अब आइएमई पेबाटै ट्राफिक फाइन तिर्न सकिने
काठमाडौं । आइएमई पेबाट अब सजिलै ट्राफिक फाइन तिर्न सकिने भएकाे छ । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको हाे । ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन् । ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।
सिंहदरबारमा ५ लाख खर्चेर अटोमेटिक धारा जडान गरिने
काठमाडौं । खानेपानी मन्त्रालयले सिंहदरबारभित्र अटोमेटिक (सेन्सर) धारा निर्माण गर्ने भएको छ । दुरदराजबाट सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयले सुरुवाती चरणमा चार स्थानमा धारा निर्माणको तयारी भएको जनाएको छ । मन्त्रालयका सचिव मणिराम गेलालले सुरुवाती चरणमा ४ स्थानमा छिट्टै अटोमेटिक धारा स्थापना गरिने बताए । ‘हामीले यही साता धारा जडानसक्ने लक्ष्य लिएका थियौं, धारा जडान गर्न भन्दा पनि धाराबाट निस्कने पानीको व्यवस्थापनमा केही समय लाग्ने भएर जडान भएन, अब २/३ दिनभित्रै सिंहदरबारभित्र धारा जडान भैसक्छन्,’ उनले भने । मन्त्रालयले धारा निर्माणको सम्पूर्ण जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिएको छ । खानेपानी लिमिटेडले ५ लाख रुपैयाँ लगानीमा सिहंदरबारका ४ स्थानमा धारा जडान गर्न लागिएको जनाएको छ । सचिव गोलालले सिंहदरबारभित्र पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने भन्दै जार र बोतलको पानी विस्थापन हुने बताए । सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताउँदै पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताए । खानेपानी मन्त्री अब्दुल खानले सिंहदरबारभित्र सबैले मेलम्चीको पानी पिउनुपर्ने बताए । उनले सिंहदरबार आएका सबै जनालाई खानेपानी उपलब्ध गराउन विभिन्न स्थानमा पानीका धारा जडान गर्न लागिएको बताए । ‘अब प्रधानमन्त्रीले पनि मेलम्चीको पानी पिउनुपर्छ, प्रधानमन्त्रीलाई मेलम्चीको पानी पिलाएर सिंहदरबारभित्र जडान गरिएको धारा उद्घाटन गर्ने तयारीमा छौं,’ उनले भने । पहिलो चरणमा सिंहदरबार भित्र जडान हुने अटोमेटिक धारा विस्तार विमानस्थल, बसपार्क, सरकारी अस्पताल लगायत धेरै भिड हुने स्थानमा जडान गरिने उनले बताए । आफू मन्त्री भएपछि पहिलो उद्देश्यका रूपमा सिंहदरबारभित्र जार र बोतलको पानी निषेध गर्ने लक्ष्य राखेकोमा सो पूरा भएको बताउँदै अब सार्वजनिक धारा राख्ने दोस्रो उद्देश्य रहेको उनले बताए । यस्तै, उनले तेस्रो उद्देश्यका रूपमा नेपालभरि नै खानेपानी सर्वसुलभ रूपमा पुर्याउने र चौथो उद्देश्यको रूपमा नेपालको पानी खाडी राष्ट्रहरू साउदी अरब, दुबई, कतार देशमा कसरी निर्यात गर्न सकिन्छ त्यसबारेमा काम गर्न लागिपरेको बताए ।
लुम्बिनी विकास बैंकको नयाँ शाखा साथै १ एक्स्टेन्सन काउण्टर विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंकको थप नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले फागुन ०३ गते थप एकवटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । बैंकले ८९औँ शाखाको रुपमा काठमाण्डौं जिल्ला, तारकेश्वर नगरपालिका स्थित नेपालटार शाखाको सुरुवात गरेको छ । यस विकास बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कविराज बस्नेतले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिती थियो । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संचालन गरको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखे । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको आज थप एक नयाँ शाखाको उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।
खानेपानी क्षेत्रका चुनौती समाधान गर्न नेपालको दियालो र भारतको जनजलबीच सम्झौता
काठमाडौं । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने छ । सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरे । सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पती व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ भने दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउनेछ । साथै, दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेशनमा लैजाने सहमति पनि भएको छ । यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आआफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरिय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको छ । नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ । हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । त्यसैगरी, जनाजल प्रविधि मार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो । कम्पनीले भारतभर ८ सयभन्दा बढि वाटर एटिएम । वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्दछ । जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्म मार्फत निगरानी गरिन्छ । कम्पनीको जनजल वाह (वाटर अन व्हील) नामक नवितम प्रविधिलाई भारत सरकारले शहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गरेको छ । जनजलले भारतभर विकेन्द्रीकृत पानी प्रशोधन प्लान्टहरू स्थापना, सञ्चालन र मर्मत संभार गर्न र थप घरघरमा सुरक्षित पानीको डेलिभरी गर्ने कार्य गर्दछ । जनलले नेपालमा पनि विकेन्द्रीकृत वाटर एटीएम र वाटर अन व्हीलको सञ्चालन कार्य विस्तार गरेसँगै वाटर एटिएमबाट पाइने सुविधाका साथै रोजगारी सिर्जना गर्न, मानिसलाई सामाजिक उद्यमशीलताका अवशरहरु प्रदान गर्नेछ ।
मन्त्री भण्डारीको पहिलो महिना : रोकिएका अधिकांश कामहरु कार्यान्वयनमा आए
काठमाडौं । बैतडीबाट निर्वाचीत सांसद दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेको बुधबार १ महिना पुरा भएको छ । माघ ३ गते पदबहाली गरेसंगै मन्त्री भण्डारीले मन्त्रालयमा आयोजीत स्वागत कार्यक्रमको सम्बोधन गर्दै केहि प्रतिवद्धताहरु गरेका थिए । अहिले उक्त प्रतिवद्धता अनुसारका केहि काम अगाडी बढेका छन् । मन्त्री भण्डारीले पद बहाली गरेकै दिन प्रतिवद्धताहरु सार्वजनिक गर्दै मातहतका निकायहरुलाई निर्देशन दिएका थिए । बढ्दो व्यापार घाटा न्यूनिकरण, पेट्रोलियम पदार्थको सहज आपुर्ति, खाद्यान्न आपुर्ति सहजताको लागि मन्त्रालयका सबै अङ्ग तथा साधन स्रोतको परिचालन,’कोहि भोकै नपरोस भोकले कोहि नमरोस्’ भन्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने उनको प्रतिवद्धता थियो । रुग्ण उद्योगहरुको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने, रुग्ण उद्योगहरुको सञ्चालनमा विशेष जोड दिने, समस्याहरुको गीत गाउनुुभन्दा समाधानका ढोका खोल्न जरुरी रहेको, धेरै प्रश्न उठ्ने आपुर्ति व्यवस्थापनलाई सहज बनाउने, उपलब्ध स्रोत र सम्भावनाहरुलाई उजागर गर्दै सरकारको २१ बुँदे साँझा कार्यक्रमलाई सफल पार्न सबै पक्ष प्रतिवद्ध रहनुपर्ने बताएका थिए । व्यक्तिगत समय नभनी मन्त्रालयको काममा खटिएर सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुले समेत आत्मगौरव प्राप्त हुनेगरी कार्य विवरण अनुसार दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । यसैगरी विगतमा उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सुरुवात गरेका राम्रा कामहरुको निरन्तरता, निर्णय तथा कार्य प्रक्रियामा पूर्ण पारदर्शिता र आवश्यकता अनुसार विज्ञहरुको यथेष्ट सल्लाह सुझाव सहित मन्त्रालयको काम अगाडी बढाउने वचनवद्धता समेत व्यक्त गरेका थिए । सोहि प्रतिवद्धताका आधारमा मन्त्री भण्डारीले यस अवधीमा १दर्जन बढी महत्वपुर्ण कामहरुको थालनी गरेका छन् । मन्त्रालयबाट पेट्रोलियम अन्वेशणको कार्य अघि बढाइएकोमा मन्त्री परिषदबाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तीको निर्णय पारीत भएको छ । पेट्रोलियम विद्येयकको मस्यौदामा अर्थ मन्त्रालय र कानून मन्त्रालयको सहमतीको लागि अगाडी बढाइएको छ । १३ माघमा कञ्चनपूर स्थीत दोधारा चादनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रकृया अगाडी बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदुत नवीन श्रीवास्तवसंग दुई पक्षीय सहमतीका लागि छलफल गर्नुभएको छ भने, प्रधानमन्त्री प्रचण्ड र मन्त्री भण्डारी सम्बन्धीत क्षेत्रमा पुगेर ३बर्ष भित्र बन्दरगाहको काम सम्पन्न गर्ने प्रतिवद्धता गरेकाछन् । यो संगै कोभिड १९ रोगका कारण समयमै निर्माण हुन नसकेको रसुवा स्थीत टिमुरे सुख्खा बन्दरगाहका लागि पुनः निर्माण सम्झौता भएको छ । जौवादी फलाम उद्योग लगायत अन्य ३वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गको लागि ९करोड ६७ लाख रकमान्तर गरि निकासा समेत गरिएको छ । मन्त्रालय अन्तरगत २० ओटा औद्यौगीक ग्रामका लागि थप रकम निकासा भएको छ । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधी लिमिटेडमा महाप्रवन्धक नियुक्तिको प्रकृयामा रहेको छ । भारतबाट पैठारी हुने गहुँ र चिनीको निर्यात सम्बन्धी कार्य अघि बढाइएकोमा नेपालका २५ कम्पनीहरुलाई १०हजार ६सय ३६मेट्रिक टन चिनी आयात गर्न पहल भएको छ । जस अन्तरगत आन्तरीक वितरणको व्यवस्था गर्नेगरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहमती दिइएको छ । यस्तै २९ माघमा नेपाल–भुटान ५औँ दुई पक्षीय सहसचीव स्तरीय व्यापार वार्ताका लागि वार्ता टोली पठाइसकेको छ । मन्त्री भण्डारीले मन्त्रालय सम्हाले पश्चात विगतमा रोक्का भएका करिब १ दर्जन महत्वपुर्ण कामहरु प्रकृयामा रहेका छन् । उनले काठ्माण्डौँ बाहिरको पहिलो भ्रमण कपिलवस्तु जिल्लाबाट गरेका थिए । उनि आफ्नो गृह प्रदेश सुदुरपश्चिममा भने २ पटक पुगेका छन् । धनगढीको गेटामा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयकोसहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मन्त्रीमण्डलबाटै नामाकरण भई कार्यान्वयन प्रकृयामा जाने भएको छ । उक्त विश्वविद्यालय संचालनका लागि मन्त्री भण्डारी र नेकपा एमाले पार्टी सचीव लेखराज भट्टले विगत देखी पहल गरेका थिए ।
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा
झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए । उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए । उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको बताए । उनका अनुसार विसं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल विसं २०६८ मा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो । ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उनको भनाइ छ । उनले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बताए । हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको उनले जानकारी दिए । यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरु भइसकेको छ । भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनीयर खतिवडालेले बताए । सडक दुई लेनको बनेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए । मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म एक हजार छ सय मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ । त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० किमी सडकमध्ये ३९ किमी सडकको निर्माण सकिएको छ । रासस
सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था नहटे आन्दोलन गर्छौं : अध्यक्ष उप्रेती
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था नहटे आन्दोलन गर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त व्यवस्था नहटे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ‘२५ लाखभन्दा बढी बचत गर्न नपाइने नीति गलत छ, यो नीति सच्चिएन भने आन्दोलन गर्छौं,’ उनले भने । अहिले सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनका लागि केही ऐन संशोधन गर्न बनेको बिधेयकमार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा २५ लाख तोकेको छ । त्यस्तै, कूल २५ करोड पुँजी र ५० करोड कारोबार भएको सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने विषय सकारात्मक रहेको उनको धारणा छ । सहकारी नै नरहे केही पनि नरहने बताउँदै अध्यक्ष उप्रेतीले हाल यो क्षेत्रमा भइरहेको गलत प्रवृत्तिलाई हटाउन सरकारले कारवाहीको प्रकृयालाई अगाडि बढाउनु पर्ने समेत बताए । ‘सहकारी डुब्दैछन्, लिएको पैसा नतिरे पनि हुन्छ भन्ने गलत प्रवृत्तिलाई सरकारले तत्काल कारवाही गर्नु पर्छ,’ उनले भने- ‘सञ्चालक र कर्मचारीले लिएको ऋण तत्काल तिर्नुपर्छ ।’