काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था नहटे आन्दोलन गर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त व्यवस्था नहटे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘२५ लाखभन्दा बढी बचत गर्न नपाइने नीति गलत छ, यो नीति सच्चिएन भने आन्दोलन गर्छौं,’ उनले भने ।
अहिले सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनका लागि केही ऐन संशोधन गर्न बनेको बिधेयकमार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा २५ लाख तोकेको छ । त्यस्तै, कूल २५ करोड पुँजी र ५० करोड कारोबार भएको सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने विषय सकारात्मक रहेको उनको धारणा छ ।
सहकारी नै नरहे केही पनि नरहने बताउँदै अध्यक्ष उप्रेतीले हाल यो क्षेत्रमा भइरहेको गलत प्रवृत्तिलाई हटाउन सरकारले कारवाहीको प्रकृयालाई अगाडि बढाउनु पर्ने समेत बताए ।
‘सहकारी डुब्दैछन्, लिएको पैसा नतिरे पनि हुन्छ भन्ने गलत प्रवृत्तिलाई सरकारले तत्काल कारवाही गर्नु पर्छ,’ उनले भने- ‘सञ्चालक र कर्मचारीले लिएको ऋण तत्काल तिर्नुपर्छ ।’