विकासन्युज

विदेशी लगानीका कम्पनीले लिए १५ अर्ब लाभांश, लगानीको आधा हिस्सा एक वर्षमै फिर्ता

काठमाडौं । चालू आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धताको झन्डै आधा रकम फिर्ता भएको छ । चालू  आर्थिक वर्षको ७ महिनामा करिब २८ अर्ब बराबरको विदेशी लगानी प्रतिबद्धता भएकोमा साढे १५ अर्ब रुपैयाँ रोयल्टी र लाभाशं बापत रकम फिर्ता लिने भएका हुन् । उद्योग विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार २१६ उद्योगका लागि २७ अर्ब ७६ करोड १२ लाख ९३ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । लगानी प्रस्तावको झण्डै आधा अर्थात १५ अर्ब ५३ करोड ५९ लाख १० हजार रुपैयाँ लगानी फिर्ताको सिफारिस भएको छ । उक्त लगानी प्रस्ताव गर्दा ८ हजार ६ सय ५ जनाले रोजगारी पाउने उल्लेख छ । विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगका लागि आएका प्रस्ताव मध्येमा सबै रकम भित्रन्छ भन्ने हुँदैन तर चालू आवका लागि आएका प्रस्तावको तुलनामा झन्डै आधा रकम विदेशिने भएको हो । विभागले सात महिनामा रोयल्टी बापत एक अर्ब ७५ करोड ६३ लाख ५ हजार ५७० नेपाली रुपैयाँ, ८ लाख ९८ हजार ७३६ (११ करोड ९४ लाख ३३ हजार नेपाली रुपैयाँ) अमेरिकी डलर, ३० करोड २७ लाख ४० हजार ७७० (४८ करोड ७४ लाख १२ हजार ६४० नेपाली रुपैयाँ) भारतीय रुपैयाँ र ७ हजार (९ लाख ८९ हजार ६६१ नेपाली रुपैयाँ) युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ । माघ महिनामै २ अर्ब सिफारिस विभागले माघ महिनामा मात्रै करिब २ अर्ब नेपाली रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले रोयल्टीवापत ८० करोड ८७ लाख ५० हजार नेपाली रुपैयाँ, १६ करोड ३९ लाख ८६ हजार भारु (२६ करोड ४० लाख १७ हजार ९९२ नेपाली रुपैयाँ) र ९८ हजार २ सय ९३ अमेरिकी डलर (१ करोड ३० लाख ६२ हजार नेपाली रुपैयाँ) फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । माघ महिनामा मात्रै विभागले लाभांश (कम्पनीले गरेको नाफाका आधारमा) वापतको २ अर्ब १७ करोड २८ लाख ६० हजार ९२३ रुपैयाँ विदेश लैजान पाउने गरी विदेशी लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ । चालु आवको हालसम्म विभागले १३ अर्ब १७ करोड १७ लाख ७० हजार रुपैयाँ बराबर लाभांशवापत विदेश लैजाने विदेशी लगानीकर्ताहरुलाई स्वीकृति प्रदान गरेको छ । चालु आवको ७ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत ९ सय ४६ जनाा लगानीकर्ता, १ सय २२ जना प्रतिनिधि र ३ सय १७ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । यस्तै, गैह्रपर्यटक भिसा अन्तरगत ९ जनालाई विज्ञापन मार्फत र ३ जनालाई सम्झौता मार्फत्को भिसा जारी भएको जनाएको छ । माघ महिनामा मात्रै विभागले ७२ विदेशी लगानीकर्ता, २४ जना प्रतिनिधि र ४७ जना आश्रितका लगि भिसा सिफारिससमेत गरेको छ । विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ । शाखाका प्रमुख शंकर सिंह धामी चालु आर्थिक वर्षमा बाहिरिने रकम बढ्ने बताउँछन् । ‘गत आर्थिक वर्षमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टी बापतको रकम लैजान कडाई गरेको थियो, गत वर्ष कडाई गर्दा अहिले लाभाशं तथा रोयल्टी रकम धेरै विदेशीने हाम्रो अनुमान छ’, उनले भने ।

राज्य शक्तिको स्रोत जनता हुन् : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुने बताएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेकाे बताएका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षको मार्गदर्शन स्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था अङ्गीकार गरेको छ भन्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने धारणा राखेका छन् । मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, ‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्छ, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दयित्व हुन् ।’ मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् शुभकामना पनि दिएका छन् । उनले प्रजातन्त्र दिवसका शुभअवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । मुख्यमन्त्री कार्कीले सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तिहरूप्रति सम्मान पनि प्रकट गरेका छन् । रासस

ढल्केबर–मुजफ्फरपुरबाट थप २ सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ । हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई छ सयबाट बढाएर आठ सय पुर्‍याउने सहमति भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए । त्यस्तै टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी विद्युत् प्रसारणबाट ७० देखि ८० मेगावाटसम्म विद्युत् आयात–निर्यात गर्ने सहमति दुई पक्षबीच भएको छ । संयुक्त प्राविधिक टोलीबाट दुई सय मेगावाटसम्मको विद्युत् निर्यात गर्नका लागि सम्भाव्य विकल्पको अध्ययन गराउने सहमति भएको पनि उनले जानकारी दिए । यो बैठकपछि नेपालका अन्य आयोजनाबाट पनि बिजुली लैजान भारत सकारात्मक देखिएको जनाइएको छ । ‘नेपालका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादन हुने विद्युत् भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्न नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक देखिएको छ । नेपालबाट ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्बन्धमा  निश्चित आयोजनासहित प्रस्ताव पेस भएमा भारतको विद्युत् आयात–निर्यात निर्देशिकाबमोजिम स्वीकृति दिन भारतीय पक्ष सकारात्मक रहेको छ,’ सहसचिव भेटुवालले भने । एक सय ३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र बनाउने पनि सहमति भएको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेको चार सय केभी नयाँ बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माणकार्य २०२५ मार्च सम्ममा सम्पन्न गर्नेसम्बन्धी सम्झौता चाँडै गर्नेबारे पनि दुवै पक्ष सहमत भएका छन् । सहसचिव भेटुवालका अनुसार नेपाल–भारतबीच थप दुईवटा चार सय केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने पनि सहमति भएको छ । इनरुवा–पूर्णिया चार सय केभी प्रसारण लाइन सन् २०२७÷२८ र न्यू लम्की–बरेली प्रसारण लाइन सन् २०२८-२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने सहमति भएको हो । यो बैठकअघि अस्ति शुक्रबार दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकसमेत बसेको थियो । रासस

निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ : प्रमुख आयुक्त थपलिया

वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज (फागुन ७ गते) हामी सातौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउँदै छौं । आयोगको परामर्शमा नेपाल सरकारबाट तोकिएका मितिमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराएर आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गरेको छ भन्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताहरूका लागि पनि विशेष वर्षको रूपमा रहेकोले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको मैले महशुस गरेको छु । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, मंसिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएका छन् । यही फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुनेछन् । निर्वाचन दिवसको यस गौरवमय अवसरमा आयोगलाई निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्नुहुने अग्रजहरूको सम्मान एवम् प्रशंसा गर्दै सम्पूर्ण नेपाली मतदाताहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसैगरी यसै वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन दिवसको अवसरमा म निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवं निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु । निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो । लोकतान्त्रिक प्रणाली अन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ । निर्वाचनमा बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेमात्र नभई कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने र निर्वाचित हुने अवसर एवं अधिकार प्राप्त हुन्छ । यस तथ्यलाई मनन् गरी आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएकोे छ । यसरी निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण तयार गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, आमसञ्चार तथा सम्बद्ध सरोकारवालाको सहयोग अपरिहार्य हुन्छ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ । यस वर्षका निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको छ भने देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएका छन् । आयोगले ती सबै सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्नेछ भने निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुनेछ । यसै क्रममा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचना सहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको व्यहोरा जानकारी गराउन चाहन्छु । सातौँ निर्वाचन दिवसको यो पावन अवसरमा म निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनु पर्छ भन्ने आयोगको मान्यतालाई सकारात्मकरूपमा लिई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक दल, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारक्षेत्र, अन्तर्राष्ट्रिय समुदाय लगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसको नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको छु । (निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले सातौं निर्वाचन दिवसका अवसरमा राखेका सन्देश)

कञ्चनपुरमा उमेर नपुगि विवाह गर्नेको सङख्या बढ्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उनी बताउछन् । ‘थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ’, उनले भने, ‘बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान चलाउनुपर्छ, वडघरियाले चाहे बालविवाह रोक्न सक्छन् ।’ बालविवाहविरुद्ध गाउँ–बस्तीमा कुरा गरे धेरै जान्ने आइस भनेर उल्टै खप्की खानुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार बालविवाह विशेषगरी मुक्त कमैया परिवारमा बढ्दै गएको छ । मागी हुने बालविवाह कम हुँदै गए पनि भागेर गरिने विवाह अधिकांश बालविवाह नै हुने गरेका छन् । बालविवाह गर्ने अधिकांशको सम्बन्ध बीचमै टुट्ने गर्दछ । बालविवाह गर्नेले दोस्रो विवाह गरेका घटनाहरू गाउँघरमा देखिँदै आएको सुनिता डगौराले बताइन् । ‘केही वर्षअघिदेखि बालविवाहविरुद्ध महिला समूहमा आबद्ध महिलाले आवाज बुलन्द गर्दै आएका थियौँ’, उनले भनिन्, ‘त्यसको प्रभावका कारण बालविवाह केही वर्ष रोएिको थियो, जनचेतना फैलाउने कार्य रोकिएसँगै पुनः बालविवाह हुन थालेका छन् ।’ गाउँका १० जना बढीले आधारभूत तहकै कक्षा ८ पढ्दै गरेका  बेला विवाह गरेको उनले बताइन् । मुक्त कमैया परिवारको अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको उल्लेख गर्दै उनले त्यसमै विद्यालय पढ्दै गरेका बालकले भगाएर बालिका भित्र्याउने गरेको बताइन् । ‘यसबाट बालकले घरको खर्च धान्नका लागि विद्यालय बीचमै छाड्दै अभिभावकसँगै मजदुरीमा जानुपर्ने हुन्छ’, उनले भनिन्, ‘समय नपुगीकनै बच्चा जन्मिन्छ, बच्चा जन्माउने आमा बिरामी हुने क्रम सुरु हुन्छ, सम्बन्धमा खटपट भई बालविवाह गर्नेले अर्को श्रीमती भित्र्याउँछन्, पहिला ल्याइएकी श्रीमती अलपत्र पर्छिन् ।’ गाउँकै बालविवाह गरेकाहरूको उदाहरण दिँदै उनले भनिन्, ‘अठार वर्षमुनिका बालकले दुई वर्षअघि आफू उमेरकै बालिकालाई भगाएर ल्याएँ, श्रीमान् कमाउन भारततर्फ लागे, यता बालिकाले बच्चा पाइन्, भारत गएका श्रीमान्ले उतै दोस्रो विवाह गरेपछि, घरमा रहेकी श्रीमती अलपत्र परिन् । पछि उनले आत्महत्याको बाटो रोज्नुपर्यो ।’ अर्का १५ वर्षकै उमेरमा बालविवाह गरेका बालिकाको गर्भ रहे पनि दुईपटक बच्चा खेर गएको उनले बताइन् । ‘उपचारमा धेरै रकम खर्च भए पनि सानै उमेरमा विवाह गर्ने किशोरीमा शारीरिक जटिलता देखिँदै आएको छ’, उनले भनिन्, ‘सधैँ बिरामी भएर बस्नुपरेको छ ।’ थारू अगुवा भागिराम डगौराका अनुसार बालविवाह गर्नेमा अधिकांश १४ वर्षदेखि १८ वर्षसम्मका किशोर–किशोरी बढी रहेका छन् । बालविवाह गर्नेमा मुक्त कमैया समुदायका किशोर–किशोरी बढी रहेका छन् । बढ्दो मोबाइल र इन्टरनेटको प्रयोगले बालविवाह गराउनमा महत्वपूर्ण भूमिका खेलेको उनी बताउछिन् । ‘फेसबुकलगायतका समाजिक सञ्जालमार्फत चिनजान गर्छन्’, उनले भनिन्, ‘त्यही चिनजानका कारण सानै उमेरमा भगाएर किशोरी घरमा ल्याउँछन् ।’ बीचमै विद्यालय छाड्ने बालकले मजदुरी जाँदा कमाउको पैसाले मोबाइल खरिद गर्ने गरेका छन् । बालविवाह गर्दा विवाह दर्तासँगै सानै उमेरमा जन्मेका शिशुको जन्मदर्ता नहुने गरेको उनले बताइन् । ‘बालविवाह बढ्दै गएकाले जनचेतनाको कार्यलाई प्रभावीरूपमा फैलाउनुपर्ने बेला आएको छ’, उनले भनिन्, ‘बडघर, जनप्रतिनिधिले सामाजिक कुरीतिलाई रोक्नका लागि लाग्नुपर्छ, स्थानीय तहले बालविवाहविरुद्धका कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।’ नौखरीस्थित जनभावना आधारभूत विद्यालयका प्रध्यानाअध्यापक पुष्पराज भट्ट मुक्त कमैया परिवारमा बालविवाह बढ्न थालेपछि विद्यालयमा पढ्दै आएका बालबालिकालाई बालविवाह गरेमा स्वाथ्यमा हुने हानीका बारेमा सचेत पार्दै आएको बताउछन् । बालविवाहकै कारण बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उनले बताए । ‘गएको शैक्षिक सत्रमा मात्रै २४ जना बालबालिकाले विद्यालय बीचमै छाडेका छन्’, उनले भने, ‘विद्यालय छाड्नेमध्येका सात जना बढीले बालविवाह गरेका छन् ।’ सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने गरेको उनको भनाइ छ । उनका अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ । ‘बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन्’, उनले भने, ‘बालविवाहका कारणले बालिकाहरू शरीरिक, मानसिक, यौनिक र घरेलु हिंसाको बढी जोखिमा पर्ने गरेका छन् ।’ मुुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ । उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र  तीस हजार रुपैयाँ जरिवाना हुन्छ । रासस

अझै जडान भएनन् दाङमा ‘डायलायसिस मेसिन’

दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलायसिस मेसिन’ पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ । मेसिन आएको सात महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेका छैनन् । मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि रु २५–३० लाख खर्च लाग्छ । त्यस्तै अहिले चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन् । तर मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी चाहिन्छ । अर्कातर्फ मेसिन जडान गर्नका लागि ठाउँको पनि अभाव छ । अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण नहुँदा पनि समस्या भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ओम अर्यालले बताए । उनले भने, ‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।’ पूर्व स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी प्रादेशिक अस्पताललाई आठवटा डायलायसिस मेसिन उपलब्ध गराउनुभएको थियो । तीमध्ये तीन मेसिन बाँकेस्थित भेरी अस्पतालमा लगिएको छ । तर ती मेसिन फिर्ता गर्ने शर्तमा लगिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ओम अर्यालले बताए । अहिले अस्पतालमा पाँच डायलायसिस मेसिनमध्ये चार मेसिनमात्रै सञ्चालनमा छन् । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुनसकेको छैन । अन्य पाँचवटा मेसिन पनि जडान हुन नसक्दा धेरै मिर्गौलारोगीले सास्ती भोग्नुपरेको छ । अहिले ८४ बिरामीले पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाडौँ, लमही, घोराही, बुटवललगायतका स्थानमा डायलायसिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलायसिस गरिरहेका छन् । आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलायसिस प्रमुख लीना बडेलले बताइन् । ‘अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ’, उनले भनिन्, ‘अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।’ कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अर्यालले बताए । उनका अनुसार अहिले चारजना स्टाफ नर्स मात्रै कार्यरत छन् । नयाँ मेसिन जडान भएपछि १० नर्सिङ स्टाफ चाहिन्छ । त्यस्तै आवश्यक उपकरणका लागि २५–३० लाख रुपैयाँ लगानी लाग्छ । रासस

बागलुङको ‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा, दैनिक १०० पर्यटक आउने

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३, ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको संख्या अझ बढ्दो छ । बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताए । यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउँछन् । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ । पूर्वाधार निर्माण र प्रचार–प्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उनले बताए । रासस

आज प्रजातन्त्र दिवस : निरंकुशताको बर्बरताबाट मुक्ति पाएको दिन

काठमाडौं । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ । प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उनीहरूले श्रद्धासुमन अर्पण गरेका छन् । प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता रहने छ ।