विकासन्युज

प्रभु क्यापिटलले फागुन १८ गतेदेखि ल्याउँदै प्रभु स्मार्ट फण्ड

काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाई मध्ये १ करोड २० लाख वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड १२ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत वा ८ लाख इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो । क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

समीट लघुवित्तको ८५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र उक्त संस्थापक सेयरधनीहरुले खरिद नगरे सर्वसाधारण ब्यक्तिका लागि बिक्रीमा राखिनेछ । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

श्री अन्नपुर्ण बहुमुखी सहकारीले धितोमा रहेको सवारी र जग्गा बेच्दै

काठमाडौं । श्री अन्नपुर्ण बहुमुखी सहकारी संस्थाले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । सहकारी संस्थामा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । सहकारी संस्थाले ऋणी सम्झना खड्काको नाममा रहेको भक्तपुर नगरपालिका ४ मा रहेको कित्ता नम्बर १३९ को ०-३-०-० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, ऋणी शारदा बस्नेतको नाममा मालपोत कार्यालय भक्तपुरमा दर्ता भएको कित्ता नम्बर १३७६ को २७०.२२ वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, ऋणी दिना श्रेष्ठको नाममा मालपोत कार्यालयमा दर्ता भएको कित्ता नम्बर १९२९ र १९२७ को ०-३-३-१ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । ऋणी अर्जुन नगरकोटीको ागमति यातायात व्यवस्था कार्यालयमा दर्ता भएको बा २ ख ४४१६ नम्बरको महिन्द्रा लोडकिङ्ग सुपर सवारी बिक्रीमा राखिएको हो ।

समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ । ७३ औं प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए । ‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ,’ प्रधानमन्त्री प्रचण्डले सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गरे । ‘आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले सन्देशमा भन्नुभएको छ ।

प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । उनले फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताए । ‘राजनीतिक परिवर्तनमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो, मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२÷६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको सभापति देउवाले बताए । उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरे । सभापति देउवाले देशमा लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ सपुतहरूले आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै यो ऐतिहासिक दिनमा सम्पूर्ण सहिदहरूको त्याग र बलिदानको स्मरणका साथ उहाँहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन अध्यक्ष ओलीको आह्वान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसमा अवसरमा जारी गर्दै शुभकामना सन्देशमा नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रुपमा स्थापित गरेको बताए । शुभकामना सन्देशमा अध्यक्ष ओलीले जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर सहिद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदप्रति उहाँले श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । ‘समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको विन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौँ, संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकाशबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो,’ सन्देशमा भनिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाउँदै प्रजातन्त्र प्राप्त भएको दिनले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर भएको सन्देशमा छ । संविधानसभामार्फत जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै सुशासन र विकासको दिशामा अघि बढिरहेको उल्लेख छ । अध्यक्ष ओलीले सन्देशमा लेखेका छन्, ‘हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौँ ।’ एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरेको र संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुन पुगेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अझ सवल रुपमा अगाडि बढाउन चाहेको सन्देशमा छ । पार्टीले यस अभियानमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको साथ रहने छ भन्ने विश्वास लिएको छ ।

आइएफआर प्रणाली लागू गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएको छ । फागुन ११ गते बिहीबारदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । पोखरामा आइएफआर कार्यान्वयनमा आउने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको छ । आइएफआर प्रणाली पूर्ण यान्त्रिक सञ्चालन प्रणाली भएको र भिजुअल फ्लाइट रुल्स (भीएफआर)को तुलनामा आइएफआर उडानमा केही समय लाग्ने भए पनि तुलनात्मक रुपमा सुरक्षित र सहज रहेको प्राधिकरणले जनाएको छ । पोखराको नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान–अवतरणमा उपयुक्त रहेको मानिएको छ । कोरियन र बिज एयरसँग १९० सीट क्षमताको ए३२१ निओ जहाज रहेको बताइएको छ । हिमालयले न्यारोबडी जहाज एयरबस ३२० बाट पोखराको परीक्षण उडान गरिसकेको छ । इच्छुक कम्पनीका जहाज, यात्रु क्षमता र उडान गर्न चाहेका गन्तव्यलगायत प्राविधिक पक्षबारे प्रष्ट छलफल हुने बाँकी रहेको प्राधिकरणले जनाएको छ । गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा मिश्र नियुक्त

काठमाडौं । कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गरेको हो । बैंकमा अध्यक्षको अनुपस्थितिमा एक जना कार्यवाहक बन्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बैंक सञ्चालक समितिको बैठकले सहसचिव मिश्रलाई कार्यवाहक अध्यक्षका रुपमा नियुक्त गरेको हो । यसअघि सरकारको तर्फबाट रमेश दुवाडी अध्यक्ष थिए । उनको शैक्षिक योग्यता र कार्यानुभवमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।