विकासन्युज

प्रधानमन्त्री प्रचण्डको प्रश्न : परनिर्भर किन भयौं ? खोजी गर्नु पर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिकताको कुरा गर्दै परनिर्भर हुँदै किन गयौं भनेर खोजी गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्यौं, अर्बाै रुपैयाँ त्यहाँबाट लिन्थ्यौं, यतिका वर्ष अध्यान अनुसन्धान गरी आधुनिकताको कुरा गरेर पनि परनिर्भर किन हुँदा गयौं, त्यसको खोजी गर्नु छ, त्यसको निमित्त सोच बदल्नु पर्छ,’ उनले भने । दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने पनि बताए । केही दशकअघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए । ‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ, त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ,’  उनले भने । लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने जानकारी दिए । अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ, अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन,’ उनले भने । दाहालले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्न सक्ने ठाउँमा जान नसक्ने पनि बताएका छन् ।

नक्सा पासबिनै सघन सहरी तथा भवन निर्माण आयोजनाले भवन निर्माण गर्दै

काठमाडौं । बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको पाइएको छ । बागलुङमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय छ । यस कार्यालयको काम भवनसंहिता हेर्ने, गुणस्तर मापन गर्ने र निर्माणको अनुगमन गर्नु हो । तर, कार्यालयकै भवन नगरपालिकाबाट नक्शा पास नगराई ४ तला ठड्याइसकेको छ । भवन बनाउँदा पालिकालाई जनाकारीसमेत दिइएको छैन । तर, कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्ड अनुसारनै भवन निर्माण गरिरहेको जिकिर गर्छिन् । ‘हाम्रै इञ्जिनीयरले नाप जाँच गरेर भवन बनाउन थालेका हौँ, भवनको सबै डकुमेन्ट बनेको छ, सबै ठाउँबाट स्वीकृत भएको छ, यही कार्यालयले पनि अनुगमन गर्ने, मापदण्ड पालना गराउने गर्छ, भवन निर्माणसंहिता र आफ्नै मापदण्ड अनुसार बनाएको हुँदा नक्शा पास गरिएन, यसलाई इस्यु बनाउनुपर्ने आवश्यक छैन,’ उनले भने । श्रेष्ठ नक्शा पासको काम निर्माण कम्पनीले नगरेको दोष लगाउँछिन् । आफै नियम पालना गराउने ठाउँमा भएको व्यक्तिले अरुलाई दोष लगाउनु उचित नभएको स्थानीयवासी बताउँछन् । बागलुङ नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले भवन बनाउँदा जुनसुकै कार्यालयले पनि नगरपालिकाबाट नक्शा पास गर्नुपर्ने बताए । इञ्जिनीयर गिरीले सघन सहरी तथा भवन निर्माण कार्यालयले भवन बनाउँदा नगरपालिकालाई एकपटक पनि जानकारी नगराएको बताउँछन् । ‘सबै निकायले भवन बनाउँदा नगरपालिकाको अनुमति लिनुपर्ने हुन्छ, नगरपालिकाको विधि, नियम र मापदण्ड अनुसार गर्नुपर्छ, उहाँहरुले अरुलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ तर आफ्नै भवन बनाउँदा नियम मिचेको पाइयो,’ उनले भने । गिरीले कुनै पनि घर भवन बनाउँदा नक्शा पास गरेर मात्रै जग खन्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले पनि नक्शा पास नगरेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले केही महिनादेखि नयाँ भवन बनाउँदै छ भने जिल्ला प्रशासन कार्यालय चार वर्ष अगाडि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाले ५ तलाभन्दा माथिको भवन बनाउन नपाइने नियम बनाएको छ । तर, पछिल्लो समय नियम विपरीत तला थप्ने बढ्दै गएको इञ्जिनीयर गिरी बताउँछन् । बजार क्षेत्रमा अहिले करिब १ सय घर भवन मापदण्ड विपरीत रहेका छन् । उनीहरुलाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ । बागलुङ बजारमा चार हजार घरले नक्शा पास गराएका छन् ।

टर्कीका भुकम्प पीडितलाई महासंघले पठायो राहत सामग्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टर्कीमा गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामाग्री हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले उक्त राहत सामाग्री गृह मन्त्रालय तथा राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो । महासंघले ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट लगायतका राहत सामाग्री पठाएको जनाएको छ । उक्त राहत सामाग्रीहरुमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले पनि सहयोग गरेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको बताएको छ ।

सुरु भयो नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव 

काठमाडौं । नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको भृकुटीमण्डपमा आज बाट सुरू भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव सुरू भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघकाे आयोजनामा हुने उक्त महोत्सव फागुन २ देखि ६ गतेसम्म सञ्चालनमा हुने छ । कोरोना महामारीले विगत ३ वर्षदेखि स्थगित भएको सो औद्योगिक प्रदर्शनी मेला यस पटक १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना शुरु भएको हाे । अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकनेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश लाल सिंहले जानकारी दिए । मेला सञ्चालन भएको केही दिनपछि नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने पनि बताइएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । यस प्रदर्शनीमा २ सय वटा स्टल रहने छन् । महोत्सव सञ्चालन अवधिभर २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । चार दिन सञ्चालन हुने उक्त मेलामा ७ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

जनउत्थान सामुदायिक लघुवित्तको हालसम्मकै न्यून लाभांश घोषणा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हालको चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २६.३१५७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ५२ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/७४ मा २१.०५/२१.०५ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको हो । सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् अवरुद्ध हुने बित्तिकै इन्धन वितरण पनि ठप्प हुने गरेको छ भने सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित नमुना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि यस्तै समस्या छ । जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक काम गर्न समेत समस्या हुँदै आएको चालक रमेश कार्कीले गुनासो गरे । जिल्लामा सञ्चालित पम्पहरुमा ब्याकअपको समेत व्यवस्था नहुनु लजास्पद विषय भएको अर्का चालक मिङमार शेर्पाको भनाइ थियो । सोमबार केही समय विद्युत् अवरुद्ध हुँदा धेरै चालकहरु इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य थिए । सोही समस्या बारम्बर दोहोरिरहने गरेको अर्का चालक शम्भु विश्वकर्माले बताए । कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सले समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने एम्बुलेन्स चालकहरुको गुनसो थियो । हाल ती पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरुले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने वा रित्तो हात फर्काउने गरेको गनासो बढेपछी आफ्नो ध्यानार्कषण भएको र यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले प्रतिक्रिया दिए । रासस

डिजिटल रेमिट्यान्स् प्रवर्द्धन गर्न युएई जाँदै अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छिन् । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत जिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् । खड्का शनिवार १८ फेबु्रअरी अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म, १९ फेबु्रअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहनु हुनेछ । यस्तै खड्काले दुबईस्थित अल घुराइर मलमा १९ फेबु्रअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागि हुने बताएकी छिन् । सो कार्यक्रममा उनले त्यहाँ सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्नेछिन् । त्यसैगरी, २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहने छिन् । अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले इसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश” योजना सञ्चालन गरिरहेको छ । ‘मेरो डिजिटल देश’ योजनाले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ । अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहनु भएका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेका बताएकी छिन् । उनले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताएकी छिन् । साथै, उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।

बैंकिङ बजारमा पुनः पैसाको अभाव, अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो

काठमाडौं । केही दिन अघि बैंकिङ क्षेत्रमा तरलता समस्या समाधान हुँदै गएको बताएपनि केही दिन यता पुनः समस्या देखिएको हो । तरलताको समस्या नभएर लगानी गर्न नसकिरहेका बैंकहरु पुनः तरलताको समस्यामा परेका हुन् । नेपाल राष्ट्र बैंकले विस्तारै तरलतामा सुधार हुँदै गएको बताए पनि तथ्यांकले भने पछिल्लो केही दिन यता तरलताको अभाव हुँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार एकदिनमै एक अर्ब रुपैयाँ तरलता बैंकिङ क्षेत्रबाट बाहिरिएको छ । हाल बैंकिङ इन्ड्रष्टीमा ५३ खर्ब ८२ अर्ब रुपैयाँ कुल निक्षेप छ । आइतबार मात्रै ५३ खर्ब ८३ अर्ब रुपैयाँ थियो । कर्जा लगानी भने एक दिनमा यथावथ छ । बैंकिङ क्षेत्रबाट कुल ४७ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले रिपो मार्फत् बजारमा पठाएको ५० अर्ब रुपैयाँ राष्ट्र बैंक फर्किएपछि केही कमि देखिएको भएपनि त्यो दीर्घकालीन समस्या नभएको बताए । ‘यसअघि ४५ दिने रिपो जारी गरेका थियौं, त्यो राष्ट्र बैंक फर्किँदा तरलतामा केही दबाब परेको हुन सक्छ, राष्ट्र बैंकले अब पुनः रिपो जारी गरेर यस्ता समस्याको समाधान गर्छ,’ उनले भने । राष्ट्र बैंकका अनुसार अन्तर बैंकिङ दर पनि बढ्दै गइरहेको छ । अन्तर बैंकिङ दर पनि बढेर साढे ८ प्रतिशत पुगेको छ । उनले अन्तर बैंकिङदर बढ्नु भनेको तरलतामा दबाब छ भन्ने संकेत हो ।