दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ घाइते
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जुम्लाको पातारासीमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने
जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । स्वास्थ्योपचारमा राहत होस् भनेर अध्यक्ष–उपाध्यक्ष कार्यक्रममा छुट्याएको बजेटबाट पातारासीका सबै नागरिकको स्वास्थ्य बीमा गर्न हिउँदे गाउँसभाबाट पारितसमेत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए । नागरिकको स्वास्थ्य बीमासहित गाउँपालिकाबाट पाँच वर्षमा दुई जनालाई निःशुल्क एमबिबिएस अध्ययन गर्न आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष सात लाख रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिए । वडा नं ४ निवासी नवीन रेउलेलाई एमबिबिएस अध्ययनका लागि पालिकाले अहिले छात्रवृत्ति दिएको छ। रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् । यस्तै गाउँपालिकाले आफ्नो अर्धवार्षिक समीक्षामा विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने सङ्घीय सरकारको योजनालाई निरन्तरता दिन पहल भइरहेको जनाएको छ । पातारासीकै उच्च स्थान लोटचौरमा खेलकुद तालिम केन्द्रका लागि ५० लाख रुपैयाँ गाउँपालिकाको पहलमा सङ्घीय सरकारले विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । रासस
महासंघले सहकारीका सञ्चालकलाई भन्यो : सम्पति बेचेर भएपनि ऋण तिर्नु
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालले सम्पति बेचेर भएपनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले सहकारीका सञ्चालकहरुलाई उक्त निर्देशन दिएको हो । महासंघले सहकारीबाट सञ्चालकले लिएको ऋणलाई पहिलो प्राथमिकतामा राखेर उठाउन सहकारीहरुलाई निर्देशन दिएको छ । साथै, ७३ लाखभन्दा बढी आमनागरिक आवद्ध भएको र ७ खर्बभन्दा बढी पूँजी परिचालन भएको क्षेत्रलाई नै खुम्चाउने गरी कुनै कार्य नगर्न महासंघले सरकारलाई अनुरोध गरेको छ । साथै, विभिन्न विषयहरु तत्काल सम्बोधनका गर्नुपर्ने महासंघको माग छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनका लागि केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी ऐन, २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा तोकिनु सहकारी अभियानको लागि गम्भिर विषय हो । यसबाट सहकारी अभियानलाई सङ्कुचित बनाउन खोजिएकाले उक्त प्रस्तावित दफालाई हटाउनु पर्ने महासंघको सुझाव छ । बैंक वित्तीय संस्थामा बजार अनुरुप स्वचालित रुपमा ब्याजदर घटबढ हुने भएपनि सहकारीमा सन्दर्भ ब्याजदरका कारण स्वचालित रुपमा व्याजदर परिवर्तन हुन नसक्ने अवस्था रहेकोले यस क्षेत्रको पुँजी पलायन भएका कारण समस्या सिर्जना भएकाले तत्काल सन्दर्भ ब्याजदर पुनारावलोकन गर्न र सहकारी नियमावली संशोधन गरी सन्दर्भ व्याजदर स्वचालित रुपमा घटबढ हुने व्यवस्था गरिनुपर्ने महासंघले जनाएको छ । सहकारीमा वर्तमान अवस्थामा चुनौतीको रुपमा देखिएको तरलताको व्यवस्थापनका लागि महासंघको निर्देशनअनुसार बचत तथा ऋण सहकारीको छाता संघ नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकद्वारा स्थापना भएको तरलता व्यवस्थापन कोषमा आवश्यकतानुसार थप गर्नुपर्ने र राज्यको तर्फबाट सहुलियतपूर्ण कर्जाका रुपमा १० अर्ब योगदान गर्नुपर्ने माग छ । विद्यमान तरलताको समस्यालाई मध्यनजर गर्दै सहकारी संस्थाले लगानी गरेको ऋणलाई पुर्नतालिकीकरण/पुर्नसंरचना गर्ने प्रावधान एवंम उक्त ऋणहरुको वर्गीकरण २०७९ असार मसान्तमा रहेको वर्गमा कायम गर्ने गरी सहकारी विभागमार्फत निर्देशन जारी गर्न महासंघले माग गरेको छ । त्यस्तै, सहकारीको मूल्य, मान्यता सिद्धान्तअनुसार स्वनियमन र सुशासन कायम गर्नका लागि अभियानको समेत सहभागितामा सेकेन्ड टायर इन्टिच्युटको व्यवस्था गर्नुपर्ने महासंघको भनाई छ । सहकारी अभियानप्रति सदस्यमा विश्वासको वातावरण सिर्जना हुने गरी सरकारले अभिभावकत्व निर्वाह गर्दै सहकारी व्यवसायको हित हुने गरी सन्देश प्रवाह गर्नुपर्ने देखिन्छ । सहकारी संघ/संस्थाको ऋण असुलीमा सहयोगी भूमिका निर्वाह गर्दै सरकारले संघ संस्थाबाट ऋणीको नामको चल अचल सम्पत्ती रोक्काका लागि अनुरोध भइआएमा त्यसलाई सहज रुपमा ऋण सुरक्षण गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने महासंघले बताएको छ । सहकारी संस्थाले समेत सञ्चालक तथा व्यवस्थापनले लिएको ऋण असुलीलाई पहिलो प्राथमिकतामा राखी जोखिम न्युनीकरणका सम्पूर्ण उपायहरु अवलम्बन गर्नुपर्ने महांसघले बताएको छ । सहकारी संघ/संस्था सदस्यद्वारा संचालन र नियन्त्रण हुने भएकाले सदस्यले आफ्नो संस्थालाई समस्यामा पर्न नदिनका लागि जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने महासंघको भनाई छ । साथै, यस प्रतिकूल अवस्थालाई ध्यानमा राखी संघ/संस्था सुसञ्चालनमा केन्द्रित हुन महासंघले सम्पूर्ण सहकारी संघ/संस्थालाई समेत आव्हान गरेको छ । सहकारी संघ संस्थाहरुले आफ्नो सदस्यहरुसँग सहज अवस्थाको भन्दा बढी नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, जोखिम विश्लेषण गरेर कारोबार गर्न, खराब कर्जा असुलीमा विशेष ध्यान दिन आवश्यक रहेको महासंघको भनाई छ । सहकारी ऐनमा भएको प्रवर्धनात्मक व्यवस्थाहरु कर्जा सूचना केन्द्रको स्थापना, कर्जा असुली न्याधिकरणको गठन, सहकारी प्रवर्द्धन कोषको परिचालन, बचत तथा ऋण सुरक्षण कोषको स्थापना र स्थिरिकरण कोषको प्रभावकारी संचालन नहुनाले अभियानमा समस्या सिर्जना भएको महासंघको ठहर छ । यस तर्फ सरकार गम्भीर भई कार्यान्वयन गर्न महासंघको माग छ ।
एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा डियरवाक ग्रुप अन्तर्गत रहेका डियरवाक कम्पवयर र सिफल स्कुलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको हाे । उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो । यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संचिप्त छलफल भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरीएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।
कक्षा ५ सम्मको पाठ्यपुस्तक छाप्न सूचीकरण भए १३ वटा छापाखाना
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षा सम्मका विद्यार्थीले पढ्ने किताब छपाई गर्नका लागि १३ वटा छापाखानालाई सूचीकरण गरेको छ । पाठयक्रम विकास केन्द्रका अनुसार १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने ४ रङका पाठ्यपुस्तक छपाई गरी बिक्री वितरण गर्न ती छापाखाना सूचीकरण भएका हुन् । आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने पाठ्यपुस्तक छापेर बिक्रीवितरण गर्न इच्छुक संस्थाहरुलाई नवीकरण तथा सूचीकरणको लागि केन्द्रले माघको ७ गते सूचना आह्वान गरेको थियो । सोही अनुरुप ती संस्थाहरु सूचीकरण भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब पाठ्यपुस्तक छाप्न इच्छुक सूचीकरण भएका मध्येका संस्थाले फागुन १० गतेभित्र धरौटी जम्मा गर्नुपर्ने हुन्छ । गत शैक्षिक सत्रमा केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक मात्रै निजी क्षेत्रलाई छाप्ने जिम्मेवारी दिएको थियो । आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न र बिक्री वितरण गर्न दिँदा समयमा नै विद्यार्थीको हातमा पुस्तक पुग्ने केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाले बताए ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताए । गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भइरहेका छन् । यहाँका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान शुरु गर्न माग छ । मन्त्री किराँतीले भने, ‘पोखरादेखि सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि अत्यधिक कोशिस मन्त्रालयले गरिरहेको छ, हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ ।’ उनले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताए । उनले भने, ‘यति राम्रो विमानस्थललाई सम्पूर्णरुपले सदुपयोग गर्न चाँडै सफल हुने विश्वास छ ।’ नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको उनले जानकारी दिए । पर्यटनमन्त्री किराँतीले पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतंक रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको बताए । विमान दुर्घटनाको छानविनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिए । आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चुनौती तथा अप्ठ्यारा भए पनि समाधान असम्भव छैन भनेर आफू लागिपरेको उनले बताए । रासस
तपाईंको धारामा पानी आएन ? अब ११७१ मा फोन गर्नुस्
काठमाडौं । घर घरमा जोडिएका खानेपानीको धारामा पानी नआए तथा खानेपानीको विषयमा केही समस्या भए सिधै खानेपानी मन्त्रालयमा गुनासो गर्न सकिने भएको छ । खानेपानी मनत्रालयले खानेपानीको गुनासो सुनुवाइ इकाईको स्थापना गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । अब काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा पानीको समस्या भए मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा सिधै गुनासो गर्न सकिन्छ । बिहीबार खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनुवाइ इकाईको उद्घाटन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेका हुन । उनले बिहीबार जनकपुरबाट आएको गुनासोको सम्बोधन गर्दै गुनासो सुनुवाई इकाईको उद्घाटन गरेका हुन । देशभर भएका खानेपानीको समस्या सम्बोधन गर्न मन्त्रालयले छुट्टै युनिट स्थापना गरेर गुनासोको सुनुवाई गर्न लागिएको उनले बताए । ‘खानेपानीमा धेरै समस्या छ, समस्या देखिएपछि गुनासो गर्ने निकाय नै छैन, गाउँ गाउँमा रहनुभएका आम मानिसको समस्याको समाधान गर्न हामीले गुनासो सुनुवाई गर्न छुट्टै निकाय स्थापना गरेका छौँ, हामीले सार्वजनिक गरेको टोल फ्रि नम्बरमा आएका गुनासो तत्काल समाधान गछौँ’, उनले भने । मन्त्रालयले गुनासो सुनुवाइको लागि चार जना कर्मचारीको व्यवस्था गरिएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । कार्यालय समयमा लाइभ (फोन मार्फत गुनासो सुनुवाई) हुनेछ भने अन्य समयमा गुनासो रेकर्ड हुने व्यवस्था रहेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । उनका अनुसार चार जना कर्मचारीले खाने पानीका लागि आएको गुनासो सुनुवाई गर्नेछन् । अधिकृतको नेतृत्वमा रहेको उक्त टोलीले उपभोक्ताको गुनासो सुन्दै तत्काल सम्बन्धीत निकायमा खबर गर्नेछ । गुनासो मन्त्रालयमा आएको अवस्थामा मन्त्रालयले सम्बन्धित व्यक्ति र कार्यलयलाई जानकारी दिई समस्या समाधान हुनेमा मन्त्रालयले विश्वास लिएको छ ।
माघमा बैंकहरुको १२ अर्ब कर्जा प्रवाह, २ दिनमा १४ अर्ब निक्षेप भित्र्याए
काठमाडौं । वाणिज्य बैंकहरुले माघमा २५ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार माघमा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँ बढेर ४७ खर्ब १६ अर्ब रुपैयाँ संकलन गरेका हुन् । गत पुस मसान्तसम्म ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । २ दिनको अवधिमा भने १४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । माघ २७ गतेसम्म ४७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, २ दिनमा १४ अर्ब बढाएर ४७ खर्ब ४१ अर्ब पुर्याएका हुन् । साथै, माघमा बैंकहरुले १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघमा बैंकहरुले १२ अर्ब रुपैयाँ बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । साथै २ दिनको अवधिमा भने ३ अर्ब कर्जा बढाएका हुन् । माघ २७ गतेसम्म बैंकहरुको कर्जा ४२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो ।