काठमाडौं । भारतबाट पेट्रा्लियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएर पठाएको निगमले जनाएको हो ।
आईओसीले १६ फेब्रअरीमा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने भएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।
यसअघि गत माघ २३ गते आईओसीले मूल्य बढाएर पठाएको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
हरेक १५ दिनमा नयाँ मूल्य कायम गर्ने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरसनको सम्झौता छ ।