राकुटेन भाइबरले ए आई क्षमताका नयाँ च्याटबट अनलक गर्दै
काठमाडौं । राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ । राकुटेन भाइबरले डल-ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोध्न र तस्बिरहरु डिजाइन गर्न सहजता प्रदान गर्ने भएको हो । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपले नयाँ च्याटबट, एआई च्याट एन्ड क्रिएट को सुरुवात गरेको छ । जसले प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ । डलई र दाविंची जस्ता जेनेरेटिभ एआईका विशिष्ठ प्रयोग गरीएको भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबट मार्फत कुनैपनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंग बाट प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ । परिवर्तनशिल संसारमा लैजाने नवीनतम एआई उपकरणहरू प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताहरूले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्थ्यो । एआईले कसरी काम गर्छ भन्ने आधारभूत बुझाइ र प्राविधिक जानकारी हुन आवश्यक हुन्छ। एआईमा बढ्दो चासोको कारण भाइबरको लक्ष्य भनेको एआई लाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताहरूका लागि सहज बनाउनु हो । भाइबरले जटिल प्रविधि र प्रयोगकर्ता बीचको सहजताको लागि पुलको रूपमा काम गर्दछ जसको कारण प्रयोगकर्ताहरूले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको भरपुर आनन्द लिन सक्नेछन् । केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सकिने कम्पनीले जनाएकाे छ । ‘अहिले विश्व प्राविधि क्षेत्रमा एआई टेक्नोलोजीको बारेमाको धेरैको ध्यानाकर्षण भएको छ,धेरै भन्दा धेरै मानिसहरु यस प्राविधिबाट प्राप्त गर्ने चमत्कारहरु प्रयोग बारे बुझ्दै छन् । यद्यपि, यी उपकरणहरूमा पहुँच सबैका लागि सरल छैन, तर हामी एप भित्र कुनै विशेष सेवामा दर्ता नगरी, भाइबर च्याटको सुविधामै विभिन्न एआई सेवाहरू प्रयोग गर्ने सबैभन्दा सजिलो तरिका, बिना झन्झट र पूर्ण रुपमा प्रदान गर्नेछौ । हामी यी उद्योग(अग्रणी एआई उपकरणहरूलाई सिधै एपमा पहुँच प्रदान गर्दछौं, जसको मद्दतले प्रयोगकर्ताहरूले आफ्नो सिर्जना वा जवाफहरू तुरुन्तै प्रस्तुत गर्न सक्छन् । हाल च्याटबटले दुई विकल्पहरू प्रदान गर्दछ ( एउटा तस्बिरहरूका लागि र अर्को टेक्स्टका लागि ( हामी निकट भविष्यमा अन्य सेवाहरु निरन्तर विस्तार गर्न खोजिरहेका छौं ।’ राकुटेन भाइबरका सीईओ ओफिर इयालले भने। अर्गानिक पद्दतीबाट च्याटबटमा पहिले नै ६,००० भन्दा बढी सब्स्क्राईबर्सका साथै २५०,००० भन्दा धेरै दर्शकहरू छन् र यो सँख्या निरन्तर बढ्दै गईरहेको छ। यदि तपाइँलाई यसको प्रयोग कहाँबाट सुरु गर्ने भन्नेबारे थाहा छैन भने, च्याटबटको लागि ‘इन्स्पायर मी’ मा क्लिक गरी यसको क्षमताको उदाहरणहरु हेर्न सकिन्छ।
सन् २०२२ मा एयरबस ४ अर्ब २० करोड युरो खुद नाफा कमाउन सफल
टूलूस। युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष ६६१ वटा विमान ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाए पनि खुद नाफा एक प्रतिशतले बढेर चार अर्ब २० करोड युरो (चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ । महामारीको समयमा एयरलाइन्सहरू यात्रा प्रतिबन्धका कारण अधिकांश उडानहरू रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो । कम्पनीले चाँडै महामारीका समय परेको आर्थिक बोझलाई सन्तुलित गर्ने विश्वास गरेको छ । विश्वभर यातायात सेवामा सुधार भइरहेको र एयरलाइन्सले उच्च ईन्धनको मूल्यलाई ध्यानमा राख्दै ईन्धन–कुशल विमानको खरीद बढाउन खोजिरहेको छ । एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भने, ‘प्रतिकूल सञ्चालन वातावरणका बावजुद हामीले हाम्रो आपूर्ति श्रृङ्खलालाई हामीले अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौं ।’ एयरबससँग १० हजारभन्दा बढी आपूर्तिकर्ताहरू छन् । जसमध्ये केहीलाई महामारीको समयमा कर्मचारीहरू छोडेपछि उत्पादन बढाउन समस्या भएको थियो । कच्चा माल प्राप्त गर्न बाधा भएको र युक्रेनको रूसी आक्रमण पनि आर्थिक जटिलताको कारक बनेकको कम्पनीले जनाएको छ । ‘सुरुमा योजना गरिएको भन्दा कम व्यावसायिक विमान डेलिभरी भएपछि कम्पनीले आफ्नो सञ्चालनलाई सोही अनुसार समायोजन गर्नुपरेको छ,’ उनले बताए । एयरबसले सन् २०२३ मा ७२० वटा विमानलाई बजारमा ल्याउने लक्ष्य राखेको छ । विमान कम्पनीको बिक्री १३ प्रतिशत बढेर ५८।९ बिलियन यूरो पुगेको छ । यसले गत वर्ष अमेरिकी डलरको शक्र्ति वितरित विमानहरूको सङ्ख्या वृद्धिलाई प्रतिबिम्बित गर्दछ । रासस
अब ३ हजारमै डिशहोमको नयाँ कनेक्सन, हरेक हप्ता एक लाख जित्ने मौका
काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सीमित अवधिको लागि यो छुट योजना लागू हुने डिशहोमले जनाएको छ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद एक लाख रुपैयाँ नगद उपहार यस अफर मार्फत जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा १००० रुपैयाँभन्दा कमको रिचार्जमा ५ प्रतिशत, १००० रुपैयाँको को रिचार्जमा १० प्रतिशत वोनस र २००० रुपैयाँको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ । नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुका साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
रजस्वला हुँदा छुट्टी दिन भन्दै भारतको सर्वोच्च अदालतमा निवेदन
एजेन्सी । महिलालाई रजस्वला हुँदा प्रत्येक महिना सार्वजनिक बिदा दिन माग गर्दै भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यही फागुन २४ गते उक्त मुद्दामाथि सुनुवाई हुँदैछ । अधिवक्ता शैलेन्द्रमणि त्रिपाठीले दायर गरेको निवेदनमा महिनावारी समस्या भएका महिलालाई बिदा दिने नियम बनाउन राज्य सरकारलाई निर्देशन दिन सर्वोच्च अदालसमक्ष माग गरिएको छ । सर्वोच्चमा दायर गरिएको मुद्दामा युनिभर्सिटी कलेज अफ लन्डनले गरेको एक अध्ययनलाई आधार बनाइएको छ । जसमा भनिएको छ कि महिनावारीको बेला महिलाहरुलाई धेरै दुख्ने गर्छ । महिनावारीको दुखाइ हृदयाघातको दुखाइ जस्तै हो। जसका कारण कामदार महिलाको दक्षतामा असर परेको छ । सर्वोच्चमा दायर गरिएको निवेदनमा भारतको मातृत्व लाभ ऐन, १९६१ को दफा १४ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन अदालतलाई अनुरोध गरिएको छ । निवेदनमा छात्रा र कामदार महिलालाई महिनावारीको दुखाईका लागि बिदाको माग गरिएको छ । यस ऐनको व्यवस्था कार्यान्वयन गर्न पदाधिकारी नियुक्तिको पनि सुनिश्चितता हुनुपर्ने निवेदनमा भनिएको छ । साथै उक्त निवेदनमा बिहारका महिला कर्मचारीहरूलाई दिइएको बिदा अवधिबारे पनि उल्लेख गरिएको छ। बिहारमा १९९२ को नीति अन्तर्गत महिला कर्मचारीहरूलाई विशेष महिनावारी बिदा प्रदान गर्ने गरिन्छ । महिलालाई महिनावारीको दुखाइ वा महिनावारीको बिदा दिन अस्वीकार गर्नु संविधानको धारा १४ बमोजिम समानता र मर्यादाको जीवनयापन गर्ने मौलिक संवैधानिक अधिकारको हनन हुने निवेदनमा उल्लेख गरिएको छ । विश्वमा बेलायत, चीन, जापान, ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया, स्पेन र जाम्बियामा महिलालाई महिनावारीको बेला हरेक महिना ३ दिन बिदा दिने गरिन्छ । दैनिक भास्करबाट ।
मौद्रिक नीतिको समीक्षापछि ११२ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक पछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक पछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंकले घटेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पुँजीबजार तथा पुँजीबजारका लगानीकर्ताको मागलाई सम्बोधन नगरेसँगै बजार निरन्तर रुपमा ओरालो लागेको जानकारहरु बताउँछन् । लगानीकर्ताहरुले उक्त समीक्षा मार्फत सेयर धितोकर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउनु पर्छ भन्ने माग गरेका थिए । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार नेप्से कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको थियो । बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । बिहीबार नेप्से परिसूचकमा गिरावट आएपनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ५.२३ प्रतिशत बढेको छ । यता युनिलिभर नेपालको सेयर मूल्य ५.९१ प्रतिशत घटेको छ । बिहीबारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने १५ पक्राउ
काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा काभ्रेका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत, मोरङका ३० वर्षीय यमन राई, नुवाकोटका १८ वर्षीय सुनिल कालीकोटे, २२ वर्षीय रोमन नगरकोटी, १८ वर्षीय सुदीप तामाङ, ३३ वर्षीय माधव शाही र १९ वर्षीय केशर राई रहेका छन् । सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, धादिङ २६ वर्षीय इलाराज गुरुङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, धादिङका १८ वर्षीय विकाश गुरुङ, चितवनका २७ वर्षीय संविधान परियार र काठमाडौँका १९ वर्षीय कविन खड्गी रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको जानकारी दिए । गत सोमबार यातायात मजदुरले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुईवटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए । पक्राउ परेकामाथि चोरी तथा डाँकामुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । रासस
राष्ट्रिय वाणिज्य बैंकले एनआईसी र नबिललाई पनि टप्यो, ७ महिनामा कुन बैंकको बिजनेश कति ?
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुमा झण्डे २ खर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले गत असारदेखि माघसम्म १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप भित्र्याएका हुन् । गत असार मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थियो । माघसम्म आइपुग्दा बैंकहरुमा ४७ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप पुगेको हो । समीक्षा अवधिमा १९ वटा बैंकको निक्षेप बढेको छ भने ३ वटा बैंकको निक्षेप घटेको छ । ७ महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै निक्षेप संकलन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको माघसम्म ३६ अर्ब रुपैयाँ बढेर २ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यस्तै, दोस्रोमा नबिल बैंकको ३० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ, तेस्रोमा एनआईसी एशिया बैंकको २६ अर्ब ५२ करोड रुपैयाँ बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ, चौंथोमा नेपाल बैंकको २१ अर्ब ७३ करोड बढेर २ खर्ब १८ अर्ब रुपैयाँ र पाँचौंमा ग्लोबल आइएमई बैंकको १८ अर्ब ९ करोड बढेर ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको निक्षेप १८ अर्ब ७० करोड रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब रुपैयाँमा सिमित भएको छ । यस्तै, प्रभु बैंकको ९ अर्ब ५० करोड रुपैयाँ घटेर २ खर्ब ७४ अर्ब रुपैयाँ र सिभिल बैंकको २ खर्ब ४६ अर्ब रुपैयाँ घटेर ९३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका हुन् । यस्तै, ७ महिनाको अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले गत असारसम्म ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । माघ मसान्तसम्म आइपुग्दा १ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । समीक्षा अवधिमा कर्जा प्रवाहमा नबिल बैंकले सबैभन्दा धेरै गरेको छ । माघ मसान्तसम्म नबिल बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ बढेर ३ खर्ब २३ अर्ब रुपैयाँ, दोस्रोमा एनआईसी एशिया बैंकको १३ अर्ब ९४ करोड रुपैयाँ बढेर २ खर्ब ८२ अर्ब रुपैयाँ, तेस्रोमा नेपाल एसबिआई बैंकको १२ अर्ब ९५ करोड रुपैयाँ बढेर १ खर्ब २३ अर्ब रुपैयाँ, चौथौंमा नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब २९ अर्ब रुपैयाँ र पाँचौंमा एनएमबि बैंकको ९ अर्ब ५३ करोड रुपैयाँ बढेर १ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तै, ७ महिनाको अवधिमा विभिन्न ४ वटा बैंकको कर्जा भने घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ अर्ब ४ करोड रुपैयाँ घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, सनराइज बैंकको १ अर्ब ७४ करोड रुपैयाँ घटेर १ खर्ब २२ अर्ब रुपैयाँ, कुमारी बैंकको १ अर्ब ६५ करोड रुपैयाँ घटेर २ खर्ब ८४ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४३ करोड रुपैयाँ घटेर ३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
सिटिजन्स बैंकका ग्राहकले कालिन्चोक केबलकारमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कालिन्चोक केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शनबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिन्चोक केबल कार सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले जनाएकाे छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।