
काठमाडौं । नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको भृकुटीमण्डपमा आज बाट सुरू भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव सुरू भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघकाे आयोजनामा हुने उक्त महोत्सव फागुन २ देखि ६ गतेसम्म सञ्चालनमा हुने छ ।
कोरोना महामारीले विगत ३ वर्षदेखि स्थगित भएको सो औद्योगिक प्रदर्शनी मेला यस पटक १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना शुरु भएको हाे ।
अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकनेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश लाल सिंहले जानकारी दिए ।
मेला सञ्चालन भएको केही दिनपछि नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने पनि बताइएको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ ।
यस प्रदर्शनीमा २ सय वटा स्टल रहने छन् । महोत्सव सञ्चालन अवधिभर २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । चार दिन सञ्चालन हुने उक्त मेलामा ७ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।