प्रधानमन्त्री प्रचण्डको प्रश्न : परनिर्भर किन भयौं ? खोजी गर्नु पर्छ

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिकताको कुरा गर्दै परनिर्भर हुँदै किन गयौं भनेर खोजी गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्यौं, अर्बाै रुपैयाँ त्यहाँबाट [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिकताको कुरा गर्दै परनिर्भर हुँदै किन गयौं भनेर खोजी गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्यौं, अर्बाै रुपैयाँ त्यहाँबाट लिन्थ्यौं, यतिका वर्ष अध्यान अनुसन्धान गरी आधुनिकताको कुरा गरेर पनि परनिर्भर किन हुँदा गयौं, त्यसको खोजी गर्नु छ, त्यसको निमित्त सोच बदल्नु पर्छ,’ उनले भने ।

दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने पनि बताए । केही दशकअघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए ।

‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ, त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ,’  उनले भने ।

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने जानकारी दिए । अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ, अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन,’ उनले भने । दाहालले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्न सक्ने ठाउँमा जान नसक्ने पनि बताएका छन् ।

Share News