५ लाख नक्कली नोटसहित तीनजना पक्राउ
बाँके । बाँकेको नेपालगञ्जबाट करिब पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ । रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
एमालेको भातृ संगठन अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै
काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल रहेका छन् । अध्यक्षमण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गराउने छ । महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने छ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव वडाल दाबेदार रहेको बताइएको छ ।
वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने
पर्सा । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै
कञ्चनजङ्घा । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उनी बताउँछन् । पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए । ‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्’, घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भने । आर्थिक वर्ष २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एशियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ । कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौँबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुगिन्छ । यहाँ आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस
लक्ष्मी लघुवित्तले डाक्यो साधारणसभा, २० प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २९ गते अग्रवाल भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
२० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमईले डाक्यो साधारणसभा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २४ गते लेकसाइड पोखरामा बिहान ९ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
सबैको लघुवित्तले साधारणसभा र बुकक्लोजको मिति तोक्यो
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन १ गते बसेको बैठकले फागुन २६ गते बन्दिपुर तनहुँमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
मेन्छियाम हाईड्रोले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीले फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५३८ कित्ता आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र सािवक शिद्धकाली, शिद्धपोखरी र मावादानी गा.वि.स.का स्थानियहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजन प्रभावित क्षेत्र सुंखवासभा जिल्लाका स्थानियहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री गर्ने भएको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ९ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।