काठमाडौं । तपाईं हामीले प्रहरीले गाँजा (हेय) खेती नष्ट गर्याे भन्ने समाचार बेला बेलामा सुन्दै आएका छौं । गाँजालाई नेपालमा लागू औषधको रूपमा लिइने भएकाले पनि प्रहरीले यलाई बेला–बेलामा नष्ट गर्छ । गाँजाको विषयलाई लिएर विभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट यसको बैधानिकताको विषयमा पनि तर्क वितर्क हुने गरेको छ ।
कतिपयले गाँजालाई औषधीको रूपमा लिन्छन् त कतिपयले यसलाई सेवनको रूपमा प्रयोग गर्छन् । गैर कानुनी भएकोले पनि हो यसको खेलआम रुपमा खरिदबिक्री हुँदैन । गाँजोको प्रयोग गर्ने मान्छेलाई प्रहरीले ‘अन दि स्पट’ पक्राउ गर्छ ।
भनिन्छ नि सदुपयोग गर्न जाने अमृत दुरुपयोग गरे विष । हो, कतिपय मानिसहरु गाँजाकै सेवन गरेर बिग्रेका छन् भने कतिपयले यसको सदुपयोग गरेर घरखर्च मात्रै चलाएका छैनन् जीवनलाई सम्वृद्ध पनि बनाएका छन् । गाँजाको सदुपयोग गरी बाजुराका खडकसिंह बोगटीले लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश बुढीगंगा नगरपालिका वडा नं. ४ घर भएका बोगटी गाँजाकै कपडा सामानहरु उत्पादन गरेर एक सफल उद्यमीको रूपमा परिचित छन् । बोगटी गाउँमा हुँदा उनकी आमाले गाँजाको धागो बनाइ कम्मरमा तान लगाइ कपडा बुन्थिन् । सो कपडा उनका बुबा बजारमा लगेर धानसँग साट्थे । र, त्यही धानबाट उनको घरपरिवारको गुजारा चल्थ्यो ।
सानैदेखि हस्तकलाका सामाग्री घरमा उत्पादन भइरहेको देखेका बोगटीलाई सोही किसिमका सामाग्री उत्पादन गर्नु कुनै गाह्रो कुरा थिएन । स्थानीय सीप र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले उनले गाउँमै वि.सं. २०५१ सालमा कोसेली घर सञ्चालनमा ल्याए । र, उनले बाजुराको चिनो स्वरुप गाँजाबाट निर्मित कपडाहरू बेच्न थाले । बोगटीले अल्लोका कपडा बनाउने काम पनि सँगसँगै अगाडि बढाए ।
उनलाई त्यत्तिले मात्रै पुगेन । साना तथा घरेलु उद्योग नै स्थापना गरेर काम गर्ने उनको दृढ इच्छा थियो । तर, उद्योग खोल्ने पैसा भएन । पैसा कमाउने सिलसिलामा बोगटी छिमेकी देश भारतमा काम गर्न गएको स्मरण गर्छन् ।
‘केही समय बोगटीले भारतमा गएर काम गरेँ, भारतमा बस्दा खर खर्च टार्दै लगभग ५ लाख रुपैयाँ जम्मा गरेँ, पछि गाउँमै फर्केर केही गर्नु पर्छ भन्ने महसुस भयो, बचत गरेको ५ लाख रुपैयाँले बुढीगंगा नगरपालिकामा सुदूरपश्चिम हेण्डिक्राफ्ट उद्योग सञ्चालन गरँे, सुरुमै नगरपालिकाको ९ वटै वडाका ९ जनालाई रोजगारी पनि दिएँ,’ उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने ।
सबै वडामा एक एक जनालाई रोजगार दिएपछि स्थानीय तहबाट केही सहयोग मिल्छ भन्ने आशामा आफु रहेको उनी बताउँछन् । उनले स्थानीय कच्चा पदार्थ संकलन गर्दै हस्तकलाका सामान उत्पादन गर्दै उद्योग सञ्चालन गरे । उत्पादन बढ्दै गयो ।उत्पादनले बजार लिन थाल्यो तर त्यसको उपभोग गर्ने बजारको भने समस्या देखिन थाल्यो ।
उत्पादन गरेको सामानले बजार नपाएपछि बोगटीले काठमाडौंमा आफ्नो उद्योग सार्ने निर्णय गरे । बोगटीले अहिले बुढानीलकण्ठ नगरपालिकामा हिमालयन हेण्डिक्राफ्ट उद्योग सञ्चालन गरिरहेका छन् । बोगटीले गाँजाको मात्र हैन अल्लो, जुट, सनपाट, केरा, भेस्को र ह्याम लगायतका हस्तकलाका सामाग्री पनि बनाउँछन् ।
‘हस्तकलाका सामाग्री हातबाट तयार गर्नुपर्ने हुन्छ, त्यसैले पनि सामानको मूल्य थोरै महँगो पर्न जान्छ, तर हामीले बजारमा धेरै मार्जिन नराखीकन उपलब्ध गराइ रहेका छौं,’ उनले भने । उनले अहिले स्थानीय तहले दिने विभिन्न सीपमुलक तालिमहरुमा पुगेर प्रशिक्षणको काम पनि गर्छन् ।
लाखौंको आम्दानी, विदेश पनि निर्यात
बोगटीले बुढानीलकण्ठ हस्तकलाको सामान बनाउन थालेको १६ वर्ष भयो । उनले सो ठाउँमा बसेर आफूले उत्पादन गरेको हस्तकलाको सामान स्वदेशमा मात्र हैन विदेशमा समेत निर्यात गर्दै आइरहेका छन् ।
गाँजाबाट निर्मित हस्तकलाको सामानको माग विदेशी बजारमा समेत उच्च रहेको बोगटी बताउँछन् । बोगटीले प्रत्यक्ष १३ देशमा र अप्रत्यक्ष २६ देशमा हस्तकलाका सामाग्री पठाउँदै आएका छन् । बोगटीले देशभरका विभिन्न जिल्लाबाट कच्चा पदार्थ संकलन गरी गाँजाका कपडाहरूको उत्पादन गर्छन् ।
‘गाँजा ओसार पोसारमा सरकारले रोक लगाएको छ, दुर्गम ठाउँ अथवा टाढाबाट यसका कच्चा पदार्थ ल्याउनु पर्ने हुन्छ, त्यसलाई सहज तरिकाले ल्याउन पाइँदैन, त्यसैले हामी त्यसलाई अल्लो भनेर ल्याउँछौं र सोही अनुरूप बन कार्यालयले सिफारिस गरिदिन्छ, अनि ल्याइन्छ,’ उनले मुस्कुराउँदै भने ।
बोगटीको आम्दानी अर्डरमा भर पर्छ । जति धेरै अर्डर त्यति धेरै आम्दानी । बोगटी कहिले धेरै कहिले थोरै अर्डर आउने बताउँछन् । बोगटीका अनुसार उनको वार्षिक आम्दानी ४० लाख रुपैयाँ हुन्छ । बोगटीले अहिले ६० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
भक्तपुरमा जोडे जग्गा
बैंकबाट ऋण नलिई सञ्चालन भएको उद्योग बिरलै पाइन्छ । अहिले उद्योग मात्र होइन सायद ऋण नलिएका मान्छे पाउन समेत मुस्किल छ । तर, अचम्मको कुरा, बोगटीले हालसम्म बैंकबाट ऋण नलिएरै आफ्नो उद्योग सञ्चालन गरेका छन् । बैंकबाट ऋण नलिएर उद्योग सञ्चालन गर्ने पनि उद्योगी हुन्छ र ? बैंकबाट ऋण नलिई उद्योग कसरी चल्छ ? भन्नेहरूका लागि बोगटी एक उदारहरणी पात्र बनेका छन् ।
उद्योग सानो भएर पनि ऋणको आवश्यकता नपरेको हुन सक्ने उनी बताउँछन् । उनले बैंकबाट ऋण लिने जमर्को भने नगरेका पनि होइनन् तर, उनलाई बैंकको ब्याजको डर छ ।
अहिले बैंकको ऋण लिन पनि डर छ, ब्याज उच्च छ, पछि उच्च ब्याजकै कारण उद्योगमा समस्या आउला भन्ने डर छ, हामी जस्तो साना उद्योगीलाई बैंकले पत्याउँदैन, पत्याए पनि पक्रिया धेरै झन्झट छ, बैंकले ऋण दिए कसले लिन चाहँदैन र, ऋण दिए उद्योगको विस्तार गरी अझै धेरै रोजगारी सिर्जना गर्न सकिन्थ्यो,’ उनले भने ।
बोगटीले उद्योगबाट उत्पादित सामान काठमाडौंको विभिन्न ठाउँमा उपलब्ध छन् । उत्पादन गरेको सामान बेच्ने शाखा पनि रहेको बोगटी बताउँछन् । बोगटीले उद्योगमै आम्दानीबाट केही समय अगाडि भक्तपुरमा जग्गा पनि जोडेका छन् ।