विकासन्युज

कार्यसम्पादनमा धुलिखेल नगरपालिका उत्कृष्ट

काभ्रेपलाञ्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जसमा नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अङ्क हाँसिल गरी दोस्रो स्थान तथा ६२ दशमलव १३ अङ्क प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ । चौंरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१ दशमलव ८५, रोशी गाउँपालिकाले ६१ दशमलव १२, बेथानचोक गाउँपालिकाले ५९ दशमलव ८७, पनौती नगरले ५५ दशमलव ३८, भुम्लु गाउँपालिकाले ५२ दशमलव ९०, खानीखोला गाउँपालिकाले ५२ दशमलव २८, पाँचखाल नगरले ५२ दशमलव २५, तेमाल गाउँपालिकाले ४९ दशमलव ८७, मण्डनदेउपुर नगरले ४६ दशमलव ५७ र महाभारत गाउँपालिकाले ४६ अङ्क प्राप्त गरेका छन् । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । सोही अनुसार बागमती प्रदेशले भने ३६ दशमलव एक अङ्क प्राप्त गरेको हो । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ । ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ । रासस

सामुदायिक लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

बाथ हुनैबाट जोगिन त सकिँदैन तर सावधानी अपनाउन सकिन्छ : डा. नकर्मी

बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुख्खा हुनु पनि बाथ हो । जोर्नीहरूमा मात्र बाथ हुन्छ भन्ने नेपालीहरूको धारणा (कन्सेप्ट) छ तर त्यो सत्य होइन । बाथ सबै मानिसलाई एकै खालको नभएर भिन्न–भिन्न किसिमको हुन्छ । बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । बाथरोगको उपचारमा हाड–जोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन । यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरु चनाखो हुन पनि जरुरी छ । बाथ रोगबारे हामीले नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग कुराकानी गरेको छ । प्रस्तुत उनीसँग गरिएको कुराकानीको सम्पादित अंश । बाथ भनेको के हो ? बाथ भनेको कुनै एउटा मात्रै रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । विशेष गरी बाथ भन्ने शब्दभित्र अटो इम्युन डिजिजहरु पर्छ । जस्तै गठिया, लुप्पस, मेरुदण्डको बाथ, स्पनेलाहरु पर्छन् । अर्को भनेको मेरुदण्ड खिइने बाथ, कुरकुरे हड्डी खिइने बाथ पर्छ । अर्को मांसपेसीको बाथ हुन्छ, मेटाबोलीक डिजिज यी सबैकुराको संकलनलाई बाथ भनिन्छ । यो भित्र मोर देन हन्ड्रेड प्रकारका बाथहरु हुन्छन् । बाथ भयो भनेर कसरी थाहा पाउने ? बाथ भयो भनेर थाहा पाउन यसको लक्षणहरु केके हुन् त्यसको विषयमा संक्षिप्त जानकारी आवश्यक पर्छ । बाथ नै सयौं प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्न प्रकारको हुन्छ । तर सामान्य लक्षण भनेको जोर्नी दुखाइ मुख्य लक्षण हो । जुन ९० प्रतिशत बाथ रोगीहरुमा हुन्छ । जोर्नी दुखाइमा हातका, खुट्टाका साना, ठूला जोर्नीहरु सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि वा दिन ढल्दै गइसकेपछि सहजपना आउने, यो बाथको मुख्य लक्षण हो । छालामा विभिन्न प्रकारको डाबर आउने, गालामा पुतली आकारको डाबर आउने, घाममा जाँदा पोल्ने, चिल्चिल्याउने, घाउ हुने, बारम्बार निको नहुने घाउहरु आइरहने, खुट्टामा विभिन्न प्रकारको डाबर आउने, चाया, पोतो आउने हुनेसक्छ । चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, निलो वा पहेंलो भएर चेन्ज हुने यो पनि बाथको एउटा लक्षण हो ।मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निन्द्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाई शुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो । मांसपेसीको बाथको कुरा गर्दा मांसपेसी जताजता छ, शरीरको चारैतिर दुखाइ हुने, मांसपेसी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासुहरु अरट्ठो भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो प्रकारको लक्षणहरु हुनसक्छ । बाथ विभिन्न प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्नै हुनसक्छ । बाथले कुनैपनि अंग समात्नसक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुख्खा हुने, आँखा देख्नमा कमजोर हुनसक्छ । मुख सुख्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा आक्रान्त गरेमा पिसावमा प्रोटिन जाने, रगत सञ्चालन गर्नेमा आक्रान्त गरे बास्कोलाइटिस हुनसक्छ । बास्कोलाइटिस भयो भने फरक अर्गेन फेलियर हुनसक्छ । हातखुट्टा झम्झमाउने, पोल्ने, नशाका विभिन्न लक्षणहरु आउने, फोक्सोमा पानी जम्यो, फोक्सोमा जाली प¥यो भने लामो समयसम्म खोकी लाग्ने, स्वाँस्वाँ हुने, दम बढ्ने, मुटुमा पानी जम्यो, मुटुमा असर ग¥यो भने छाती दुख्ने, दम हुने, खुट्टाहरु सुन्निने जस्ता विभिन्न लक्षणहरु हुनसक्छ । बाथरोग वंशानुगत हुन्छ की खानपानबाट हुन्छ ? बिरामीले केबाट धेरै जोगिनुपर्छ ? बाथरोग भएका बिरामीहरुले विशेष त चिसोबाट जोगिनुपर्छ । किनभने चिसो मौसम वा चिसो वातावरणमा बाथका लक्षणहरु बढ्छन् । जोेर्नी दुखाइ बढ्छ, हातको निलोपनाहरु बढ्छ, मेरुदण्डको अरट्ठोपना बढ्छ, त्यसैले चिसोबाट जोगिनुपर्छ । धुम्रपान सेवन गर्नु हुँदैन । सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्छ । लुप्पस भएका बिरामीहरु घामको किरणबाट जोगिनुपर्छ । यी तीन कुराबाट विशेष जोगिनुपर्छ । कुन बाथ हो त्यो अनुसार केके बार्नुपर्ने त्यो अलि फरक हुन्छ । बाथ किन हुन्छ भन्नेकुरा हो भने बाथ विभिन्न कारणले हुन्छ । जुनमा अटो इम्युन डिजिजहरुको कुरा गर्नुपर्दा गठिया, मेरुदण्डको लुप्पस यस्ता बाथहरु अटो इम्युनिटीको कारणले हुन्छ । हाम्रो शरीरमा जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबढी आउँदा शरीरका कोषिकाहरुले आफ्नै अंगलाई बिगार्न थाल्छ । जस्तै जोर्नी, भित्रि अंगहरुलाई पनि बिगार्न थाल्छ । त्यसबाट अटो इम्युन डिजिजहरुको उत्पत्ति हुन्छ । बाथ हुनैबाट जोगिन त सकिँदैन तर भइसकेपछि केहि सावधानीहरु सर्टेन प्रिकसनहरु लिन सकिन्छ । बाथहरुमा जेनेटिक अशोसिएशनहरु हुन्छ । तर वंशानुगत हुँदैन । ४० वर्ष उमेर पुगेका मानिसहरुमा बढी बाथ देखियो भन्नेछ, कारण के हुनसक्छ ? बाथ हरेक उमेर समूहमा हुनसक्छ । सानो बच्चादेखि, गर्भमा भएको बच्चादेखि लिएर युवावस्था र वृद्धाअवस्था सबै उमेरमा हुनसक्छ । फरक भनेको यत्ति हो की कसलाई कुन प्रकारको बाथ हुने चान्सेस छ, त्यो रेसियो फरक हुने हो । बच्चाहरुलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपोसहरु उत्तिकै हुन्छ । ४० कटिसकेका मानिसहरुमा प्रायजसो देखिने भनेको हड्डि खिइने बाथ देखिन्छ । जस्तै अर्थोराइटेस, स्पाइनको डि जेनेरिटिभ डिजिजहरु बढी मात्रामा देखिने भनेको गठिया बाथ हो । गठिया बाथ प्राय जसो युवावस्थामा देखिन्छ । महिलाहरुमा बढी देखिन्छ । यो ४० कटिसकेका महिलाहरुमा बढी देखिन्छ । पुरुषहरुको कुरा गर्दा ३५ वा ४० भन्दा माथिको पुरुषहरुमा युरिक एसिडको बाथ वा गाउट बढी देखिन्छ । विभिन्न प्रकारको बाथको आफ्नो आफ्नो सर्टेन एज ग्रुप हुन्छ । कुनै बाथ सानो, तन्नेरी उमेरमा बढी देखिन्छ कुनै ४० पछि र ६० पछि पनि बढी देखिन्छ । कुन प्रकारको बाथ हो त्यसमा निर्भर रहन्छ । बाथबाट जोगिन यो कुरा गर्नैपर्छ भनेर बुझ्नैपर्ने विषय के हो ? बाथ हुनैबाट जोगिन त गाह्रो छ । किनभने अटो इम्युन डिजिज हो । तर बाथ भइसकेका बिरामीहरुले यसलाई बढ्नबाट जोगिन चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, समयमै उपचार शुरु गर्नुपर्छ । उपचार शुरु गरिसकेपछि त्यसलाई निरन्तरता पनि दिनुपर्छ । बाथको उपचार भनेको खाली लक्षणको उपचार होइन, बाथको उपचारले यसको जटिलताहरु यसले भित्रि अंगहरु सबै बिगार्न सक्ने भएकाले यसको जटिलताहरुलाई पनि प्रिभेन्ट गर्नुपर्ने हुन्छ । उपचारलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने बाथ रोगबाट जोगिन सकिन्छ । जाडो याममा बिहानमा मर्निङ वाक कति उपयुक्त छ ? जाडो मौसममा घाम लागिसकेपछि नै एक्सरसाइजहरु गरेको राम्रो हो । एक्सरसाइज बाथ रोगीको लागि धेरै नै राम्रो कुरा हो । त्यसैले हामीले सबैजनालाई एक्सरसाइज गर्न नै आग्रह गर्छौं । तर चिसोबाट बचेर । धेरै चिसो भइरहेको बेलामा बाहिर नजाने, वा जानै परेको अवस्थामा पनि पञ्जा, मोजा, डबल लेयर भएको लुगा लगाएर जाने, हावाहुरी, चिसोबाट बच्ने र सकभर अलिकति घाम लागिसकेपछि जोर्नीहरु सजिलो भइसकेपछि मात्र बाहिर निस्किएर एक्सरसाइज गर्नु उपयुक्त हुन्छ । युरिक एसिडबाट पीडित भएकाहरुलाई पछिल्लो समयमा समस्या देखिएको छ, यसमा कस्तो सचेतना अपनाउन जरुरी छ ? युरिक एसिडको बाथ अथवा गाउट प्रायः जसो पुरुषमा हुन्छ । ४० भन्दा माथिको उमेरसमूहमा बढी हुन्छ । तर आजभोलि भने ४० भन्दा तलको उमेरसमूहमा पनि देखिन थालेको छ । २० वर्षको उमेरसमूहबाट नै युरिक एसिडको बाथ देखिन थालेको छ । यसको एउटा मुख्य कारण भनेको खानपिन र एक्सरसाइजको अभाव हो । खानपिनमा आजभोलि जंकफुड, कोक, कोल्ड्रिंक्सहरु बढी मात्रामा खाइन्छ, यसको कारणले पनि युरिक एसिडको बाथ बढी मात्रामा देखिन्छ । अर्को ल्याकअफ एक्सरसाइज, एक्सरसाइजको अभावका कारणले पनि हुन्छ । यसबाट बच्न हामीले पहिलो कुरा लाइफस्टाइलमा ध्यान दिनुपर्छ । जस्तै हेल्दी फुड खाने, अल्कोहल कम खाने, जनावरको भित्रि अंग कम खाने, हेल्दी डाइटमा अलिकति ध्यान दिने, प्रिजरबेटिभ भएको खानाहरु, बट्टामा भएको जुसहरु, कार्बोनेटेड ड्रिंक्सहरु कम प्रयोग गर्ने, निरन्तर एक्सरसाइज गर्ने, पानी प्रशस्त मात्रामा खाएको राम्रो हो । ३ लिटर । तरकारी र दुधको मात्रा अलि बढी मात्रामा सेवन गर्ने गर्नुपर्छ । युरिक एसिड बाथ सुगरको रोग, प्रेसर, कोलेस्टोरको समस्या र मोटोपना, यो ४ वटासँग पनि जोडिने भएकाले युरिक एसिडको बाथ नियन्त्रण गर्दा हामीले यो बाँकीको ४ वटा कुराहरुमा ध्यान दिनुपर्छ । बाथ कमन रोगहरुमा नै पर्छ । समाजमा हेर्ने हो भने ३० प्रतिशतलाई कुनै न कुनै हाडजोर्नी तथा मांसपेसीको रोग हुनसक्ने सम्भावना देखिन्छ । त्यसमध्ये पनि पूरा जनसंख्याको १० प्रतिशतमा नेपालको कुरा गर्दा ३० लाखलाई बाथ रोग हुनसक्ने सम्भावना छ । यो विश्वको तथ्यांकअनुसार हो । बाथको सही पहिचान र समयमा नै पहिचान हुनसक्यो भने र समयमा नै उपचार शुरु गर्न सकियो भने कुनै कुनै अवस्थामा बाथ निको पनि हुनसक्छ । गठिया बाथ र मेरुदण्डको बाथ तीनदेखि ६ महिना भित्रमा गर्न सकियो भने निको हुनसक्ने सम्भावना ३० प्रतिशतसम्म रहन्छ । बाथको समयमै र सही पहिचान गर्न जरुरी छ । पहिचान भइसकेपछि उपचार शुरु गर्नुपर्छ । उपचारलाई डाक्टरको सल्लाहअनुसार निरन्तर रुपमा औषधि खाइरहनुपर्छ । शुरुवाती चरणमा नै बिरामी आउने हो भने १ वर्ष भित्रमा बाथ निको हुनसक्छ । त्यो भनेको शरीरबाट नै बाथ गायब भएको भने होइन । तर बिना औषधि नियन्त्रणमा राख्न सकिन्छ ।

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

काठमाडौं ।  सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्नेगरी पाएको छ । उक्त खण्डको २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहेको छ । उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा बिस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात २२.८६ मिटर कायम गरिएको थियो । सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो । अब उक्त सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात २२ दशमलव ८६ मिटर कायम हुने भएको छ। पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाति र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ। प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । संघीय राजधानीबाट वागमती प्रदेशअन्तर्गत मध्यपहाडी राजमार्गका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग अरनीको राजमार्ग जोडिएको छ।

आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुँदै

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुने भएको छ । यही फागुन  ११, १२, १३ र १४  गते काठमाडौँको भृकृटीमण्डपमा एक्स्पो हुने भएको हो । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एंड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि हुने भएको छ । यस एक्सोलाई मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढि स्टल रहने आयोजके बताएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ७ वर्षदेखि हुँदै आएको छ । आयोजकको अनुसार यस अन्तराष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको सहभागिता रहने छ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन् । त्यस्तै यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्याउने विश्वास आयोजकले राखेका छन् । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ । प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएका बताएको छ ।

सामान्य जागिर गरेर बाइक किन्न कति समय लाग्ला ?

काठमाडौं । मोटरसाइकल खरिद गर्नु अधिकांश युवाको सपना हो । पछिल्लो समय दुई पाँग्रे सवारी साधनको प्रयोग गर्ने युवाहरुको जमात बढ्दै गइरहेको छ । कतिपयले महँगो बाइक खरिद गरेर आफ्नो प्यासन पुरा गर्छन् भने कतिपय आफ्नो दैनिकी चलाउनकै लागि भएपनि मोटरसाइकल किन्छन् । गाउँमा बस्ने युवाहरु शहर झरेपछि आफ्नै सवारी साधन प्रयोग गर्ने तीव्र इच्छा देखाउँछन् । गाउँमा झरेकाहरु मोटरसाइबल चलाउन चाहन्छन् । शहर बस्नेहरु कारको सपना देख्छन् । तर, विडम्बना बढ्दै गइरहेको महँगीले धेरैको सपना पिनामै सीमित बनिरहेको छ भने वेरोजगार हुनु परेको बाध्यताले पनि धेरेले इच्छा पुरा गर्न सक्दैनन् । अधिकांश युवाहरु प्लस टु पढेपछि कामको खोजीमा भौतारिन्छन् । केहीले पढाइलाई निरन्तरता दिँदै काम गर्न थाल्छन् । केही पलायन हुन्छन् । केहीले आफ्नै व्यवसाय सुरु गर्छन् । तर, नेपालको जागिर कमै तलबमा काम गर्नु पर्ने बाध्यता रहन्छ । एउटा युवाले जागिर सुरु गर्दादेखि बचत गरेको रकमले कति समयपछि एउटा मोटरसाइकल खरिद गर्न सक्ने क्षमता राख्छ होला ? आज हामीले यस विषय छोटो हिसाब निकालेका छौं । मोटरसाइकलको खरिदको भन्दा अगाडि तलबको चचौ गरौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालीहरूको न्युतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण गरेको छ । विभागले आधारभूत पारिश्रमिक ९ हजार ३ सय ५८ र महँगी भत्ता ५ हजार ६ सय १५ गरी जम्मा मासिक १५ हजार रुपैयाँ छ । यसमा दैनिक आधारभूत पारिश्रमिक ३ सय ६१ र महँगी भत्ता २ सय १६ रुपैयाँ गरी दैनिक भत्ता ५ सय ७७ रुपैयाँ हुन्छ । प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी कुल ७७ रुपैयाँ हुन्छ । एउटा व्यक्तिको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ भयो भने वार्षिक एक लाख एक लाख ८० हजार रुपैयाँ जम्मा हुन्छ । त्यसमा साढे २ हजार रुपैयाँ कर काटिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ को उपदफा (३)मा पनि श्रमिकले पाउने सेवा सुविधा समावेश छ । अब कुरा गरौं मोटरसाइकलको मूल्यको । अहिले बजारमा विभिन्न किसिम र मूल्यका मोटरसाइकलहरु छन् । न्यूनतम २ लाख रुपैयाँदेखि लाखौं पर्ने मोटरसाइकल बजारमा पाइन्छन् । तीन लाख वा साढे तीन लाख रुपैयाँ पर्ने बाइक एउटा युवाको लागि उपयुक्त हुन्छ । एउटा सामान्य जागिर गरेर १५ हजार रुपैयाँ मासिक तलब हुँदा साढे तीन लाखको मोटरसाइलक खरिद गर्न २ वर्ष कुनु पर्छ । तर, व्यक्तिले जति कमायो त्यति नै बचत गर्ने भन्ने हुँदैन । शहरको महँगी, कोठा भाडा र लगायत खर्च गर्दा जति कमायो त्यतिनै बचत गर्न सक्ने हुँदैन । १५ हजार रुपैयाँ मासिक कमाएर त्यसको आधा अर्थात् ७ हजार ५ सय रुपैयाँ बचत गर्न सकियो भने एउटा व्यक्तिलाई साढे तीन लाख रुपैयाँको मोटरसाइकल खरिद गर्न ४ वर्ष पर्खिनु पर्छ ।

चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । रासस

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । आइतबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा उनले उक्त कुरा बताएका हुन् । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रचण्डले व्यक्त गरे । ‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ’ उनले भने ‘त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ।’ प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए । उनले भने, ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना व्यक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए । उनले त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औंल्याए । त्यस क्रममा पूर्वाधार बिकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्। रासस