको पनि बताए । उनले माघ २८ गते कामनपा ९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर कक्षमा थाई एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्डको बैंकक जान लागेका ५१ वर्षकी थाई नागरिक यवालुक जुएबश्री, ४२ वर्षकी परिचर्त पमप्रुक, वर्ष २५ का नतापोल त्रिचेइया, वर्ष २० की नतनरे त्रिचेइया रहेको बताए । त्यस्तै लागुऔषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान १ सहित २ जना भारतीय व्यक्ति पक्राउ परेको बताउनु भयो । उनका अनुसार काघ २७ गते कामनपा ९ सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङ नगरपालिका २ का ३४ वर्षका रोशन रिसाललाई लागु औषध खैरो हेराइन १ ग्राम र डिजिटल तराजु थानसहित पक्राउ गरेको बताए । त्यस्तै, थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागुऔषध खैरो हेराइन बिक्री गरेका मोरङ केराबारी गाउँपालिका ३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं ३२ कोटेश्वरबाट लागुऔषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको बताए । माघ २९ गते कामनपा ३२ कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागुऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु थ, १ र नगद ६ हजार रुपैयाँसहित पक्राउ गरिएको बताए । उनले बरामद लागुऔषध एम्पुलको बजार मूल्य प्रतिएम्पुल १६८ रुपैयाँका दरले २० हजार ३ सय एक्पुलेको अहिलेको मूल्य ३४ लाख १० हजार ४ सय रहेको बताए । त्यस्तै बरामद लागुऔषध नाइट्राभेट ट्याब्लेटको अवैध बजारमूल्य प्रतिट्याब्लेट ३० रुपैयाँका दरले १२ हजार ९ सय ५० ट्याब्लेटको अहिलेको मूल्य ३ लाख ८८ हजार ५ सय रहेको छ । त्यस्तै बरामद लागुऔषध चरेसको अवैध बजारमूल्य प्रतिकिलोग्राम ३५ हजारका दरले २३.८ केजीको अहिलेको मूल्य ८ लाख ३३ हजार रहेको छ । त्यस्तै बरामद लागुऔषध खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम १० हजार रुपैयाँका दरले ५१ ग्रामको अहिलेको मूल्य ५ लाख १० हजार रहेको छ ।
नेपालको नामिबियाविरुद्ध ऐतिहासिक जित, कुशलको शतक
काठमाडौं । नेपालले आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नामिबियालाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । मंगलबार त्रिभुवन क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालले नामेबियालाई २ विकेले पराजित गरेको हो । जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टाएको छ । नेपालले पहिलो पटक नामेबियालाई हराउँदै ऐतिहासिक जित कायम गरेको हो । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल जितेको हो । नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।
नक्कली कागजात पेस गरेर भुक्तानी सेवा प्रदायक संस्थाबाट रकमान्तर
काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुलेको भेटियो । खल्ती डिजिटल वालेटमा सनम श्रेष्ठका नाममा पेस भएको नागरिकता, त्यहाँ प्रयोग भएको फोटो र वास्तविक सनम श्रेष्ठ फरकफरक पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । यो त प्रतिनिधि घटना भयो । कागजात एउटाको, फोटो अर्काको र नम्बर झन् अर्कैको प्रयोग गरेर डिजिटल भुक्तानी हुने क्रम बढिरहेकाले वास्तविक व्यक्तिमा रकम नगई अन्यत्रै रकमान्तर हुने क्रम बढिरहेको भन्दै प्रहरीले यसतर्फ सचेत हुन नागरिक तथा भुक्तानी प्रदायक संस्थाहरुलाई अनुरोध गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै त्यसले विकृति पनि भित्र्याइरहेको यो दरिलो दृष्टान्त हो । प्रविधिको सही सदुपयोगले ठूलाठूला समस्या तथा कामहरु घरमै बसेर समाधान भएका कैयौँ उदाहरणहरु छन्, तर प्रविधिको दुरुपयोग हुँदा मानिसहरुको जीवन नै बर्बाद पनि बनाइरहेको छ । अझै प्रविधिकै उच्चतम उपयोग गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरुको विकासले धेरै सहज पारिदिएको पनि छ । छिनका छिन विदेशमा कमाएर पठाएको पैसा आफ्नो परिवारको हातमा आउने अवस्था बनेको छ । यसरी प्राप्त भएको सुविधालाई दुरुपयोग गरेर रकम ठग्ने गिरोह सक्रिय रहेकाले मानिहरु ठूलो धनराशि ठगिन विवश छन् भने गिरोहको लोभमा फसेर सयौँ मानिसहरु पीडित बनिरहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले डिडिटल अपराध बढ्दो रहेकाले यसको रोकथाममा ठूलो चुनौती खडा भएको बताए । उनले भुक्तानी सेवा प्रदायक संस्थामा नक्कली कागजात पेस गरेर र अरूकै नाम, नम्बरसमेत प्रयोग गरी खाता खोलेर रकमान्तर गर्ने बढ्दो क्रममा रहेको बताए । प्रहरी उपरीक्षक कार्कीले यसलाई रोक्न केही दिनअघि राष्ट्र बैंकका प्रतिनिधिहरुको रोहवरमा भुक्तानी सेवाप्रदायक संस्थासँग छलफलसमेत चलाएको जानकारी दिए । छलफलमा यस्ता समस्याहरु रोकथामका लागि सरकारकै पहल जरुरी रहेको ती संस्थाका प्रतिनिधिहरुले बताएका थिए । काठमाडौं प्रहरीको अभिलेखमा यो आर्थिक वर्षको पुससम्ममा यसरी नक्कली कागजातहरु पेस गरी झन्डै एक करोड २२ लाख रुपैयाँ रकमान्तर भई मानिस ठगिएका पाइएको छ । प्रहरीमा यसरी आफू ठगीमा परेको भन्दै एक सय १२ जनाले एक सय ३४ जनाविरुद्ध उजुरी दिएका थिए । यसअघि आव २०७८/७९ मा तीन सय ३८ जनाले एक सय ९७ जनाविरुद्ध रु चार करोड ४८ लाख ठगीमा परेको भनी उजुरी दिएका थिए । बैंकमार्फत ५९ जनाले रु ६५ लाख ४२ हजार रकमान्तर गरी ५६ जनाको रकम लगेको भनी उजुरी परेको थियो । अन्य डिजिटल वालेटहरु ई-सेवा खल्ती, आइएमई मनी ट्रान्सफर, क्यास-पे वालेट, जिएमई रेमिट, सिटी एक्सप्रेस प्रालिलगायत मार्फत यसरी रकमान्तर भएको थियो । आइएमई मनी ट्रान्सफरबाट मात्रै ३२ लाख ४१ हजार रकमान्तर भएको थियो । त्यसमा १२ जनाको पैसा १६ जनाले लगेका भनी उजुरी परेको थियो । उण्डाइस जना पीडितले इसेवाबाट १३ लाख रुपैयाँ रकमान्तर भएको भनी उजुरी दिएका थिए भने खल्तीबाट २० जनाले रु सात लाख ७७ हजार रकमान्तर गरेको भनी उजुरी परेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यसरी रकमान्तर भएका सबैले अर्कैको नामका नागरिकता वा राहदानीमा नक्कली फोटो टाँस्ने, नम्बरहरु पनि कम्प्युटरबाट इडिट गरेर टाँस्ने र खाता खोली रकमान्तर गर्ने गरेको पाइएको पनि उनले बताए । ‘खोज्दै जाँदा जुन नम्बर प्रयोग गरेर पैसा रकमान्तर भएको छ, त्यो नम्बरको मान्छेले उक्त डिजिटल वालेटमा खाता नै नखोलेको पाएको छ, कतिपय घटनामा जसको नाम र नम्बर प्रयोग गरेर रकम भुक्तानी गरिएको छ, त्यो नामको मान्छेले उक्त नम्बर प्रयोग नै नगरेको भेटिएको छ,’ प्रहरी उपरीक्षक रिजालले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरुमा यसरी नक्कली आइडी खोलेर रकम भुक्तानी हुने क्रम बढेकाले अपराध अनुसन्धान र कारबाहीमा समेत असर परिरहेको छ तर पनि पहिचान गरेर वास्तविक पीडकलाई कारबाही पनि भइरहेको छ ।’ प्रहरीका अनुसार सुरुमा जो पीडित भनेर देखिएका छन् उही पीडक बनेर निस्किएका घटना पनि रहेको पाइएको छ । यसरी फरक फरक नागरिकतामा फरक फरक व्यक्तिका फोटा र नम्बरहरु प्रयोग गरेर पैसा भुक्तानी गर्दा नागरिक ठगिने क्रम बढिरहेकाले सचेत हुन डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग प्रहरीले अनुरोध गरेको छ । केवाइसी फारम भर्दा होस् या भुक्तानी दिँदा वास्तविक नाम र मान्छे हो होइन भनेर यकिन गरेपछि मात्रै भुक्तानी गर्नसमेत प्रहरीले ती संस्थाहरुसँग अनुरोध गरेको छ । रासस
नेपाल नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने
काठमाडौं । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई गुणस्तरिय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बिचमा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो । सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रिय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनी रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ । दुई संस्थाहरु बिचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ । नेत्रज्योति संघ र सिबिएम ग्लोबलका बिचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गर्न बिगत ४० वर्षदेखि सहकार्य भइरहेको छ । ‘हाम्रो ४० बर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् जसले उनिहरुको आर्थिक सामाजिक जिवनमा ठुलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले भने । सम्झौता पछि बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट काम कै कारण बिगत ४० बर्षदेखि विभिन्न कार्यक्रम मार्फत नेत्रज्योति संघसंग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठुलो सहयोग पुर्याउने बताउछन् नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त । अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टिबिहिनतामा बसिरहेको भन्दै उनले यस्तै संघ संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपननको निवारण हुने विश्वास व्यक्त गरे । हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।
समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्ग सेवा परिवर्तन
काठमाडौं । समृद्धि फाइनान्सले साविकको मोबाइल बैंकिङ्ग सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लिको बैंक स्मार्ट मोवाइल बैंकिङ्गमा परिवर्तन गरेको छ । यससँगै अब फाइनान्सका ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट एनसिएचएलको नेपाल पे क्यु आर मर्चेन्टका साथै फोन पेको क्युआर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, फाइनान्सले ग्राहकहरुलाई फोन पेको क्युआर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ । त्यस्तै, कम्पनीले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ ।
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
काठमाडौं । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब रुपैयाँ आन्तरिक र २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ । यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान आठ अर्ब १२ करोड रुपैयाँ बराबर छ । सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक तथा बाह्य ऋण र वैदेशिक अनुदान लिने गरेको छ । चालु तथा आगामी आवका लागि विकास सहायता परिचालन गर्ने गरी विभिन्न विकास साझेदारसँग छलफल तथा वार्ता भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । एक दर्जनभन्दा बढी विकास साझेदारसँग ऋण र अनुदानका लागि पहल भइरहेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ । समीक्षा प्रतिवेदनअनुसार सरकारले काँकडभिट्टा-लौहकी सडक खण्ड कार्यान्वयनका लागि एसियाली विकास बैंक (एडिबी)बाट अमेरिकी डलर ३० करोड (३९ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिनका पहल गरिरहेको छ । त्यस्तो ऋण लिनका लागि एडिबीसँग वार्ता भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण लिने सरकारको तयारी छ । यस्तो ऋण प्राप्त गर्न विश्व बैंकसँग वार्ताको चरणमा रहेको सरकारको भनाइ छ । त्यस्तै, विश्व बैंकबाटै गुणस्तरीय स्वास्थ्य प्रणाली आयोजनाका लागि अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिन लागिएको छ । यो ऋण सहायता प्राप्त गर्न आयोजना दस्तावेज तयार भइसकेको जनाइको छ । नेपालको वित्तीय क्षेत्र पुनर्संरचना (फिस्कल डीपीसी-२) कार्यक्रमअन्तर्गत विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको बजेटरी सहायताका लागि सहुलियतपूर्ण ऋण लिन लागिएको पनि अर्थ मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, ‘फाइनान्स फर ग्रोथ’ कार्यक्रमअन्तर्गत् विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको बजेटरी सहायता लिने तयारी भैरहेको जनाइएको छ । कूल छ सय ३५ मेगावाट विद्युत् उत्पादन क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकले प्रारम्भिक सहमति जनाइसकेको छ । ‘यो आयोजना कार्यान्वनयका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ५८ करोड (करिब ७५ अर्ब ४० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने आशय प्राप्त भएको छ । यो आयोजनामा अन्य दातृ निकायबाट पनि लगानी जुटाउन समन्वय भइरहेको छ,’ बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, एक हजार ६१ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनका लागि विश्व बैंकबाट अमेरिकी डलर ५० करोड (करिब ६५ रुपैयाँ) अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता जुटाउन गृहकार्य भैरहेको छ । यो आयोजनामा बाँकी रकम जुटाउन अन्य सम्भाव्य लगानीकर्तासँग समन्वय भइरहेको पनि अर्थ मन्त्रालयको भनाइ छ । भन्सार पुनर्संरचना कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर पाँच करोड (करिब छ अर्ब ५० करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने क्रममा छ । सार्वजनिक वित्तीय व्यवस्थापन तथा सेवा प्रवाह सुधार कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट ऋण लिन लागिएको छ । यो कार्यक्रमका लागि अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्राप्त गर्न पूर्वतयारीको केहि काम पूरा गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । स्थानीय पूर्वाधार सहायता कार्यक्रम कार्यान्वयनका लागि बेलायत सरकारबाट अनुदान सहायताको रुपमा पाउन्ड स्टर्लिङ नौ करोड (करिब १४ अर्ब ४० करोड रुपैयाँ) बराबर प्राप्त गर्न समझदारीपत्रको मस्यौदामा छलफल भइरहेको छ । त्यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर आठ करोड आठ लाख (करिब एक अर्ब १९ करोड रुपैयाँ) ऋण लिन लागिएको छ । यो अतिरिक्त लगानीवापत सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा द्विपक्षीय वार्ताको चरणमा रहेको अर्थ मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ । ऋण मात्र नभई विदेशी सहायता लिनका लागि पनि केहि विकास साझेदार र दातृ निकायहरुसँग सरकारले छलफल गरिरहेको छ । ‘विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलगायत अन्य क्षेत्रका लागि युरोपियन युनियनबाट बजेट सहायताका रुपमा चार करोड युरो अनुदान प्राप्त गर्न सम्बन्धित मन्त्रालयबाट राय, प्रतिक्रिया प्राप्त भएको र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय प्रतिक्रिया प्राप्त हुने चरणमा रहेको छ,’ बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, कृषि तथा ग्रामीण विकासका लागि योगदान (कार्ड) मार्फत् युरोपियन युनियनबाट एक करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त गर्नका युरोपियन युनियनलाई अनुरोध गरिएको छ । यो अनुदान सहायता प्राप्त हुने प्रक्रियामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । रासस
परिसूचक दोहोरो अंकले घट्दा पौने दुई अर्बको कारोबार, टप गेनरमा यूनिलिभर नेपाल
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार पौने २ अर्ब रुपैयाँमा सीमित भएको छ । बजारमा २५५ कम्पनीको ४६ लाख ८५ हजार कित्ता सेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, न्ङादी ग्रुपको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा यूनिलिभर नेपाल रहेको छ । कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ । त्यस्तै, दोश्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्चनको ५.२३ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४.५७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी प्रतिशतले गुमाउनेको सूचीमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सेयर मूल्य गुमाएका छन् । जसको अन्तिम कारोबार प्रतिकित्ता ६०९ रुपैयाँमा भएको छ । बजारमा उत्पादनमूलक बाहेक सबै समूह राताम्मे भएका छन् । घटेको बजारमा उत्पादन मूलक समूह भने १६.१७ अंकले बढेको छ ।
तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय विद्युत आपूर्ति
काठमाडौं । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो । यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेस सोमबार चार्ज गरिएको छ । तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गत कै तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् । सराङघाट सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति हुने छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाउने छन् । दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामिण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कार्यहरु चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।