विकासन्युज

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । आइतबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा उनले उक्त कुरा बताएका हुन् । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रचण्डले व्यक्त गरे । ‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ’ उनले भने ‘त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ।’ प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए । उनले भने, ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना व्यक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए । उनले त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औंल्याए । त्यस क्रममा पूर्वाधार बिकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्। रासस

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत जहानियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गरे । उनले भने, ‘निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्र्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र संघर्र्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् । लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा तथा निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन तथा शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुने उल्लेख गरे । ‘सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रा सामु छ । जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ,’ उनले भने । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास तथा समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो भने । देशको राजनीति र अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न अग्रसर रहेको उनको भनाइ छ । अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ रहेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले ७३औँ प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे उपस्थित थिए । यसैगरी उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीलगायत उपस्थित थिए । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले मार्चपास गर्नुका साथै विभिन्न कालजयी गीत प्रस्तुत गरेको थियो । रासस

टर्कीए भूकम्प : ४६ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ । हालसम्म टर्कीएमा ४० हजार छ सय ४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीएमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् । विश्व खाद्य कार्यक्रमले सिरियमा मानवीय सहायता सामग्री परिचालनमा कठिनाइ भएको जनाउँदै अवरोध नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । उत्तरपश्चिम सिरियामा मानवीय सहायता उपलव्ध गराउन कठिन भएको उक्त संस्थाले बताएको छ । सिरियाली अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पहुँचमा अवरोध खडा गरेको आरोप उक्त संस्थाले लगाएको छ । रासस

मानव अधिकारको रक्षा र प्रत्याभुतिमा सरकार चुकिरहेको छ : अध्यक्ष अर्याल

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनताले चाहेको संविधान जारी भएर एक कार्यकाल पूरा भइसक्दा पनि मानवअधिकारको संरक्षण र संवर्द्धनमा आशा जगाउने अवस्था अझै नभएको निष्कर्ष निकालेको छ । मानव अधिकार वर्ष पुस्तक २०२२ बारे बोल्दै इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले संविधानले दिएको मौलिक हकको उपयोग र प्रत्याभूतिले यो वर्ष पनि निराशाजनक रहेको बताए । अध्यक्ष अर्यालले जघन्य अपराधको घटना कम नहुनु र अभियोजनको दर नबढेकाले मानवअधिकारको प्रत्याभूतिमा समेत २०२२ निराशाजनक रहेको बताए । राज्यको मुख्य ३ अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई बलियो बनाउन राजनैतिक दल जिम्मेवार नबन्दा मानवअधिकार उल्लङ्घनका घटनामा कमी हुन नसकेको निष्कर्ष इन्सेकले निकालेको बताए । राजनीतिक दलका कारण संसद्, सरकार र न्यायालय एकै पटक नकारात्मक रूपमा प्रभावित भएको बताए । न्युज एजेन्सी नेपालसँगको संवादमा अध्यक्ष डा. अर्यालले हालै सम्पन्न भएको निर्वाचन अपेक्षित रूपमा स्वच्छ र निष्पक्ष हुन नसकेको पनि बताए । अझै पनि मतदातालाई डराएर मत लिने प्रवृत्ति हट्न नसकेको बताए । डा. अर्यालले अपराधको सिकार भएका पीडित भएका व्यक्ति र परिवारहरू न्यायको पहुँचमा पुग्न नसकेको र यो अवस्था झनै बढेर गएको तथ्याङ्कले देखाएको बताए । संविधानले दिएको अधिकार स्पष्ट कानुन भएको अवस्थामा पनि अपराधी उम्कने र पीडितले न्याय नपाउने अवस्थाको दर घट्नुको साटो बढिरहेको बताए । कमजोर आर्थिक अवस्था भएका दुर्गममा बस्ने व्यक्ति तथा परिवारको लागि न्यायमा पहुँच झनै टाढा हुँदै गएको तथ्य भेट्टाइएको पनि डा. अर्यालले बताए । न्याय प्राप्ति गर्ने प्रक्रियासम्म पनि जनता पुग्न नसक्ने अवस्थाले मानव अधिकारको रक्षा र प्रत्याभूतिमा सरकार चुकिरहेको पनि बताए ।    

शुक्लाफाँटा नगरपालिकामा एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईलाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए । उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि पाँच लाख रुपैयाँ परिचालन गरिएको छ । ‘अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं’ प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा सम्लग्न शिक्षकको दैनिक उपस्थिति हाजिरी दुरुस्त राख्न भनेका छौँ ।’ अतिरिक्त कक्षाको शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले नियमित अनुगमन गरिरहेका छन् । अतिरिक्त कक्षा सञ्चालन भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई पठनपाठनमा सघाउ पुगेको छ । ‘गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अबस्था हुदैन’ शिक्षा समिति सदस्य शेरबहादुर साउदले भने, ‘त्यस्ता विद्यार्थीले अतिरिक्त कक्षामा सहभागी भएर नबुझेका विषयबस्तुसँगै एसइईमा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अङ्क ल्याउन मद्दत पुग्छ ।’ ‘एसइई दिने विद्यार्थीलाई अतिरिक्त कक्षामार्फत पढाइ हुन थालेपछि ट्युसन पढने झन्झटबाट विद्यार्थीले छुटकारा पाएका छन्,’ उनले बताए, ‘यसबाट विद्यार्थीले ट्युसन पढनु नपरेको र अभिभाकले ट्युसन पढाउनका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ ।’ रासस

आइफोनदेखि सामसङको मोबाइल डिस्प्ले टच ९९९ रूपैयाँमा नै फेर्न पाईने

काठमाडौं । नेपालमा नै पहिलो पटक ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्न पाईने भएको छ । मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा रहेको कम्पनी इजी मोबाइल केयरले यो सुविधा ल्याएको हो । यस सुविधा अन्तरगत आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ ओटा भन्दा बढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिने कम्पनीले बताएको छ । इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए । ‘मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको डिस्प्ले टचू सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिईनेछ, यसले ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख हुनेछैन्,’ संचालक पौडेलले भने । लामो समयको अनुभव र अनुसन्धानबाट १०० दिनको ग्यारेन्टीका साथ ९९९ रूपैयाँमा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएका उनले बताए । हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिईएको पौडेलले बताए । ‘मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महंगो भईरहेको छ अवस्थामा सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केहि राहत र सहुलियत हुने हामीले अपेक्षा गरेका छौं,’ उनले भने । इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलो पटक शुन्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा संचालन गरिसकेको छ । जसमा २५ हजार भन्दा बढि सेवाग्राहीले सेवा लिएका थिए । इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र छिट्टै देशभर ७७ जिल्लामा रहेका आफ्ना सर्भिस सेन्टरबाट यो सेवा उपलब्ध गराउने बताएको छ ।

नुवाकोटमा मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु

नुवाकोट । नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिए । उनका अनुसार व्यक्तिका नाममा रहेको (रैकर) जग्गामा लागेको मोही अन्त्य गर्न जग्गाको सम्बन्धित जग्गा धनी र मोहीलाई बराबर हुने गरेर बाँडफाँट गर्न सूचना जारी गरेर निवेदन सङ्कलन थालिएको छ । जग्गामा रहेको द्वैध (दोहोरो) स्वामित्व अन्त्यका लागि सुरु भएको निवेदन सङ्कलन विसंं २०८२ चैत मसान्तलाई अन्तिम म्याद दिइएको छ । ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र र गत असोज १० मा जारी भएको राजपत्रका आधारमा निवेदन सङ्कलन थालिएको हो’, प्रमुख मालपोत अधिकृत सेढाईंले भने, ‘गुठी बाहेकका जग्गा (रैकर)का लागि जग्गाधनी व्यक्ति भएको र मोही पनि व्यक्ति भएको जग्गा कानुनअनुसार आधा–आधा हुने गरेर अलगअलग गराउन मोहीलाई निवेदन दिन सूचना जारी गरिएको छ ।’ जग्गाधनी र मोहीले जग्गामा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने सरकारको लक्ष्य र जग्गामा रहेको दोहोरो स्वामित्व हटाउने कार्य मोही किसानका लागि महत्वपूर्ण अवसरका रुपमा लिइएको छ । ‘जग्गामा रहेको दोहोरो स्वमित्व अन्त्य गर्न यसभन्दाअघि पटकपटक जग्गा बाँडफाँट भए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न सकिएको थिएन’, उनले भने, ‘यो अन्तिम पटकका लागि अवसर प्राप्त भएकाले मोही कोही छुट्नु हुन्न भनेर वडा कार्यालयमार्फत सबैलाई सूचित गराउन परिपत्र गरिएको छ ।’ प्राप्त निवेदनको कारबाही अघि बढाउँदै लागिने मालपोत कार्यालयले जनाएको छ । अन्तिम म्याद विसंं २०८२ चैत मसान्तसम्म तोकिएकाले उक्त अवधिसम्म प्राप्त निवेदनको विसंं २०८३ असार मसान्तसम्म टुङ्ग्याउनुपर्ने कानुनमा भनिएको छ । उक्त लक्ष्य पूरा भएपछि जमिनमा मोहियानी हक लाग्ने व्यवस्था अन्त्य गरिने सरकारको लक्ष्य छ । जग्गा जमिनमा मोहियानी हक लाग्ने व्यवस्था विसंं २०८३ असार मसान्तपछि खारेज गर्ने लक्ष्यअनुसार रैकर जग्गामा लागेको दोहोरो स्वामित्वअनुसार जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँटका लागि दाबी पेस गर्न कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । अर्कैको नाममा रहेको जग्गाका लामो समयदेखि खेती गर्दै आएका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका किसानका लागि न्याय दिन कानूनअनुसार यसअघि नै मोही कायम गरिएको थियो । सोही जग्गालाई सम्बन्धित जग्गाधनी र खेती गर्ने किसानलाई बराबर हुने गरेर बाँडफाँट गराउन लागिएको हो । रासस

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बृद्धि भएको छ । आज सुनको भाउ  तोलामा ७ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।