काठमाडौं । चालू आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धताको झन्डै आधा रकम फिर्ता भएको छ । चालू आर्थिक वर्षको ७ महिनामा करिब २८ अर्ब बराबरको विदेशी लगानी प्रतिबद्धता भएकोमा साढे १५ अर्ब रुपैयाँ रोयल्टी र लाभाशं बापत रकम फिर्ता लिने भएका हुन् ।
उद्योग विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार २१६ उद्योगका लागि २७ अर्ब ७६ करोड १२ लाख ९३ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । लगानी प्रस्तावको झण्डै आधा अर्थात १५ अर्ब ५३ करोड ५९ लाख १० हजार रुपैयाँ लगानी फिर्ताको सिफारिस भएको छ ।
उक्त लगानी प्रस्ताव गर्दा ८ हजार ६ सय ५ जनाले रोजगारी पाउने उल्लेख छ । विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगका लागि आएका प्रस्ताव मध्येमा सबै रकम भित्रन्छ भन्ने हुँदैन तर चालू आवका लागि आएका प्रस्तावको तुलनामा झन्डै आधा रकम विदेशिने भएको हो ।
विभागले सात महिनामा रोयल्टी बापत एक अर्ब ७५ करोड ६३ लाख ५ हजार ५७० नेपाली रुपैयाँ, ८ लाख ९८ हजार ७३६ (११ करोड ९४ लाख ३३ हजार नेपाली रुपैयाँ) अमेरिकी डलर, ३० करोड २७ लाख ४० हजार ७७० (४८ करोड ७४ लाख १२ हजार ६४० नेपाली रुपैयाँ) भारतीय रुपैयाँ र ७ हजार (९ लाख ८९ हजार ६६१ नेपाली रुपैयाँ) युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।
माघ महिनामै २ अर्ब सिफारिस
विभागले माघ महिनामा मात्रै करिब २ अर्ब नेपाली रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले रोयल्टीवापत ८० करोड ८७ लाख ५० हजार नेपाली रुपैयाँ, १६ करोड ३९ लाख ८६ हजार भारु (२६ करोड ४० लाख १७ हजार ९९२ नेपाली रुपैयाँ) र ९८ हजार २ सय ९३ अमेरिकी डलर (१ करोड ३० लाख ६२ हजार नेपाली रुपैयाँ) फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।
माघ महिनामा मात्रै विभागले लाभांश (कम्पनीले गरेको नाफाका आधारमा) वापतको २ अर्ब १७ करोड २८ लाख ६० हजार ९२३ रुपैयाँ विदेश लैजान पाउने गरी विदेशी लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ ।
चालु आवको हालसम्म विभागले १३ अर्ब १७ करोड १७ लाख ७० हजार रुपैयाँ बराबर लाभांशवापत विदेश लैजाने विदेशी लगानीकर्ताहरुलाई स्वीकृति प्रदान गरेको छ ।
चालु आवको ७ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत ९ सय ४६ जनाा लगानीकर्ता, १ सय २२ जना प्रतिनिधि र ३ सय १७ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
यस्तै, गैह्रपर्यटक भिसा अन्तरगत ९ जनालाई विज्ञापन मार्फत र ३ जनालाई सम्झौता मार्फत्को भिसा जारी भएको जनाएको छ । माघ महिनामा मात्रै विभागले ७२ विदेशी लगानीकर्ता, २४ जना प्रतिनिधि र ४७ जना आश्रितका लगि भिसा सिफारिससमेत गरेको छ ।
विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ । शाखाका प्रमुख शंकर सिंह धामी चालु आर्थिक वर्षमा बाहिरिने रकम बढ्ने बताउँछन् ।
‘गत आर्थिक वर्षमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टी बापतको रकम लैजान कडाई गरेको थियो, गत वर्ष कडाई गर्दा अहिले लाभाशं तथा रोयल्टी रकम धेरै विदेशीने हाम्रो अनुमान छ’, उनले भने ।